सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने

1.4K
shares
Nabil bank

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताउनुभएको छ ।

नेकपा एमाले मोरङले विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सहकारी ठगीमा एमाले भित्रकै कोही भए पनि कारबाही हुने बताउनुभयो । ‘दोषी हाम्रै पार्टी भित्रको कोही छ भने पनि ऊ दण्डको भागीदार हुन्छ र हुनुपर्दछ, एमाले यसमा दृढ छ’, पोखरेलले भन्नुभयो ।

पोखरेलले सो घटनामा निर्दोष कसैलाई पनि आरोप लगाउन नहुने बताउनुभयो । ‘हिजो एमालेलाई फत्तुर लाउनेहरू प्रधानमन्त्री केपी ओलीलाई पशुपतिको जलहरीमा सुन होइन, पित्तल लगाएको भन्नेहरू थिए, यस्ता फत्तुर लाउनेहरू छन्, अनेक खालका कुराहरू गर्ने छन् तर हामी तिनीहरूको सामुन्ने ठिङ्ग उभिएर जवाफ दिन तयार छौँ, हामीले गल्ती गर्दैनौँ, गल्ती गर्नेहरूलाई दण्डको भागीदार बनाउछौँ, यो एमालेको अठोट हो र सङ्कल्प हो’ उहाँले भन्नुभयो ।

सहकारी छानबिन समिति बनाउँदा व्यक्ति तोकेर बनाउन नहुने एमालेले अडान लिएको पनि उहाँले स्मरण गराउनुभयो । रास्वपा सभापति रवि लामिछानेकै सहमतिमा सो छानबिन समिति बनेको बताउँदै समितिले छानबिन गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेकाले अहिले सोही सिफारिसको आधारमा लामिछाने पक्राउ पर्नुभएको पोखरेलले स्पष्ट पार्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले रास्वपा सांसदसमेतको हस्ताक्षर रहेको छानबिन समितिको प्रतिवेदनले व्यक्ति तोकेर सहकारी ठगीमा संलग्नलाई कारबाही गर्नुपर्ने देखाएकाले सोही अनुसार कार्यान्वयन गर्दा अनावश्यक हल्लाखल्ला गरिएको दाबी गरे । ‘यो प्रक्रिया अगाडि बढिरहँदा यसको बारेमा किन हल्लीखल्ली ? लोकतन्त्रमा विश्वास गर्ने, सार्वजनिक जीवनमा बाँचिरहेको कोही पनि व्यक्तिमाथि प्रश्न उठ्छ भने ऊ छानबिनको दायरामा आउनुपर्दछ, अभियोजन हो भने त्यसलाई स्वीकार गर्नुपर्दछ, यदि निर्दोष हो भने पुष्टि हुनेछ, दोषी हो भने दण्डको भागीदार हुनुपर्दछ, हिजो मन्त्री भएको, प्रधानमन्त्री भएको नाताले कहीँ कतै त्यसलाई रोकिनुहुन्न’ पोखरेलले भन्नुभयो ।

पोखरेलले मुलुकलाई निकास दिन एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्नु परेको पनि बताउनुभयो । पोखरेलले मुलुकलाई थप संकटमा फस्न नदिन एमाले–कांग्रेस एक ठाउँमा उभिनु परेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बरालले मुलुकको विकास र राष्ट्रियताको सच्चा पहरेदार एमाले भएकाले देशी, विदेशी तत्त्वहरूबाट पार्टीलाई चौतर्फी प्रहार हुन थाले पनि डटेर सामान गरिने बताउनुभयो । उनले मुलुकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएकाले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीको एकल बहुमतको सरकार बन्ने गरी जिताउन लाग्नुपर्ने उहाँको धारणा छ ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा लगायतले राष्ट्रिय पर्वहरूले राष्ट्रिय एकतालाई सुदृढ बताउने बताउनुभयो ।

कार्यक्रममा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले पार्टीले प्रत्येक वर्ष दशैँ, तिहार, छठ, नेपाल सम्वत, इद, ल्होसारलगायतका राष्ट्रिय पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना, केन्द्रीय सदस्य नैनकला ओझा, रामलाल साह, युवाराज बास्कोटा, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, पार्टीका प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटी सदस्यहरूलगायतको सहभागिता थियो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited