गतिशील संगठन निर्माणमा कार्यसंस्कृतिको भूमिका
वि.सं.२०८२ वैशाख २३ मंगलवार
shares

विषय प्रवेश
संस्कृति मानवीय जीवन पद्धति हो । यो लामो समयदेखि चल्दै आएको चलन, रितिरिवाज, मानसिक विकास, परम्परा हो । संस्कृति एकअर्कामा बाँडिन्छ, समुदायमा अवलम्बन गरिन्छ ।संस्कृति एकीकृत अर्थात् एकअर्कामा अन्तरनिर्भर र अन्तरसहयोगी हुने गर्दछ । संस्कृति गतिशील हुन्छ । संस्कृति लामो समयदेखि चलिआएको धारणा, व्यवहार, प्रकृति, विश्वास, मूल्यमान्यता हो । यो व्यक्ति वा समूहलाई एक अर्काबाट फरक दर्शाउने गरी विकसित भएको स्थिति हो ।
संगठन बहुसंस्कृतिको असल संगम हो ।संगठनात्मक संस्कृतिमा नै संगठनको प्रभावकारिता र सक्षमता निर्भर गर्दछ । व्यवस्थापनका सिद्धान्तहरुले पद्धति र प्रक्रियालाई बढि जोड दिने गरेको पाइएता पनि पछिल्लो समयमा संगठनात्मक संस्कृति र त्यसले संस्थाको कार्यसम्पादन र प्रतिष्ठामा पार्ने प्रभावलाई बढी महत्वका साथ हेर्ने गरेको पाईन्छ । संगठनात्मक संस्कृति एउटा अमूल्य सम्पति हो। लामो समय व्यतित गरेका सबै प्रकारका संगठनहरुमा आफ्नै पहिचान झल्कने किसिमको संगठनात्मक संस्कृति विकास हुँदै गएको हुन्छ । संगठनात्मक संस्कृति र संरचना सधै स्थिर हुँदैन । यो समय र वातावरणअनुरूप परिवर्तन हुँदै जान्छ । समाजमा राजनीतिक शासन प्रणाली, आर्थिक विकास नीति, सामाजिक रहनसहन,मुल्य मान्यता, प्रविधि विकास, नागरिकको चेतना र माग निरन्तर परिवर्तन भइरहेको छ । संगठनात्मक गतिशीलताले कुनै पनि संस्थाले परिवर्तनको सामना गर्दै आफ्ना उद्देश्यहरू प्राप्त गर्न सक्ने क्षमता जनाउँछ। यसका लागि प्रभावकारी संगठनात्मक कार्यसंस्कृति अत्यन्तै आवश्यक हुन्छ। कार्यसंस्कृति संस्थाभित्रको मूल्य, विश्वास, आचरण र व्यवहारहरूको समुच्चय हो जसले कर्मचारीहरूको सोच, कार्यशैली र अन्तर्क्रियामा प्रभाव पार्छ।
सकारात्मक संगठनात्मक कार्यसंस्कृति
सकारात्मक कार्यसंस्कृतिले कर्मचारीहरूमा प्रेरणा, उत्तरदायित्व, र टीमवर्क बढाउँछ, जसले संस्था लचिलो, नवप्रवर्तनशील र दीर्घकालीन रुपमा सक्षम बनाउँछ। खुला संचार, पारदर्शिता, सम्मानजनक व्यवहार र नवीनताको प्रोत्साहनजस्ता मूल्यहरूले संगठनलाई द्रुत परिवर्तनसँग समायोजन गर्न सजिलो बनाउँछ। यदि कार्यसंस्कृति रुढीवादी, डरमा आधारित वा परिवर्तनप्रति असहिष्णु छ भने, त्यो गतिशीलताको बाधक बन्छ। त्यसैले नेतृत्वले सकारात्मक संस्कृति निर्माण गर्दै सबै तहका कर्मचारीहरूलाई सहभागी गराउनु अत्यावश्यक छ।
संगठनात्मक संस्कृति संगठनात्मक व्यवहारमा प्रदर्शित हुनाले यसले कर्मचारीको व्यवहारलाई मार्गनिर्देशन गर्दछ । संगठनात्मक व्यवहार कर्मचारीको मनोवैज्ञानिक बुझाइ र काम गराइ हो । संगठनात्मक संस्कृतिले नागरिक र सेवाग्राहीको समाजमा संगठनलाई चिनाउँछ । कर्मचारीलाई संगठनको हितानुकूल बोल्ने, काम गर्ने र जिम्मेवारी लिने बनाउँछ । संगठनका कर्मचारीहरूलाई ज्ञानार्जन, क्षमता विकास र सोको कार्यसम्पादनमा उपयोग गर्न सघाउँछ, उत्प्रेरण दिन्छ । परिणामतः उनीहरू संगठनमा टिकिरहन्छन् ।
संगठनका व्यक्तिहरूले साझा रूपमा अवलम्बन गरेका व्यवहार, प्रवृत्ति, मूल्यमान्यता,धारणा, आस्था विश्वासलाई संगठनको संस्कृति भनिन्छ । व्यक्तिको पहिचान उसको व्यक्तित्व हो भने संगठनको पहिचान संगठनात्मक संस्कृति हो । संगठनात्मक संस्कृति कर्मचारीले बुझेको, विश्वास गरेको र अपनाएको साझा पद्धति हो । कुनैपनि व्यक्ति, समूह तथा संगठनले कस्तो सोच लिन्छ ? सोहि सोच अनुसार उसले व्यवहार देखाउँछ । त्यहि व्यवहार पटक पटक गरिरहँदा बानीमा परिणत हुन्छ । सधैं प्रयोगमा उसको त्यो बानी अन्तमा संस्कारमा रुपान्तरण बन्न पुग्दछ । त्यही संस्कार एकबाट अर्को व्यक्ति परिवार, पुस्ता, वर्ग, समुहमा सर्दै जान्छ । त्यसैले संस्कार र संस्कृति कस्तो बनाउने भन्दा पनि सोच कस्तो लिने भन्ने महत्वपूर्ण विषय हो ।
संगठनात्मक संस्कृतिले पूरा संगठनलाई लक्ष्य हासिल गर्नका लागि संगठनमा भएको सम्पूर्ण जनशक्तिलाई टिममा रूपान्तरण गर्दछ भने कर्मचारीको कार्यसम्पादन स्तर बढाइ संगठनलाई परिणाम प्राप्त गर्न क्रियाशील पनि बनाउँछ । संगठनात्मक संस्कृति एउटा यस्तो क्रियाशिल तत्व हो, जूनसुक्ष्म तवरबाट एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ ।संगठनात्मक संस्कृतिले संगठनको मान्यता, मूल्य, प्रथा, अभ्यास, मनोवृत्ति र अनुभवहरू समावेश गर्दछ।
संगठनात्मक संस्कृतिले पूरा संगठनलाई लक्ष्य हासिल गर्नका लागि संगठनमा भएको सम्पूर्ण जनशक्तिलाई टिममा रूपान्तरण गर्दछ। यसले कर्मचारीबीच सहयोग, समन्वय र आपसी विश्वासको भावना बढाउँछ, जसले कार्यसम्पादन स्तरमा सुधार ल्याउँछ र संगठनलाई परिणाम प्राप्त गर्न क्रियाशील बनाउँछ। संगठनात्मक संस्कृति एउटा यस्तो क्रियाशील तत्व हो, जुन सूक्ष्म तरिकाले एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ। यसले संस्थामा निरन्तरता, स्थायित्व र पहिचान दिन्छ। एक संस्थाको संस्कृति त्यस संस्थाका अनुभव, मूल्य, मान्यता, व्यवहार र परम्पराको समुच्चय हो।
सकारात्मक कार्यसंस्कृतिले नवप्रवर्तन, आत्म-प्रेरणा र पारदर्शिता बढाउँछ। यस्तो वातावरणमा कर्मचारीहरू सुरक्षित महसुस गर्छन्, आफ्ना विचारहरू खुलेर राख्न सक्छन् र नेतृत्वको दिशामा काम गर्न उत्साहित हुन्छन्। कार्यसंस्कृतिले संगठनलाई मात्र होइन, कर्मचारीहरूको व्यक्तिगत विकासमा पनि महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले, प्रभावकारी संगठनात्मक संस्कृति विकास गर्नु संगठनात्मक गतिशीलताका लागि आधारशिला सावित हुन्छ।
संगठनात्मक संस्कृति आन्तरिक र बाह्य तत्वहरुद्वारा विकास भएको हुन्छ । आन्तरिक तत्वको रुपमा सामान्यतया संगठनात्मक संस्कृति अन्तर्गत संगठनका सदस्यले बोल्ने भाषा, सोच, व्यवहार, कार्यस्थान, कर्मचारीहरुबीचको सम्बन्ध र समन्वय, विद्यमान सूचना प्रणाली र यसको उपयोग, कार्यालयलाई प्रदान गर्ने समय, सरोकारवालाहरुप्रति गरिने व्यवहार, चाप्लूसी र चाकडी, जस्ता पक्षहरु समावेश भएका हुन्छन् त्यसैगरी बाह्रय तत्वको रुपमा संगठनात्मक सँस्कृतिलाई प्रभाव पार्ने पक्षहरुमा संगठनको संरचना, नियन्त्रण प्रक्रिया, रितिरिवाज, हावापानी, संगठनको इतिहास, कानूनी हैसियत, राजनीतिक अवस्था, आर्थिक अवस्था आदि रहेका हुन्छन् ।
संगठनको उच्च तहमा आसिन कर्मचारीहरु उक्त संगठनको महत्वपूर्ण सम्पतिको रुपमा रहेका हुन्छन् । निजहरुले सम्हालेको पद, जिम्मेवारी तथा तहले निजले संगठनकालागि खेल्न सक्ने भूमिकाको स्तर निक्र्याैल गर्न सकिन्छ । व्यक्तिहरुमा वौदिक तिक्षणता, व्यवस्थापकिय कार्यकुशलता, काम सम्बन्धि विषयको ज्ञान, सिर्जनशिलता, व्यवस्थापकिय कार्यकुशलता, सिक्ने उत्सुकता, सकारात्मक सोच, स्व–निर्णय गर्ने क्षमता तथा चाप्लुसहरुको व्यवहारलाई अध्ययन गरी सत्यतथ्य जान्ने क्षमता हुनु अत्यन्त आवश्यक हुन्छ ।
गतिशील संगठनले परिवर्तनशील समय, प्रविधि र आवश्यकतासँग सँगै अघि बढ्न सक्ने क्षमतायुक्त संस्था जनाउँछ। यस्ता संस्थाको निर्माणमा कार्यसंस्कृतिको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। कार्यसंस्कृति भनेको संगठनभित्र व्याप्त साझा मान्यता, मूल्य, व्यवहार, आस्था र परम्पराहरूको समुच्चय हो, जसले संस्थाका सदस्यहरूको सोच, कार्यशैली र निर्णयप्रक्रियामा सकारात्मक प्रभाव पार्दछ। सकारात्मक कार्यसंस्कृतिले कर्मचारीहरूमा प्रेरणा, जिम्मेवारीबोध,समुह भावना र नवप्रवर्तनशीलता विकास गर्छ, जसले संगठनलाई नयाँ चुनौतीहरूसँग जुध्न सक्षम बनाउँछ। कार्यस्थलमा पारदर्शिता, विश्वास, खुला संवाद र समान अवसरको वातावरणले कर्मचारीलाई आत्मीयता र जिम्मेवारीका साथ काम गर्न उत्प्रेरित गर्छ।
उपसंहार
संगठनात्मक संस्कृति परिवर्तनका लागि कर्मचारीको सोच र व्यवहार बदल्नु आवश्यक रहेको छ ।संगठनात्मक संस्कृति परिवर्तनको लागि निजामती कर्मचारी भएकोमा आफुलाई गर्व गर्ने भावनाको सिर्जना गर्ने, निजामती सेवा अन्य सबै सार्वजनिक निजी सेवाहरूका लागि उदाहरण बन्ने मूल्य निर्धारण गर्नु उचित देखिन्छ ।समय र प्रशासकीय वातावरणले नागरिकहरू सार्वजनिक संगठनहरूलाई प्रभावकारी रूपमा सेवाप्रवाह गरेको देख्न चाहेका हुन्छन् । सार्वजनिक प्रशासन सर्वप्रथम अधिकारको तथा स्रोतसाधनको प्रयोगप्रति उत्तरदायी हुनुपर्दछ । निजामती सेवाले जनताको पक्षमा उत्कृष्ट कार्य गर्न अनिवार्य संस्कृतिको विकास गर्नु पर्दछ ।
साथै, संगठनात्मक संस्कृतिलाई संगठनको जिम्मेवारी र उत्तरदायित्वसँग तथा नतिजा प्राप्त गर्ने ब्रान्ड मूल्यसँग लगेर आबद्ध गर्नुपर्दछ । कार्यसंस्कृति समयानुकूल परिवर्तन हुन नसकेमा त्यो संगठनको गतिशीलताका लागि बाधक बन्छ। त्यसैले नेतृत्वले खुलापन, समावेशिता र निरन्तर सुधारलाई प्राथमिकता दिनु आवश्यक हुन्छ। एक सक्षम र दीगो संगठन निर्माण गर्न सकारात्मक, लचिलो र व्यवहारिक कार्यसंस्कृति आवश्यक हुन्छ। कार्यसंस्कृति परिवर्तनको आधार हो, जसले संस्थालाई भविष्यतर्फ अघि बढाउँछ। सार्वजनिक संगठनका अगाडि नयाँ जिम्मेवारी नयाँ चुनौतीहरू आइरहने भएकाले संगठनात्मक संस्कृतिलाई पनि गतिशील र समय र परिस्थितअनुरूप अनुकूलन हँदै जाने बनाउनु आवश्यक छ।
उपसचिव,नेपाल सरकार