होटल संघ नेपाल र होटलसँग सम्बन्धित केन्द्रीय ट्रेड युनियनबीच भयाे यस्तो सहमति
वि.सं.२०७९ वैशाख ६ मंगलवार
shares
काठमाडौं।आज मिति २०७९ वैशाख ५ गते सोमबार होटल संघ नेपालका अध्यक्ष श्रीमती सृजना राणाको अध्यक्षतामा संघका पदाधिकारी तथा पर्यटन तथा होटलसँग सम्वद्ध तीनवटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड युनियन (नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ) का अध्यक्ष र प्रतिनिधिहरु सहित बसेको संयुक्त बैठकले पर्यटन उद्योगको श्रम सम्बन्धलाई सौहार्दता प्रदान गर्दै होटल व्यवसाय सञ्चालनलाई निरन्तरता प्रदान गर्नका लागि देहाय बमोजिमको सम्झौता गरियो ।
प्रस्तावना
कोभिड–१९ को असर प्रभावले विश्व पर्यटन उद्योगले भोग्नु परेको नोक्सानीका कारण नेपालको पर्यटन व्यवसाय समेतमा गम्भीर असर परेको हामी सबैलाई सर्वविदितै छ । नेपालको पर्यटन उद्योगको महत्वपूर्ण हिस्सा ओगटेको होटल उद्योगले विगतका दुई वर्षमा भोग्नु परेको कठिन परिस्थितिलाई आँकलन गरी श्रमिक तथा कर्मचारीहरुका प्रतिनिधिमूलक केन्द्रीय ट्रेड युनियनहरुले समेत जिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत भई होटल उद्योगलाई संरक्षण तथा सम्वद्र्धन गर्नका निमित्त पु¥याउनुभएको योगदान अविस्मरणीय छ भने श्रमिक तथा कर्मचारीहरुको रोजगारीको सुनिश्चितताका लागि न्यूनतम सेवा सुविधा उपलब्ध गराई रोजगारदाताहरुले आफ्नो कर्तव्य पूरा गरेकोमा आभार व्यक्त गरिन्छ ।
हाल आएर कोभिडको असर तथा प्रभावमा कमी भए तापनि पर्यटकहरुको आगमन सकारात्मक हुन नसकेको सन्दर्भमा विगतमा गरिएका सहमति तथा सम्झौताको समय समाप्त भईसकेको हुँदा होटल संघ नेपालले तीनवटै केन्द्रीय ट्रेड युनियनका नाममा मिति २०७८ माघ २ गते (अहिलेको परिस्थितिमा गरिने सहकार्य सम्बन्धमा) अनुरोधपत्र प्रेषित गरिएको तर तीनवटै ट्रेड युनियनबाट समयमा लिखित धारणा प्राप्त नभएकोले पुनः मिति २०७८ फागुन ५ गते तीनवटै केन्द्रीय ट्रेड युनियनहरुलाई आ–आफ्नो धारणा सहित प्रस्तुत हुन अनुरोध गरिएकोमा मिति २०७८ फागुन १० गते अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका अध्यक्ष माधव पाण्डे, मिति २०७८ फागुन ११ गते नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनका महासचिव कमल घिमिरे र मिति २०७८ फागुन १५ गते नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्कासमेतले हस्ताक्षर गरी छुट्टाछुट्टै धारणापत्र होटल संघ नेपाल, गैरीधारामा प्रस्तुत गरिएको थियो ।
होटल संघ नेपालले केन्द्रीय ट्रेड युनियनहरुलाई गरिएको अनुरोध तथा केन्द्रीय ट्रेड युनियनका प्रतिनिधिहरुले प्रस्तुत गर्नुभएको धारणापत्रमा व्यापक छलफल, सम्वाद तथा वार्ता गरी पर्यटन उद्योगको होटल क्षेत्रको औद्योगिक सम्बन्धलाई स्वस्थ, सौहार्द तथा समयानुकूल निरन्तरता दिनका लागि श्रम ऐन २०७४ तथा ट्रेड युनियन ऐन २०४९ बमोजिम देहायका बुँदाहरुमा सहमति गरी हस्ताक्षर गरियो ।
सम्झौताका बुँदाहरु
१. मिति २०७७ असार २८ र मितिः २०७७ माघ १३ गते होटल संघ नेपाल र होटल सम्बद्ध केन्द्रीय ट्रेड युनियन (नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ)हरुको बीचमा गरिएको सामूहिक सम्झौता तात्कालीन परिस्थिति र समय अनुसार मनासिव थियो र सो सम्झौतामा उल्लेख भएका विषयहरुमा विवाद नगर्ने, विवाद भएमा वा रहेमा सम्झौता बमोजिम हुने । संचालनमा आएका होटलहरुका लागि मिति २०७६ साल चैत्र ११ गते भन्दा अगाडी श्रमिक तथा कर्मचारीहरुले प्राप्त गरेको तलव भत्ता, सेवासुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलब्ध गराउने र नेपाल सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गर्ने ।
२. कारोबार सञ्चालनमा नआएका होटल, बन्द तथा पुननिर्माणमा रहेका होटल र आंशिक सञ्चालनमा आएका होटल प्रतिष्ठानहरुको हकमा स्थानीय आधिकारीक युनियन वा क्रियाशिल ट्रेड युनियन र व्यवस्थापन बीचमा हुने आपसी सम्झौता बमोजिम हुने ।
३. होटल प्रतिष्ठान र श्रमिक तथा कर्मचारीहरु बीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरुको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपाल मार्फत समस्याको समाधान गरिनेछ ।
४. यदि भविष्यमा कुनै भवितव्य वा अकल्पनीय घटना वा कावुवाहिरको परिस्थिति सिर्जना हुन गएमा तत्कालै केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपालको बैठक बसी छलफल र आपसी सहमति मार्फत त्यसबाट उत्पन्न भएका समस्याको समाधान गरिनेछ ।
५. बन्दा बन्दीको अवस्थामा भएका सम्झौताहरु कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरुले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण श्रमिकहरुलाई दामासायी रुपमा सबैलाई वितरण गरिनु पर्ने ।




























