नैतिकता र समाज सुधारको लागि पूर्वीय दर्शन र सभ्यता
वि.सं.२०८१ फागुन २४ शनिवार
shares
दर्शन सत्य र ज्ञानको महत्त्वपूर्ण सिद्धान्त हो जसले जीवन र संसारको व्याख्या गर्दछ। यसले प्रमाण र सत्य तथ्यलाई आधार बनाएर जिज्ञासा र तर्कहरूको समाधान दिन्छ। दर्शनका माध्यमबाट सत्य, ज्ञानका स्रोत, मूल्यका सिद्धान्त र तर्कहरूलाई विश्लेषण गरिन्छ। दर्शन शास्त्रले सृष्टि, धर्म, मानवता, वास्तविकता र पहिलो पदार्थका बारेमा व्याख्या गरेको छ। यसले ज्ञान प्राप्तिका विभिन्न स्रोतहरू जस्तै ईश्वरीय वाणी, धर्मग्रन्थ, तर्क, अनुभव र अन्तरमनलाई महत्त्व दिन्छ। दर्शनको अध्ययनले जीवन र संसारलाई बुझ्नका लागि वैज्ञानिक दृष्टिकोण प्रदान गर्दछ र यसले शैक्षिक उन्नति र विकासको मार्गदर्शन गर्छ। विभिन्न दर्शन प्रणालीहरूले मोक्ष र अज्ञान, दुःखबाट मुक्ति पाउने उपायहरू प्रस्तुत गर्दछन्।पूर्वीय दर्शनले जीवन र जगतको सत्यता, शक्ति, शरीरको मरणशीलता र आत्माको अमरता, मानवीय कर्मका महत्वलाई स्वीकार्छ। यसले धर्म, संस्कार, कला, वेद र प्रकृतिमा आधारित चिन्तन परम्परालाई महत्त्व दिन्छ।
पूर्वीय दर्शनले पूर्वी र दक्षिण एसियामा उत्पन्न भएका दर्शनहरूको समूहलाई जनाउँछ, जसमा हिन्दू दर्शन, जैन दर्शन, र बौद्ध दर्शन प्रमुख छन्। यी दर्शनहरू विशेष गरी भारत, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, तिब्बत, र मंगोलियामा प्रभावशाली छन्। हिन्दू दर्शन, जसले कर्म र सदाचारलाई महत्त्व दिन्छ, पूर्वीय दर्शनको मुख्य दर्शन मानिन्छ।
नेपालमा पनि पूर्वीय परम्पराका संस्कार र संस्कृतिहरू गहिरो प्रभावमा छन्। यहाँका मानिसहरू पूजापाठ, धर्मकर्म, सामाजिक सहकार्य, र आत्मज्ञानका लागि ईश्वरीय शक्तिको उपासना गर्छन्। वैदिक दर्शनका उपदेशहरू जस्तै स्वावलम्बन, परोपकार, दया, आहार र अचारविचारमा ध्यान दिनेको अभ्यास गरिन्छ। हिन्दू र बौद्ध धर्मअनुसार चाडपर्व मनाउने, योग ध्यान गर्ने, र सत्यको पालन गर्ने प्रचलन छ। आयुर्वेद, योग, विपश्यना र शाकाहारी जीवनशैलीप्रति जनचासो पनि बढ्दो क्रममा रहेको छ।
Top of Form. Bottom of Form
वास्तवमा मानवीय जीवन अत्यन्तै सुन्दर छ । अरु जीवहरुले बुझ्न, देख्न र भोग्न नपाएको जीवन मानव मात्रले पाएको छ । यस्तो अनुपम जीवनलाई सार्थक बनाउनका लागि आफूले गर्ने कर्मलाई स्वमूल्यांकन, स्वनियन्त्रण र स्वअनुशासित बनाउनुपर्दछ भन्ने मान्यता र यसका लागि अवलम्बन गर्नुपर्ने मार्गहरुलाई पूर्वीय दर्शनले स्पष्ट पारेको छ । अनेकौँ दर्शन शास्त्र र धर्म शास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अङ्क हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञानले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौँ मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै जसो दार्शनिक, आध्यात्मिक, पौराणिक परम्परा अनुसार परमात्मा भन्नाले त्यो अदृश्य र विशाल चेतना हो, जुन यो भौतिक सन्सारमा चेतनाको विकासको लागि निरन्तर चलायमान छ, जसलाई भगवान भनेर जानिन्छ जसको जन्म अनन्त स्वरूपमा अनन्त प्रकृतिमा बारम्बार लगातार हुन्छ, जसको एक स्वरुप मानब रुप पनि हो र सबै मानव सबै जीव सबै जन्म मृत्यु पछि परमात्मा मै फर्कन्छन । हाम्रो आत्मा पनि परमात्माको नै सानो अंश हो ।परमेश्वर त्यो सर्वोच्च परालौकिक शक्ति छ जसलाई यस संसारको स्रष्टा र शासक मानिन्छ भनी पर्वीय दर्शनको दार्शनीक पक्ष रहेको छ ।
पूर्वीय संस्कृति, साहित्य, कला, भाषा र दर्शनको पृष्ठभूमि भनेर ‘‘ऋग्वेदलाई मानिदै आएको पाइन्छ । ‘वेद समावेशात्मक अर्थयुक्त शब्द रहेको पाइन्छ । जस अन्तर्गत संहिता, ब्राह्मण, आरण्यक, उपनिषद् आदि समावेश भएको पाइन्छ । वैदिक कालीन ऋषिहरूले आफ्ना विचार र व्यवहारलाई मानिसको कल्याणका लागि सुखवादी सोच अँगाल्दै अघि बढाएको पाइन्छ। मानवीय सभ्यताको विकासमा पूर्वीय आर्यहरूको इतिहास, समाजिक नीति, चालचलन, मूल्य र मान्यता, सदाचार, दर्शन र धर्मको पूर्वाधार वेद रहेको बुझिन्छ। वेद, ब्राह्मण र आरण्यक आदि ग्रन्थहरूमा दार्शनिक विचारधाराको प्रवाह पाइए पनि तिनीहरू दर्शनका पृष्ठभूमि रहेको देखिन्छ । दर्शन हुनका लागि चाहिने आवश्यक मापदण्डहरू वैदिक कालमा कम मात्रामा प्रयोग गरिएको पाइन्छ ।
पूर्वीय दर्शन र नीति मानव सभ्यता, सामाजिक व्यवस्था र राज्य प्रणालीलाई मार्गदर्शन गर्ने आदर्श आधार हो तर पश्चात्य जस्तो प्रचारमा यो छैन। पूर्वीय दर्शन हिन्दु नीतिव्यवस्थामा आधारित छ। अर्को अर्थमा यो पुराणमा आधारित सामाजिक व्यवस्था हो जो धर्म, संस्कृति, जातीयता, वर्ण परम्परा, आदरभाव, कर्तव्य र नैतिकतालाई जोड दिन्छ। हिन्दु शास्त्रव्यवस्थाको उल्लेख संस्कृत साहित्य, जस्तो कि वेद, पुराण, गीता, रामायण, प्राचीन स्मृति तथा श्रुति हुन्। मर्यादा पुरुष भगवान रामका सद्व्यवहार र अभिव्यक्तिलाई पूर्वीय परम्परामा आदर्शका रूपमा लिइन्छ। श्रीकृष्णले गीतामा दिएका उपदेशले समाज, राज्य, परिवार, सम्बन्ध, संगठन र अर्थतन्त्र सञ्चालनमा मार्गदर्शन गर्छ। उनले भनेका थिए– ठूलाका वाणी नीति बन्छ। यसको मतलव ठूला व्यक्तिहरु स्वभावैले समाज व्यवस्थालाई प्रभाव पार्ने हैसियतमा हुन्छन् र उसको अभिव्यक्तिले समाजको प्रतिनिधित्व गर्नुपर्छ भन्ने हो। गीतामार्फत भगवानले शास्त्र (नीति), कर्म (काम) र धर्म (आचरण) लाई महत्व दिएका थिए जो मानव समाजका आधारमूल्य हुन्।
मानिसको कर्म गर्नैमात्र अधिकार छ, के प्राप्त गरिन्छ भन्ने आशा गरेर काम गर्नुहुन्न। कर्म नगरे सिद्धि प्राप्त हुँदैन तर आशक्तिमा लिप्त भएर काम गर्नुहँुदैन। आधुनिक संगठन विज्ञानमा कामप्रतिको निष्ठा र समर्पणको स्रोत गीताका श्लोक हुन्। अर्को प्रसंगमा भगवानले भनेका थिए– इन्द्रियहरु शरीरभन्दा बलवान हुन्छन्। इन्द्रियभन्दा मन बलवान हुन्छ, मनभन्दा बुद्धि बलवान हुन्छ, फेरि बुद्धिभन्दा पनि अत्यन्त बलवान आत्मा हो। त्यसैले आत्मिक अनुशासन सबैभन्दा ठूलो आचरण हो र सार्वजनिक जीवनमा यो अझै महत्वपूर्ण हुन्छ।
सत्य, अहिंसा र सदाचारिताका पुजाारी मोहनदास कर्मचन्द गान्धी आफ्ना महान् मानवतावादी कार्यका कारण महात्मा गान्धी बन्न पुगे। पूर्वीय दर्शन र बुद्ध आदर्शका अनुयायी गान्धीले आत्मिक र नैतिक मूल्य आचरण, सत्य, निष्ठा, संयमता र स्वतन्त्रताका लागि जीवन उत्सर्ग गरे। उनले स्थापित गरेका कतिपय कुरामध्ये जीवनका सात पाप कर्मविनाको सम्पत्ति, चरित्रविनाको ज्ञान , नैतिकताबिनाको व्यापार , मानवताबिनाको विज्ञान , सिद्धान्तबिनाको राजनीति , मानवताबिनाको धर्म र विवेकबिनाको सुखलाई प्रमुखरूपमा लिन सकिन्छ, जसले जीवन व्यवस्थाका सबै पक्षलाई मार्गदर्शन गर्छ। गान्धीका अनुसार चरित्रबिनाको ज्ञान खराबीको शक्ति बन्न जान्छ, चरित्रको शुद्धि नै सारा ज्ञानको ध्येय हुनुपर्छ। गान्धीको जीवन दर्शनबाट सरल र क्रियाशील जीवन, निस्वार्थता, उदाहरणीयता, साद्गीपना, क्षमाशीलता, लगन जस्ता पक्षहरु जो कुनैले सिक्न सक्छ, जुन वैयक्तिक जीवन र कतिपय सार्वजनिक व्यवहारमा आवश्यक मानिन्छन्।
पूर्वीय दर्शनमा हिन्दू, बौद्ध, जैन, कन्फुसियस, ताओ, र अन्य छिमेकी दर्शनहरू समावेश छन्, जसले मानव जीवन र चरित्रमा महत्व दिएका छन्। नेपाल, जहाँ बुद्धको जन्मभूमि रहेको छ, यहाँ बुद्ध दर्शनको अहिंसा र शान्ति परम्परा गहिरो प्रभाव राख्छ। बुद्धका उपदेशहरू दया, सत्य र अहिंसामा आधारित छन्, जसले मानव सभ्यतासम्मको सम्बृद्धि गर्न मद्दत पुर्याउँछन्।
पूर्वीय दर्शनमा कर्म, पुनर्जन्म, र कर्मको निवारण जस्ता विषयहरू महत्त्वपूर्ण छन्। व्यक्तिगत सदाचार, विचार र व्यवहारका माध्यमबाट जीवनको उन्नति सम्भव छ। यस दर्शनले व्यक्ति र समाजको बीचमा सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औंल्याउँछ।वेद, उपनिषद, गीता र ब्रह्मसूत्रजस्ता प्रमुख ग्रन्थहरूले पूर्वीय दर्शनलाई समृद्ध बनाएका छन्। वेदमा कर्म र ज्ञानको व्याख्या गरिएको छ भने उपनिषदले विवेकात्मक ज्ञान र मोक्षलाई महत्त्व दिएको छ।
चौधौं शताब्दीपछि माधवाचार्य र अन्य विचारकहरूले पूर्वीय दर्शनमा आधुनिक कालको आरम्भ गरेका थिए। स्वामी विवेकानन्द, महात्मा गान्धी, र अन्य विद्वान्हरूले आधुनिक दर्शनको विकासमा योगदान पुर्याएका छन्। नेपालमा पनि विभिन्न विचारकहरूले आफ्नो योगदान दिएका छन्, जसले दर्शनलाई संरक्षण र सम्बृद्धि गर्नमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।
पूर्वीय दर्शनले शासकीय प्रणालीमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ। यस दर्शनले सहिष्णुता, सद्भाव, अरुको सम्मान, दया, भाइचारा र मानवताको सम्बन्धमा महत्वपूर्ण शिक्षाहरू दिएको छ। यसले व्यक्तिहरूलाई विनम्रता, सामूहिक सम्मान, र असल कर्मको महत्त्व बुझाउँछ, जसले समाज र राष्ट्रको सुदृढीकरणमा मद्दत पुर्याउँछ।
पूर्वीय दर्शनका सिद्धान्तहरू जस्तै वेद, गीता, बुद्धका चार आर्य सत्य र अष्टाङ्ग मार्गले शुद्ध आचरण र इमानदार प्रशासक तयार गर्न प्रेरित गर्दछ, जसले सार्वजनिक प्रशासनलाई स्वच्छ, पारदर्शी, निष्पक्ष, समावेशी र भ्रष्टाचारमुक्त बनाउन मद्दत पुर्याउँछ। नेपालमा संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत दिगो शान्ति, विकास, र समृद्धिको लक्ष्य हासिल गर्न सामाजिक न्याय, एकता, र समानताको महत्व दिइएको छ।
लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहम भूमिका रहन्छ, र मानवीय मूल्यहरूको अवलम्बनले समतामूलक समाज निर्माण गर्न मद्दत गर्दछ। नागरिकमा राज्यप्रतिको जिम्मेवारी र कर्तव्यबोध जागरूक गर्न, राष्ट्रिय एकता र सामाजिक सहयोगको भावना प्रवर्धन गर्न, र शान्ति, नैतिकता र सदाचार कायम गर्न शासक र प्रशासकहरूको प्रमुख कर्तव्य रहेको छ। नेपालको संविधानले लोकतान्त्रिक शासन र मानवीय मूल्यहरूलाई केन्द्रमा राखेको छ, जसले सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक मूल्यहरूको प्रवर्धनमा सहयोग पुर्याउँछ।
गुरुकुल र परिवारले बालबालिकालाई शिक्षा दिँदा र हुर्काउँदा नैतिक शिक्षा दिने चलन, नीति कथा आदिले मानिसलाई आफ्ना अधिकारका लागि लड्नभिड्न मात्र नभई उसले पूरा गर्नुपर्ने कर्तव्यसमेतको बोध गराएको छ । असल संस्कार, वातावरण र संगतमा हुर्किएको व्यक्तिमा गलत सोचको विकास हुने सम्भावना निकै कम रहन्छ । व्यक्तिले आफू, परिवार, समाज र राष्ट्रको व्यक्तित्व निर्माणका लागि प्रकृति अनुरूप समाजसँग मिलेर कर्तव्य निर्वाह गर्नुपर्ने अनिवार्यता शास्त्रमा उल्लेख छ । साथै सबैले व्यक्तिगत रुपमा कर्तव्य निर्वाह गर्दा अरुको अधिकार पनि सुरक्षित हुनुपर्दछ भन्ने मान्यता लिएको सनातन दर्शनले सदाचार नीतिलाई राज्य सञ्चालनको मुख्य आधार मानेको पाइन्छ । अधिकार, कर्तव्य, अनुशासन, विधिको पालना, असल कर्म, सामाजिक मर्यादा, सबैप्रतिको सम्मान भाव र राष्ट्रिय हितलाई सदाचारिताको पूर्वसर्तका रुपमा पूर्वीय दर्शनले व्याख्या गरेको छ । व्यक्ति, परिवार र समाजको सदाचारको प्रभाव प्रत्यक्ष वा परोक्ष रुपमा राज्य प्रणालीमा पर्दछ । त्यसैले व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न सकेमा मात्र राज्यको व्यक्तित्व निर्माण हुन सक्छ । व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न पुर्वीय दर्शनले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिमा यो गुण रहेमा उसले दिने सेवा प्रवाहले समेत सार्वजनिक जीवनमा सकरात्मक सम्बन्ध विस्तार गर्दै मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ ।
पूर्वीय दर्शन र सभ्यताले मानिसको जीवनमा उच्चतम नैतिकता, सदाचार, र मानव मूल्यहरूको महत्त्वलाई उजागर गरेको छ। यी दर्शनहरूले समाजमा सहिष्णुता, सम्मान, भाइचारा र सामाजिक समर्पणको सन्देश दिन्छन्, जसको आधारमा समाजको सामूहिक विकास र शान्ति सम्भव छ। तर, आजको समाजमा यो नैतिकता र सदाचारको अभाव देखिन्छ। जातिवाद, धर्म, र क्षेत्रीय सम्प्रदायको राजनीतिकरण, हिंसा, हत्या, बलात्कार, र यौन दुराचारका घटनाहरू बढ्दै जानु, र भ्रष्टाचारको मौलाउँछ सामाजिक विकृति र विसंगतिको सूचक बनेका छन्। यस्तो अवस्थामा, पूर्वीय दर्शन र सभ्यताबाट सिकेका पाठहरूको पुनः आत्मसाथ गर्न अत्यन्त आवश्यक छ।
पूर्वीय दर्शनले सधैं मानवता र सामूहिक भलाईलाई महत्त्व दिएको छ। विशेष गरी बुद्धको अहिंसा र शान्तिको सन्देश, हिन्दू धर्मको कर्मवाद र नैतिक शिक्षाहरू, र जैन धर्मको अस्तित्व र नैतिकतामा आधारित जीवन पद्धतिहरूले समाजलाई शान्तिपूर्ण र आदर्श बनाउने मार्गदर्शन गर्दछ। यस्ता दर्शनहरूले हामीलाई सन्देश दिन्छन् कि हाम्रो आचरणले मात्र समग्र समाजमा सुधार ल्याउन सक्छ। जसरी हाम्रो कर्म र विचार शुद्ध हुन्छन्, त्यस्तै हाम्रो समाज पनि स्वस्थ र समृद्ध हुनेछ।
वर्तमान समाजमा नैतिकता र सादाचारको ह्रास देखिन थालेको छ। समाजमा रहेका विसंगतिहरू र विकृतिहरू जसले गर्दा न्याय र समानता पूर्ण रूपमा स्थापित हुन सकेको छैन। जाति, धर्म, र क्षेत्रीय आधारमा विभाजन, आक्रोश र द्वन्द्वका कारण हाम्रो समाजमा हिंसा र अन्य आपराधिक गतिविधिहरू बढेका छन्। यसले राष्ट्रको एकता र अखण्डतामा ठूलो खतरा ल्याएको छ। सामाजिक विकृति र भ्रष्टाचारको वृद्धि राष्ट्रिय समृद्धि र प्रगतिको लागि ठूलो अवरोध भएको छ।
यस अवस्थामा, पूर्वीय दर्शन र सभ्यताबाट पाठ सिकेर नै हामी आफ्नो आचरण सुधार्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छौं। उदाहरणका लागि, बुद्धका चार आर्य सत्य र अष्टाङ्ग मार्गका सिद्धान्तले हामीलाई हाम्रो जीवनमा सही मार्ग अपनाउन र दया, अहिंसा र सत्यको अभ्यास गर्न मद्दत पुर्याउँछ। हिन्दू धर्मका कर्म र धर्मका सिद्धान्तहरूले हामीलाई सही कर्म गर्न र समाजको भलाईको लागि योगदान पुर्याउन प्रेरित गर्छन्। यदि हामी यी शिक्षाहरूलाई आत्मसाथ गर्छौं भने, हामी व्यक्तिगत रूपमा नैतिक र सादाचारी बनाउँछौं र हाम्रो समाजलाई पनि सुधार्न सक्छौं।
पूर्वीय दर्शन र सभ्यताबाट पाठ सिकेर दयनिय अवस्थामा रहेको नैतिकता र सादाचारयुक्त कार्यसंस्कृति अभाव रहेको राष्ट्रिय एकता, भ्रातृत्व, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको सम्मानमा एकरुपता कायम हुने अवस्था कमजोर रहेको अवस्थामा मानविय मूल्यहरु आत्मसाथ गर्दै आफु र समाजप्रति इमान्दार बनाउन सक्ने देखिन्छ । समाजमा जाति, धर्म एवं क्षेत्रिय सम्प्रदाय जस्ता विषयमा राजनीतिकरण हुने गरेको हिंसा, हत्या, बलात्कार, यौनदुर्व्यवहार जस्ता घटना बढ्दै गएको भ्रष्टाचार मौलाएको नैतिकता, एवं लोकतान्त्रिक मूल्य मान्यतामा ह्रास आएको मानवीयता दिनप्रतिदिन दयनीय बन्दै गएको विकृति, विसंगति एवं सामाजिक विचलन बढ्दै गएको अवस्थामा पूर्वीय दर्शन र सभ्यताबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । त्यसैले, वर्तमान समयको विकृति र विसंगति सुधार्न, मानवता र नैतिकता अवलम्बन गर्न, र राष्ट्रिय एकता र भ्रातृत्व कायम गर्न पूर्वीय दर्शन र सभ्यताबाट पाठ सिक्न र तिनीहरूको अनुसरण गर्न अत्यन्त आवश्यक छ। यसले हाम्रो समाजलाई अझ सशक्त र समृद्ध बनाउन मद्दत पुर्याउँछ, र मानवता र समानतामा आधारित एक समृद्ध राष्ट्र निर्माण गर्न सक्छ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन।)






























