पूर्वप्रेमीहरुको नाम खुलाइदिएपछि काउन्सिलद्वारा कान्तिपुरसँग स्पष्टीकरण माग

वि.सं.२०८१ असार १४ शुक्रवार
shares

काठमाडौं।प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजसँग स्पष्टीकरण मागेको छ । हालै प्रसारित ‘इट्स माइ शो’को पछिल्लो विवादित एपिसोडलाई लिएर काउन्सिलले कान्तिपुरलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
गत शनिबार प्रशारित एपिसोडमा कार्यक्रम सञ्चालिका ओसिन सिटौलाले अतिथिलाई अश्लिल र अपाच्य प्रश्न गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यही प्रसंगमा काउन्सिलले आपत्तिजनक ढंगले कार्यक्रम चलाएको, गोपनीयता हनन् हुने काम गरेको र अश्लीलता देखाएकाले स्पष्टीकरण सोधेको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।
स्पष्टीकरणमा कसैलाई हानी पुर्याउने, अवहेलना, मानमर्दन हुने प्रकृतिको जवाफको अपेक्षा गर्दै कार्यक्रमको प्रारूप तयार गर्ने र त्यसउपर व्यक्त भएका जवाफबिना सम्पादन के कसरी सम्प्रेषण हुन गएको हो ? भनेर सोधिएको छ ।
‘इट्स माइ शो’को उक्त विवादित एपिसोडकै कारण अहिले नेपाली चलचित्र क्षेत्रमा समेत तरंग पैदा भएको छ । कार्यक्रमका अतिथि अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको जवाफले चल्तीका कलाकारहरु विवादमा तानिएका हुन् ।
स्वस्तिमा र साम्राज्ञीले अभिनेत्री जसिता गुरुङका पूर्वप्रेमीहरुको नाम खुलाइदिएपछि विवाद सुरु भएको हो । कार्यक्रममा प्रश्न गर्ने र जवाफ दिनेहरुमाथि जसिताले आपत्ति जनाएकी छन् । स्वस्तिमाले माफी मागे पनि साम्राज्ञी र जसिताको विवाद भने लम्बिदै गएको छ ।
विवाद बढ्दै गएपछि अनमोल केसी, अस्मि श्रेष्ठ र आना शर्मासमेत उक्त लफडामा मुछिएका छन् । जनआस्था