Everest Back LTD

साइकल संस्कृति बढाउन असोज १३ गते चित्रकला कार्यशाला हुँदै

Ghorahi cement

काठमाडौं । नेपालमा साइकल संस्कृति विकास गर्न चित्रकलामा साइकल संस्कृति विषयक चित्रकला कार्यशाला गोष्ठी आयोजना हुने भएको छ । साइकल कल्चर कम्युनिटीले असोज १३ गते नेपाल पर्यटन बोर्डमा मुट्ठीदानमार्फत यो गोष्ठी आयोजना गर्न लागेको हो ।

 

सो दिन बिहान साढे ६ बजे महिला साइक्लिष्टको नेतृत्वमा पाटन दरबार स्वायरबाट साइकल राइड सुरु हुनेछ । ७ बजे नेपाल पर्यटन बोर्डमा पुगेर चित्रकलामा साइकल संस्कृति कार्यशालाको उद्घाटन गरिनेछ ।

 

सम्भाषणसहित क्यानभासमा वरिष्ठ कलाकार तथा साहित्यकारले संयुक्त रूपमा पेन्टिङ गरी चित्रकला कार्यशाला उद्घाटन गर्नेछन् । विहान ८ बजेदेखि नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा शुरु हुने खुला चित्रकला कार्यशाला साँझसम्म जारी रहनेछ ।

 

एक जना कलाकारले बढीमा दुईवटा क्यानभाषमा चित्रकृति तयार पार्नेछन् । कार्यशालाबाट करिब ५० वटा चित्रकृति तयार गरिने लक्ष्य लिइएको संयोजक डा. तारालाल श्रेष्ठले जानकारी दिएका छन् ।

 

कार्यशालामा ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपतिहरू किरण मानन्धर, रागिनी उपाध्याय, के.के. कर्माचार्य, गोविन्द डंगोल, कृष्ण मानन्धर, विजय थापा, मुकेश मल्ल, सरिता डंगोल, रतनकुमार राई, रविनकुमार कोइराला, हिमालय देवी शाह, सुनिता राणा, तीर्थ निरौला, कृष्णप्रकाश शाह, राकेशचन्द्र श्रेष्ठ, रमण गुरुङ, एस.सी. सुमन, विधाता केसी, दिवेशमान प्रधान, दीपेन्द्रमान बनेपाली लगायत तीन दर्जन वरिष्ठतम चित्रकारहरूको संलग्नता रहने आयोजक संस्था साइकल कल्चर कम्युनिटीले जानकारी दिएको छ ।

 

सहभागी कलाकारहरूद्वारा यस कार्यशालामा सिर्जित चित्रकलाहरू निकट भविष्यमै क्याटलग प्रकाशनसहित प्रदर्शनी गरिनेछ । कार्यशालामा सिर्जित चित्रकृति बिक्रीको ५० प्रतिशत रकम कलाकारलाई र बाँकी ५० प्रतिशत रकम आयोजक संस्थाले नेपालमा साइकल कानुन निर्माण तथा साइकल संस्कृति अभियान सञ्चालनमा खर्च गर्नेछ ।

 

प्रदर्शनीमा बिक्री हुन बाँकी चित्रकृति आयोजकले आफूसँग कम्तीमा ६ महिनासम्म राखी सम्पर्कका आधारमा बिक्रीका लागि व्यवस्था गर्नेछ । उक्त समयावधिमा पनि बिक्री नभएका कलाकृति सर्जक कलाकारलाई नै फिर्ता दिइने साइकल कल्चर कम्युनिटीले जानकारी दिएको छ ।

 

संयुक्त राष्ट्रसंघको भिजन २०३०, दीगो विकास लक्ष्य र ग्रीन इन्भेष्टमेन्ट शीर्षकसँग साइकल संस्कृति जोडेर साइकल संस्कृति कम्युनिटीले सम्भवतः नेपालमा पहिलो पटक वरिष्ठ कलाकार, अभियान्ता तथा साहित्यकारको सामूहिक योगदानबाट यस किसिमको चित्रकलामा साइकल संस्कृति विषयक विशिष्ट कार्यशाला सम्पन्न गर्न लागेको हो । यसले वातावरणीय न्यायका लागि कलात्मक आर्ट अभियानमार्फत शान्ति (पिस), नागरिक (पिपुल) र पृथ्वी (प्लानेट) जोडेर नेपाली समाजमा बौद्धिक विमर्शको ढोका खोल्ने विश्वास लिइएको छ ।

 

मुठ्ठीदानबाट सञ्चालन गरिएको यस कार्यशाला पश्चात चित्रकृतिहरूको प्रदर्शनी, चित्रकृतिसहित सांस्कृतिक महत्वका सम्पदा क्षेत्रहरूमा आम भेला, सातवटै प्रदेशमा नेपालमा साइकल कानुन र साइकल संस्कृति अभियानमार्फत वातावरणीय न्यायका क्षेत्रमा सिर्जनात्मक कार्यक्रमहरू जारी राख्ने आयोजक संस्था साइकल कल्चर कम्युनिटीसहित साझेदार संघसंस्थाले लक्ष्य लिएको छ ।

 

नेपालमा साइकलबाटै जीविकोपार्जन गर्ने लाखौँलाख नागरिक छन् । दैनिक यात्रा, स्वास्थ्य, खेलकूद तथा मनोरञ्जनका लागि साइकल प्रयोग गर्ने नागरिक पनि लाखौँ छन् । विश्वका कुनाकाप्चामा हरक्षण सवा अर्ब साइकल गुडिरहेको तथ्य छ ।

सक्रिय गतिशीलतासँगै बहुआयामिक वातावरणीय न्यायको माध्यमका रूपमा स्थापित साइकल संस्कृतिलाई विश्व साइकल दिवससहित सम्मान गर्दै संयुक्त राष्ट्रसंघले दीगो विकासको लक्ष्य तय गरेको छ । साथै, यस वर्षको विश्व पर्यटन दिवस हरित लगानी (ग्रीन इन्भेष्टमेन्ट) शीर्षकमा केन्द्रित छ ।

Nepali patro