टिकटक ब्यान्डविथका लागि कति रकम बाहिरियो ?

Ghorahi cement

काठमाडौं । नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि कतिपय सरकारी अधिकारीहरूले नेपालबाट बाहिरिने ठूलो मात्राको विदेशी मुद्रा जोगिने दाबी गरेका विवरणहरू आएका छन्। टिकटक चलाउनका लागि धेरै मात्रामा ब्यान्डविथ प्रयोग हुने र त्यो किन्न ठूलो रकम विदेशिने गरेको दाबी उनीहरूको छ।

नेपालमा प्रयोग हुने ब्यान्डविथमध्ये करिब एक तिहाइ हिस्सा टिकटकले ओगटिरहेको भए पनि त्यो मात्र ब्यान्डविथ खपतको मुख्य माध्यम नभएको इन्टरनेट सेवाप्रदायकहरू बताउँछन्।

उनीहरूका भनाइमा बरु सरकारले बन्द गर्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढेको देखिएको छ र त्यसको कारण प्रतिबन्ध छलेर टिकटक चलाउने प्रयास हुनसक्छ। टिकटक प्रयोगकर्ताले भर्चूअल प्राइभेट नेटवर्क अर्थात् भीपीएनको प्रयोग गर्न थालेकाले त्यस्तो भएको हुनसक्ने उनीहरूको भनाइ छ।

 

भीपीएनले विशेषगरी हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्युटरबीच इन्टरनेटको सुरक्षित सञ्जाल स्थापित गर्ने काम गर्छ। उक्त प्रविधिका माध्यमबाट प्रयोगकर्ताको ‘लोकेसन’ परिवर्तन सक्छन् र ‘आईपी’ ठेगाना पनि बदल्न सक्छन्। सरकारी प्रतिबन्ध छल्न भीपीएनले हाम्रा गतिविधिलाई अर्को देशमा रहेको कम्प्युटर प्रणालीमार्फत् देखाइदिन्छन्।

 

त्यसो गर्नका लागि नेपालदेखि भीपीएनमा देखाइने देशसम्म सीधै ‘इन्टरनेट ट्राफिक’ जाने गर्दा अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत बढ्ने इन्टरनेट सेवा प्रदायकहरूको भनाइ छ।

 

सरकारी अधिकारीहरू भने भीपीएनलगायतका प्रविधि प्रयोग गर्न सीमित व्यक्तिहरूले मात्र जान्ने भएकाले टिकटक नेपालमा चल्नै नपाएपछि ब्यान्डविथको खपत कम हुने र त्यसले विदेशी मुद्रा बाहिरिने क्रमलाई रोक्नसक्ने दाबी गर्छन्।

 

इन्टरनेट सेवा प्रदायक सङ्घ (आईस्प्यान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि नेपालको अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिक घट्नुको साटो बढेको छ।

 

उनले भने, “टिकटक बन्द हुनुभन्दा अगाडिको तुलनामा अहिले २० प्रतिशतले इन्टरनेशनल ट्राफिक बढेको छ।” “त्यसको कारण टिकटक चलाउन भीपीएन र डीएनएसजस्ता कुराको प्रयोग बढेको हुनसक्छ।”नेपाल सरकारले ूसामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेकोू भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

 

टिकटकमाथिको प्रतिबन्धपछि अन्तर्राष्ट्रिय ट्राफिक बढे पनि देशभित्र इन्टरनेट ट्राफिकमा खासै असर नपरेको जानकारहरू बताउँछन्। स्थानीय इन्टरनेट ट्राफिकको नियमित अनुगमन गर्ने एउटा संस्था इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)का नेटवर्क इन्जिनियर निरज आचार्यका अनुसार स्थानीय ट्राफिकका हकमा टिकटक बन्दको खासै असर देखिएको छैन।

उनले भने, “नेपालको स्थानीय इन्टरनेट ट्राफिक टिकटक बन्द गर्नुअघि र अहिले उस्तै देखिन्छ।” एनपीआईएक्सले स्थानीय इन्टरनेट ट्राफिकलाई स्थानीय स्तरमै राख्ने र स्थानीय वेब सर्फिङलाई स्थानीय सामग्रीमा नै केन्द्रित गराउने काम गर्ने बताइएको छ।

 

आचार्यका अनुसार नेपालमा क्रिकेट तथा फुटबललगायतका खेलहरू वा कुनै महत्त्वपूर्ण कार्यक्रम तथा घटना भएका बेलामा स्थानीय इन्टरनेट ट्राफिक बढ्ने गरेको छ।

 

तर औसत अवस्थामा नेपालमा स्थानीय ट्राफिक २०र२२ गिगाबिट्स हुने गरेको छ। आईस्प्यानका अध्यक्ष पराजुलीका भनाइमा नेपालमा हाल औसतमा प्रतिप्रयोगकर्ता तीन एमबीपीएस ब्यान्डविथ खपत हुने गरेको छ। यो समग्र अवस्था हो भने अन्तर्राष्ट्रिय ब्यान्डविथतर्फ प्रतिप्रयोगकर्ता ७१२ केबीपीसएस खपत हुने गरेको उनले बताए।

 

उनले भने, “जुन तीन एमबीपीएस खपत हुन्छ त्यसमध्ये करिब ३० प्रतिशत टिकटकको हिस्सा रहेको हाम्रो अनुमान छ।” “त्यसपछि दोस्रोमा फेसबुकको २५ प्रतिशत जति र तेस्रोमा यूट्यूबको २० प्रतिशत जति देखिन्छ,” उनले भने। त्यस हिसाबले नेपालमा टिकटक प्रयोगकर्ताले कुल ब्यान्डविथ खपतको करिब एक तिहाइ हिस्सा प्रयोग गर्ने गरेको देखिन्छ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा नेटवर्क सर्भिस प्रोभाइडर कम्पनीहरूले इन्टरनेट चलाउनका लागि ब्यान्डविथ खरिद गर्न पाउँछन्।

 

सञ्चार मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गत आर्थिक वर्षमा नेपालबाट इन्टरनेट ब्यान्डविथका लागि १ अर्ब ८० करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ।

 

त्यस वर्ष करिब साढे तीन अर्ब रुपैयाँ स्याटेलाइट सेवातर्फ खरिदका लागि नेपालबाट बाहिरिएको छ। स्याटेलाइट सेवा खरिद गर्नेमा विशेषगरी डाइरेक्टु होम (डीटीएच) तथा केबल टेलिभिजन र त्यसका साथमा इन्टरनेट सेवा दिने कम्पनीहरू रहेका छन्।

 

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८र७९ मा नेपालबाट करिब चार अर्ब रूपैयाँ ब्यान्डविथ र स्याटेलाइट सेवा खरिदका लागि विदेशिएको थियो।

 

त्यस आर्थिक वर्षमा नेपालका १३ वटा कम्पनीहरूले ब्यान्डविथ भित्र्याएका थिए। यो रकम सेवा प्रदायकलाई सरकारले ब्यान्डविथ किन्न गरेको विदेशी मुद्रा सिफारिसका आधारमा निकालिएको हो।

नेपाली कम्पनीहरूले मुख्यतस् भारतको बाटो हुँदै भारतीय, सिंगापुर र हङकङका कम्पनीसँग ब्यान्डविथ किन्दै आएका छन्। ब्यान्डविथ भनेको डेटाको प्रसारण दर हो। तोकिएको समयमा कति डेटा प्रसारण हुन्छ भन्ने आधारमा यसको मापन गरिन्छ। डेटालाई बिट्स र समयलाई सेकेन्डमा गणना गरेर यसको मापन हुन्छ।

 

ब्यान्डविथ इन्टरनेट र इन्टरनेटमार्फत हुने प्रसारणको मुख्य आधार हो। उच्च दरको ब्यान्डविथ भए इन्टरनेट र इन्टरनेटमार्फत हुने प्रसारण गति पनि तीव्र हुन्छ।

 

टिकटकमाथि प्रतिबन्ध लगाउँदैमा नेपालमा ब्यान्डविथ खपत कम नहुने उल्टै विदेशतर्फको इन्टरनेट ट्राफिक बढेर ब्यान्डविथ खपत धेरै हुने कतिपयको भनाइ रहेको छ।

 

तर टिकटक प्रतिबन्धलाई कार्यान्वयन गराउन नेपाल दूरसञ्चार प्राधिकरणले गठन गरेको प्राविधिक समितिका संयोजक विजयकुमार रोय भन्छन्, “त्यो एप नेपालमा चल्दै नचल्ने भएपछि त्यसबापत हुने ब्यान्डविथ खपत रोकिन्छ। त्यसले विदेशी मुद्रा जोगाउन मद्दत गर्छ।”बीबीसी

Shangri-la Development Bank Ltd.
Nepali patro