वैज्ञानिक अध्यात्मवाद: मानवताको कल्याण र समृद्धिको मार्ग 

996
shares
Shine resunga department bank

 

आध्यात्मिकता जीवन र अस्तित्वको गहिराइमा जाने दृष्टिकोण हो, जसले मानिसहरूलाई आत्मा, ब्रह्माण्ड र मानवता बीचको सम्बन्ध बुझ्नमा मद्दत गर्दछ। नेपालमा आध्यात्मिकता मानिसहरूको जीवनमा गहिरो प्रभाव पारिरहेको छ र यसले मानसिक शान्ति र आन्तरिक सन्तुलनमा सहयोग पुर्याउँछ। यसले सामुदायिक संवाद र सहिष्णुता पनि बढाएको छ। नेपालमा परम्परागत र आधुनिक दृष्टिकोणको संयोजनमा आध्यात्मिकता प्रचलित छ, जहाँ युवा मानिसहरू व्यक्तिगत विकास र आध्यात्मिक अभ्यासमा संलग्न छन्। विज्ञान र प्राविधिक विकासका बावजुद आध्यात्मिकता मानिसहरूको जीवनका महत्वपूर्ण पक्षमा कायम छ। यसले समाजको सञ्जाललाई मजबुत बनाउँछ र आन्तरिक शान्ति र जीवनको गहिराईको खोजीमा निरन्तर यात्रा जारी राखिन्छ।

अध्यात्मले मानव चेतनाको जागृतिसँग सरोकार राख्दछ । अध्यात्म मानव चेतनाको जागृति र आन्तरिक गहिराइसँग गहिरो सम्बन्ध राख्दछ। यसले व्यक्ति आफ्ना भित्री भावनाहरू, विचारहरू र इच्छाहरूसँग परिचित हुन र तिनीहरूको वास्तविकता बुझ्नमा मद्दत पुर्याउँछ। जब एक व्यक्ति आध्यात्मिक अभ्यासमा संलग्न हुन्छ, तब उसले आफ्नो चेतनालाई अधिक स्पष्ट र तीव्र रूपमा अनुभव गर्न थाल्छ। यसले व्यक्ति आफूसँगको सम्पर्कलाई बलियो बनाउँछ र आफ्नो अस्तित्वको गहिराइमा पुग्नमा मद्दत गर्दछ।अध्यात्मिकता चेतनाको एक प्रकारको जागरण हो जसले मानिसलाई आत्म-ज्ञान र आन्तरिक शान्तिको खोजी गर्न प्रेरित गर्दछ। यो केवल धार्मिक वा सांस्कृतिक अभ्यासमा सीमित हुँदैन बरु मानसिक, भौतिक र दार्शनिक दृष्टिकोणमा पनि यसले महत्वपूर्ण भूमिका खेल्दछ। जब चेतना जागृत हुन्छ तब व्यक्तिलाई आन्तरिक शान्ति र संतुलन प्रदान गर्दछ। आध्यात्मिक जागृति मानिसलाई केवल बाह्य संसारसँग मात्र होइन, अपितु आफ्नो भित्री आत्मासँग पनि साक्षात्कार गराउँछ। यस प्रक्रियाले मानिसलाई आफ्नो वास्तविक स्वरूप बुझ्न र जीवनको उद्देश्यलाई महसुस गर्न सहयोग पुर्याउँछ, जसले जीवनलाई गहिरो अर्थ र उद्देश्य दिन्छ।

यसले व्यक्तिमा शान्तिकामी चिन्तन, मानसपटलको आचारसंहिता र कालजयी चिजको खोजी तथा त्यसले पार्ने असरसँग सम्बन्धित रहन्छ । त्यसो हुँदा हिंसा, कृत्रिम वाद एवं प्रतिवादभन्दा माथि उठेर विश्व कल्याणको मान्यतामा समाहित हुन्छ । अध्यात्मबिनाको राजनीति, समाज नीति, अर्थनीति या हरेक वाद एवं चिन्तन सबै अपूरो छ भन्ने विषयले विश्वका हरेक बौद्धिकलाई घचघच्याएको छ । अध्यात्म सांसारिकताभन्दा समस्त मानवहितको शक्ति तथा जीवनमुक्तिको आधारशिला हो । यसले व्यक्तिलाई समुद्र जस्तो गम्भीर बनाउने मात्र होइन, मानसिक सन्तुलन पैदा गर्छ । त्यसैले आजको हरेक क्षेत्रबाट विक्षिप्त समाजमा अध्यात्मिकताको विषयले प्रश्रय पाउनु जरुरी छ ।

अध्यात्मिक ज्ञानले मानिस भित्र श्रेष्ठ र उच्च कोटीका चिन्तनहरूको धारा प्रवाह गरिदिन्छ । मनमा निरन्तर शुद्ध, शुभ र सकारात्मक चिन्तनहरू उत्पन्न भइरहन्छन् । शुभ, शुद्ध र सकारात्मक चिन्तनले बुद्धिका लागि पौष्टिक आहारको काम गर्दछ । जसबाट बुद्धि शालीन, दिव्य र तीक्ष्ण बन्न पुग्दछ । बुद्धिको निर्णय शक्ति सशक्त र सही हुन जान्छ र यसबाट सत्कर्म गर्ने मार्ग प्रशस्त हुन्छ । अध्यात्मिक चिन्तनले मानिसलाई सबै प्रति निरन्तर शुभ सोच, परोपकारी भावना, सर्व हित र सुखद जीवनको कामना गर्ने एक महान् व्यक्तित्व निर्माण गर्नमा मद्दत गर्दछ । अध्यात्मिक चेतना र जागृतिबाट परिचालित व्यक्तिले कुनै पनि अवस्था र परिस्थितिमा नकारात्मक सोच र कुभलोका भावना पैदा गर्दैन ।

आद्यात्मरहित विज्ञान र वैज्ञानिक दृष्टिकोणविहीन आद्यात्म दुवै अपुरो हुन्छ । यि दुवैलाई अलग अलग प्रयत्नले कार्य गरिनुको वदलामा विज्ञान र आद्यात्म संगठित रुपले एकजुट भई कार्य गर्ने हो भने विश्वमा खुशी,सम्पन्नता र सुख–शान्तिको स्थापना तिव्र गतिले वढ्नेमा शंका रहदैन । भौतिक उन्नतीको साथै आद्यात्मिक उचाँईलाई एकैसाथ सम्पन्न गर्न सकेमा निसन्देह सदाकालको लागि विश्वमा सम्पन्नता प्राप्त हुनसक्छ ।

अध्यात्मको मुख्य उद्देश्य आत्मा र परमात्माको सम्बन्ध बुझ्नु हो। आत्मा र परमात्मा एक अर्काको अंश र अन्तरसम्बन्धित छन्, र आत्ममन्थनद्वारा जीवन र मरणको चक्र, मृत्यु र जन्मको यर्थाथ बुझ्न सकिन्छ। अध्यात्म मानसिक र शारीरिक स्वास्थ्यसँग जडित छ, र आत्मज्ञानले मानिसलाई मानसिक शान्ति र बल प्रदान गर्छ। योग र ज्ञानका माध्यमबाट मन, बुद्धि, र चित्तको शुद्धि गरिन्छ, जसले आत्मा र परमात्माको सम्बन्धलाई प्रकट गर्दछ। भौतिकवादीहरू शरीरमा विश्वास गर्छन् भने अध्यात्मवादीहरू आत्मा र ईश्वरमा विश्वास राख्छन्। ज्ञान बिना भौतिक उन्नति कुनै वास्तविक आनन्द ल्याउन सक्दैन। आत्मज्ञानको अभावले भौतिकवादीहरूलाई असन्तुष्ट बनाउँछ, जबकि अध्यात्मिक र भौतिकवादीहरूका लक्ष्य एउटै भए पनि ज्ञानको अभावले वास्तविक सुख प्राप्त गर्नमा कठिनाइ उत्पन्न हुन्छ। पूर्वीय दर्शनमा आत्माको अस्तित्व र तत्वमा भिन्नताहरू छन्, जसले आत्मावादी र अनात्मावादी विचारका बीच वैचारिक द्वन्द्व उत्पन्न गरेको छ।

राजनीतिक अस्थिरता र स्थिर सरकार नहुँदा विकासका विभिन्न क्षेत्र ठप्प छन्, तर अध्यात्मिक क्रियाकलापलाई विकासको अपरिहार्य शक्ति मानिएको छ। अध्यात्मले मानिसलाई एकता र सामूहिकता तर्फ प्रेरित गर्छ। अध्यात्मिक ज्ञानले निराकार सर्वोच्च सत्ता र आत्माको अमर अस्तित्वको सत्यलाई बोध गराउँछ। यसले मानव आत्मा बीचको भाइचारा, पवित्रता, शान्ति र प्रेमको महत्त्वलाई स्पष्ट बनाउँछ। अध्यात्मिक ज्ञानले संसारलाई सकारात्मक दृष्टिकोणले हेर्न मद्दत पुर्याउँछ र यसले विज्ञान, नीति, विचार, सिद्धान्त, खोज र अनुसन्धानलाई साझा लक्ष्यका रूपमा अघि बढाउँछ। पुनर्निर्माणका लागि गहिरो सोच र पहल कदमी आवश्यक छ।

जब भौतिकवादको चमत्कार बढ्दै गयो । भौतिक सभ्यताको विकास हुँदैगयो । तब अध्यात्मिक भावना हराउँदै गयो । भौतिक चिन्तनको बिजारोपण र आफ्नो अस्तित्वलाई मेट्दै गए । मानिस समाजवादी नभएर ब्यक्तिवादि हुन पुगे । राष्ट्रको अस्तित्वलाई भुल्न थाले । जब मानिस भौतिक सुख सुविधामा भुल्छ उसले आफ्नो कर्तब्य र इमानदारीतालाई भुल्छ । उसको दृष्टिमा अर्को संसार छैन भन्ने सम्झन्छ । भौतिकवादमा रमाएको मानिसले उन्नतिको साथै अवनति पनि गरिरहेको छ । यो अध्यात्मिकबादको अभाव हो । मानिसले आनन्दपूर्वक बाँच्नको लागि पूर्वीय र पाश्चात्य दर्शनको समन्वय गरी अगाडि बढेमा समस्त राष्ट्रको कल्याण हुनेछ ।

अध्यात्मको मुख्य ध्येय भनेको नै मृत्युपछि मुक्तिको कामना गर्नु हो । अध्यात्मले जीवनलाई एउटा संक्षिप्त कालखण्डको रुपमा व्याख्या गर्ने गरेको हुन्छ भने मृत्युलाई शास्वत सत्य । त्यसैले यसले जीवनमा तीब्र वैराग्यलाई नै विशेष प्राथमिकता दिने गर्दछ ।फेरि यो जगत्मा आउन नपर्नेगरी ईश्वरको सानिध्यमा पुग्नु नै हिन्दू धर्मशास्त्रका अनुसार मोक्ष अथवा मुक्ति हो । त्यसैले मानिसले आफ्नो जीवनकालभरमा फल प्राप्तिको आशा विना नै गरेको सत्कर्मले नै उसले मोक्ष पाउने कि नपाउने ? निर्धारण गर्ने गर्दछ ।महाभारत, श्रीमद्भागवत् गीता जस्ता हिन्दू धर्मशास्त्रहरु यस्ता अध्यात्म एवं दर्शनको सागर हुन् । जसबाट हामीले सानो अंश उठाउँदा पनि त्यो अत्यन्त जीवनोपयोगी हुने गर्दछ ।

विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान पर्दछन् । प्रकृति र विज्ञानबीच गहिरो सम्बन्ध रहेको हुन्छ ।विज्ञानमा वैज्ञानिकहरुले पहिला अवलोकन गर्छन् । अनि त्यो किन र कसरी भयो भनी प्रश्न गर्छन् । त्यसपछि परिकल्पना गर्न शुरु गर्छन् । त्यो परिकल्पनाअनुसार धेरै पटक प्रयोग वा परीक्षण गरेपछि अन्त्यमा गएर वैज्ञानिक सिद्धान्त बन्छ । हाम्रो पूर्वीय दर्शनले कल्पना धेरै ग–यो, तर त्यसको परीक्षण गर्ने उपकरणको विकास गर्न सकेन । यद्यपि हामीसँग वेदहरु भए तापनि विज्ञानको उचित विकास हुन सकेन ।

अध्यात्म ज्ञानले अनुशासित, मर्यादित र सन्तुलित बनाउन सिकाउँछ र यो विश्वजनीन सत्य हो। यसले सुख भन्दा आनन्दतर्फ लैजान्छ, प्रतिस्पर्धाभन्दा सामूहिक हितमा लैजान्छ। विकास पनि पुग्यो अब, विनासतर्फ लक्षित विकासको अर्थ छैन। सन्तुलन गुम्दै जाँदा मानवजातिको भविष्य झन् झन् खतरामा पर्दै जाने अवस्थाा अझ भयावह रुपमा आउने छ। त्यसैले अध्यात्मको ज्ञान र व्यवहारिक उपयोगले मात्र पृथ्वीलाई जोगाउन सक्छ। पूर्वीय अध्यात्म दर्शनका मूलभूत पक्षहरु मनन्योग्य छन्। मुख्य रुपमा गीता, उपनिषद, ब्रम्हसूत्र र बुद्धवाणीहरुलाई विश्वले राम्ररी अध्ययन र मनन गर्नु जरुरी छ, मानव जातिको अस्तित्व जोगाउन। अवश्य पनि अध्यात्मवादको नाममा हामीले भौतिकवादलाई न्यून ठान्न मिल्दैन, अवमूल्यन गर्न मिल्दैन । वास्तवमा भौतिक क्षेत्रमा भएको चमत्कारिक उपलब्धिकै कारण सिंगो विश्व एउटा सानो गाउँमा परिणत हुन पुगेको छ । हामी संसारको कुनै पनि मुलुकमा केही घण्टाको यात्राबाट सहज रूपमा पुग्न सक्ने भएका छौँ । टेलिभिजनको आविष्कारले गर्दा हामी घरभित्रको एउटा सानो कोठामा बसेर संसारका गतिविधिहरू देख्न र सुन्न सक्ने भएका छौँ ।

वातावरण अनुकूलित यन्त्र र सूचना प्रविधिको प्रगति भई हामीलाई मौसम र संचारमा सुविधाजनक बनाएको छ। अब हामी सजिलै विभिन्न देशका व्यक्तिहरूसँग कुराकानी गर्न सक्छौं र सूचना आदानप्रदान गर्न सक्दछौं। यद्यपि, यी सबै प्रगति भएपनि, हाम्रो मनोविकृति भने जस्तै काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता नकारात्मक भावनाहरूबाट मुक्त हुन सकिरहेका छैनौं।विज्ञान र प्रविधिको विकासले मानिसको दैनिक जीवनलाई सहज र सुविधाजनक बनाएको छ, तर यसले मानवीय मूल्य र सद्भावनामा गिरावट ल्याएको छ। भौतिक विलासितामा मात्रै मनोयोग केन्द्रित हुँदा मानिसहरूको भावनात्मक दूरी बढ्दै गएको छ। केवल स्वार्थको पूर्ति गर्ने प्रवृत्तिले मानवीय गुण र मूल्य गुमाउने खतरा बढेको छ, जसका कारण चिन्ता, तनाव र मानसिक रोगहरू फैलिरहेका छन्। यस अवस्थामा, अध्यात्मिक मार्गलाई सर्वश्रेष्ठ मान्दै, संसारमा अन्धकारलाई अध्यात्मिक ज्योतिले प्रकाशित गर्ने कर्तव्यको महत्त्व बढ्दछ। वैज्ञानिक अध्यात्मवादको माध्यमबाट समाजमा द्वन्द्वलाई हटाएर सुख, शान्ति र समृद्धि ल्याउने दिशा अपनाउनु पर्छ। आजको समयको आवश्यकता भनेको वैज्ञानिक अध्यात्मिक चेतना जागृत गर्दै समग्र विश्वको कल्याण गर्नु हो।

( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

 

everest Bank