ट्विटरको सीईओ बनिन् लिन्डा याकारिनो

काठमाडौँ । एलन मस्कले लिन्डा याकारिनोलाई ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा घोषणा गरेका छन् ।

एनबीसीयूमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरसिपको अध्यक्षका रूपमा आफ्नो भूमिका छोड्दै उनले अब ट्विटर सम्हाल्ने भएकी हुन् ।

ट्विटरका लागि नयाँ सीईओ फेला पारेको भन्दै ट्विट गरेको एक दिनपछि मस्कले याकारिनो सीईओ बन्ने घोषणा गरेका हुन् । तर, मस्कले घोषणा गर्नुअघि नै याकारिनो नै सीईओ बन्ने हल्ला चलिसकेको थियो ।

सन् २०११ देखि एनबीसीयूमा काम थालेकी याकारिनोले त्यसअघि टर्नर कम्पनीमा विज्ञापन कार्यकारी उपाध्यक्षका रूपमा करिब २० वर्ष काम गरेकी थिइन् ।

२०१८ मा उनलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले खेलकुद, फिटनेस र पोषणसम्बन्धी राष्ट्रपतीय परिषद्मा नियुक्त गरेका थिए ।

मस्कले कम्पनी खरिद गरेयता ट्विटरको व्यापारलाई असर परेका बेला एक प्रसिद्ध विज्ञापन कार्यकारीलाई सीईओ पद दिनुलाई बुद्धिमानी एवं चलाखीपूर्ण कदमका रूपमा हेरिएको छ । मस्कले आफूले अब कम्पनीको अध्यक्ष र प्रमुख टेक्नोलोजी अफिसरसँगै उत्पादन र सफ्टवेयरको निरीक्षण गर्ने बताएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro