प्रचण्डको सरकार तुरुन्तै गिर्छ कि भन्ने कसैको दिमागमा नपसोस, यो गठबन्धन टुट्दैन् : सोमप्रसाद पाण्डे 

Ghorahi cement

 

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अहिलेको सत्ता गठबन्धन कुनैपनि हालतमा नटुट्ने दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने र यसअघि भएको भद्र सहमति लागु हुनेमा आफूहरु विश्वस्त रहेको उनको भनाई छ ।

उनले भने,‘एमाले, माओवादी र एकीकृत समाजवादीसहितको यो गठबन्धन टुट्दैन । अब कसैको लहड र रहरको भरमा छ भने छुट्टै कुरा हो । नत्र केही हुँदैन् । सुदूरपश्चिममा पनि केही फेरवदल हुँदैन् । एकीकृत समाजवादीकै मुख्यमन्त्री हुन्छ । यो गठबन्धनबाट नै हुन्छ । केन्द्रको सरकार तुरुन्तै गिर्छ कि भन्ने कुरा कसैको दिमागमा नपसोस । गिर्दैन् ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नो दलले पाउने भद्र सहमति हुँदापनि त्यो कार्यान्वयनमा आनाकानी भएपछि अहिलेको परिस्थिति उत्पन्न भएको सुनाए । तर, आजबाट नयाँ परिस्थितिको निर्माण भएकोले अब गठबन्धनमा समस्या नहुने उनको भनाई छ ।

उनले भने,‘राजनीतिमा विश्वास टुट्यो र घात भयो भने त्यो राजनीतिक रूपमा ठूलो अपराध मानिन्छ । सुदूरपश्चिममा सरकार परिवर्तनको कुरा भएको छ, मुख्यमन्त्री बन्ने प्रक्रिया चल्दैछ । नयाँ गठबन्धन बनेपछि हामीले धेरै भद्र सहमति गरेका थियौं । त्यो सहमतिमा सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भनेर सहमति गरिएको थियो । यो भद्र सहमति हो । लिखित वा अलिखित होला । राजनीतिमा सबै कुरा लिखित हुन्छ भन्ने हुँदैन् । अलिखित पनि सहमति नै हो । तर, सुदूरपश्चिममा एकीकृत समाजवादीलाई अवमूल्यन गर्ने काम भयो । केही कुरामा हामी खरो ढंगले जानुपर्ने बाध्यता रहेकोले यो स्थिति आएको हो ।’

आफूहरुलाई अवमूल्यन गरिएपछि पार्टीले फरक ढंगले कदम चालेको पाण्डेको भनाई छ । उनले भने,‘अनि हामी ब्याक हुने ? त्यतिवेलासम्म नागरिक उन्मुक्ति पार्टीको मुख्यमन्त्रीको कुरा उठेको छैन् । लुम्बिनीमा पनि हाम्रै कारणले सरकार बन्यो । आज बाग्मती पनि त्यही भयो । हामीले साथ नदिएको भए बाग्मतीमा माओवादीको मुख्यमन्त्री हुँदैन थियो ।’

उनले सुदूरपश्चिममा सरकार गठनमा आफ्नो दलको भूमिकालाई लिएर अध्यक्ष माधव नेपालमाथि शंका नगर्नपनि एमाले नेता आनन्द पोखरेललाई चेतावनी दिए । उनले अहिलेको सत्ता गठबन्धन नटुट्ने दाबी गरे । उनले भने,‘अघि यहाँ सुरेन्द्र केसीले पनि भन्नुभयो यो गठबन्धन एक वर्ष गठबन्धन टुट्दैन् भनेर, म पनि भन्छु यो गठबन्धन टुट्दैन् । हामीले धेरै छलफल र मूल्यांकन गरेर मार्क्सवादले भनेअनुसार ठोस परिस्थितिको ठोस विश्लेषण गरेर यो गठबन्धनमा सामेल भएका हौं ।’

उनले सत्ताको लागिमात्रै गठबन्धन गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले भने,‘जनताको मुद्दा सम्बोधन गर्नको लागि गठबन्धन बनाउने कुरा हो । होला, हामी धेरै उथलपुथल गर्न सक्छौं, तर त्यो ठूलो कुरा होईन । अब हामी आफ्नो वाचा र बन्धनमा बाँधिनुपर्छ । जुन विश्वासमा हामी अडिएका छौं, त्यो तोडिनुहुँदैन् । अहिले मुलुक निरााशमा छ । जनता निराशामा छन् । आशा र परिवर्तनको लागि गठबन्धन बनाउने कुरा हो । हामीले व्यवस्था परिवर्तन गरेकै हो, तर अवस्था परिवर्तन भएको छैन् । हेर्नुहोस हुँदै नभएको पनि होईन । केही भएको छ । यो मुलुकलाई अब समृद्धिको बाटोमा नलैजाने छुट हामीलाई छैन् । हाम्रो अर्जुनदृष्टि भनेको मुलुकको समृद्धिको बाटो हो । हामी समाजवादको लक्ष्यमा छौं ।’

Shangri-la Development Bank Ltd.
Nepali patro