काठमाडौंः फोहोर, दुर्गन्ध र प्रदूषणको शहर, सर्वसाधारणलाई श्वास फेर्नसमेत सकस !
वि.सं.२०८० पुस ८ आइतवार
shares
बालबालिकाको पहिलो विद्यालय घर हो । अभिभावक उनीहरुको गुरु । पहिले पहिले अभिभावकले बालबालिकालाई ठाडो शिर पारेर हिँड्न सिकाउँथे । मुख छोप्नुहुन्न भनेर सिकाउने गरिन्थ्यो । जसले गल्ती गर्छ, उसले शिर निहुँराउछ भनिन्थ्यो । गल्ती गरेपछि लाजले मुख छोप्छन् भन्ने चलन थियो ।
एक ठाउँमा गरेको गल्ती लुकाउनका लागि अर्को ठाउँमा बसाइसराई गरिन्छ भन्ने गरिन्थ्यो । तर, अहिले ठ्याक्कै उल्टो भो । मुख नछोपीकन कोही हिँड्नै सक्दैनन् । बढ्दो प्रदुषणका कारण मुखमा मास्क लगाउनैपर्ने बाध्यता छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रु, बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, पसले, सरकारी कर्मचारी, पैदलयात्री, भक्तजन सबैको मुख मास्कले छोपिएको हुन्छ ।
ड्युटीमा बसेका ट्राफिक प्रहरीहरुले पनि मास्क लगाएकै हुन्छन् । सदनभित्र समेत सांसदहरु मास्क लगाएर बसेका हुन्छन् । धुँवा धुँलो र सरुवा रोगबाट बच्ने उत्तम उपाय नै मास्क हो । कसैलाई सोध्यो भने भन्छन्,‘अहिले पनि कोरोना हटिसकेको छैन् । अर्कोतिर प्रदुषणले गर्दा श्वास फेर्न गाह्रो हुन्छ । त्यसैले मास्क लगाउनैपर्ने बाध्यता छ ।’
अचेल त भखरै जन्मेको शिशुलाई समेत मुखमा मास्क लगाएर बोकेर हिँड्ने गरिएको छ । शिक्षकहरुले विद्यार्थीलाई मास्क लगाएरै पढाइरहेका हुन्छन् । यस्तो हुनुको कारण के त ? आम नागरिक स्वच्छ हावा लिनबाट समेत वञ्चित भए, किन ? सरकारको लाचारिताको कारणले आम नागरिक मुख छोपेर हिँड्न बाध्य भएका छन् ।
प्रदूषणको प्रमुख कारण हो ईट्टाभट्टा । ईट्टाभट्टाले एकदमै धेरै वायु प्रदूषण गरेको छ । ईट्टा पोल्दा निस्किने धुँवाले मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । त्यस्तै, अर्को कारण हो थोत्रा, पुराना सवारी साधन । कालो धुँवाको मुस्लो उडाएर गाडी गुडिरहेको हुन्छ । तर, त्यस्ता गाडीलाई कारबाही भएको छैन् ।
कोरोनाका कारणले नेपाल दुई पटक लकडाउन भइसकेको छ । सरकारले २०७६ चैत ११ र २०७८ वैशाख १६ गते लकडाउन गर्यो । त्यतिबेला पनि सर्वसाधारणले तरकारी बजार, पार्टी प्यालेसहरु जाँदा मास्क लगाउँदैनथें । अहिले त मास्क लगाउनुपर्ने बाध्यता नै भयो । कालीमाटी तरकारी बजारमा हरेकले मास्क लगाइरहेको देखिन्छ ।
यता, चियापसल, होटल, रेष्टुरेण्टहरुमा पनि मास्क नै लगाएर पुग्छन् । खाने बेलामा आधा मास्क तल झार्ने, फेरि पूरै मास्क लगाउने । यो कुराले अहिलेपनि कोरोना छ भन्ने कुरा प्रमाणित हुन्छ । भारतमा पुनः कोरोनाको नयाँ भेरिएन्ट देखिएको छ । सरकारले कोरोना परीक्षणको शुल्क लिन्छ ।
त्यसैले पनि कोही कोरोना चेक गर्न गएका छैनन् । काठमाडौंमा बढेको प्रदूषणले विभिन्न रोग निम्त्याएको छ । जीउ चिलाउने, आँखा पोल्ने हुन्छ । सरकारले सँधैभरि आम सर्वसाधारण मुख छोपेरै हिँड्नुपर्ने बनाउने हो कि खुल्ला हिँड्न पाउने जनताको अधिकार सुरक्षित गर्ने हो ।
गल्ती नगरिकन मुख छोपेर हिँड्नुपर्ने अवस्था आएको छ । यसको दोषी सरकार हो । सरकारको वातावरण मन्त्रालय पनि छ, वातावरण विभाग पनि छ । यी निकायको काम के ? धुवाधुलो फैलाउने सवारीको अनुगमन गर्नु, ईट्टाभट्टाहरु अन्यत्र सार्नु, वातावरणलाई स्वच्छ र सफा बनाउने क्रियाकलापहरु गर्नु यी निकायको काम हो ।
कर्मचारी छन् तर केही काम भएको छैन् । खोलानाला सबै फोहोर भएका छन् । काठमाडौं उपत्यकाको त कुरै नगर्दा हुन्छ, उपत्यका बाहिरको पनि त्यस्तै प्रदूषित बनेको छ । जनसंख्या बढेको छ, जसले गर्दा प्राकृतिक स्रोतहरु मासिँदै, दूषित हुँदै गएको छ । प्रकृतिको संख्या, खोलानाला जगेर्नाका लागि सरकारसँग कुनै योजना नै छैन् ।
उपत्यकामा हरियाली देखिन छाडिसकेको छ । रुख हेर्न पर्यो भने गाउँ नै जानुपर्छ । सडकको छेउछाउ ससाना विरुवा रोपिएको छ । त्यसको पनि संरक्षण छैन् । हेरचाह नहुँदा विरुवाहरु मरिसकेका छन्, भएका पनि कहिले ठूला हुन्छन्, हुँदैनन् ? मानव श्वासप्रश्वासका निम्ति रुख विरुवाको एकदमै धेरै महत्व छ ।
वनजंगल फडानी गरिएको छ तर नयाँ रुख विरुवा रोप्नतर्फ कसैको ध्यान छैन् । सरकारले नौटंकी रुपमा बागमती सरसफाइ अभियान चलायो । २०७० जेठदेखि हप्ताको प्रत्येक शनिबार बागमती सरसफाइको अभियान चलाइयो । अभियानको नाममा अर्बौं रुपैयाँ खर्च भयो, तर प्रगति शून्य बराबर छ ।
बागमतीको स्वरुप हिजो जस्तो थियो, आज पनि त्यस्तै छ । डोको, जुत्ता, झाडु, पब्जा, साभेल भन्दाभन्दै पैसा मात्र स्वाहा बनाइयो । जनताले तिरेको करदेखि विदेशीले दिएको सहयोगसमेत भ्रष्टाचार गरे । संघका सबै मन्त्रालय सिंहदरबारभित्र छ । सिंहदरबार नजिकै भएको बिजुलीबजारको धोबीखोला गन्हाएर हिँड्न सकिँदैन् ।
अनि यस्तो पनि राजधानी हुन्छ ? काठमाडौंमा भएका अधिकांश खोलानाला मिचेर घर बनाइएको छ । बाँकी भएका खोलाहरु साँघुरिँदै गएको छ । खोलामा पानी बग्दैन्, ढल बग्छ । काठमाडौं मुलुकको राजधानी हो, तर यहाँको फोहोर व्यवस्थापन गर्न निकै नै चुनौती छ । सरकारले फोहोर उठाउन सहयोग नगरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर उठाउन छोडिएदिए ।
उनले सिंहदरबार सारेर अन्यत्र लैजान सरकारलाई चुनौती दिएका थिए । काठमाडौंलाई मुलुकको राजधानी भन्न सुहाउँदैन् । फोहोर पार्छन् काठमाडौंबासी, दुःख पाउँछन् बाहिरी जिल्लाबासी । काठमाडौंमा पानीको अभाव छ । भएका खोलानाला सबै फोहोर बनाइहालें अनि पानीको हाहाकार हुनु स्वाभाविकै हो ।
फोहोर पाल्न नुवाकोट र पानीका लागि मेलम्चीको सहारा लिनुपरेको छ । मेलम्चीको पानी काठमाडौं ल्याउन अब मेलम्चीबासीले नै रोक लगाउन देखिएको छ । मेलम्चीमा वर्षेनि बाढी जान्छ । बाढीका कारण धेरै धनजनको क्षति हुन्छ । तर, काठमाडौंबासीले के सहयोग गर्छन् ।
काठमाडौंलाई पानी पठाउँदा खेती किसानी गर्न पानीको समस्या हुने भएपछि उनीहरुले पानी नदिने भन्न थालिसकेका छन् । नुवाकोटका स्थानीयले फोहोर फाल्न नदिने भनिसकेका छन् । काठमाडौंबासी धेरै स्वार्थी भए । उनीहरु फोहोर गर्छन् । फोहोर पार्न जानेका छन् तर व्यवस्थापन गर्न आउँदैन् ।
महानगरले पटकपटक फोहोर छुट्याइदिनुस् भनेर आग्रह गरिसकेको छ । तर, उनीहरु टेर्दैनन् । उनीहरु फोहोर गर्ने अनि रोगीचाँहि नुवाकोटबासी बनिदिनुपर्ने ? नुवाकोटको उर्वरभूमि जम्मै मरुभूमिमा परिणत भएको छ । दुर्गन्धका कारण नुवाकोटबासी बस्न नसक्ने स्थितिमा पुगेका छन् ।
माछा पाइने खोलामा अहिले फोहोर बग्छ । प्रदूषणका कारण रोगीहरु बढिरहेका छन् । काठमाडौंमा सबैभन्दा धेरै रोगी भेटिन्छन् । अधिकांशलाई सुगर, प्रेसर, क्यान्सर, मृगौला रोगले च्यापेको छ । अहिले सर्वसाधारणहरु काठमाडौंलाई छिःछि भन्न थालिसकेका छन् । काठमाडौंलाई दुर्गन्धित शहर भनेर घोषणा गर्ने बेला भइसकेको छ ।
काठमाडौंलाई कसरी राजधानी भन्ने ? अव्यवस्थित, कुरुप, दुर्गन्ध र फोहोरले भरिपूर्ण छ, काठमाडौं । उपत्यका बाहिरका आम सर्वसाधारणलाई गुजारा गर्न यहाँ महामुश्किल छ । धुँवाधुलो र फोहोरका कारणले बस्नै सकिँदैन् । चुरोट खाएपछि सडकमै ठुटा फालिएको हुन्छ । गुट्खा खाएर सडकमा थुक्छन् ।
जे खायो, प्याकेट बाटोमै फाल्यो । शहर सफा हुनलाई पहिले नागरिक जिम्मेवार हुनुपर्छ । शिक्षित जति सबै काठमाडौंमा थुप्रिएका छन् तर सबैभन्दा धेरै फोहोर यही छ । अनि काठमाडौंबासीलाई के सुकिलामुकिला भन्नु ? मान्छेको चाप एकदमै धेरै छ । सरकारले कुनै एक्सन लिन पनि सक्दैन् ।
सबै जना काठमाडौं आएर थुप्रे भने चाप कसरी धान्छ ? यहाँका स्थानीयबासीहरुले उपत्यका छोड्नुपर्ने अवस्था आएको छ । किन कि उनीहरुलाई काठमाडौंमा बस्न सकस परिसकेको छ । स्थानीय निकायदेखि सरोकारवाला निकायहरु जिम्मेवार नहुने हो कि उपत्यका झनै फोहोर बन्छ ।
कबाडी, वर्कसप, ड्राइभिङ सेन्टर, ईट्टाभट्टा अन्यत्र सार्ने । खोलानालामा फोहोर फाल्न नदिने । प्रदूषण गर्ने सवारी साधनहरु चल्नमा प्रतिबन्ध लगाउने गर्ने हो भने केही हदसम्म प्रदूषण कम होला । अझैपनि सरकारले हेलचेक्य्राइ गर्न हो भने उपत्यका रित्तिन बेर छैन् । यहाँ न खानलाई अन्न रोप्ने ठाउँ छ, न पानी छ, न फोहोर फाल्ने ठाउँ छ । सरकारले नै उपत्यकालाई यो अवस्थामा पुर्यायो ।
































