गठबन्धनकै भरमा उत्साहित र गठबन्धन नहुँदा हतोत्साही हुदैनौँ : कार्की


भक्तपुर। भक्तपुर कांग्रेस बृत्तमा चिरपरिचित नाम हो भेष बहादुर कार्की । २०३६ सालदेखि नै कांग्रेसको झण्डा बोकेर हिँडेका कार्की कयौं प्रजातान्त्रिक आन्दोलनको क्रममा जेल जीवन विताएका र कांग्रेसको तर्फबाट गाउँ विकास समिति अध्यक्ष समेत भईसकेका नेता हुनुहुन्छ ।

हाल कार्की नेपाली कांग्रेस क्षेत्र नं. २ भक्तपुरका क्षेत्रीय सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । उनै कार्कीले सूर्यविनायक नगरपालिकाका जनताको सुख र समृद्धिका लागि नयाँ भिजनसहित आउँदो स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट मेयर पदमा दाबी गर्नुभएको छ । उनै कार्कीसँग गरिएको निर्वाचन केन्द्रित रहेर सिंहदरबार न्यूज सँग गरिएको कुराकानी :

भेष बहादुर कार्की

मेयरका आकांक्षी, सूर्यविनायक नगरपालिका

तथा क्षेत्रीय सभापति, नेपाली कांग्रेस क्षेत्र नं. २ भक्तपुर

सुनपा कांग्रेसमा मेयरका १०÷१० जना आकांक्षी भएछन् नि ? अलि बढी भएन र ?

अझ थप साथीहरुले पनि आकाक्षा गर्ने आंकलन थियो । तर भएन, भएको भए पनि राम्रै हुन्थ्यो । थोरै मानिसहरुबाट भन्दा जति सक्यो ठुलो संख्याबाट उम्मेदवार छनौट गर्न पाएको भए अझ राम्रो हुन सक्छ ।

आकांक्षी बन्न पनि महंगो शुल्क बुझाउनुपर्छ, पैसा नहुनेले त इच्छा पत्रसमेत बुझाउन सकेनन् नि ?

केन्द्रले इच्छुक उम्मेदवारबाट पैसा नलिनु भनेकोले छिट्टै फिर्ता गर्ने सल्लाह हुँदैछ । रह्यो कुरा पैसा नहुनेले अब राजनीति नगर्ने, उम्मेदवार हुनबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुँदैछ । सिद्धान्त, विचार र राजनीतिक यात्राको मूल्यांकन गरेर पार्टीले उम्मेदवार चयन गर्ने र मतदाताले पनि उम्मेदवारलाई पैसावाला वा विशुद्ध राजनीतिकर्मी हो, यसैको आधारमा गहन ढँगले मूल्याँकन गरेर मतदान गर्नेछन् ।

गठबन्धन हुँदा जित हाँसिल गर्न सजिलो हुने भएकाले धेरै उम्मेदवार भएको भनिन्छ नि ?

हामीलाई गठबन्धनको सहयोग चाहिँदैन भन्दैनौँ । गठबन्धन हाम्रो सहयोगी हो, गठबन्धनकै भरमा उत्साहित र गठबन्धन नहुँदा हतोत्साही हुदैनौँ ।

नेपाली कांग्रेस भक्तपुरको मूल नारा के हुनेछ ?

केन्द्रले यस विषयमा कार्यक्रम गरिरहेको छ । छिट्टै स्थानीय निर्वाचनलाई मध्यनजर गरेर घोषणापत्र र नाराहरु तय गर्छ । सुनपामा भने आर्थिक अपारदर्शिता, भ्रष्टाचार र जनताको काममा भएको ढिलासुस्ती, सार्वजनिक जग्गाको नगरपालिकाले संरक्षण गर्नुको साटो ठाडै अनियमितता विक्रि वितरण, भूमाफियासँग अनैतिक साँठगाँठ । जनताले तिरेको करको आसेपासे मार्फत भ्रष्टाचार । अकूत कुम्ल्याउने होडबाजी, हिजो स्वघोषित सुकुम्बासीहरु अहिले रातारात करोडौंका मालिक भएको प्रशस्त चित्र सूर्यविनायकका आम नागरिक समक्ष प्रष्ट छ, हामी स्मरण गराउँछौँ ।

साधारण शिक्षक र कर्मचारीमाथि जुन ज्यादती भएको छ, त्यो पनि हामी जनतामाझ प्रष्टसँग राख्छौँ । उपभोक्ता समितिमार्फत भएको भ्रष्टाचार, ठेक्कापट्टामा भएको भ्रष्टाचार, विग हाउससँगको साँठगाँठ सर्वसाधारण जनतालाई मापदण्ड र एमाले नेताहरुलाई लगाई आएको मापदण्डको ठाडो बद्मासी हामीले नजिकबाट नियालिरहेका छौँ । हामी त्यसको पनि राम्ररी प्रस्तुत गछौँ । त्यसैगरी सूर्यविनायक नगरपालिकाको समग्र विकास हाम्रो मूल नारा हुनेछ ।

यदि तपाईले सुनपामा मेयरको टिकट पाउनुभयो भने जित्ने आधार के के छन् त ?

सूर्यविनायक नगरपालिका नेपाली कांग्रेसको बलियो पकड भएको नगरपालिका हो । अघिल्लो स्थानीय र संसदीय निर्वाचनमा हामा आन्तरिक कारणले मतदाताले नेपाली कांग्रेसलाई घुक्र्याएको हो । मतदाताले कांग्रेस सुध्रियोस् भनेर सचेत गराएका हुन्, रुष्ट भएका छैनन् । कांग्रेस राजनैतिक उतार चढावमा परेको मात्र हो । मुलुकमा लोकतन्त्र स्थापना पछि पहिलो कार्यकालमै एमाले त असक्षम र भ्रष्ट ठहरियो ।

सुनपामा मतदाताहरु कांग्रेसको उम्मेदवारको विषयमा रुची लिन थालेका छन् । मैले यसै नगरपालिकामा रहेर विगत ४० वर्षदेखि नेपाली कांग्रेसको पक्षमा जनमत तयार पार्न यौवनका ती उर्वर दिन देखि आजपर्यन्त समर्पित भएर लागेको छु ।

मैले नेपाली कांग्रेसको झण्डा प्रतिबन्धित कालदेखि निरन्तर उठाएको छु । मतदातासँग प्रत्यक्ष सम्पर्कमा छु, जनताको माझमा छु । नगरबासीको खुसीका लागि अहोरात्र खटिएको छु । निश्चय पनि पार्टी र यस क्षेत्रका मतदाताले मलाई माया र हौसला प्रदान गर्नेछन् । नेपाली कांग्रेसमा आवद्ध भएपनि आम नगरबासीको सेवामा जीवन विताएका कारण मलाई नगरबासीले पूर्ण विश्वासका साथ मतदान गर्नेछन् ।