सशक्त, स्थिर र जनमुखी लोकतन्त्रको निर्माण              

1.2K
shares

 

पछिल्ला केही दशकहरूमा भ्रष्टाचार, अस्थिरता, दलगत स्वार्थ, र जनअपेक्षा विपरीतका निर्णयहरूले राजनीतिक प्रणालीप्रति आम नागरिकमा वितृष्णा पैदा भएको छ। जनताले प्रतिनिधिमार्फत शासन गर्ने लोकतान्त्रिक प्रणालीको सार नै कमजोर बन्दै गएको देखिन्छ। सुधारको सुरुवात नै राजनीतिक शुद्धता, पारदर्शिता, जवाफदेहिता र कानुनी शासनबाट हुनुपर्छ। पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास, योग्य र निष्ठावान नेतृत्वको विकास तथा नीतिनिर्माणमा जनताको सक्रिय सहभागिता आवश्यक छ।

 

 

विश्वास पुनःस्थापनाको मार्ग जनता र नेताबीचको सम्बन्धलाई इमानदारी र उत्तरदायित्वमा आधारित बनाउनुपर्छ। जनतालाई सुन्ने, तिनका मुद्दा सम्बोधन गर्ने र परिणाममुखी नीति लागू गर्ने अभ्यास बढाउनु अत्यावश्यक छ। शिक्षित, सचेत र नैतिक नेताहरूको अभाव पूर्ति नगरेसम्म सुधारको प्रयास अपुरो रहन्छ। राजनीति केवल सत्तामा पुग्ने साधन होइन, सेवा र समर्पणको माध्यम हो भन्ने चेतना राजनीतिक नेतृत्वमा विकास गरिनु आजको मूल आवश्यकता हो। तबमात्रै नेपालको राजनीति जनहितमा समर्पित र विश्वासिलो बन्न सक्नेछ।

 

 

कुनै पनि लोकतान्त्रिक देशको सरकारको मुख्य उद्देश्य नागरिकको कल्याण र अधिकारको संरक्षण गर्नु हो ।यदि सरकारका क्रियाकलापमा भ्रष्टाचार, अनियमितता र अनधिकृत गतिविधिहरूको प्रभाव बढ्छ भने नागरिकको सरकारप्रति विश्वास घट्न सक्छ।

 

राजनीतिक सुधारका लागि सबैभन्दा महत्त्वपूर्ण उपाय पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्नु हो। सरकारका सबै क्रियाकलापहरू, निर्णय र खर्चहरूको सार्वजनिक जानकारी उपलब्ध गराउनु पर्छ। यसका लागि सार्वजनिक निगरानीका मापदण्डहरूको स्थापना गर्न सकिन्छ। सरकारी अधिकारीहरूको कार्यक्षमता र निर्णय प्रक्रियामा पारदर्शिता ल्याउनु आवश्यक छ। यसले नागरिकलाई सरकारका कामकाजी प्रक्रिया बुझ्न र निष्पक्ष निर्णयप्रति विश्वास जगाउन मद्दत पुर्याउँछ।

 

 

भ्रष्टाचारको नियन्त्रण राजनीतिक सुधारको एक मुख्य खण्ड हो। सरकारी निकायहरूको निगरानी, कडा ऐन र नियमहरूको कार्यान्वयन र भ्रष्टाचार विरोधी संस्थाहरूको सशक्तिकरणले यस समस्यालाई समाधान गर्न मद्दत पुर्याउन सक्छ। देशमा सशक्त र निष्पक्ष भ्रष्टाचार विरोधी आयोगको स्थापनाले जनताको विश्वास पुनःस्थापित गर्न सहयोग पुर्याउँछ।निर्वाचन प्रक्रियामा सुधार ल्याउनु राजनीतिक विश्वासको पुनःस्थापनाका लागि अनिवार्य छ। चुनाव प्रक्रियामा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न इलेक्ट्रोनिक मतदान प्रणालीको स्थापना, कडा निगरानी र मतदाता शिक्षा कार्यक्रम चलाउनु पर्नेछ। यसले मतदाताहरूसँग सरकारको सशक्त र इन्क्लुसिभ सम्बन्ध स्थापित गर्नमा मद्दत गर्दछ।

 

 

राजनीतिक पद्धतिमा सुधारको अर्को महत्त्वपूर्ण पक्ष भनेको समाजका सबै वर्गलाई राजनीतिक प्रक्रियामा समावेश गर्नु हो। महिलाहरू, अल्पसंख्यक समूहहरू र पिछडिएका वर्गहरूको सक्रिय सहभागिता बढाउनका लागि विशेष कानूनी र संस्थागत सुधारहरू आवश्यक छन्। यसले समावेशी शासनको मात्र निर्माण गर्दैन समाजमा सबैको समान प्रतिनिधित्व सुनिश्चित गर्दछ।राजनीतिक साक्षरता र सचेतनाको अभावले नागरिकलाई राजनीतिक निर्णयप्रति उदासीन बनाउँछ र विश्वासको कमी निम्त्याउँछ। जनतालाई राजनीतिक प्रक्रिया, उनीहरूको अधिकार र कर्तव्य बारेमा शिक्षा प्रदान गर्नु अति महत्त्वपूर्ण छ। यसका लागि विद्यालय र विश्वविद्यालय स्तरमा राजनीतिक शिक्षा सम्बन्धी पाठ्यक्रम थप्न र विभिन्न माध्यमबाट सूचना र सामग्रीको प्रसार गर्न सकिन्छ।

 

 

संविधान र कानूनी सुधारले राजनीतिक पद्धतिमा सुधार ल्याउन मद्दत पुर्याउँछ। सशक्त संविधानको निर्माण र कार्यान्वयनले सरकार र प्रजासत्ताको बीचको सन्तुलन कायम राख्न मद्दत गर्छ। साथै, सरकारले तयार गरेको कानूनी संरचनामा न्यायिक प्रक्रिया र शासनको सिद्धान्तहरू स्पष्ट र निष्पक्ष हुनु पर्छ।नेतृत्वमा गुणस्तरीकरणका लागि राजनीतिमा कार्यरत व्यक्तिहरूको शिक्षा, दक्षता, नैतिकता र कार्यकुशलताको स्तरमा सुधार ल्याउनु जरुरी छ। सक्षम, इमानदार र विकासमुखी नेताले मात्र प्रभावकारी र विश्वासयोग्य सरकारको निर्माण गर्न सक्छन्। यसका लागि नेताहरूलाई नियमित प्रशिक्षण र मूल्य आधारित नेतृत्व शिक्षाको प्रवर्धन गर्नु पर्छ।

 

 

नेतृत्वबिना समग्र संगठनको उद्देश्य हासिल गर्न विभिन्न कार्य, विभिन्न तहगत लक्ष्य र विभिन्न व्यक्तिगत लक्ष्यबीच समन्वय ल्याउन सकिँदैन । संस्थालाई सही मार्गतर्फ डो–याउन नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ । नेतृत्व प्रभावकारी हुन जरूरी छ । यदि नेतृत्व गतिहीन तथा अक्षम भयो भने संस्थालाई मार्गदर्शन दिन सक्दैन । नेतृत्व लिने व्यक्तिमा अरूलाई प्रभाव पार्न सक्ने र समग्र संस्थालाई सफलताको मार्गमा डो–याउन सक्ने विशिष्ट खुबी हुन जरूरी छ । त्यसैले व्यवस्थापक एक कुशल नेता हुनु अनिवार्य छ ।  व्यवस्थापकले मातहतका कर्मचारीहरूमा आत्मविश्वास र काम गर्ने भावना जगाउन सक्नुपर्छ । उसले सङ्गठनात्मक लक्ष्यतर्फ मानिसको प्रयास लगाउन निर्देशित गर्छ, उत्प्रेरित उत्साहित गर्छ । एउटा नेता व्यवस्थापक हुन वा नहुन पनि सक्छ तर व्यवस्थापक नेता हुनैपर्छ ।

 

 

 

कुशल तथा प्रभावकारी नेतृत्वको अभावमा संगठनात्मक उद्देश्य प्राप्त गर्न सम्भव हुँदैन । कुशल नेतृत्वबिनाको संगठन मियोबिनाको दाई सरह हुन्छ । नेतृत्व दिने नेता सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावकारी व्यक्तित्व हुनुपर्छ । त्यसैले भनिन्छ, संगठनात्मक लक्ष्य हासिल गर्नका लागि संस्थालाई नेतृत्व दिने व्यवस्थापक असल नेतामा हुनुपर्ने गुणयुक्त हुनुपर्छ । यसप्रकार नेतृत्व नेताद्वारा अनुयायीहरूलाई प्रभाव पार्ने एक कला हो । संगठनात्मक लक्ष्यप्राप्तिका लागि नेतृत्वको अहम् भूमिका हुन्छ । कुनै पनि संगठन सफल र सुचारु रूपमा सञ्चालनका लागि व्यवस्थापकले कुशल नेतृत्व अपनाएको हुनुपर्छ । त्यसका लागि नेतामा पर्याप्त बौद्धिक क्षमता, दूरदर्शिता र नैतिकता र मिलनसार व्यवहार हुनु जरूरी हुन्छ ।

 

 

नेता प्रभावशाली हुन जरुरी छ । आफ्नो कुरा राम्ररी राख्न सक्ने, आफूलाई लेखेर वा बोलेर अभिव्यक्त गर्न सक्ने नेता प्रभावशाली नेता हुन। प्रभावशाली नेताले आफूलाई सजिलै जनतासँग जोड्न सक्छ । आफ्नो संगठन तथा विपक्षलाई समेत विश्वासमा लिन सक्छ । सबैको सम्मान गर्ने, अरूको अस्तित्व स्विकार्न सक्ने नेतृत्वले सधैँ अरूको साथ पाउँछ । अरूको भावना बुझ्न सक्ने, आफ्नो भिजनमा स्पष्ट देखिने, आफ्नो ऊर्जा अनि विश्वासलाई अभिव्यक्त गर्न सक्ने व्यक्ति नै नेता बन्न सक्छ । आफ्नो सपनालाई फैलाउन सक्छ । आफ्ना सहकर्मीलाई विश्वास गर्ने, उनीहरूका क्षमताबमोजिम जिम्मेवारी दिन सक्ने, उनीहरूलाई सुन्ने र तिनका भावना तथा आवश्यकताप्रति संवेदनशील हुन सक्ने नेतृत्व नै हाम्रो जस्तो लोकतान्त्रिक मुलुकको आवश्यकता हो । निर्णय क्षमता‚ इच्छाशक्ति‚ सही र गलत छुट्टाउन सक्ने खुवी‚ विषयबस्तुको राम्रो ज्ञान‚ परिस्थिति अनुरुप आफ्नो कार्यनीति र कार्यशैलीमा परिवर्तन गर्ने लचकता‚ सच्चरित्रता‚ केही गर्नुपर्दछ भन्ने उत्साह‚ आत्मबिश्वास‚ स्वत्याग‚ निष्पक्षता‚ धैर्यता आदि असल नेतृत्वका गुण हुन् ।

 

 

नेतामा स्पष्ट भिजन हुनुपर्छ । उसले स–साना व्यवस्थापनका कुराहरू बुझ्न जरुरी छ । आफ्ना गल्ती अनि कमजोरीहरु औंल्याएको मा धन्यवाद दिने र स्वीकार गर्ने गुणलाई राजनेताको प्रथम गुणका रुपमा लिइन्छ ।ईमान्दारीताले अरुहरुको बिश्वास जित्न अनि चरित्र बनाउन पनि मद्धत गर्दछ तर राजनितीमा ईमान्दारीताको सही अनि ईमन्दार उपयोग जरुरी छ ।ईमान्दार नेताहरु हक्की, निडर अनि आफ्ना वरिपरिका मान्छेहरुवाट अत्याधिक आदर पाँउने खाले हुन्छन् । ईमान्दार नेताहरु गल्तीको साहसीक जिम्मेवारी आँफैले लिने हुन्छन भने अरुहरुलाई आरोप लगाउने खालका हुँदैन।समाज अनि राष्ट्रका औसत व्यक्तिको पीडा बुझेर त्यसअनुरुप कार्य गर्दै पीडा हटाउन अनि मुद्धाहरु सम्बोधन गर्न नेतृत्वमा दयालुपना हुन जरुरी हुन्छ ।नेतालाई नेतृत्व गर्नका लागि बिचारले अरुहरु वाट अलग्ग बनाँउदछ बिचारप्रधान राजनेताहरु अझ धेरै बिश्वासयोग्य हुन्छन किनकि उनीहरुलाई व्यक्तित्व भन्दा पनि बिचारले बिश्वसनीय बनाँउदछ । बिचारलाई उजागर गर्दै धारणालाई प्रमाणीत गर्दै सामान्य जीवनशैली बिताउने नेताको बिश्वसनीयता बढि हुन्छ ।नेतृत्वले आफु र आफ्नो नेतृत्वकला दुबैमा बिश्वास गर्न र जगाउन जरुरी हुन्छ । आत्मबिश्वास भाषन या घोषणापबले मात्र देखाउदैन, आत्मबिश्वास बिचार, जुझारुपना अनि ससाना व्यबहारले देखाँउदछ ।

 

 

नेतृत्व गर्ने व्यक्तिले सही निर्णय सही समयमा लिन सक्नुपर्छ । धेरै मानिस निर्णय गर्न नसक्नुको कारणले गर्दा जीवनमा धेरै पछि परिरहेका हुन्छन् । मानिस कुनै पनि महत्वपूर्ण निर्णय गर्दा धेरै जनासँग सल्लाह लिइरहेको हुन्छ । आवश्यक र अनावश्यक सल्लाह लिइरहँदा मानिस आफैं भ्रमित भई सही निर्णय लिन सक्दैन । त्यसैले सही निर्णय मानिसले आफ्नो अनुभवबाट सिकेर तथा सही व्यक्ति (जो जुन विषयमा निपुण छ) सँगबाट प्राप्त भएको सल्लाहलाई विचार गरेर मात्र लिनुपर्छ । निर्णय गर्ने क्षमताले नै नेतृत्वलाई गति दिन्छ । नेताले निर्णय प्रक्रियामा आफ्नो टिमलाई सामेल गराउन सक्नुपर्छ । आज हाम्रा उपलब्धिहरू अलपत्र पर्ने खतरा छ, किनकि त्यसको अपनत्व लिने नेतृत्व छैन । तसर्थ, आज देशले निर्णयहरूको स्वामित्व लिन सक्ने अनि त्यसमा अन्य पक्षलाई समेत सामेल गर्न सक्ने नेतृत्व खोजिरहेको छ । नेतृत्वले सामूहिक भाव जगाउन सक्नुपर्छ । अन्य पक्षलाई सामेल गराउन नसक्नाले पनि नेताहरू प्रायः एक्लिँदै जान्छन् । जसले गर्दा सहकर्मी, कर्मचारी तथा आमनागरिकले उनीहरूको निर्णयमा अपनत्व महसुस गर्नै सक्दैनन् । त्यसैले नेताका निर्णयहरू कार्यान्वयन हुन सक्दैनन ।निर्णय गर्न सक्ने क्षमता कुशल नेतृत्व गर्नका लागि चाहिने महत्वपूर्ण गुण हो । नेतामा आफूलाई प्राप्त अधिकार तथा शक्ति प्रयोग गर्ने क्षमता हुनुपर्छ । अधिकार तथा शक्ति प्रयोग गर्न नसक्ने व्यक्तिले मातहतका कर्मचारीहरूलाई नेतृत्व प्रदान गर्न सक्तैन । मानिसको आवश्यकता, चाहना, भावना तथा व्यवहार फरक–फरक हुन्छ । तर पनि नेतामा कर्मचारीको त्यस्तो मनोवैज्ञानिक पक्ष पनि बुझ्न सक्ने क्षमता हुनुपर्छ । आफ्ना अनुयायीको लोकप्रिय बन्न सक्नु पनि नेतामा हुनुपर्ने महत्वपूर्ण गुण हो । सच्चा, इमानदार, निष्ठावान्, लगनशील भई अनुयायीहरूलाई उत्साहित गर्न सक्नुपर्छ । अनिमात्र कर्मचारीबाट पूर्ण क्षमतामा काम लिन सकिन्छ । नेता योग्य तथा क्षमतावान् हुनुपर्छ । परिवर्तित परिस्थितिअनुसार सफलतापूर्वक काम गर्न सक्ने भएमा मात्र नेताले सफल नेतृत्व दिन सक्छ । नेता काममा विश्वास राख्ने हुनुपर्छ । संस्थाको उद्देश्य प्राप्तिका लागि कर्मचारीहरूलाई परिचालन गर्नमा नेतृत्वको भूमिका सर्वोपरि हुन्छ । सबै व्यक्ति तथा व्यवस्थापकमा नेतृत्व क्षमता समान रहँदैन । कुनै व्यक्ति आफ्नो कार्यमा सफल हुन्छ भने कतिपय व्यक्तिहरू लक्ष्य प्राप्तिमा असफल हुन्छन् । कुशल व्यवस्थापक हुनका लागि उसमा नेतृत्व क्षमता हुनुपर्छ । नेतृत्व क्षमताका लागि व्यवस्थापकमा केही मूलभूत गुण हुनुपर्छ । मानव व्यवस्थापनमा नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । शक्तिको प्रयोग नगरीकन आफ्ना अनुयायीहरूबाट अपेक्षित कार्यहरू गराउने क्षमता नै नेतृत्व हो ।

 

 

एक कुशल नेतामा आकर्षक व्यक्तित्व तथा प्रसन्न मुद्रा हुनुपर्छ । ऊ मानसिक तथा शारीरिक दृष्टिले स्वस्थ एवं सुदृढ हुनुपर्छ । उसमा शान्त स्वभाव, बोल्ने क्षमता र उचित व्यवहार गर्ने क्षमता हुनुपर्छ । साथै उसमा कडा परिश्रम गर्ने जाँगर तथा फूर्ति हुनुपर्छ । एउटा कुशल नेतामा अगुवाइ र पहल गर्ने क्षमता हुनुपर्छ । व्यवसायको वातावरणमा अत्यधिक अनिश्चितता तथा जटिल हुनाले नेताले निर्णयहरू शीघ्र गर्नुपर्ने हुन्छ । त्यसैले कुशल नेतामा शान्तपूर्वक समस्याहरूको सामना गर्न आत्मविश्वास, कल्पनाशक्ति, सिर्जनात्मक क्षमता र साहस हुनुपर्छ । एउटा कुशल नेताको स्वभाव सन्तुलित हुनुपर्छ । यसका लागि नेताले आवेग, अस्थिरता र निराशाजस्ता संवेगहरू त्यागी सहिष्णुताको विकास गर्नुपर्छ । समस्याको सामना गर्नुपर्दा जहिले पनि ऊ उत्साही र प्रसन्न रहनुपर्छ । कुनै पनि नेता सफल नेता बन्नका लागि उसको स्वभाव लोचदार हुनुपर्छ । आवश्यकतानुसार अरूका विचारलाई स्विकारेर आफ्नो विचारलाई परित्याग गर्न पनि तयार हुनुपर्छ । हरेक क्षेत्र द्रुतगतिमा परिवर्तन भइरहेको अहिलेको परिस्थितिमा लोचदार नीति अपनाउनु महत्वपूर्ण मानिन्छ । एउटा कुशल नेतामा जिम्मेवारीको भावना हुनुपर्छ । आफूले गरेका सम्पूर्ण निर्णयहरूको जिम्मेवारी आफैंले बहन गर्नुपर्छ । साथै आफ्ना अनुयायीहरूले गरेका क्रियाकलापहरूको जिम्मेवारी पनि बहन गर्नुपर्छ । सहायकहरूले उसलाई विश्वास गर्न ऊ विश्वासिलो हुनुपर्छ । कुशल नेता विश्वासिलो हुनुपर्छ जोप्रति सहायकहरू भर पर्न सकून् । उसले परिणामका लागि उत्तरदायित्व वहन गर्न तत्पर रहनुपर्छ । नेता चरित्रवान् हुनुपर्छ । नेताको सच्चरित्रले अनुयायीहरूको सामु अनुकरणीय उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । उसको आचरण र व्यवहार स्वच्छ हुनुपर्छ । उसको क्रियाकलाप र मनोवृत्ति नैतिक रूपमा समर्थनीय हुनुपर्छ । यसका साथै ऊ इमान्दार तथा शिष्ट हुनुपर्छ । यसले अनुयायीहरूमा आत्मविश्वास सिर्जना गर्छ । नेता एक्लैले संगठनात्मक क्रियाकलाप सञ्चालन गर्न सक्दैन । उसले अनुयायीमार्फत विभिन्न क्रियाकलापहरू सम्पादन गराउनुपर्ने हुनाले नेता अनुयायीहरूसँग निकट हुनुपर्छ । अनुयायीहरूको विचार, भावना, सोंच र दृष्टिकोणलाई बुभझ्न सकेमा मात्र नेता सफल बन्न सक्छ । नेतामा व्यक्तिगत लक्ष्य र स्वार्थलाई त्यागेर संगठन र संगठनात्मक लक्ष्यप्रति आफूलाई समर्पित गर्ने गुण हुनुपर्छ । उसले व्यक्तिगत र अनौपचारिक क्रियाकलापभन्दा सामूहिक र अनौपचारिक कार्यहरूमा केन्द्रित हुनुपर्छ । नेता सामूहिक हितका लागि समर्पित भएमा निश्चय नै उसले अधिनस्थ कर्मचारीलाई पनि संगठनप्रति समर्पित गराउन सक्छ । नेतृत्व गर्ने मानिसले आफ्नो क्षमता हेरेर जोखिम उठाउनुपर्ने हुन्छ, तर धेरै मानिस कपोलकल्पित डरका कारण निर्णय गर्दैनन् । नेतृत्व क्षमतालाई वृद्धि गर्न डरको उचित प्रबन्धन गर्नु जरुरी छ । कुनै पनि निर्णय गर्दा पूर्ण रूपमा सचेत अवस्थामा रही निर्णय गर्नुपर्छ, न कि डरका कारणले आतंकित भएर ।नेतृत्वमा हुने सबैभन्दा महत्वपूर्ण क्षमता भनेको मानिस र मानिसको भावनालाई बुझ्न सक्नु हो ।

 

 

समाज र नेतृत्वको जन्मका बीचमा परिपुरक सम्बन्ध रहेको हुन्छ । समाज जस्तो छ, त्यस्तै किसिमको नेतृत्व हामीले पाउने हो । हामी कस्ता छौं, हामो समाज कस्तो छ त्यही अनुसारको नेता हामीले पाउने हो । नेतृत्वले तीन तरिकाबाट जन्मन्छ । एउटा हो जन्मदैको अविछिन्न गुण र अद्वितीय शक्ति । केही मानिसहरु जन्मँदै यस्तो विलक्षण गुणले सजिएका हुन्छन्, उनीहरुमा आत्मिक रुपमा यस्तो गुण समायोजित भएर आएको हुन्छ । ब्यक्तित्व, बोली र ब्यवहारले अरुलाई सम्मोहित पार्न सक्दछन । अर्को हुन्छ– करिश्मा । करिश्मा मेहनत र परिश्रमबाट बनेको हुन्छ । मान्छे हेर्दा नराम्रो, लुरे, दुर्बल हुनसक्छ । तर, उसले धेरैलाई तरंगित बनाउन सक्दछ । जस्तैः महात्मा गान्धी, अब्राहम् लिंकन आदिलाई यस श्रेणीमा राख्न सकिन्छ । तेस्रो हो– कानूनी वैधानिकता । नेतृत्वको स्रोत पनि कानूनी वैधानिकता नै हो । तर, कानूनी वैधानिकताले मात्र माथिका दुईवटा गुणको अभाव भएको ब्यक्ति वास्तविक नेता बन्न सक्दैन । अहिले वास्तविक नेता जन्मन नसकेको मुख्य कारण पनि कानूनी वैधानिकताबाट मात्र नेता जन्मन्छ भन्ने चिन्तन नै हो । नेपालमा राजनीतिमा लागेका नेताहरुको समस्याहरू समयसँगै गम्भीर बन्दै गएका छन्। एक समयमा राजनीति समाजसेवा र जनताको कल्याणको मार्ग थियो, तर अहिले यसलाई प्रायः व्यक्तिगत लाभ र स्वार्थको एउटा साधनका रूपमा हेरिन्छ। नेपालका धेरै नेताहरू अहिले लगानीकर्तामा परिणत भएका छन्। उनीहरूले विभिन्न व्यावासिक क्षेत्रमा, जस्तै होटल, ट्राभल एजेन्सी, अस्पताल, विद्यालय, उद्योग, हाइड्रोपावर, बैंक र ठूला सहकारीहरूको संचालन गर्दै छन्। यसबाट स्पष्ट हुन्छ कि राजनीति अब एउटा व्यापारको रुप लिइसकेको छ र यसले नेपालको राजनीतिक परिपाटीलाई दुषित बनाउने खतरा पैदा गरेको छ।

 

 

नेपालका नेताहरूमा पारदर्शिता र उत्तरदायित्वको अभाव छ। राजनीतिक शक्ति र पदवी हासिल गर्ने मुख्य उद्देश्य व्यक्तिगत लाभ मात्र रहन थालेको छ। यस कारण, सार्वजनिक सेवा र जनताको हितका लागि गरिएका निर्णयहरू प्रायः निजी स्वार्थसँग जोडिएका हुन्छन्। यसले राजनीतिलाई विश्वसनीय र प्रभावकारी बनाउन कठिन बनाएको छ। विशेष गरी, नेताले नीति निर्माण गर्दा आफूलाई र आफ्ना समर्थकहरूको आर्थिक फाइदा विचार गर्ने प्रवृत्ति देखिन्छ, जसले राजनीतिक प्रणालीलाई कमजोर बनाउँछ।

 

 

नेपालको राजनीतिमा अहिले देखा पर्ने एउटा ठूलो समस्या भनेको राजनीति गर्ने उद्देश्यको विकृति हो। राजनीति त्याग, बलिदान र सार्वजनिक सेवाको लागि हुनु पर्छ भन्ने परम्परा अब नपाइने स्थिति देखिन्छ। अहिले नेपालमा राजनीति सधैं लाभ र भ्रष्टाचारका अवसरको रूपमा विकसित भएको छ। जनतालाई साँचो सेवाप्रतिको विश्वास छैन, र यही कारणले गर्दा राजनीति गर्नेको इमेज दिनप्रतिदिन गिरिरहेको छ। नेताको पदवी प्राप्त गर्नका लागि व्यक्तिगत स्वार्थ र पद प्राप्तिको होड सबै दलका नेता बीच देखिन्छ। यसले राजनीतिमा प्रतिस्पर्धा गर्ने भावना थपेको छ, तर त्यो प्रतिस्पर्धा समाजको भलाईका लागि होइन, बरु व्यक्तिगत लाभका लागि हो।

 

 

संसारभरि राजनीति प्रायः त्याग र समर्पणको क्षेत्रमा पाइन्छ। राजनीतिमा लाग्नका लागि एक व्यक्ति कुनै न कुनै हदसम्म आफ्ना व्यक्तिगत चासो र स्वार्थलाई त्याग गर्नुपर्छ। राजनीति भनेको सेवा र जनताको लागि काम गर्नु हो। यसमा स्वार्थ र भ्रष्टाचारको कुनै स्थान छैन। तर, नेपालमा राजनीति नाफा र भ्रष्टाचारका अवसरका रूपमा बदलिएको छ। यसले समग्रमा नेपालको राजनीतिमा अविश्वास र असन्तुष्टि सिर्जना गरेको छ।

 

 

२१ औं शताब्दीमा नेतृत्वको सफलता केवल त्यागमा मात्र निर्भर गर्न सक्दैन। नेतृत्वको मूल्यांकन गर्दा, व्यक्तिको निर्णय, नेतृत्वको दूरगामी प्रभाव र ती निर्णयहरूले जनताको जीवनमा ल्याउने परिवर्तनको आधारमा पनि मूल्यांकन गर्नु आवश्यक छ। नेतृत्व भनेको केवल आफूलाई जिताउनु मात्र होइन, अपितु समाज र राष्ट्रको लागि स्थायी र सकारात्मक प्रभाव पार्नु हो।

 

 

नेतृत्वको वास्तविक मूल्याङ्कनमा समग्र समाजको भलाईका लागि लिएका निर्णयहरूको महत्त्वपूर्ण स्थान हुनुपर्छ। एउटा नेता आफ्नो व्यक्तिगत स्वार्थको लागि काम नगरी जनतालाई हानि नगरी काम गर्नुपर्छ। नेपालमा राजनीतिक प्रक्रिया र नेतृत्वको मूल्याङ्कन यस्ता आधारहरूमा आधारित हुनु आवश्यक छ जसले राष्ट्र र जनताको दीर्घकालीन फाइदा सुनिश्चित गर्न सक्छ।

 

 

त्यसैले, नेपालका नेताहरूलाई अब नयाँ दृष्टिकोण र जिम्मेवारीका साथ राजनीति र नेतृत्व गर्नुपर्ने आवश्यकता छ। उनीहरूले राजनीतिलाई व्यापारको रूपमा लिँदैनन् भने र समाजका लागि काम गर्न तल्लिन रहन्छन् भने, नेपालमा राजनीति पद्धतिमा सुधार र विश्वासको पुनःस्थापना गर्न सकिन्छ। जब राजनीतिमा नैतिकता र इमानदारी आउँछ, जनताको विश्वास स्वतः बढ्न थाल्छ। पारदर्शी प्रक्रियाले शासन प्रणालीलाई खुला र जनउत्तरदायी बनाउँछ, जसले नागरिकहरूलाई सहभागी बनाउने अवसर दिन्छ। जवाफदेहिताले हरेक नेताले आफ्नो कामको हिसाब जनतासमक्ष प्रस्तुत गर्नुपर्ने दायित्व दिन्छ। कानुनी शासनले समानता, न्याय र नियमको पालना सुनिश्चित गर्छ। यी सबै पक्षहरू मिलेर मात्र राजनीतिमा सुधार सम्भव हुन्छ। सुधार भनेको केवल नीति परिवर्तन होइन, व्यवहार, सोच र संस्थागत संस्कारमा समेत रूपान्तरण ल्याउनु हो। यस्तो सुधारले मात्र सशक्त, स्थिर र जनमुखी लोकतन्त्रको निर्माण गर्न सकिन्छ।

civil hospital
Hams Hospitals