प्रहरी प्रमुख दीपक थापाको पहिलो उद्घोष नै फुस्सा
वि.सं.२०८१ चैत २४ आइतवार
shares
काठमाडौं । चैत ५ गते मा गृहमन्त्रालयमा आईजीको दर्ज्यानी चिह्न लगाएपछि बढुवा न्यायोचित बनाउने उद्घोष प्रहरी प्रमुख दीपक थापाले गरेका थिए । कार्यक्षमताको उचित मूल्यांकन गरिने बताउँदै उनले वृत्ति, विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै प्रकारको दुखः पीडा भोग्न नपरोस् भन्नेतर्फ हरदम सजग रहने उनको भनाइ थियो । तर, उनको पहिलो उद्घोष नै फुस्सा भएको छ । नेपाल प्रहरीमा ६ एआईजीको दरबन्दी रिक्त भएको १५ दिन पूरा भइसकेको छ । तर अहिलेसम्म एआईजी बढुवाका लागि सिफारिस हुन सकेको छैन । नेपाल प्रहरीमा अहिले दुई मात्रै एआईजी छन् । शक्ति केन्द्रको दवावमा थापाले बढुवाको पहलसमेत गर्न सकेका छैनन् । आफूलाई प्रहरी प्रमुख बनाउनेदेखि अन्य शक्ति केन्द्रलाई मिलाउन नसक्दा सिफारिसको प्रकृया नै अघि बढेको छैन । हुनत प्रहरी नियमावली अनुसार बढुवा सिफारिस समितिमा गृहसचिवका साथै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव,सदस्य र प्रहरी महानिरीक्षक (सदस्य सचिव) रहने व्यवस्था छ । सदस्यसचिवको हिसावले प्रहरी प्रमुखले प्रकृया नै अघि बढाउन नसकेको गृहमन्त्रालयस्रोतले बतायो ।
एआईजीको बढुवामा सीआईबीमा कार्यरत डीआईजी चन्द्रकुवेर खापुङ, मधेश प्रदेशमा कार्यरत लालमणि आचार्य, बागमती प्रदेशमा कार्यरत कृष्णहरि शर्मा मुख्य प्रतिस्पर्धामा छन् । एआईजी बढुवाका लागि गृहसचिवको नेतृत्वको बढुवा सिफारिस समिति रहने व्यवस्था छ ।
तर, यो बढुवा सिफारिस समितिले अहिलेसम्म एआईजीको बढुवाको गृहकार्य गरेर सिफारिस प्रक्रिया अघि बढाउन सकेको छैन ।
उनीहरु २७ कात्तिक २०५२ मा प्रहरी निरीक्षकमा भर्ना भएका टोलीहरु हुन् । एआईजी बढुवाको दाबेदार रहेका खापुङ र आचार्य २० चैत २०७९ मा डीआईजी बढुवा भएका थिए । शर्मा भने गत जेठमा डीआईजी बनेका थिए ।
आचार्य भने एआईजीमा बढुवा भए पनि ५६ वर्षे उमेरहदका कारण उनी यसअघि नै अवकाशमा जाने भएकाले उनी आईजीको प्रतिस्पर्धामा रहँदैनन् । यो ब्याचका बाँकी दुई जना खापुङ र शर्मा एआईजीमा बढुवा भएको अवस्थामा उनीहरुमध्येबाट एक जना ९१९ भदौदेखि २६ कात्तिकसम्म० दुई महिनाका लागि आईजी बन्ने बाटो खुल्छ । जसका कारण पनि उनीहरु अहिले जसरी पनि पहिलो नम्बरमै बढुवा हुने लबिइङमा छन् ।
खापुङ र शर्मामध्ये एक जनामात्रै अहिले एआईजीमा बढुवा भएको अवस्थामा उनैलाई दुई महिनाका लागि आईजी बन्ने बाटो खुल्नेछ ।एआईजी बढुवामा लुम्बिनी प्रदेशनका डीआईजी दानबहादुर कार्की, प्रहरी एकेडेमीमै कार्यरत रहेका डा मनोज केसी, कोशी प्रदेश प्रहरी प्रमुख राजन अधिकारी, विशेष ब्यूरो प्रमुख सिद्धिविक्रम शाह, प्रशासन विभागमा रहेका सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक एआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
यो पनि पढ्नुहोस्:
भरतपुरमा मतपत्र च्यात्दा चितवन प्रमुख रहेका थापा होलान् त देशकै प्रहरी प्रमुख ?





























