सामाजिक सञ्जालको व्यवस्थापन

7.1K
shares
Shine resunga department bank

 

विद्युतीय प्रणाली अर्थात इन्टरनेट प्रविधिमार्फत कम्प्युटर मोबाइल आदि वाट आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो वेवसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने प्रभावकारी साधन हो । यो समुदायमा आधारित सामग्री आदानप्रदान गर्ने सञ्चार प्रणाली भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । फेसबुक, युट्युब, भाइबर, ट्वीटर, इन्स्टाग्राम टिकटक आदि यसका उदाहरण हुन् । यो खासगरी क्म्प्युटर (ल्यापटप वा डेस्कटप) र माबाइल (स्मार्टफोन वा ट्याब्लेट) जस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ । यस्ता च्यानलहरु प्राय निशुल्क हुन्छन् यसको कारणले यसको प्रयोगकर्ताको संख्या धेरै हुने गर्दछ । हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न सक्ने तुलनात्मक रुपमा सस्तो र सरल प्रविधिलेयुक्त भएकाले यो अहिले मानिसको जीवनसाथी जस्तै बनेको छ । इन्टरनेटको सहयोगले भ्वाइस र भिडियो कललाई सजिलो पारिदिएकाले देश–विदेशमा भिन्न भौगोलिक दूरीमा बसेका आफन्तसँग कुराकानी एवं सम्पर्क गर्न सजिलो पनि पारिदिएको छ । सामाजिक सञ्जालका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो व्यापार व्यवसाय र सूचनामा पहुँच बढाउन सहज भएको छ भने व्यवसाय विस्तार गर्न सजिलो भएको छ ।

प्रविधिमा भएको विकासको बदलिँदो परिवेशसँगै इन्टरनेट मानवजातिको अत्यावश्यक वस्तुभित्र पर्न सफल भएको विश्वले स्वीकार गरिसकेको छ । सूचना र संचारको दुनियाँ भनेको यो युगको अद्भुत क्रान्ति हो। यस मार्फत नै मानिसहरूले कठिन भन्दा कठिन कार्यहरू सहज रूपमा गरिरहेका छन्। राजनीतिक संगठन र सामाजिक गतिविधिलाई क्रियाशील बनाइरहेका छन्। कति मानिसले सामाजिक सञ्जाललाई व्यावसायिक प्लेटफर्मको रूपमा समेत प्रयोग गरिरहेका छन्। सामाजिक सञ्जालले मानिसलाई विचार तथा अनुभव साझा गर्न सक्षम बनाइदिएको सामाजिकीकरण हुन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ साथै मानिसहरूका बीचमा विश्वभरि पहुँच विस्तार गराइरहेको छ। ज्ञान–विज्ञान विस्तार गर्न र साझा गर्न सघाइरहेको छ। कतिपय व्यक्ति वा संस्थाहरुले सामाजिक सञ्जाललाई बजार व्यवस्थापन अनुसन्धान, ब्रान्डिङ र ग्राहक सेवाका रूपमा समेत प्रयोग गरिरहेका छन्। यसले ल्याएको खुलापनले मनोरञ्जनका लागि उपयुक्त सामग्री प्रदान गरिरहेको छ। सामाजिक सञ्जाल चलाउन नजान्दा हाम्रो दैनिक जीवनमा धेरै नै असर पारेको प्रतीत हुन्छ । एक अध्ययन अनुसार यसमा हाल प्रायः व्यक्तिले करिब २० प्रतिशत समय सामाजिक सञ्जालमा बिताउने गरेको पाइन्छ । हाल विश्वभर करिब ५ अर्ब ४ करोड मानिस सामाजिक सञ्जाल प्रयोग गर्छन्। एक औसत सक्रिय प्रयोगकर्ताले दैनिक २ घण्टा २३ मिनेट सामाजिक सञ्जालमा बिताउने गरेको पाइन्छ। विश्वव्यापी रूपमा, इन्टरनेट प्रयोगकर्ताको संख्या बर्सेनि बढिरहे पनि, अझै पनि विश्वका तीनमध्ये एक मानिस यसमा जोडिन सकेका छैनन ।

सञ्चार र आपसी सम्पर्कका लागि सामाजिक सञ्जालको उपयोगिता बढ्दै गएको छ । यसवाट विश्वभरका मानिसहरूलाई सजिलै जोड्ने काम गर्छ, टाढा रहेका परिवारका सदस्य, साथीभाइ तथा सहकर्मीहरूसँग सहज रूपमा सम्पर्क गर्न सकिन्छ। साथै विभिन्न म्यासेजिङ एप्स को प्रयोगले द्रुत सञ्चार सम्भव भएको छ।

सामाजिक सञ्जालले सूचना तथा समाचारको सहज उपलब्धतामा सहजता ल्याएको छ । जसवाट विभिन्न समाचार स्रोत तथा स्वतन्त्र पत्रकारहरूले ताजा समाचार तत्कालै सामाजिक सञ्जाल मार्फत प्रवाह हुन सकिरहेका छन् । प्रमुख घटनाहरू, सरकारी घोषणाहरू तथा आपतकालीन सूचनाहरू तुरुन्तै जानकारी गराउन सकिने अवस्था रहेको छ ।

व्यवसाय र रोजगारी प्रवर्द्धनका लागि पनि सामाजिक सञ्जाल अति नै उपयोगी सावित भएको छ । डिजिटल मार्केटिङ तथा विज्ञापनका लागि सामाजिक सञ्जाल एउटा उत्कृष्ट माध्यम हो।यसका लागि व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरूलाई प्रवर्द्धन गर्न फेसबुक, इन्स्टाग्राम, लिङ्कडइन, ट्विटर आदिको उपयोग गर्छन् , फ्रीलान्सरहरू, स्टार्टअप तथा कम्पनीहरूले सामाजिक सञ्जालमार्फत रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छन्।

शिक्षा तथा ज्ञान आदान-प्रदानमा सामाजिक सञ्जालको उपयोगिता बढी नै छ ।यसवाट अनलाइन कक्षा, वेबिनार, ट्युटोरियल भिडियो, तथा अन्य शिक्षण सामग्रीहरू सजिलै उपलब्ध हुन्छन्।

सामाजिक परिवर्तन तथा जनचेतनाका लागि सामाजिक सञ्जाल उपयोगी रहेको छ । सामाजिक अभियन्ताहरूले जनचेतना अभिवृद्धि गर्न, मानव अधिकार संरक्षण गर्न, तथा सकारात्मक परिवर्तन ल्याउन सामाजिक सञ्जालको प्रयोग गर्छन्।व्यक्तिमा अन्तरनिहीत सिर्जनशीलता तथा प्रतिभा प्रदर्शन गर्न सामाजिक सञ्जालको उपयोगिता धेरै नै महत्वपूर्ण रहेको छ । यसवाट कलाकार, लेखक, संगीतकार, तथा अन्य सिर्जनशील व्यक्तिहरूले आफ्नो प्रतिभा संसारभर पुर्‍याउन सक्छन्।सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूले नयाँ प्रतिभाहरूलाई स्थापित गराउने अवसर प्रदान गर्छन्।चलचित्र, वृत्तचित्र, गीत, रमाइला भिडियोहरू तथा अनलाइन गेमहरू सामाजिक सञ्जालमार्फत सजिलै उपलब्ध भै यसले निशुल्क मनोरञ्जन समेत प्रदान गर्दछ ।

विपद् व्यवस्थापनको समयमा आवश्यक सहयोग तथा राहत संकलन गर्न सामाजिक सञ्जाल प्रभावकारी हुन्छ।रक्तदान, हराएका व्यक्तिहरूको खोजी, तथा अन्य सामाजिक सहयोगका लागि सामाजिक सञ्जालले महत्त्वपूर्ण भूमिका खेल्छ।

सामाजिक सञ्जाल एक प्रभावशाली माध्यम हो, जसले सञ्चार, शिक्षा, व्यवसाय, सामाजिक जागरण तथा मनोरञ्जन जस्ता विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। यसको सही उपयोगले व्यक्तिगत तथा सामाजिक जीवनलाई अझ प्रभावकारी बनाउन सकिन्छ।

विश्वका विभिन्न कुनामा रहेका मानिसहरुलाई सञ्जालमार्फत जोड्ने, सामाजिक मुद्दालाई स्थापित गरी उचाइमा पुर्याउने, व्यवसायलाई बढाउन र चिनाउन मद्दत गर्नेदेखि सबै क्षेत्र र पेशामा उल्लेखनीय प्रभाव पार्ने कुरामा सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका निभाउँदै आइरहेको छ । सामाजिक सञ्जालको प्रभाव र विश्व सञ्चारमा यसको भूमिकालाई मध्यनजर गर्दै २०१० को जून ३० देखि वर्ल्ड सोसल मिडिया डे मनाउन थालिएको हो । सञ्चार र जडान अर्थात कनेक्टिभिटी, सूचना प्रवाह , व्यवसाय र बजारीकरण र तथा सामाजिक आन्दोलनको प्रबर्ध्दन सामाजिक सञ्जाल दिवसका उद्देश्य हुन् ।

हरेक राम्रा चीज संग नराम्रा पक्ष पनि जोडिएर आउने गर्दछ सामाजिक सञ्जालहरु पनि यसवाट अछुतो छैन। सामाजिक सञ्जाल अहिले असामाजिक विचार र सामग्रीले भरिने रोगवाट समेत ग्रसित छ । यसमा पोष्ट हुने विचार, सामग्रीहरु झुठा, भ्रम फैलाउने अरूको चरित्रहत्या गर्ने संभावना रहदा यो अव असामाजिक सञ्जाल बन्न सक्ने खतरा पनि छ । साधनको दोष नभएपनि त्यो साधन गलत कर्ताको हातमा पुग्दा दुरुपयोग हुन सक्दछ ।यस सन्दर्भमा सामाजिक सञ्जालको नियमनको विषयले पनि चर्चा पाउनु स्वभाविकै हो ।सामाजिक सञ्जाल नियमन गर्नु पर्ने मुख्य कारणहरूमा झुटा समाचार र गलत सूचना नियन्त्रण एउटा कारण हो । साइबर अपराध, ह्याकिङ, ठगी तथा अन्य अनैतिक क्रियाकलाप रोक्न नियमन आवश्यक छ।घृणा फैलाउने सामग्री नियन्त्रणको लागि पनि यसको नियमन आवश्यक हुन्छ । समाजमा नैतिकताको ह्रास रोक्न अश्लील सामग्रीको प्रकाशनमा नियन्त्रण हुनु आवश्यक छ ।जातीय, धार्मिक, भाषिक तथा लैंगिक विभेद बढाउने सामग्रीहरूको प्रकाशनलाई निरुत्साहन गर्न, अनलाइन बुलिङलाई नियन्त्रण गर्न र सामाजिक सञ्जाल मार्फत आतंकवादी गतिविधिहरू सञ्चालन हुन सक्ने भएकोले राष्ट्रिय सुरक्षा र सामाजिक स्थायित्वको दृष्टिले सामाजिक सञ्जाल नियमन आवश्यक हुन गएको हो ।

नियमनका सम्भावित उपायहरूमा कानुनी रूपरेखा तयार गर्ने जसमा सरकार तथा सम्बन्धित निकायहरूले साइबर कानुन बनाउन सक्छन्। यसवाट सामाजिक सञ्जाल कम्पनीहरूले आफ्नै स्तरमा नियम तथा मापदण्ड लागू गरि स्वनियमन हुने परम्परा विकास हुदै जाने, स्वतन्त्रता कुण्ठित नगरी आवश्यक सीमा भित्र सेन्सर गरि सेन्सरसीपको सन्तुलित प्रयोग गर्ने जस्ता कार्यहरु प्रयोगमा ल्याउन सकिन्छ।सामाजिक सञ्जालको प्रभावकारी व्यवस्थापन र नियमनले व्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्दै समाजमा सन्तुलन कायम गर्न सहयोग गर्न सक्दछ ।

नेपालमा प्रस्तावित सामाजिक सञ्जाल नियमन विधेयक प्रति सबैको ध्यान आकृस्ट भएको छ  । प्रस्तावित विधेयकले विशेष गरेर अनलाइन प्लेटफर्मसम्बन्धी गलत सूचना, घृणा, साइवर आक्रमण, गोपनीयताका चिन्ता तथा साइबर अपराध जस्ता विभिन्न पक्षहरू सम्बोधन गर्ने लक्ष्य राखेको छ । यसको सवल पक्षमा यसले सामाजिक सञ्जालमा फैलिने गलत सूचनालाई नियन्त्रण गर्ने, प्रयोगकर्ता र प्लेटफर्ममा साझा गर्ने सामग्रीका लागि जवाफदेही बनाउन मद्धत पुर्याउने देखिन्छ ।घृणा, व्यक्तिगत रूपमा गरिने साइवर आक्रमण, उत्पीडन तथा साइबर बुलिङलाई सम्बोधन गर्नमा मदत गर्दछ । सुरक्षित अनलाइन वातावरण सृजना गर्न मद्दत गरी प्लेटफर्मलाई सामग्री मध्यस्थतामा कडा नीतिहरू लागू गर्न प्रोत्साहित गर्न सक्छ साथै नेपालमा डाटा संरक्षणका कडा उपायहरू लागू गर्न सोसल मिडिया कम्पनीहरूले प्रयोगकर्ताको डाटालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न सुनिश्चित गर्न मद्दत पुराउँछ ।यसको साथै तेस्रो पक्षद्वारा हुन सक्ने अनधिकृत डाटा संकलन र दुरुपयोगलाई सीमित गरी अनलाइन धोखाधडी, ह्याकिंग र पहिचान चोरी जस्ता साइबर अपराधहरूसँग लड्न कानूनी उपकरणहरू समेत प्रदान गर्छ । सामाजिक संजाल प्रयोगकर्तालाई अनलाइन अधिकार र जिम्मेवारीहरू बुझ्न मद्दत गर्ने वातावरण तयार गर्ने तथा आतंकवादसम्बन्धी सामग्री वा हिंसालाई उक्साउने गतिविधिहरू जस्ता राष्ट्रिय सुरक्षालाई खतरा पुर्याउने गतिविधिलाई अनुगमन र रोक्न मद्दत गर्न सक्ने विषय वस्तुहरु यसमा समेटिएको देखिन्छ ।

यसको कमजोरीको पाटो हेदा अत्यधिक नियमनले सेन्सरशिपलाई जन्म दिन सक्छ जसले स्वतन्त्र अभिव्यक्ति र विरोधलाई दबाउन सरकारले विरोधी आवाज वा आलोचनालाई दबाउन नियमनलाई दुरुपयोग हुन सक्ने संभावना पनि देखिन्छ । देशभित्र उपलब्ध प्राविधिक ज्ञान र स्रोतको अभावले नियमनलाई प्रभावकारी रूपमा लागू गर्न गाह्रो हुन सक्ने सम्भावना पनि उत्तिकै छ । साथै यो प्रावधान ल्याउने कार्यमा सामाजिक सञ्जाल प्लेटफर्महरू र अन्य सरोकारवाला वा सर्वसाधारणवाट विरोध आउनुलाई पनि अस्वाभाविक मान्न मिल्दैन ।

प्रस्तावित सामाजिक सञ्जाल नियमन कानूनले नियमन र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै र असल नियतले सही काम गरिरहेका व्यक्तिहरुको सामाजिक सञ्जाल सदुपयोगको अवस्थामा अवरोध नआउने गरि गलत सूचना, प्रचार गलत लान्छना र साइबर अपराधलाई न्यूनीकरण गर्ने गरि र सो को कार्यान्वयन क्षमता स्थापित गर्ने गरी यस सम्बन्धी कानूनी व्यवस्था गर्नु उपयुक्त देखिन्छ ।यसका लागि सकारात्मक नियमन सहितको व्यवस्थापन हुनु आवश्यक छ ।

डा. दामोदर रेग्मी प्रशासनविद तथा वरिष्ठ गीतकार हुन् ।

Sharestha treating