हरेस खाएर थाकेकाहरुलाई- ‘टुवेल्थ फेल’

Ghorahi cement

काठमाडौं।तपाईं बलिउडको धुमधडका मसलेदार फिल्मबाट आजित हुनुभएको छ ? आजित हुनुभएको छ भने तपाईंलाई रिफ्रेस बनाउने एउटा फिल्म युट्युबमा छ, ‘टुभेल्थ फेल’ । यो फिल्मले अठोट, संकल्प र सपना प्राप्तिको मीठो स्वाद चखाउँछ । हजार ठक्कर र अप्ठ्यारासँग लडेर सपनाको उडान भर्ने जोश सृजना गरिदिन्छ ।

 

 

यो फिल्मको कथा सन् २००५ मा आईपीएस अफिसर बनेका मनोजकुमार शर्माको जीवनीमा आधरित हो । मध्यप्रदेशको गरिब परिवारमा हुर्किएका शर्मा १२ कक्षामा चिट चोर्न नपाएर फेल भएका थिए । यसपछि मेहनतले पढेर, टेम्पो चलाएर, सडकमा भोकभोकै सुतेर, लाइब्रेरीमा काम गरेर आईपीएस अफिसर बनेका थिए । उनै शर्मा लाखौं प्रतिस्पर्धीलाई पछि पार्दै आईपीएस अफिसर बन्दासम्मको संघर्षको कथा नै ‘टुभेल्थ फेल’ हो ।

 

सानो गाउँबाट फिल्मको सुरुवात हुन्छ । मुख्य पात्र मनोज घरको छतमा बसेर चिट बनाइरहेको छ । उसको पिता इमानदारिताका कारण जागिरबाट निकालिन्छ । र अदालतको चक्कर काट्न सुरु गर्छ ।

 

मनोजले एक इमानदार डीएसपीसँगको भेटपछि प्रहरी अफिसर हुने अठोट गर्छ । तर, बाटो सहज हुँदैन । पिताको जागिर गएपछि घरको अवस्था जर्जर बन्छ । मनोज भने बिए पास गरेपछि हजुरआमाको पेन्सन लिएर प्रहरी अफिसर बन्न ग्वालियर शहर निस्कन्छ । तर, बाटोमा हजुरआमाले दिएको पैसा र झोला सबै हराउँछ । ऊ सडकमा आउँछ । तर, मनोजसित एकैथोक हुन्छ, त्यो हो अठोट र प्रण ।

 

त्यही प्रणका कारण ऊ दिल्ली पुगेर लाइब्रेरीमा काम गरेर, आँटाचक्कीमा काम गरेर अन्तत चौथोपटकमा युपीएससी अन्तर्गतको आईपीएस अफिसर बन्न सफल हुन्छ । यस यात्रामा मनोजलाई उसकी प्रेमिशा श्रद्धाले साथ दिन्छिन् ।

 

मनोजको यो यात्रा यहाँ दुई अनुच्छेदमा भन्न जति सजिलो छ, वास्तविकतामा उत्तिकै जटिल छ ! उसले गरेको संघर्ष, संघर्षमा आएका उतारचढाव र सपना प्राप्तिको भोक– सिनेमामा बडो सुन्दर ढंगले बुनिएको छ ।

 

फिल्मले भन्छ, सपनाको यात्रा कहिल्यै पनि सरल रेखामा हुँदैन । सपनाको यात्रामा निस्कनेहरु कहिले अक्करे भिरको गोहोमा हिँड्नुपर्छ । कहिले अग्लाअग्ला पहाड चढ्नुपर्छ । कहिले मरुभूमिको तिर्खा सहन सक्नुपर्छ । कहिले भेलमा हाम फाल्न सक्नुपर्छ । अनि मात्रै उसले सपनाको फाँट भेटाउँछ ।

 

सानातिना हण्डर र ठक्करमा हरेस खाएर भाग्नेहरुलाई रोक्ने सिनेमा हो, ‘टुवेल्थ फेल’ । एउटा मामुली युवकले तय गरेको कठीन यात्रा र उसले प्राप्त गरेको सफलताको कथा हो, ‘टुवेल्थ फेल’ । हरेस खाएर थाकेकाहरुलाई पुर्नजाग्रित गर्ने कथा हो ‘टुवेल्थ फेल’ ।

 

र यस कथालाई सिनेमामा जसरी बुनिएको छ, त्यसले दर्शकलाई बाँधिराख्न सक्षम छ । तीन दशकअघि ‘परिन्दा’, ‘१९४२ ः अ लभ स्टोरी’ जस्ता फिल्म दिएका विद्युविनोड चोपडाले अहिले फेरि सुन्दर फिल्म पस्किएका छन्, ‘टुवेल्थ फेल’ ।

 

फिल्मको वास्तविक पात्र मनोज कुमार शर्मा अहिले मुम्बाइ पुलिसको एडिसनल कमिसनर छन् । साथै उनको काम गर्ने शैलीका कारण उनलाई उनलाई ‘सिंघम’ र ‘सिम्बा’ पनि भन्ने गरिन्छ । शर्माको वास्तविक कथालाई अनुराग पाठकले गैरआख्यान शैलीमा लेखेर २०१९ मै पुस्तक प्रकाशित गरिसकेका छन् । यो फिल्म त्यही पुस्तकमा आधारित हो ।

 

र ‘टुवेल्थ फेल’ हेर्नुभएको छैन भने हेर्नुहोस् । तपाईंलाई फिल्मले त निराश बनाउँदैन नै, सपना प्राप्तिका लागि अन्तिम पलसम्म लडिरहने आत्मबल प्रदान गर्छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro