राजनीतिक स्टण्डबाजी नगर्न गृहमन्त्रीलाई शाहीको सुझाव
वि.सं.२०८१ असार १८ मंगलवार
shares
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कामचलाउ सरकारको अवधि अझै एक महिना बाँकी रहेकाले त्यो समयमा भ्रष्टाचारका फाइल खोल्न चुनौती दिएका छन् ।
उनले मंगलवार साँझ सामाजिक सञ्जालमार्फत भ्रष्टाचारका मुद्दामा खाली स्टन्टबाजी मात्र नगर्न आग्रह गर्दै यस्तो चुनौती दिएका हुन् । फाइल खोले आफूले साथ दिने उनले स्पष्ट पारेका छन् ।
गृहमन्त्री लामिछानेले मंगलवार नै भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झा पक्राउ परेपछि कांग्रेस–एमालेमा बेचैनी आएर नयाँ गठबन्धन बनाइएको आरोप लगाएका थिए ।
सिंहदरबारस्थित आफू नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एकाएक संविधान जोगाउनुपर्ने अवस्था नआएको बरु केही भ्रष्ट र अपराधी जोगाउनुपर्ने अवस्था आएको व्यंग्य गरेका थिए ।
राप्रपा प्रवक्ता शाहीले यसैको जवाफ दिएका हुन् । यस क्रममा उनले भिडियो र टेलिफोन रेकर्ड हुँदाहुँदै पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वराष्ट्रपतिका छोरा दीपश पुनलाई गृहमन्त्री लामिछानेले चोख्याएर उन्मुक्ति दिएको आरोप पनि लगाएका छन् ।
‘तीन महिना १५ दिनसम्म नखुलेका फाइलहरू अब सरकार ढल्ने बेला खुल्न थालेका रहेछन्, फाइल खुल्ने भए अझै एक महिना यही सरकार हुन्छ । धमाधम खोल्नुहोस् र जेल हाल्नुहोस्, हाम्रो समर्थन छ’, उनले फेसबूकमा लेखेका छन्, ‘होइन भने सिर्फ राजनीतिक स्टन्डबाजी नगरौँ । भिडियो र टेलिफोन रेकर्ड हुँदाहुँदै सुन प्रकरणमा पूर्वसभामुख र पूर्वउपराष्ट्रपतिका पुत्रलाई चोख्याएर उन्मुक्ति दिएको बिर्सनु भो ?’































