मन्त्रीकै सचिवालयबाट सरुवामा मनपरी
वि.सं.२०८३ साउन २१ बिहीवार
shares
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयबाट कर्मचारी सरुवामा दोहोरो मापदण्ड अपनाइएको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि बढेको छ ।
मन्त्री सचिवालयमा कार्यरत शाखा अधिकृतमाथि आफू निकट कर्मचारीलाई सिंहदरबारभित्रै एक मन्त्रालयबाट अर्को मन्त्रालयमा व्यवस्थापन गर्ने, तर अन्य कर्मचारीका हकमा फरक मापदण्ड लागू गराएको आरोप लागेको हो ।
हालै भएका सरुवामा उपसचिव विवेक घिमिरे, महेन्द्र विश्वकर्मालगायत मन्त्रालयमा एक वर्ष पनि नपुगेका कर्मचारीलाई अन्यत्र सरुवा गरिएको छ । त्यस्तै, करिब छ महिनापछि अनिवार्य अवकाशमा जान लागेका उपसचिव अरुण राईलाई समेत सरुवा गरिएको छ ।
सूचीअनुसार शाखा अधिकृत सञ्जय अधिकारी र नृत्यराज भट्टराईलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मनोज अधिकारीलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गरिएको छ । नासु राजु श्रेष्ठ (सहसचिव धोलकराज ढकालका पीए) र तेजनारायण पौडेललाई ऊर्जा मन्त्रालयमा पठाइएको छ भने लामो समय मन्त्रालयमा कार्यरत तथा तत्कालीन राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य गोविन्द फुयाँललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा सरुवा गरिएको छ ।
तर, भूमि व्यवस्थापन तथा अभिलेख विभागमा सरुवा गरिएका कर्मचारीका हकमा भने उपत्यकाभित्र पदस्थापन नगर्न मौखिक निर्देशन दिइएको र त्यसको उल्लङ्घन गरे मन्त्रीसमक्ष स्पष्टीकरण पेश गर्नुपर्ने चेतावनी दिइएको छ ।
यसले एउटै सरुवा प्रक्रियामा फरक–फरक मापदण्ड किन अपनाइयो भन्ने प्रश्न उठेको छ । केही कर्मचारीलाई सिंहदरबारभित्रै आकर्षक जिम्मेवारीमा व्यवस्थापन गर्ने तर अन्यलाई उपत्यकाभित्रसमेत बस्न नदिने नीति सुशासन बिरुद्ध हो ।
अहिले मन्त्रीका आसेपासेले त्यही नीति अबलम्वन गरेका छन् । एक पीडित कर्मचारीले भने,
‘यदि केही कर्मचारीलाई रोजाइका आधारमा सिंहदरबारभित्रै व्यवस्थापन गर्न मिल्ने हो भने, अन्य कर्मचारीलाई उपत्यकाभित्रसमेत पदस्थापन गर्न नदिने नीति किन लागू गरियो ? यही प्रश्नले कर्मचारी प्रशासनमा सुशासन र निष्पक्षताको विषयलाई थप गम्भीर बनाएको छ ।





























