बैंक, वित्तिय संस्थाः हिजो ऋणीलाई मर्न र मार्न बाध्य पारे, अहिले आफ्नै भागाभाग !
वि.सं.२०८३ असार ११ बिहीवार
shares
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तिय संस्थाको कर्जा नतिर्न र राज्यलाई पनि राजस्व नतिर्न भन्दै आएका छन् । बैंक, सहकारी, लघुवित्त, फाइनान्सबाट करोडौंले कर्जा लिएका छन् । आफ्नो जायजेथा धितो राखेर मानिसहरुले ऋण लिएका हुन् । कानूनअनुसार धितो राखेपछि कर्जा पाउनुपर्ने हो । र, कर्जाको ब्याज दश प्रतिशत र सेवाशुल्क एक प्रतिशतमात्र लिन पाइन्छ ।
तर, बैंक, वित्तिय संस्थाहरुले कर्जाको दशदेखि २० प्रतिशत कमिशन पाएपछि मात्र ऋण दिन्थे । यस्तै, १२ देखि १८ प्रतिशत ब्याज भनेर ४८ देखि ८० प्रतिशतसम्म असुलियो । एक प्रतिशत सेवाशुल्क लिनुपर्नेमा तीन प्रतिशत उठाइयो । र, तीन किस्ता नतिर्नेबित्तिकै करोडौंको धितो लाखमै पचाइदिने । बैंक, वित्तिय संस्थाको यस्तो लुटधन्दाका कारण लाखौं सर्वसाधारणको उठीबास लागेको छ । उनीहरुको बिचल्ली भएको छ ।
केही गर्छु वा आवश्यकता परेर ऋण लिएकोमा चर्को ब्याज र बैंकको षड्यन्त्रका कारण आफ्नो जायजेथासमेत गुमाउनुपरेको छ । जीवनभरको कमाई, पुख्र्यौली सम्पत्ति गुमेपछि र तीन पुस्ता कालोसूचीमा परेपछि धेरैले सहन नसकेर आत्महत्या गरेका छन् । वंश पनि मासेका छन् । यो पीडा देखेका प्रसाईंले बैंक, वित्तिय संस्थाविरुद्ध अभियान चलाए ।उनले ऋणीहरुमा आत्मविश्वास जगाए । गलतविरुद्ध लड्न आँट र हिम्मत दिए । यसले हिजो बैंक, वित्तिय संस्थाविरुद्ध चुइक्क बोल्न नसक्ने ऋणीहरुअहिले सोही संस्थाका सञ्चालक, अध्यक्ष, कर्मचारीमाथि आक्रमणमै उत्रिए । ऋणको साँवाब्याज तिर्न छोडे । ‘जे गर्न सक्छस्, गर’ अहिले ऋणीहरु बैंक, वित्तिय संस्था तथा मीटरब्याजीहरुलाई भन्छन् ।
सहकारीबाट ६३ लाख, लघुवित्तबाट २७ लाख, बैंकबाट २२ लाख सर्वसाधारणले कर्जा लिएका छन् । एक लाखको मासिक पाँचदेखि ३० हजार रप्ैयाँ ब्याजमा पनि लाखौंले ऋण लिएका छन् । अब यी ऋणीले बैंक, वित्तिय संस्था वा मीटरब्याजीलाई कर्जा तिर्नै छैनन् । बरु तीन पुस्ता कालोसूचीमै किन नपरोस् ।त्यसो त बैंक, वित्तिय संस्थाबाट ऋण लिएर नतिर्ने पाँच लाख सर्वसाधारण कालोसूचीमै परिसकेका छन् । तैपनि उनीहरुमा चिन्ता देखिन्न । उल्टै खुलेआम ऋण तिर्दिन भनेर चूनौती नै दिन्छन् । अर्को रोचक कुरा केही वर्षअघिसम्म बैंक, वित्तिय संस्थाले ऋण उठाउन कर्मचारी पठाउँदा ऋणीहरुको भागाभाग चल्थ्यो ।
अहिले त ऋणीहरु कालोमोसो र जुत्ताको माला ठिक पारेर राख्छन् । अनि कर्जा उठाउन आएका कर्मचारीको त्यसबाटै स्वागत गर्छन् । यो अराजकता पनि हो । तर, बैंक, वित्तिय संस्थाले पनि कानूनविपरीत ऋणीसँग जथाभावी ब्याज र सेवाशुल्क असुलेर उनीहरुलाई सडकछाप अवस्थामा पुर्याए । यदि बैंक, वित्तिय संस्थाले नठगेको भए, कानूनसम्मत चलेको भए आज यो अवस्था आउने नै थिएन । दुर्भाग्य यहाँ त घुसबिना बैंक, वित्तिय संस्थाका अध्यक्ष, सञ्चालकहरु कर्जा नदिने ।
घरजग्गा, गाडी र सेयर भएमात्र कर्जा दिने । ब्याज, सेवाशुल्क मनलाग्दी असुल्ने । अनि तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गरिहाल्ने र ऋणीको तीन पुस्तालाई कालोसूचीमा राखिदिने । ऋणीले किन कर्जा तिर्न सकेन ? बैंकलाई चासो हुँदैन । बरु धितो राम्रो भएमा तिरिरहेको साँवाब्याज पनि बचत खातामा जम्मा गरिदिएर पेनाल्टी, हर्जाना तिर्न लगाउने र अन्तिममा ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि धितो नै पचाइदिने ।
बैंक, वित्तिय संस्था आफूलाई जनताको सेवक भन्छन् । सेवकको काम जनतालाई सेवा दिनु हो कि उनीहरुलाई सुकुम्बासी बनाउनु ? बैंक, वित्तिय संस्थाले गैरकानूनी रुपमा लिएको चर्को ब्याज र सेवाशुल्कका कारण सबै जायजेथा गुमाएर पनि ऋणीहरुले केही बोलेनन् । बरु चुपचाप आत्महत्या गरे । परिवारै मारे ।तर, अतिले खति निम्त्याउँछ भनेझैं बैंक, वित्तिय संस्थाले एक होइन, दुई होइन, लाखौंलाई ठगे । उनीहरुको करोडौंको धितो लाखमै पचाइदिए । उनीहरुले बैंक, वित्तिय संस्थाले गैरकानूनी रुपमा चर्को ब्याज र सेवाशुल्क असुलेर आफूहरुलाई सुकुम्बासी बनाएको त बुझे । तैपनि बोल्न सकेका थिएनन् । सोही बेला उनीहरुको आवाज बने प्रसाईं । प्रसाईंले बोल्न थालेपछि ऋणीहरुमा पनि हिम्मत आयो ।
र, परिणाम आज हामीसामु छ । बैंक, वित्तिय संस्था डुब्ने अवस्थामा पुगेका छन् । सहकारी, लघुवित्त, फाइनान्स त डुबि नै सक्यो । बैंकमा पनि समस्या देखिँदैछ । ऋणीले कर्जा तिदैनौं भनेर हातै उठाइसके । बैंक, वित्तिय संस्थाले छिटो नाफा कमाउन र घुसको प्रलोभनमा घरजग्गा, गाडी, सेयर र सुनलाई मात्र कर्जा प्रवाह गरे । सेयरमा बैंकको मात्रै एक खर्ब ६७ अर्ब कर्जा लगानी छ । घरजग्गामा झण्डै आठ खर्ब लगानी गरिएको छ भने गाडी र सुनमा पनि खर्बौ कर्जा प्रवाह गरिएको छ ।
केही वर्षयता घरजग्गा, गाडी र सेयरको मूल्य लगातार घटिरहेको छ । करोडौंको धितो लाखमा झरेको अवस्था छ । मूल्य अझै घट्ने देखिँदैन । सुनको मूल्य बढेतापनि बेचबिखन ठप्प छ । यसले बैंकलाई कर्जा उठाउन हम्मेहम्मे परेको छ । एकातिर ऋणीले कर्जा तिर्दैनन्, अर्कोतिर कर्जा लिलाम गर्दा कर्जाको आधा रकमसमेत उठ्ने अवस्था छैन । कर्जा उठाउन गएमा उल्टै आक्रमणमा परिन्छ । यसले बैंकहरु निकै तनावमा छन् ।
कर्जा नउठेर बैंक डुब्ने देखिएपछि कर्मचारीहरुले धमाधम जागिर छोड्न थालेका छन् । भोलि आफूसमेत फसिने डरले उनीहरुले भटाभट राजीनामा दिइरहेका छन् । कार्यरत कर्मचारीहरु भने मुखै छोपेर हिँड्छन् । कालोमोसो दलिदिने, जुत्ताको माला लगाइदिने वा आक्रमणमा पर्ने डरले उनीहरु मुख पूरै छोपेरमात्र बाटोमा हिँड्छन् । कुनै समय यिनै कर्मचारी कोट, पेन्ट अनि कालो चश्मा लगाएर हिँड्थे । सँगै संस्थाको कार्ड पनि घाँटीमा भिड्थे ।
यस्तै, घरधनीहरु पनि बैंक, सहकारी, लघुवित्त, फाइनान्स सञ्चालन गर्न घर भाडामा दिँदैनन् । जतिसुकै महँगो भाडा तिर्छु भनेपनि भाडामा दिइँदैन । बरु भाडमा दिइएको घर पनि खाली गर्न भनिँदैछ । किनकि बैंक, वित्तिय संस्था ठग हुन् भन्ने कुरा घरधनीहरुले पनि बुझे ।
यस्ता ठग संस्थालाई घर भाडामा दिँदा भोलि आफ्नो घरै नरहे जोखिम बढेपछि उनीहरु सचेत भएका छन् । बुढापाकाहरु भन्छन्–पाप धुरीबाट कराउँछ । बैंक, वित्तिय संस्थाको हकमा पनि यही भएको छ । हिजो सोझासाझा जनतालाई ठगेर आत्महत्या–हत्या गर्नुपर्ने अवस्थामा पुर्याए । अहिले आफैं भाग्नुपर्ने अवस्था आयो ।



























