टिकटक बन्द गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णय तानाशाही: सुर्य थापा
वि.सं.२०८० कात्तिक २७ सोमवार
shares
काठमाडौं।एमाले नेता तथा प्युठानबाट निर्वाचित सांसद सूर्य थापाले टिकटक बन्द गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णय तानाशाही भएको बताएका छन्।
प्रेस विज्ञप्तिमार्फत थापाले विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका समयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा संसदमा दर्ता गरिएका चारवटा विधेयकहरू पारित गर्न भाँजो हालेर कानून बन्न नदिने गैरजिम्मेवार तत्वहरूले संसदको वर्षे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै गरेको यस अलोकतान्त्रिक र परिवर्तनको स्वाभाविक गति रोकी तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्ने प्रयत्नको जति निन्दा गरेपनि कम हुने बताएका छन्।
‘टिकटक बन्द गर्ने मन्त्रिपरिषदको आजको निर्णय खेदजनक छ। यसबाट ’जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड’ भन्ने नेपाली भनाइ व्यवहारतः चरितार्थ गर्न खोजेको प्रष्ट भएको छ,’ सांसद थापाको विज्ञप्तिमा उल्लेख छ, ‘संसारभरि टिकटकले हासिल गरेको लोकप्रियताले नेपाली समाजलाई पनि अत्यन्त छोटो समयमै प्रभावित गरेको छ। नेपाली जनजीवनका बहुआयामिक क्षेत्रमा गहिरो गरी जोडिएर यो वैकल्पिक मिडियाका रूपमा स्थापित छ।’
‘टिकटकलगायत वैकल्पिक सञ्चारका साधनहरूलाई व्यवस्थित गर्नु अत्यावश्यक छ। तर, यो कार्य मन्त्रिपरिषदले स्वेच्छाचारी रूपमा बन्द गर्ने निर्णय गरेर होइन, संसदबाट कानून बनाएर मात्रै गर्नुपर्छ,’ थापाले भनेका छन्, ‘टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालहरूलाई कानूनबमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन जोडदार माग गर्दछु। म प्रचण्डपथको प्रेत बोकेर बन्द समाजतर्फ उन्मुख हुँदै धुन्धुकारी बाटोमा अघि बढेको सरकारलाई होशमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराउन चाहन्छु।’
































