ठूलो परिमाणमा पैसा सिरानमुनी छ कि ओछ्यानमुनी ? म खोज्दैछु : अर्थमन्त्री शर्मा
वि.सं.२०७८ चैत ४ शुक्रवार
shares
काठमाडौं।अर्थ मन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका छन्। पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा खोज्न थालेको उनले बताए।
शुक्रबार नागरिक लगानी कोषको ३२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले तरलताको अभाव सिर्जना गराउन ओछ्यानमुनी वा सिरानमुनी पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको बताएका हुन्। “पुँजी कतै हराइरहेको छ। आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु,” उनले भने।
उनले पुँजी निस्क्रिय भएर बसिरहेको हुनसक्ने भन्दै त्यतातिर पनि ध्यान जान आवश्यक रहेको बताए। उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फन्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए। मन्त्री शर्माले भने, “नयाँ विकास भएका विभिन्न प्रविधिको दुरुपयोग गरेर क्यापिटल फ्लाई हुने प्रक्रिया देखा परेको छ। त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन्।”
पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए। मन्त्री शर्माले ब्यांक ब्याजदर व्यवसायी अनुकुल हुनुपर्ने र उत्पादन मुलुक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशतभन्दा बढी नहुने भनेर राष्ट्र ब्यांकलाई सल्लाह दिएको पनि बताए।
उनले मुलुकले अहिले भोगिरहेको शोधानान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको बताए। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डण्डी तथा डण्डीजन्य बस्तु, खानेतेल, प्लास्टिकलगायतको मूल्य बढेको तथा ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाडादर पनि वृद्धि भएको उनले बताए। अर्कातिर, डलरको बिनिमयदर पनि बढेको कारण शोधानान्तरस्थितिमा चाप परेको मन्त्री शर्माको भनाइ थियो।
































