सत्कर्म, कर्मयोग, भक्तियोग र ज्ञानयोगका दिव्य सन्देशहरूको जीवनमा महत्व
वि.सं.२०८१ चैत ९ शनिवार
shares

सत्कर्म भनेको सबैको भलाइका लागि गरिने कार्य हो। यसको सम्बन्ध कर्मयोग, भक्तियोग, र ज्ञानयोगसँग छ, जुन श्रीमद्भागवत गीता का तीन प्रमुख योग मार्गहरू हुन्। गीताको अठार अध्यायमा, प्रत्येक अध्यायमा साधकले गर्ने कर्म र त्यसको फलका बारेमा स्पष्ट जानकारी दिइएको छ। पहिलो छ महत्त्वपूर्ण अध्यायमा कर्मयोग, सातौंदेखि बाह्रौंमा भक्तियोग र तेह्रौंदेखि अठारौं अध्यायसम्म ज्ञानयोगका बारेमा वर्णन गरिएको छ। गीता अध्ययन गर्दा साधकले कर्म, भक्ति र ज्ञानका माध्यमबाट आत्मज्ञान प्राप्त गर्न सक्छ। गीता अनुसार, कर्म र ज्ञान एकआपसमा मेल राख्छ र साधकले परमात्माको दर्शन गरेर भक्तियोगको माध्यमबाट आत्मज्ञान हासिल गर्न सक्छ।श्री मद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छनः“यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत, अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम् अर्थात जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।
श्रीमद्भागवत गीता हिन्दू धर्मको महत्त्वपूर्ण ग्रन्थ हो, जसमा श्रीकृष्णले अर्जुनलाई परमात्माको सन्देश दिएका छन्। गीता अनुसार, परमात्मा स्वरूप बासुदेवले शरण लिने व्यक्तिलाई पापबाट मुक्त गर्छन् र सबै आत्मा अविनाशी छन्। गीता बताउँछ कि यदि मानिसले संसारिक शोक र मोहबाट मुक्त हुँदै भगवानको भक्ति र योगमा मन लगाउँछ भने, उसलाई मोक्ष प्राप्त हुन्छ। गीता अनुसार, संसारका पदार्थ र सुखहरू क्षणिक र अनित्य छन्, र स्थिर मनले परमात्मा सँग साक्षात्कार गरेर अनन्त आनन्द प्राप्त गर्न सकिन्छ।श्रीकृष्णका दिव्य वचन अनुसार, जब धर्मको हानि र अधर्मको वृद्धि हुन्छ, तब भगवान पृथ्वीमा अवतार लिन्छन्। गीता शिक्षित गर्छ कि आत्मज्ञानले समस्त भ्रम हटाउँछ र केवल भगवानको सेवामा मन लगाउँदा जीवन पवित्र र शुद्ध बनाइन्छ। गीता अनुसार, आसक्ति, क्रोध र अविवेकले मानव जीवनमा पतन ल्याउँछ, जबकि आत्मसंयम र रागद्वेषरहित जीवनले आन्तरिक शान्ति र प्रसन्नता ल्याउँछ।
श्रीमद्भागवत गीतामा श्री कृष्णले दिनुभएका दिव्य सन्देशहरु जीवन र जगत नियाल्ने अमूल्य रत्न हो । जसले मानवलाई उत्कृष्ट सन्देश प्रवाह गर्दै भनेको छ ,मोह या सुख शान्तिको अधीनमा नपर्नु ,शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ,निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ,तत्त्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ,सधैँ ् सुखदुःखमा समान भाव हुनु ,अन्तस्करणमा समता राख्नु ,सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु, सबैमा ब्रह्मभाव हुनु ,सधैँ भगवानको स्मरण गर्दै आप्नो कर्तव्यको पालना गर्नु ,सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ,विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु ,यो चराचर जगत् भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत् नै भगवान्, भगवान् नै जगत् हो भन्नु ,शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवानमा अर्पण गर्नु ,संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जान्नु ,सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु ।एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु ,जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु ,जुनसुकै शुभ कर्म गरे पनि भगवानको नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु ,भगवत शरणागती हुनु र भावले भगवानको शरणमा पर्नु ।
मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ती रहित भएर कर्म गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ। तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।मनलाई बसमा राख्न सकिएन भने यसले स्वयं विरुद्ध शत्रुको व्यवहार गर्दछ ।मनुष्य आप्नो विस्वासद्वारा निर्माण हुन्छ । जीवन धान्नकै लागि पनि कर्म गर्नुपर्ने हुन्छ । यो प्रवृतिको नियम नै हो । त्यसैले गीताले कर्मनिष्ठ जीवन बिताऊ भनेको छ । तर कर्म गर्ने सिलसिलामा हामीले कर्मको नियमको हेक्का राख्नुपर्छ । कर्मको नियम धेरै सरल छ । यसले भनेको छ, हामी जे रोप्छौं, त्यसैको बाली काट्छौं । अर्थात् प्रत्येक कारणको त्यस्तै परिणाम हुन्छ भने प्रत्येक परिणामसित त्यस्तै खाले कारण जोडिएको हुन्छ । हामी जे सोच्दछौं वा गर्दछौं, त्यो नै हाम्रो कर्म हो । त्यसैको परिणाम हामीले ढीलो–चाँडो भोग्छौं पनि । अरूको हित चिताउने, अरूलाई प्रेम गर्ने सबैको प्यारो हुन्छ भने अरूको खेदो खन्नेले आफैं खस्नाका लागि खाडल खन्दै गर्छ । वmुरा यतिमात्रै हो कि कतिपय अवस्थामा कारणले परिणाम देखाउनको लागि केही समय लिन सक्छ, र समयको अन्तरालले गर्दा हामी कारण र परिणामबीचको तारतम्य बुझन सकिराखेका हुँदैनौं ।
श्रीमद्भागवत गीता जीवनको सही मार्गदर्शन प्रदान गर्ने एक महत्त्वपूर्ण ग्रन्थ हो। यसको कर्मयोगको सन्देश अनुसार, हामीले इमान्दारी र लगनशीलताका साथ आफ्नो स्वधर्म पालन गर्दै कर्म गर्नुपर्छ। जे जस्तो फल प्राप्त हुन्छ, त्यसलाई स्वीकृति दिनु, जीवनमा शान्ति र आनन्दको अनुभव गर्ने हो। गीता अनुसार, वर्तमानको सुख र दुःख हाम्रो अघिल्लो कर्मको परिणाम हुन्, र अहिले गरेका कर्मले भविष्यको फल तय गर्छ। असल कर्म गर्ने व्यक्तिको वर्तमानमा सजिलो नहुन सक्छ, तर भविष्यमा सुखी र शान्त रहनेछ।
गीता सन्देश दिन्छ कि हामीले व्यर्थ चिन्ता र डर नगरी, आत्मज्ञान प्राप्त गर्दै परिवर्तनको नियमलाई स्वीकार गर्नुपर्छ। आत्मा न जन्म लिन्छ, न मर्छ, र सबै कुरा अस्थायी र परिवर्तनशील हो। गीता बताउँछ कि आत्मसंयम र रागद्वेषरहित जीवनले साँचो सुख र शान्ति ल्याउँछ। धर्म र अधर्मको हानि र वृद्धि हुँदा भगवान प्रकट हुन्छन्, र ज्ञानी व्यक्तिले आत्मज्ञान प्राप्त गरेर भ्रमबाट मुक्त हुन्छन्।
कर्मयोग, भक्तियोग तथा ज्ञानका विभिन्न अवस्थाहरूलाई सार्वजनिक प्रशासकहरुले आत्मिकरण गर्नु पर्दछ ।मानव जातीले भौतिक सुखको धेरै चहाना गर्दछ। तत्वदर्शी योगीहरूले जगतमा पदार्थहरू छन्, तिनमा मन लगाउँदा जो तृप्ति र सुख मिल्दछ, त्यो क्षणिक र परिमणि र अनित्य छ भन्ने देखिन्छ। सबै कुराबाट सुख पाउने अभिलाषा हुन्छ । तर, यी सबै संसारका पदार्थजन्य सृष्टि र नाशका कारण रूपमा छ। यसमा मनलाई संयुक्त गर्दा जुन सुख वा आनन्दको उदय हुन्छ, त्यो नाश हुँदैन र नित्य नविन रूपमा आनन्दको उदय हुन्छ । अनन्त र नित्य हुँदा उपादेयतामुलक मानिन्छ।
कर्म गर्ने तर फलको आशा नगर्ने सोचले हामीहरु आप्नो कर्मभूमिमा अगाडि बढ्नु पर्दछ। हामीले गर्ने प्रत्येक कार्यको साक्षी दृष्टा भगवान हुनुहुन्छ । त्यसैले असल काम गर लाभको लालसा र मोहमा नलाग, अनात्मरुपी भगवान प्राप्त गर्नका लागि आत्मारुपी देह त्याग र मोक्षको प्राप्ति सम्भव छ भन्ने कुरा भागवत गीताको दिव्य सन्देशलाई हामीले हरदम आत्मसाथ गर्नु पर्दछ । त्यसैले हामीले कम गर्दा फलको लोभ गर्ने नभई असल कर्ममा जोड दिनुपर्ने कुरामा भागवत गीताको दिव्य सन्देशले जोड दिन्छ ।भागवत गीतामा बताइएको कर्मयोग, भक्तियोग र ज्ञानयोगका सारगत कुराहरूलाई जीवनको उत्कृष्ट सन्देश मानी ग्रहण गर्नु पर्दछ ।
भागवत गीताको दिव्य ज्ञानले असल आचरणको विकास गर्ने, सदाचार पालनामा सहयोग गर्ने , आप्नो मनलाई नियन्त्रणमा राखेर काम गर्ने, तर फलको आशा नगर्ने,मान्यजनको सेवा तथा आदर सत्कार गर्ने,जस्तोसुकै कठिन परिस्थितिमा पनि संयमित भई कर्म गर्ने,आप्नो कर्ममा विश्वास गर्ने,ज्ञानयोगको माध्यमबाट समाजमा अब्बल रूपमा ज्ञानी बनेर अरुलाई बाटो देखाउने कार्यमा सक्रिय हुने,सांसारिक मोहबाट टाढा रहने र कुनै कुरा पाउन नसकेको खण्डमा पश्चाताप नगर्ने आदि कररामा जोड दिन्छ ।
भगवान श्री कृष्ण्का दिव्य ज्ञानले सदाचार र नैतिक संस्कृति विकास गर्न सिकाउँछ ।यसको अनुभुतिले मात्रै उत्कृष्ट जीवनको मार्ग देखाउछ । भागवत गीताको दिव्य ज्ञान, अध्यात्मिकता,नैतिकता, आचरण र सदाचारले मानव जगतमा अमूल्य रत्नकोे काम गर्दछ । नागरिक चेतनाको स्तर, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रसारले पनि मानव जगतलाई आध्यात्मिक , नैतिक, व्यावसायिक र सदाचारी बनाउन बल पुरयाउँछ ।मानव जाती बीचमा विश्वास अभिवृद्धि गर्नमा भागवत गीताको दिव्य ज्ञान, अध्यात्मिकता,नैतिकता, आचरण र सदाचारले महत्वपुर्ण भुमिका खेल्दछ । मानव हृदयमा अन्तरनिहित सद्भाव र सद्गुणहरूलाई आध्यात्मिक ज्ञान र चेतनाको माध्यमबाट पुनः जागृत गरी मानव जीवनलाई सुखी, शान्त र समृद्ध तुल्याउने हो भने गीताका दिव्य सन्देशहरुलाई व्यवहारमा कुशल ढङ्कले प्रयोग गर्न सक्नु पर्दछ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका कोष प्रमुख हुन् ।)