कोप २९, जलवायु वित्त, कार्बन क्रेडिट र कार्बन व्यापार

25K
shares
Nabil bank

 

बिषय प्रवेस

सन् २०२४ को नोवेम्वर ११ देखि २४ सम्म अजरबैजानको वाकुुमा जलवायु परिवर्तन सम्वन्धि संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २९ हुन भइरहेको छ । यो सम्मेलनमा ‘जलवायु वित्त र ‘कार्बन क्रेडिटका विषय छलफलको सबैभन्दा प्राथमिक सूचीमा रहेकाले पनि यस सम्मेलनलाई फाइनान्स कोप भनिएको हो ।‘क्लाइमेट फाइनान्स र ‘कार्बन क्रेडिटका विषयलाई अन्तिम रुपम दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने भएकाले यो सम्मेलन जलवायु वित्तका दृष्टिकोणले महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् ।सम्मेलनमा जलवायु वित्तमा नयाँ सामूहिक परिमाणित लक्ष्य (एनसिक्यूजी) लाई अन्तिम रुप दिने र यसमा बढी कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूमध्ये कसले कति रकम राख्ने भन्ने बारेमा टुंगो लाग्ने बताइएको छ ।
यसपटकको सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन विषयक उच्चस्तरीय बैठकको आयोजना हुने वताइएको छ । बैठकमा संयुक्त राष्ट्रस‌ंघका प्रतिनिधि, पर्वतीय मुलुकका प्रमुख तथा प्रतिनिधि, विकास तथा साझेदार निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रतितिधिको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरो तथा यसबाट भएको क्षतिबारे जानकारी गराउने तयारी गरेको छ ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्र भई आफ्ना प्रतिबद्धता पूरा गर्दै आएको छ । नेपालले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयनसमेत गरिरहेको छ । कोप–२८ को ठूलो उपलब्धिका रुपमा स्थापना गरिएको जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी कोष कार्यान्वयनमा आउन अझै केही समय लाग्ने भएको छ । हाल उक्त कोष कार्यान्वयनका लागि कार्यविधि, प्रक्रिया र मोडालिटी बनाउने काम भइरहेको छ ।कोप–२९ कै तयारीका लागि यही भदौ १३ गते मलावीको लिलोङवेमा सम्पन्न अल्पविकसित देशका मन्त्रीहरुको सम्मेलनले आफ्ना मागसहितको घोषणापत्र जारी दिए ।कुल ४५ अल्पविकसित देशका मन्त्री र प्रतिनिधिमण्डलका प्रमुखसहतिको सम्मेलनले जारी गरेको उक्त घोषणापत्रमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन र पेरिस सम्झौता सम्बन्धमा आफ्ना मागका विषयहरु समेटेका छन् ।

जलवायु परिवर्तन

जलवायुमा सधैँ प्राकृतिक फेरबदल भैरहने नै हुन्छ तर अहिले मानवीय गतिविधिका कारण तापक्रम बढिरहेको छ।मानिसहरूले उद्योग र यातायातमा खनिज तेल, ग्यास र कोइला प्रयोग गर्न थालेयता विश्व लगभग १.२ डिग्री सेल्सिअसले तातो बनेको छ।यी इन्धन खपत हुँदा उत्सर्जन हुने हरित गृह प्रभावका कारक ’ग्रीनहाउस ग्यास’ले सूर्यबाट प्राप्त हुने तापलाई पृथ्वीमै रोक्छन् ।पृथ्वीको वायुमण्डलमा एउटा ग्रीनहाउस ग्यास कार्बन डाईअक्साइडको मात्रा उन्नाइसौँ शताब्दीयता ५० प्रतिशतले र गत दुई दशकमा १२ प्रतिशतले बढेको छ ।जलवायु परिवर्तनको हेक्का नराखी ठूला आयोजना बनाउनु घातक हुने चेतावनी जलावायुविज्ञहरुले दिने गरेका छन् ।तापक्रम थोरै बढ्दा पनि हिमाली क्षेत्रमा उथलपुथल हुनसक्ने चेतावनी वेला वेलामा बिज्ञहरुले दिने गरेका छन् ।ग्रीनहाउस ग्यास बढ्ने अर्को कारण वनविनाश हो। जब रुखहरू काटिन्छन् वा बालिन्छन् त्यसमा सङ्क्रहित कार्बन मुक्त हुन्छन्।

विकसित देशहरूमा नवीकरणीय ऊर्जाका अन्य स्रोतहरूमा लगानी गर्ने अर्थतन्त्रको ब्यबस्थापन हुन सक्छ तर हामीजस्ता मुलुकहरूसँग कार्बनाइज्ड ऊर्जाबाट दिगो ऊर्जामा परिवर्तन गर्ने स्रोतहरू छैनन् र हाम्रो आम्दानीको मुख्य स्रोत कृषिसँग जोडिएको छ जुन जलवायु परिवर्तन बाट अत्यधिक प्रभावित छ । सन् २०१९ मा गरिएको स्ट्यानफोर्ड अध्ययनका अनुसार विश्वका धनी र गरिब देशहरूको आर्थिक उत्पादनबीचको अन्तर आज ग्लोबल वार्मिङ नभएको भए भन्दा २५ प्रतिशत बढी छ। हामीसँग परिवर्तनलाई न्यूनीकरण गर्ने धनी देशको जस्तो अवसर छैन।
विश्वव्यापी तापक्रम वृद्धि अर्थात उष्णीकरणले जलवायुको विद्यमान ढाँचामा अस्वाभाविक परिवर्तन ल्याएको छ ।हरितगृह ग्यास वायुमण्डलको तल्लो तहमा थुप्रिँदै गएपछि तापको विकिरण जमिनबाट परावर्तन भएर वायुमण्डलसम्म पुग्न नपाउने अवस्थाले पृथ्वी तथा पृथ्वीको तल्लो वायुको तापक्रम बढ्ने क्रम जारी छ । वर्तमान विश्वको मुख्य समस्याका रूपमा जलवायु परिवर्तन सामुन्ने आउन थालेको छ। जलवायु परिवर्तनको विषयले विश्वका सबै जीवात्मा तथा यससँग सम्बद्ध सबै आयामलाई प्रतिकूल प्रभाव पारिरहेका हुन्छन्। जलवायु परिवर्तनको कारण मानव जीवनका पर्यावरणलगायत सामाजिक, आर्थिक, शारीरिकलगायत अधिकांश क्षेत्र प्रभावित हुने अर्थमा अहिले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभावका सम्बन्धमा विशेष जोड, छलफल तथा चिन्तन गरिन थालेको अवस्था छ। विश्वमा जलवायु परिवर्तन एउटा गम्भिर समस्याको रुपमा आएको छ ।

जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्न र दिगो विकासको मार्गमा अगाडि बढ्नका लागि जलवायु न्यायमा ध्यान दिन आवश्यक छ। नेपालले जलवायु परिवर्तनका कारण जताततै देखिएको समस्या, विशेष गरी हिमाली क्षेत्रका समुदायहरूको जीवनमा परेको प्रभावलाई ध्यानमा राख्दै हरित ऊर्जा र वन संरक्षणमा जोड दिनु आवश्यक छ । नेपाललाई जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय सहयोग र प्राविधिक सहायताको आवश्यकता रहेको छ। यसका साथै, स्थानीय र समुदायको सहभागिता सुनिश्चित गर्दै, जलवायु नीति र कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुपर्ने कुरा नेपालले उठाउनु आवश्यक रहेको छ ।

यस सम्मेलनमा नेपालले जलवायु परिवर्तनका प्रभावहरूलाई समेटेर र दिगो विकासका लक्ष्यहरूलाई प्राप्त गर्नका लागि आफ्ना प्राथमिकताहरूलाई प्रस्तुत गर्नु आवश्यक छ । नेपाल एक पर्वतीय तथा हिमाली देश भएको कारण यहाँ जलवायु परिवर्तनका प्रभावहरू विशेष गरी बर्फ पग्लने, हावापानीको अनियमितता, र प्राकृतिक आपदाहरू जस्ता समस्याहरूले नेपाली समुदायको जीवनयापनमा ठूलो चुनौती सिर्जना गर्ने भएकाले नेपालको प्राथमिकता भनेको जलवायु अनुकूलन र क्षतिपूर्ति योजनाहरूमा ध्यान दिनु हो। जलवायु परिवर्तनले गरिब समुदायलाई बढी प्रभावित पार्छ, र यसैले नेपालले जलवायु न्याय र समानता सुनिश्चित गर्नमा जोड दिन आवश्यक रहेको छ ।

सम्मेलनमा नेपालले हरित ऊर्जा प्रविधिहरूमा पनि ध्यान केन्द्रित गर्न आवश्यक छ । जलवायु परिवर्तनको प्रभावलाई कम गर्नका लागि नवीकरणीय ऊर्जा, जस्तै जलविद्युत, सौर्य ऊर्जा र वायु ऊर्जाको प्रयोग बढाउनु आवश्यक छ। नेपालमा जलविद्युतको विशाल सम्भावना छ, र यसलाई सही तरिकाले उपयोग गरेर, नेपालले दिगो विकासका लागि एक उज्ज्वल भविष्य निर्माण गर्न सक्छ।यस बिषयमा समेत सम्मेलनमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।यसका साथै, नेपालले जलवायु न्यायकालागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य र सहयोगको आवश्यकता आवश्यकताका बिषयमा सम्मेलनमा ध्यान केन्द्रित गर्न आवश्यक छ । जलवायु परिवर्तनको समस्या एकल राष्ट्रको प्रयासमा समाधान गर्न सकिदैन यसका लागि समग्र विश्वको प्रयास आवश्यक छ। नेपालले विशेष गरी विकासशील राष्ट्रहरूको हकमा न्याय र सन्तुलनको पक्षमा जोड दिन आवश्यक रहेको छ।

नेपालको प्राथमिकता जलवायु अनुकूलन र क्षतिपूर्ति योजनाहरूमा केन्द्रित रहनु आवश्यक छ । जलवायु परिवर्तनले गरिब र कमजोर समुदायलाई बढी प्रभावित पार्ने भएकाले, नेपालले जलवायु न्याय र समानता सुनिश्चित गर्नमा नै केन्द्रित गर्न आवश्यक रहेको छ । जलवायु परिवर्तनका कारण भएका प्रभावहरू, जस्तै बाढी, पहिरो र सूख्खाको कारण नेपाली नागरिकको जीवनमा अत्यधिक असर पारेको अवस्था विधमान छ । यसले कृषि उत्पादनमा नै गम्भिर समस्या सिर्जना गरेको छ र उत्पादन क्षमता घटाउँदै खाद्य सुरक्षामा समेत गम्भिर संकट सिर्जना गरेको अवस्था विधमान छ । त्यसैले, नेपालले स्थानीय समुदायलाई जलवायु अनुकूलनका उपायहरूमा सहभागी गराउदै उनीहरूको जीवनस्तर सुधार्न र जलवायु संकटको सामना गर्न प्रतिवद्ध भई अगि बढ्नु आवश्यक छ ।

हालको जलवायु परिवर्तन र ग्लोबल वार्मिङले विश्वका धेरै देशहरूमा विद्यमान पानीको सरसफाइको संकटलाई अझ बढाउँदै लगेको छ। तसर्थ जलवायु परिवर्तनका समस्याहरूसँग लड्नका लागि कानुनी संरचनाको उचित कार्यान्वयनलाई प्रभावकारी रूपमा नियमन गर्नुपर्छ । कानुनको लामो इतिहासको बिरूद्ध विश्वव्यापी वातावरणीय परिवर्तन एउटा नयाँ र जटिल समस्या हो जसको लागि हामी नयाँ कानुनी शासनको फेसन गर्दैछौं। नयाँ कानुनी व्यवस्थाहरूले जलवायु परिवर्तन, विश्वव्यापी चिन्ताको बृद्धि र समसामयिक कानुनी विकासका लागि कमन्स (समुहको भु उपयोग र प्राकृतिक स्रोतहरुको उपयोग) त्रासदीलाई नेपालले पनि वातावरणीय हानिको लागि दायित्वको मापदण्डहरू विकास गर्न, मूल्यांकन गर्न आवश्यक छ। अन्तमा, जलवायु तथा मौसमसम्बन्धी परिवर्तनले द्रुतगति लिएमा निकट भविष्य मै बाढी, पहिरो, सामुद्रिक आँधी, अनिकाल, अनावृष्टि तथा भूकम्पसमेत निम्त्याउँदै छ । सबै राष्ट्रले समयमै सचेतना नअपनाए महाप्रलय आई करोडांै मानिसको मृत्यु र खर्बौं डलरको क्षति हुने निश्चित छ । पर्यावरणलाई यी यावत् खतराहरुबाट अझै पनि जोगाउन सकिन्छ । तर यसका लागि सरकार, उद्योगी व्यापारी तथा आम नागरिकहरुले व्यापक रुपमा आफ्ना व्यवहारहरुमा परिवर्तन गर्नु आवश्यक छ ।

हरित वित्त

ग्रिन फाइनान्स अर्थात् हरित वित्त नेपालमा अपेक्षाकृत नयाँ अवधारणा हो । सरकारले हरित वित्त प्रवर्द्धनका लागि हरित वित्त नीति विकास र हरित कोष स्थापनाजस्ता केही कदम चालेको भए पनि निजी क्षेत्र अझै पनि यसमा खुलेर आइसकेको छैन । नेपाल राष्ट्र बैंकले सन् २०१३ देखि एलायन्स फर फिनान्सियल इन्क्लुजन (आफी)को सहकार्यमा सस्टेनेबल बैंकिङ नेटवर्कमा सदस्यका रूपमा सहकार्य गरेको, जलवायु वित्त सञ्चालन समिति र हरित जलवायु कोषको प्राविधिक समितिको सदस्यका रूपमा अर्थ मन्त्रालयसँग प्रत्यक्ष समन्वय संयन्त्रमा रहेको देखिए पनि ठोस रूपमा हरित वित्तीय प्रणालीको विकास गरेको देखिन्न । विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगमको दबाबमा नेपाल राष्ट्र बैंकले वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी मार्गदर्शन जारी गरेको थियो  ।

ग्रिन फाइनान्सिको लक्ष्य स्वच्छ ऊर्जाको प्रयोगलाई गति दिनु हो । जलवायु परिवर्तनबाट हुने जोखिम कम गर्दै विभिन्न किसिमका जोखिम सिर्जना हुने ठाउँमा कर्जा लगानी नगर्नु नै ग्रिन फाइनान्सिङ भएको विज्ञहरुको बुझाई छ । यस अवधारणा अन्तर्गत स्रोतहरुको दिगोपन महत्वपूर्ण हुने हुँदा भविष्यका पुस्ताहरुले जलवायु परिवर्तनबाट हुने समस्याहरुको सामना गर्नुपर्दैन । ग्रिन फाइनान्सिङको अवधारणा पर्यावरणीय र सामाजिक मुद्दाहरूको बढ्दो चेतनाको प्रतिक्रियामा समयसँगै विकसित भएको हो ।
ग्रिन फाइनान्सिङको सुरुवात भएको कुनै खास मिति भने भेटिदैन । १९६० र १९७० को दशकमा सामाजिक उत्तरदायी लगानीसँग ग्रिन फाइनान्सिङको उत्पत्तिलाई जोड्न सकिन्छ । २१ औं शताब्दीमा दिगो वित्त प्रवर्द्धन गर्न विभिन्न हरित वित्त संस्था र हरित बैंकहरुको स्थापना भएको पाइन्छ । संयुक्त राज्य अमेरिकाको डोरा, फ्लोरिडामा सन् २००९ मा ‘पहिलो ग्रिनबैंक नाम गरेको बैंक स्थापना भएको थियो ।

नेपालमासन् २०११ मा ग्रीन फाइनान्सिङको अवधारणा आरम्भ गर्ने पहिलो बैंक ‘बंगलादेश बैंक हो । नेपालको सन्दर्भमा लक्ष्मी बैंक ग्रिन फाइनान्सि अवधारणा र रणनीतिको आरम्भकर्ता हो । त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिभिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकहरूले ग्रिनफाइनान्सिङ अभ्यासलाई समर्थन गरिरहेका छन् । हालसम्म नबिल बैंक, एनएमबि बैंक र ग्लोबल आईएमई बैंकले ग्रिन फाइनान्सि अभ्यासलाई जोड दिएको पाइन्छ । ग्रिन फाइनान्सिङ अभ्यासलाई समेट्ने गरी हाल नेपालका अधिकांश बैंकहरुले लगानी गर्दै आएका छन् ।

छिमेकी मुलुक भारतलाई हेर्ने हो भने भारतका बैंकहरूले पनि अनलाइन फाइनान्सि, मोबाइल फाइनान्सि, ग्रीन च्यानल काउन्टरहरू, ई–स्टेटमेन्ट, सौर्य एटीएम, आदि जस्ता ग्रिन बैंकिङ अभ्यासहरू सुरु गरेका छन् । भारतमा पहिलोपटक इन्डसइन्ड बैंकले देशको पहिलो सौर्य उर्जाबाट चल्ने एटिएम खोलेको थियो । त्यस्तै, भारतको अर्को बैंक एचडीएफसी बैंकले ग्रिन फाइनान्सिलाई प्रवर्द्धन गर्न थुप्रै सुझावहरु पनि प्रकाशित गरेको पाइन्छ ।

विगत लामो समयदेखि संसार जैविक इन्धन र त्यसैको विद्युतीय ऊर्जामै निर्भर रह्यो । जैविक इन्धनको निर्भरता क्रमशः घटाउनेतिर संसार अहिले अगाडि बढेको छ । छिमेकी भारत र चीन अझै उच्च जैविक इन्धन प्रयोगकर्ता छन् । तिनलाई स्वच्छ ऊर्जा चाहिएको छ । विकसित देशमा उद्योग र सेवा क्षेत्रमा विद्युतीय ऊर्जाको प्रयोग व्यापक हुन्छ, हुँदै छ । नेपालमा भने उपलब्ध भएर पनि विद्युतीय स्वच्छ ऊर्जा अर्थतन्त्रको आधार निर्माणमा केन्द्रित हुन सकेको छैन ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८०÷८१को मौद्रिक नीति अनुसार ग्रीन फाइनान्सिङलाई बढ्वा दिन ग्रिन बन्ड जारी गर्ने, जलवायु जोखिम रिर्पोटिङ्ग गर्ने, पुँजी आवश्यकता पहिचान गर्नेलगायतका विषय समेटेर ग्रीन फाइनान्स ट्याक्सोनोमीको मस्यौदा तयार पारेको थियो । यसबारे २ महिनाभित्र सुझाव दिन सरोकारवालालाई राष्ट्र बैंक अनुरोध पनि गरेको छ । नेपाल राष्ट्र बैंकले थप दिगो र जिम्मेवार वित्तीय क्षेत्रलाई प्रोत्साहन गर्दै ग्रिन फाइनान्सि सिद्धान्तहरूलाई आफ्नो रणनीतिमा समावेश गर्न, सुनिश्चित गर्न दिशानिर्देश र प्रोत्साहन गर्न विभिन्न नियमहरू प्रदान गर्ने गरेको छ ।

ग्रिन बण्ड ?

पुँजी बजारको वित्तीय औजारमध्ये ‘ग्रिन बण्ड पनि एउटा महत्वपूर्ण औजार हो । यसको माध्यमबाट वातावरणमैत्री आयोजनाका लागि आवश्यक पुँजी सङ्कलन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा अभ्यास भइसकेको ग्रिन बण्ड नेपालमा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो । यो हाल प्रचलनमा रहेका अन्य ऋणपत्रभन्दा फरक प्रकृतिको हुन्छ । जसले पर्यावरण मैत्री परियोजना सञ्चालनको लागि मात्रै सहयोग पु¥याउँछ ।
ग्रिन वण्ड दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिर्वतनको प्रतिकूल प्रभावलाई न्यूनीकरणमा सहयोग पु¥याउने परियोजनामा लगानीको लागि जारी गरिने ऋणपत्र हो । ग्रिन बण्ड दिगो आर्थिक विकाससँगै वातावरणीय तथा पर्यावरणीय सुधार एवं संरक्षणका परियोजनाका लागि गरिने लगानी हो । यस्तो लगानीका लागि फण्डको व्यवस्था गर्न कम्पनीहरूले प्रोजेक्ट अघि सार्न सक्छन् । जसका लागि अन्य वित्तीय बण्ड जस्तै लगानीकर्ताहरूले लगानी गर्न सक्छन् ।
अन्य विकास ऋणपत्र, वैदेशिक रोजगार ऋणपत्र जस्तै ग्रिन बण्डमा लगानीकर्ताहरूले लगानी गर्न सक्छन् । प्रतिस्पर्धी बजारको मागका आधारमा बण्डको मूल्य घटबढ हुन्छ, कारोबार हुन्छ । दिगो लगानीका र प्रतिफलका लागि ग्रिन बण्ड पनि उपयुक्त विकल्प बन्ने छ । जलवायु परिवर्तनसँग जुध्न पेरिस अभिसन्धि–२०१५ ले समेत विश्वको औद्योगिक क्षेत्रलाई न्यून कार्बन उत्सर्जन गर्ने परियोजनाका लागि ग्रिन वन्ड उपाय अपनाउन सुझाव पनि दिएको छ ।

ग्रिन बण्ड जारी गरेर सौर्य ऊर्जा, हाइड्रोपावर, कृषि लगायतका ठुला परियोजनाहरू सञ्चालन गर्न सकिन्छ । नेपालमा वातावरणीय तथा पर्यावरणीय क्षेत्रमा काम गर्न सकिने ठुलो सम्भावना छ । हाम्रो जस्तो प्राकृतिक स्रोत साधनले भरिपूर्ण मुलुकको पर्यावरणीय संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायबाट समेत लगानी भित्र्र्याउन सकिन्छ, त्यसको लागि बोर्ड अघि सारेको ग्रिन बण्डको अवधाराणा समयसापेक्ष छ । कानुनी तथा व्यावहारिक पक्षलाई सुधार गर्दै ग्रिन बण्डमा लगानीको वातावरण बनाइदिँदा आन्तरिकसँगै बाह्य लगानीले समेत अवसर पाउने छ । ग्रिन बण्ड जारी गरेर विशेष गरी जलवायु र वातावरणीय परियोजनाहरूका लागि पैसा उठाउने अन्तर्राष्ट्रिय अभ्यास छ । विकासको लागि ठुला आयोजना निर्माण गर्दा बैंक तथा वित्तीय संस्था मात्रै पर्याप्त हुँदैन । त्यस्तैले यस्ता फण्डहरूको माध्यामबाट पुँजी सङ्कलन गरेर लगानी गर्ने गरिन्छ ।
ठुला आयोजना निर्माणको लागि ठुलो पुँजीको आवश्यकता पर्ने हुँदा नेपालको सन्र्दभमा अहिलेलाई ग्रिन बण्ड हाइड्रोपावरको लागि उपयुक्त हुने देखिन्छ ।हाइड्रोपावरहरूमा लगानीको लागि पुँजी पुगिरहेको छैन, हकप्रद सेयर पनि पाउने नपाउने भन्ने विवाद नै छ, यदि ग्रिन बण्ड जारी भयो भने हाइड्रोपावर निर्माणमा ठुलो टेवा पुग्ने थियो ।

अन्तर्राष्ट्रिय अभ्यास

अन्तर्राष्ट्रिय पुँजीबजार सङ्गठन (इक्मा) ले ग्रिन बण्डको अवधारणा सहजीकरण गर्ने उद्देश्यले ग्रिन बण्ड सिद्धान्त जारी ग¥यो ।ग्रिन बण्डको अन्तर्राष्ट्रिय अभ्यास एवं इक्माको मापदण्ड संयुक्त राष्ट्रसंघले वातावरणीय विनाश र जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्न वैश्विक अर्थतन्त्रको मौद्रिक र वित्तीय अभ्यासहरूमा ग्रिन पोलिसी थप गरी सबै मुलुकलाई आ–आफ्ना आर्थिक मोडालिटी परिवर्तन गर्न सुझायो ।
अमेरिका, चीन, भारत, सिङ्गापुर, जापानलगायतका ८२ मुलुकमा ग्रिन बण्डको व्यवस्था प्राथमिक र दोस्रो धितोपत्र बजारमा कारोबार भएको छ । चीनले जारी गरेको हरित बण्ड ८५.४ अर्ब अमेरिकी डलर रहेको छ । जसअनुसार विश्वका धेरै मुलुकहरूले ग्रिन बण्ड जारी गरेका छन् । सबैभन्दा पहिला सन् २००७ मा युरोपेली इन्भेस्टमेन्ट बैंकले ‘क्लाइमेट अवेरनेस बण्ड’ भनी हरित बण्ड जारी गरेको थियो । त्यसपछि अमेरिका, चीन, भारत, सिङ्गापुर, जापानलगायतका ८२ मुलुकमा ग्रिन बण्डको व्यवस्था प्राथमिक र दोस्रो धितोपत्र बजारमा कारोबार भएको छ । चीनले जारी गरेको हरित बण्ड ८५.४ अर्ब अमेरिकी डलर रहेको छ । अमेरिकाले ६४.४ अर्ब अमेरिकी डलर बराबरको ग्रिन बण्ड जारी गरेर दोस्रो स्थानमा छ । जर्मनी ६१.२ अर्ब अमेरिकी डलरको ग्रिन बण्ड जारी गरेर तेस्रो स्थानमा रहेको छ भने नेदरल्याण्ड र फ्रान्स क्रमश २६.७, २४.८ अर्ब अमेरिकी डलर बराबरको बण्ड जारी गरेर चौथो र पाँचौ स्थानमा छन् । त्यस्तै छिमेकी मुलुक भारतले सन् २०२३ मा २ अर्ब अमेरिकी डलर बराबरको ग्रिन बण्ड जारी गरेको छ ।

नेपालमा हरित वित्तको कार्यान्वयनको अवस्था
आर्थिक वर्ष २०७९÷८० को मौदिक नीतिले पनि ‘ग्रीन फाइनान्सिङ लाई प्रोत्साहन गर्ने उल्लेख गरेको थियो। जसमा हरित बण्ड निस्कासन गर्ने, जलवायु जोखिम रिपोर्टिङ गर्ने, पुँजी आवश्यकता पहिचान गर्ने जस्ता विषयलाई समेटेर ‘ग्रीन ट्याक्सोनोमीको मस्यौदा तर्जुमा गरिने भनेको थियो। सोहि नीति अनुसार नेपाल राष्ट्र बैंकले यसलाई कार्यान्वयनमा ल्याएको हो।

राष्ट्र बैंकमार्फत प्रस्तुत मस्यौदामा ट्याक्सोनोमीले वित्तीय क्षेत्रका सरोकारवालालाई ‘हरित गतिविधि’का क्षेत्र पहिचान गर्न, त्यसमा आर्थिक गतिविधि गर्न, त्यस क्षेत्रको पुँजी, स्रोत र क्षमतालाई हरित अर्थतन्त्रतर्फ निर्देशित गर्न मद्दत गर्ने लक्ष्य राखेको बताइएको छ। नेपालले आफ्नो वित्तीय प्रणालीलाई ‘हरित बनाउन आवश्यक रहेको र त्यसका लागि जलवायु र वातावरणीय महत्वाकांक्षा पूरा गर्न नेपाललाई पर्याप्त आर्थिक स्रोत आवश्यक पर्दछ । यो अवधारणालाई पूर्ण कार्यान्वयनमा ल्याउन पूर्वसर्तहरू पनि पूरा गर्नुपर्नेबारे मस्यौदामा खुलाइएको छ। तर यी काम चरणवद्ध रुपमा हुने देखिन्छ। ‘सुरुमा न्यून कार्बन फाइनान्स, दोस्रोमा अनुकूलन र लचिलो फाइनान्स, तेस्रोमा जलवायु फाइनान्स, चौथोमा हरित फाइनान्स र अन्तिम चरणमा मात्र दीगो ग्रीन फाइनान्सतर्फ जान सकिने छ।

हरित अर्थतन्त्रमा मुलुक प्रवेश गर्नका लागि हरित वित्तीय प्रणाली निर्माण गर्नु एक पूर्वसर्त हो । हरित वित्तीय प्रणालीले नवीकरणीय ऊर्जा, जैविक स्रोत तथा साधनको उच्चतम उपयोग, सफा ऊर्जा प्रणालीमा विकासजस्ता क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउन र बैंक तथा वित्तीय संस्थाको लगानीको पोर्टफोलियो विविधीकरण गर्न प्रोत्साहन गर्नेछ । यस्तो प्रणालीको विकास भएमा नेपालमा देखिएका र आउन सक्ने जलवायु परिवर्तनको जोखिमलाई कम गर्न र हरित अर्थतन्त्रतर्फ प्रवेशको बाटो खुल्छ । जलवायु परिवर्तनको दिशामा प्रभाव देखिने गरी काम गर्नका लागि कर्मकाण्डी योजनाभन्दा परिणाममुखी दिशानिर्देशको खाँचो छ । यसका लागि नागरिकलाई सचेतना जगाउने खालको कार्यक्रम पनि ल्याइनुपर्छ ।

ग्रिन फाइनान्सिङ प्रर्वद्धनका फाइदाहरु

ग्रिन फाइनान्सिले अर्थतन्त्रको दीर्घकालीन स्थायित्वमा योगदान पुर्याउँछ । वित्तीय लचिलोपनलाई बढवा दिन्छ र वातावरणीय प्रकोपका जोखिमलाई कम गर्छ । ग्रिन फाइनान्सि पर्यावरणमैत्री परियोजनाहरू र दिगो अभ्यासहरूलाई समर्थन गर्दै प्राकृतिक स्रोतहरू, जैविक विविधता र समग्र वातावरणीय स्वास्थ्यको संरक्षणमा योगदान गर्दछ । ग्रिन हरित फाइनान्सिङले नवीकरणीय ऊर्जा र अन्य न्यून कार्बन परियोजनाहरूमा लगानी गर्न प्रोत्साहन गर्छ, जसले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र हरितगृह ग्यास उत्सर्जन कम गर्ने विश्वव्यापी प्रयासमा सहयोग गर्ने गर्दछ । फाइनान्सि सञ्चालनसँग सम्बन्धित वातावरणीय जोखिमहरूको मूल्याङ्कन र व्यवस्थापनले सम्भावित वित्तीय जोखिमहरूलाई न्यूनीकरण गर्न मद्दत गर्छ ।

नेपालमा जैविक विविधताको बाक्लो उपस्थिति र वनजंगलले ढाकेको क्षेत्रफल यथेष्ठ हुनाले मानवबस्तीमा यसको प्रभाव राम्रो छ । यसले गर्दा नै जलवायु परिवर्तनका असर देखापरेका छन । नेपाल संकटोन्मुख भइसकेको छैन । तर, निरन्तर जलवायु परिर्वतनका कारण विश्वको तापक्रम १ दशमलव ५ डिग्रीको नाजुक थ्रेसहोल्डमा पुग्दा नेपालसमेत सम्मिलित हिन्दुकुश क्षेत्रमा हिमाली क्षेत्रको तापक्रम दुई डिग्री सेल्सियस बढ्ने अनुमान गरिएको छ । यसले तापक्रममा निरन्तर वृद्धि र बदलिँदो वर्षाको ढाँचाले हिमालय क्षेत्रको हिउँ र हिमनदीको आवरण तथा प्रवाहमा प्रतिकूल प्रभाव पारेको छ । यसबाट पदयात्रामा आधारित पर्यटन व्यवसाय चौपट हुने अनुमान छ भने समग्र पर्यटन क्षेत्र नै दीर्घकालमा खतरामा पर्ने देखिन्छ । अहिले एक किसिमको स्टे«स भने देखिइसकेको छ । फेरि, निरन्तर तापक्रम बढ्ने र वार्षिक मौसम परिर्वतनका चरणले नेपालको वनजंगल, चराचुरुंगी र जनावरमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा यसको गुणात्मक असरले गर्दा पर्यटनमा कमी हुँदै राजस्व असुलीसमेत प्रभावित हुन जानेछ ।

कार्बन व्यापार

सामान्य अर्थमा कार्बन व्यापार एक किसिमको हावाको व्यापार नै हो। वन संरक्षण गरी कार्बन उत्सर्जन घटाउने र सञ्चिति बढाए बापत विकसित देशहरूले वन संरक्षण गर्ने देशलाई रकम भुक्तान गर्छन्। यही प्रक्रियालाई कार्बन व्यापार भनिन्छ । यूएनएफसीसीसी अन्तर्गत त्यसका लागि रेड संयन्त्र स्थापित छ। जलवायु परिवर्तनका कारक मानिने कार्बन डाइअक्साइड, मिथेन, सल्फर मोनोअक्साइड जस्ता थुप्रै ग्यास हुन्छन् । त्यसमध्ये कार्बडाइअक्साइड प्रमुख ग्यास हो । त्यसलाई घटाउन वनजंगलले महत्वपूर्ण भूमिका खेल्छ ।

कार्बन व्यापार भनेको कार्बन डाइअक्साइडलाई घटाई त्यसबापत रकम भुक्तानी पाउने प्रणाली हो । विकसित तथ औद्योगिक मुलुकहरुमा बढी उद्योग हुने भएकाले उनीहरु आफैँ कार्बन घटाउन चाहँदैनन् । नेपाल जस्ता विकासोन्मुख मुलुकले वनजंगलमार्फत कार्बन घटाउने र विकसित मुलुकको दायित्वबापत रकम भुक्तानी लिने गर्दछन् ।

वन क्षेत्रको कार्बन व्यापारमा रेड प्लस महत्वपूर्ण कार्यक्रम हो । रेड प्लस कार्यक्रमअन्तर्गत वन विनाश वा अतिक्रमण रोक्ने, वनको क्षयीकरण वा हैसियत बिग्रन नदिने, दिगो वन व्यवस्थापन गर्ने, वनबाट कार्बन उडेर जान नदिने र वृक्षरोपण गरेर कार्बनको सञ्चितीकरण गर्ने गरिन्छ ।ती पाँच कार्यले वायुमण्डलको कार्बन डाइअक्साइड सोसेर वनजंगलमा आउँछ । वनजंगलबाट कार्बन डाइअक्साइड उडेर जान पाउँदैन । कार्बन जति सञ्चित हुन्छ त्यो हिसाब गरेर पाउने रकम भुक्तानी नै कार्बन व्यापार हो ।

कार्बन व्यापार भन्नाले कार्बनको उत्सर्जन गर्न पाउने कोटाको व्यापार हो ।बढी कार्बन उत्सर्जन गर्ने मुलुकले कम कार्बन उत्सर्जन गर्ने मुलुकको कोटा खरिद गरी कार्बन उत्सर्जनको अधिकार प्राप्त गर्दछ । कार्बन खरिदसंग यसको उत्सर्जन गर्न पाउने अधिकारको सिर्जना हुन्छ । कम कार्बन उत्पादन गर्ने विकासोन्मुख मुलुकहरुले कार्बन उत्सर्जन प्रकृयामा योगदान पुर्याए वापत क्षतीपूर्ती प्राप्त गर्दछन् । कार्बन व्यापारबाट नेपालले पनि यथेष्ट आम्दानी गर्न सक्छ । वन तथा प्राकृतिक सम्पदाको खानीको रुपमा रहेको हुँदा नेपालमा यसको सम्भावना प्रचुर रहेको छ । एकातिर कार्बन घटाउनका लागि सर्वसाधारणमा समेत चेतनाको विकास गराउँछ भने अर्को तिर वन तथा प्राकृतिक स्रोतको संरक्षणमा योगदान पुर्याउँछ । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि मद्धत गर्दछ । नेपाल कोष्टारीका पछिको कार्बन व्यापारमा संलग्न हुने दोस्रो राष्ट्र हुने अवसर मिलेको छ ।

कार्बनडाइअक्साइडले वायुमण्डलको करिब २१ प्रतिशत अंश ओगटेको हुन्छ। जैविक इन्धनहरूको दहनबाट ऊर्जा उत्पन्न हुने क्रममा त्यहाँ रहेको कार्बन छुट्टिन्छ जुन वायुमण्डलमा रहेको अक्सिजनसँग मिलेर कार्बनडाइअक्साइड बन्छ ।

यसरी उर्जा दोहनबाट थप हुने

कार्बनडाइअक्साइडले वातावरणमा असन्तुलन उत्पन्न ग‍री पृथ्वीको तापक्रम बढाउदछ् । यसलाई हरितगृह प्रभाव पनि भनिन्छ ।
विश्वका औद्योगिक शक्तिसम्पन्न राष्ट्रहरूले हरितगृह ग्याँस उत्सर्जनको अधिकांश हिस्सा ओगटेका छन्। त्यसकारण जलवायु परिवर्तन रोक्न तिनै औद्योगिक शक्तिसम्पन्न राष्ट्रको कार्बनडाइअक्साइड उत्सर्जनमा कटौती अनिवार्य छ। सन् १९९७मा तयार भएको र २००५ देखि लागू भएको जलवायु परिवर्तनसम्बन्धी क्योटो अभिसन्धिले विश्वको ३८ वटा औद्योगिक राष्ट्रले सन् २०१२ सम्ममा ५ दशमलव २ प्रतिशतले कमी ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। क्योटो अभिसन्धिमा अमेरिकालगायतका मुख्य प्रदूषक राष्ट्रले आनाकानी गर्दै आए पनि अन्ततः त्यो सबैका लागि बाध्यकारी बनेको छ। जलवायु परिवर्तन नियन्त्रण एवं कार्बन कटौतीको मुद्दा विश्वको अर्थतन्त्रसँग जोडिएकाले पनि क्योटो अभिसन्धिको प्रावधान विवादरहित बन्न सकेन। औद्योगिक अर्थतन्त्रमा आधारित रहेका विश्वका धनी देशहरू कार्बन उत्सर्जन गर्ने नाममा उद्योगहरू बन्द गर्न वा उत्पादन कटौती गर्न किन राजी नहुने र कार्बन कटौति गर्नु धनी राष्ट्रहरूका लागि महँगो सावित हुने देखिएपछि क्योटो अभिसन्धिले देशहरू बीच कार्बनडाइअक्साइड उत्सर्जनको ब्यापरीक रूपमा आदान प्रदान गर्न सकिने प्रावधान राख्यो जसलाई कार्बन व्यापार भनिन्छ । यस अनुसार औद्योगिक देशहरूले तोकिएको सीमा भन्दा बढि निस्कासन गर्ने कार्बनडाइअक्साइड बापत कम उत्सर्जन गर्ने (र घटाउने) सँग उत्सर्जन गर्न पाउने अधिकार किन्न सक्ने भए। त्यसका लागि उनीहरूले कार्बन उत्सर्जन घटाउने राष्ट्रलाई पैसा तिर्नुपर्ने भयो।
स्वच्छ ऊर्जाको प्रयोगद्वारा कार्बन उत्सर्जन घटाउने राष्ट्र, समुदाय वा संस्थालाई बढी उत्सर्जन गर्ने राष्ट्र वा संस्थाले आर्थिक सहयोग गरी सोही परिणामको कार्बन उत्सर्जन गर्न पाउने अधिकार ग्रहण गर्न सक्छ। यसरी कार्बन उत्सर्जन घटाउन महँगो पर्ने पक्षले त्यसबापतको अधिकार अर्को पक्षबाट ग्रहण गर्छ, जसलाई कार्बन उत्सर्जनमा गरिएको कटौती महँगो सावित हुँदैन। कार्बन व्यापारको मुख्य उद्देश्य विश्वको अर्थतन्त्रलाई असर नपर्ने गरी जलवायु परिवर्तन नियन्त्रण गर्नु हो। क्योटो अभिसन्धिले गरेको यस्तो व्यवस्थालाई स्वच्छ विकास संयन्त्र पनि भनिन्छ ।

 

यस्तो व्यवस्थाबाट मुख्यतः गरीब राष्ट्र लाभान्वित हुन्छन्, जसको कार्बन उत्सर्जनमा खासै भूमिका रहँदैन, तर जलवायु परिवर्तनबाट भने प्रभावित हुन्छन ।
कार्बन व्यापारको विषय सन् १९९७ मा भएको महासन्धि अन्तर्गतका पक्ष राष्ट्रहरूको तेस्रो सम्मेलन (कोप–३)मा भएको क्योटो महासन्धिबाट शुरू भएको हो। कोप–३ मा विकसित देशहरूले सन् २०१२ सम्म औसतमा ५.२ प्रतिशत हरितगृह ग्यास घटाउने निर्णय गरेका थिए । त्यही सम्मेलनबाट स्थापित स्वच्छ विकास संयन्त्र (सीईडीएम) वन बाहेकका परियोजनामा नेपालले भाग लिएको थियो। जस अन्तर्गत नेपालले सुधारिएको चुह्लो, लघु जलविद्युत् आयोजना स्थापना जस्ता कार्यक्रम सञ्चालन गरेको थियो।

विश्व ब्यांकसँग २०७७ साल १२ फागुनमा कार्बन उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता भएपछि नेपाल औपचारिक रूपमा कार्बन व्यापारको चरणमा प्रवेश गरेको हो। नेपालले सन् २००८ देखि वन तथा वातावरण मन्त्रालयअन्तर्गत छुट्टै रेड कार्यान्वयन केन्द्र स्थापना गरेर कार्बन व्यापारको तयारी गर्दै आएको थियो। वन विनाश र वनको क्षयीकरण कम गरी कार्बन सञ्चितिलाई बढाएर उत्सर्जन घटाएबापत यस सम्झौता अनुसार नेपालले भुक्तानी पाउनेछ।सम्झौता अनुसार कार्बनडाइअक्साइड न्यूनीकरण गरेबापत नेपालले प्रतिटन पाँच डलरका दरले भुक्तानी पाउनेछ। यसअनुसार सन् २०२४ सम्म नेपालले ४५ मिलियन डलर अर्थात पाँच अर्ब २० करोड ५७ लाख प्राप्त गर्नसक्छ । तर, त्यसका लागि कार्बन उत्सर्जन न्यूनीकरण र सञ्चितिलाई वृद्धि गर्नुपर्नेछ।

रौतहटको बागमतीबाट पश्चिम तराईका १३ वटा जिल्लालाई आधार मानेर सञ्चालन गरिने यस कार्यक्रममा नेपालले भुक्तानी प्राप्त गर्नका लागि कार्बन जाँच गरेर दाबी प्रस्तुत गर्नुपर्नेछ। नेपालले प्रस्तुत गर्ने दाबीलाई विश्व ब्यांकले प्रमाणीकरण गरेपछि भुक्तानी पाउनेछ । काम गर्न सके नेपालले सम्झौताअनुसारको सबै रकम पाउनेछ । लक्ष्यअनुसार काम गर्न नसके जति कार्बन सञ्चिति भयो, त्यही आधारमा रकम पाउनेछ ।
विनाश र क्षयीकरण रोकी वनको संरक्षण तथा दिगो व्यवस्थापन गरेर कार्बन सञ्चिति बढाउने तथा उत्सर्जन घटाउने ‘रेड प्लस’ मा नेपाल सन् २००८ मा सहभागी भएको हो। जस अन्तर्गत नेपालले पहिलो पटक सन् २०२० मा विश्व ब्यांकसँग नौ मिलियन मेट्रिक टन कार्बन बिक्री गर्ने सम्झौता गरेको छ। यो सम्झौता अनुसार, नेपालले बागमतीदेखि पश्चिम तराईका १३ जिल्लाको वन क्षेत्रमा हुने कार्बन उत्सर्जन न्यूनीकरण र सञ्चिति बढाए बापत प्रति टन पाँच डलर पाउनेछ। विश्व बैंक अन्तर्गतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले वनजंगलबाट सञ्चित कार्बनबापत पाँच अर्ब प्राप्त गर्ने निश्चित भएको छ ।वन तथा वातावरण मन्त्रालयले सन् २०२४ सम्ममा तराईका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रतिमेट्रिक टन पाँच डलरका दरले व्यापारमा लैजाने योजना विश्व बैंकसँग मिलेर अघि बढाएको छ ।

मन्त्रालयबाट तराईका जिल्लाका लागि तयार कार्बन उत्सर्जन न्यूनीकरण दस्ताबेजलाई विश्व बैंकअन्तर्गतको कार्बन कोषको २०७७ असार ६ देखि ८ गतेसम्म फ्रान्सको पेरिसमा बसेको बैठकले स्वीकृत गरेको हो ।यो स्वीकृतिसँगै नेपालको १० वर्षदेखि वन क्षेत्रबाट गरिने कार्बन व्यापारको कार्यक्रम रेड प्लसको तयारी चरण सम्पन्न भएको छ । यसपछि रेड प्लसको कार्यान्वयन र व्यापार चरण शुरु हुनेछ ।

सम्झौताअनुसार तराई भू–परिधिका रौतहट, बारा, चितवन, नवलपरासी (पूर्व) र नलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका वनजंगलमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।ती जिल्लामा सन् २०२४ सम्ममा एक करोड मेट्रिक टन जति कार्बन बढ्ने अनुमान गरिएको छ । प्रतिमेट्रिक टन कार्बनको पाँच डलरका दरले रकम भुक्तानी हुनेछ ।
यस्तो रकम वन व्यवस्थापन, काठमा आधारित उद्योग स्थापना गर्न र निजी वन प्रवद्र्धन लगायतका कार्यक्रममार्फत प्रदान गरिने योजना छ । यद्यपि, यो आम्दानी राजश्व मानिने भएकाले यस बारेमा आवश्यक कानून संसद्ले बनाउनुपर्ने हुन्छ । कार्बन व्यापारसँगै वनजंगल संरक्षणबारे भने कुनै सम्झौता नहुने मन्त्रालयले जनाएको छ । एशियामा नेपाल जस्तै कार्बन व्यापार गर्ने तयारीमा भियतनाम र लाओस मात्र छन् ।
नेपालको ५९ लाख ६२ हजार हेक्टर भूभाग वनले ओगटेको छ। जुन कुल क्षेत्रफलको ४०.३६ प्रतिशत हुन आउँछ। रेडले ०७७ को वार्षिक प्रतिवेदनमा नेपालको वनमा १ अर्ब ५ करोड ५० लाख टन कुल कार्बन सञ्चिति रहेको उल्लेख गरेको छ। औसतमा प्रतिहेक्टर १७६.९ टन हुन आउँछ। जसमध्ये रूख (जीवित, सुखड खडा, ढलापडा, र सतहमुनिको भागसमेत)मा ६१.५३ प्रतिशत, माटोमा ३७.८० र पातपतिंगरमा ०.६७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। ‘यसको अतिरिक्त नेपालमा ६ लाख ४८ हजार हेक्टर बुट्यान क्षेत्र (कुल क्षेत्रफलको ४.३८ प्रतिशत) छ’, प्रतिवेदनमा लेखिएको छ, ‘जसमा करिब ६ करोड ९ लाख टन (औसत (१०५.२४ टन प्रतिहेक्टर) कार्बन सञ्चिति छ। वन विनाश र अत्यधिक दाउरा संकलनका कारण वन क्षयीकरणबाट बर्सेनि करिब १३ लाख टन कार्बन डाइअक्साइड ग्यास उत्सर्जन हुने अनुमान छ। यस कार्यक्रमले कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गरी सन् २०२८ सम्ममा ३ करोड ४२ लाख टन कार्बन उत्सर्जन कम गर्ने लक्ष्य लिएको छ। जलवायु परिवर्तनका लागि अन्तरसरकारी मञ्चले सन् २००७ मा गरेको विश्लेषणअनुसार जलवायु परिवर्तनको मुख्य कारण वायुमण्डलमा बढिरहेको हरितगृह ग्यासको क्रमिक उत्सर्जन हो। हरितगृह ग्यासमध्ये कार्बन डाइअक्साइडको भूमिका सबैभन्दा बढी भूमिका रहने मानिएको प्रतिवेदनमा उल्लेख छ। सन् १९५८ देखि २००१ को अवधिमा वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ३१५ पीपीएमबाट ३७० पीपीएमसम्म क्रमिक रुपमा बढेको जनाइएको छ।

तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्न पेरिस सम्झौतामा सहमति भइसके पनि हाम्रा क्रियाकलाप त्यसअनुरूप अघि बढेको देखिँदैन। यसका लागि वैज्ञानिक प्रतिवेदनहरूमा सुझाएअनुसार कार्बन उत्सर्जन २०१० को तुलनामा २०३० सम्ममा ४५ प्रतिशतले घटाउनुपर्ने हुन्छ। राष्ट्रिय निर्धारित प्रतिबद्धता (एनडीसी)मा नेपालले सन् २०५० सम्ममा हरित गृह ग्यासको शून्य उत्सर्जन गर्ने जनाएको छ।

कार्बन सञ्चितीबाट गरिने व्यापारसँगै ती कार्यक्रमबाट काठको उत्पादन उल्लेख्य रुपमा वृद्धि हुने अपेक्षा गरिएको छ । सो कार्यले झण्डै १० हजार पूर्ण रोजगारी सिर्जना हुने, समुदायमा आधारित वनका साथै वन क्षेत्रको समग्र शासकीय सुधारमा टेवा पुग्ने, जैविक विविधता संरक्षण हुने र नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु प्रारूप महासन्धिमा स्वेच्छिक रुपमा घोषणा गरेको हरितगृह ग्यास उत्सर्जन कटौतीको लक्ष्य प्राप्त गर्न सघाउ पुग्ने विश्वास गरिएको छ । विश्वमा तुलनात्मक रूपमा नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गर्छ। नेपालको कार्बन उत्सर्जन ०.३ प्रतिशत छ। वनको उचित व्यवस्थापन गरेर कार्बन घटाउन सम्भावना देखिन्छ। यसमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने जानकार बताउँछन्। कार्बन धेरै उत्सर्जन गर्ने मुलुकमा चीन पहिलो, अमेरिका दोस्रो, भारत तेस्रो स्थानमा छन्।

कानुनी व्यवस्था

वातावरण संंरक्षण ऐन २०७६ ले पनि कार्बन व्यापारमा जान सक्ने उल्लेख गरेको छ। ऐनको दफा २८ मा १ मा लेखिएको छ, ‘नेपाल सरकारले कार्बन उत्सर्जन न्यूनीकरण र सञ्चितीकरणका लागि अन्तर्राष्ट्रिय सन्धिबाट स्थापित संयन्त्र, विदेशी सरकार वा संस्था, व्यावसायिक निकाय वा निजी क्षेत्रसँग हुने कार्बन व्यापारमा भाग सक्नेछ।’ सोबाट प्राप्त लाभको बाँडफाँटसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने दफामा उल्लेख छ।

भावी रणनीति

कार्वन व्यापारको लागि वन विनाश रोक्ने, वनको गुणस्तर खस्किन नदिने, वन संरक्षण गरी कार्बन सञ्चिति बढाउने, वनको दिगो व्यवस्थापन गर्ने, वन विनासको माध्यमबाट हुने उत्सर्जन न्यूनीकरण गर्ने तथा वन क्षयीकरणबाट हुने कार्बन उत्सर्जन न्यूनीकरण गरी अगाडी वढ्नु पर्दछ । राम्रो वन व्यवस्थापन गर्दा सामाजिक, आर्थिक र वातावरणीय पक्षहरूका अतिरिक्त वन सुशासन, वनमाथिको आदिवासी जनजाति र स्थानीय समुदायको पारम्परिक पहिचान र अधिकार; विपन्न वर्गको रोजगारीको सुरक्षा; स्थानीय लघु उद्यमहरूको विकास; वनसम्बन्धी परम्परागत ज्ञानको संरक्षण र सम्मान; जलवायु परिवर्तन न्यूनीकरण; वन विनाशबाट त्यसमा आश्रित हजारौं जीवजन्तु, अमूल्य जडीबुटी, वनस्पति र सिंगो जैविक विविधतामा पर्ने समग्र क्षतिको मूल्यांकन र अनुकूलनजस्ता विषयलाई विशेष महत्त्व दिएर वन व्यवस्थापन योजना बनाई वनको दिगो व्यवस्थापन गर्नपर्दछ । यस्तो वन व्यवस्थापन प्रणालीमा सरकार, समुदाय, सरोकारवाला र निजी क्षेत्रको सन्तुलित पहुँच, सहभागिता र निर्णायक भूमिका स्थापित हुनु पर्दछ  ।

उपसंहार

नेपालले कार्वन व्यापारको तयारी डेढ दशक पुगेको अवस्था छ । नेपालको वन क्षेत्र उल्लेख्य वढाएर यसवाट नेपालले फाइदा लिन सक्नु पर्दछ । कोप २६ , कोप २७ र कोप २७ मा उठान भएका विषयहरुलाई कार्यान्वयनमा लैजानु पर्दछ । नेपालले ्नो जलवायु कुटनीतिक क्षमता वढाई आगामी दिनमा दिगो वन व्यवस्था गर्न सकेमा कार्वन व्यापारवाट उल्लेख्य फाइदा लिन सक्ने देखिन्छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x