सिबिफिनले त्रिविका अर्थशास्त्रका विद्यार्थीलाई शोधपत्र
वि.सं.२०७८ फागुन ५ बिहीवार
shares
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गरी आज समझादारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा सिबिफिनकोतर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागकोतर्फबाट विभागीय प्रमुख प्राडा शिवराज अधिकारीले ९ बुँदे समझादारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझादारी पत्रमा उल्लेख गरिए अनुसार अर्थशास्त्र केन्द्रीय विभागमा स्नात्तकोत्तर र एमफिल स्तरमा अध्ययनरत विद्यार्थीहरुमध्ये छनोट भएका विद्यार्थीहरुले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान गरी शोधपत्र तयार गर्दा लाग्ने केही खर्च व्यहोर्ने गरी ‘सिबिफिन फेलोसिप’ प्रदान गरिने भएको छ । तर, उक्त फेलोसिप अन्तर्गतको रकम प्राप्त गर्न सम्बन्धित विद्यार्थीहरुले तयार गरेको शोधपत्र अर्थशास्त्र केन्दीय विभागमार्फत स्वीकृत भएको हुनुपर्ने जनाइएको छ ।
त्यसैगरी, नीति अध्ययन तथा अनुसन्धानका लागि सिबिफिनकोतर्फबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महानिर्देशक, अर्थशास्त्र केन्द्रिय विभागकोतर्फबाट विभागीय प्रमुख एवं एक जना विभागीय प्रतिनिधि, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंककोतर्फबाट एकरएक जना उच्च पदस्थ अधिकारी रहने गरी एक उच्चस्तरीय संयन्त्र गठन गर्ने र उक्त संयन्त्रमार्फत नीति अध्ययन तथा अनुसन्धानको कार्य अगाडि बढाउने जनाइएको छ ।
सिबिफिनले पहिचान गरेका प्राथमिकता प्राप्त क्षेत्र तथा विषयवस्तुमा वार्षिक कम्तिमा २ वटा अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने र उक्त अध्ययन तथा प्रतिवेदन तर्जुमा वा प्रकाशित गर्दा लाग्ने खर्च सिबिफिनले व्यहोर्ने समझादारीमा उल्लेख गरिएको छ ।
साथै, सिबिफिनको व्यवस्थापन र अर्थशास्त्र केन्द्रिय विभागको सहयोगमा रेमिट्यान्स बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, कृषि क्षेत्रको व्यवसायीकरण, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तार जस्ता विषयमा अन्तरक्रिया एवं कार्यशाला गोष्ठी आयोजना गरिने समझादारी पत्रमा उल्लेख गरिएको छ ।




























