देशका विभिन्न स्थानमा भारी बर्षा, ‘एसएमएस अलर्ट’ जारी

1.5K
shares

काठमाडौ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा भारी बर्षा भएको छ। काठमाडौं उपत्यकामा निरन्तर बर्षा भएकाले मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै खोला बढेकाले सतर्कता रहन अनुरोध गरेको छ।

 

भक्तपुरको हनुमन्ते खोला, ललितपुर जिल्लास्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जल सतह सतर्कता तह पार गरेको छ। आज राति राति काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ।

 

जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको हो। थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाका नदी किनारको सडकबाट यात्रा गर्ने, बस्नेहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

 

पछिल्लो समयमा अर्घाखाचीँको सन्धिखर्क,गुल्मीको बडिगाड, स्याङजाको मालुङ्गा बर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ। यसैगरी तिनाउ नदी,पश्चिम राप्ती,डुम्रे खोला,बडिगाड,बबई लगायत अन्य नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ। पाल्पा जिल्लाको कुमलगाउँ,गण्डाकोट,जल्पा,अर्चले, बल्ड्याङ्गढी र आसपास मध्यम-भारी वर्षा मापन रहेको उल्लेख छ।

 

मौसम विभागका अनुसार सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

civil hospital
Hams Hospitals