सत्कर्म र मानवीय मूल्यहरू
वि.सं.२०८२ जेठ २० मंगलवार
16.8K
shares
shares
आजको विश्व तीव्र परिवर्तनको चरणमा छ। प्रविधिको अद्भुत विकास, आर्थिक प्रतिस्पर्धा, भौतिक लालसा र उपभोक्तावादले मानव जीवनलाई बाह्य रुपमा समृद्ध बनाएको देखिए पनि भित्री जीवन भने बिस्तारै शून्यतासँग भरिँदैछ। यो समय त्यस्तो मोडमा छ जहाँ सत्कर्म र मानवीय मूल्यहरू इतिहासका पानामा मात्र सीमित हुने खतरा देखिन थालेको छ। मानव जाति बिस्तारै स्वार्थ, ईर्ष्या, प्रतिस्पर्धा र असहिष्णुताको गहिरो दलदलमा फँस्दै गएको छ।
सत्कर्म कुनै ठूला क्रियाकलाप मात्र होइन, स(साना सद्भावनायुक्त कामहरूको निरन्तर अभ्यास हो—जसले व्यक्ति र समाज दुवैलाई रूपान्तरण गर्न सक्छ। तर आजको यथार्थ हेर्दा, यो मूल्य बिस्तारै ओझेलमा पर्दै गएको छ। मानिसहरू आफ्नो स्वार्थ पूर्तिको लागि कुनै पनि हदसम्म जान तयार छन्। पारिवारिक सम्बन्ध कमजोर हुँदैछन्, सामाजिक एकता खण्डित हुँदैछ, र आत्मकेन्द्रितताको वायुमण्डलमा मानिसहरू एकआपसमा टाढिँदै छन्।
शिक्षा, जसले मानवतालाई मार्गदर्शन दिनु पर्ने हो, त्यही शिक्षा आज जीवनोपयोगी मूल्यभन्दा बढी प्रतिस्पर्धात्मक अंकको पछि लागेको छ। ‘सत्कर्म गर, फलको चिन्ता नगर’ भन्ने भगवद्गीताको अमूल्य शिक्षाले मानव जीवनलाई कर्मशील, समर्पित र निस्वार्थ बनाउने मार्ग देखाउँछ। यसले मानिसलाई आफ्नो कर्तव्यप्रति दृढ रहन प्रेरित गर्छ र सफलताको मोहबाट मुक्त गराउँछ। तर आजको युगमा यो शिक्षालाई व्यवहारमा उतार्न कठिन भइरहेको छ। मानिसहरू कर्मभन्दा बढी फलप्राप्तिमा केन्द्रित छन्। उनीहरू कुनै पनि कार्य गर्दा प्रतिफलको अपेक्षामा गर्छन्—धन, पद, सम्मान, लोकप्रियता वा प्रशंसाको आशामा।जब अपेक्षित फल प्राप्त हुँदैन, उनीहरू कुण्ठित, निराश र असन्तुष्ट हुन्छन्। यही असन्तुष्टि आक्रोशमा परिणत हुन्छ र त्यही आक्रोश समाजमा हिंसा, ईर्ष्या, द्वेष, घमण्ड र असहिष्णुताको बीजारोपण गर्छ।
फलमुखी मानसिकताले मानिसको मनोबल कमजोर बनाउँछ र ऊ नैतिकताको मार्गबाट चिप्लन सक्छ। यसरी व्यक्तिगत असफलता सामूहिक समस्यामा बदलिन्छ।यदि हामी गीता शिक्षालाई आत्मसात गरी, फलको आशा नगरी कर्ममै केन्द्रित हुन सक्यौं भने हाम्रो समाजमा सकारात्मक ऊर्जा, सहिष्णुता र आत्मिक सन्तुष्टि फैलिन सक्छ। सत्कर्मको यही भावना नै विश्वशान्तिको आधार बन्न सक्छ। मानव जीवनलाई सफल र समाजलाई समुन्नत बनाउन गीता शिक्षाको व्यवहारिक अनुप्रयोग अत्यन्त आवश्यक छ।
मानव मूल्यहरू जस्तै करुणा, सहिष्णुता, प्रेम, सेवा, परोपकार, इमानदारी आदि आजको दैनिकीमा दुर्लभ जस्तै भइरहेका छन्। हाम्रा निर्णयहरू स्वार्थमा आधारित हुन थालेका छन्, जसको असर विश्वभर राजनीतिक विघटन, धार्मिक उग्रवाद, जातीय द्वन्द्व र सामाजिक असमानतिका रूपमा देखिन्छ। यस्ता अवस्थाले मानवता संकटमा परेको छ र विश्वव्यापी शान्तिमा गम्भीर चुनौती उत्पन्न गरिरहेको छ।
तर आशा मरेको छैन। अझै पनि त्यस्ता व्यक्तित्वहरू छन् जसले सत्कर्मलाई जीवनको मूल मन्त्र मानेका छन्। समाजमा केही सकारात्मक लहरहरू पनि देखिन्छन्—जहाँ युवाहरू सामाजिक सेवामा लागिरहेका छन्, समुदायमा सहकार्यको भावना पलाइरहेको छ र केही राष्ट्रहरूले शान्तिको सन्देशलाई प्राथमिकता दिएका छन्। यी नै साना तर प्रभावकारी प्रयासहरू हुन्, जसले सत्कर्म र मानवीय मूल्यहरूलाई पुनर्जीवित गर्न सक्छन्।शान्तिको शिखरमा पुग्नका लागि कूटनीतिक सम्झौता, आर्थिक सहायता वा प्रविधि मात्रै पर्याप्त हुँदैन त्यसका लागि आवश्यक छ—व्यक्तिको अन्तःकरणबाट सुरु हुने रूपान्तरण। जबसम्म हामी प्रत्येकले सत्कर्मलाई जीवनको मूल आधार मानेर व्यवहारमा उतार्दैनौं, तबसम्म शान्तिको सपना अधुरै रहन्छ।
आजको संसार बाह्य विकास र प्रविधिमा तीव्र गतिमा अगाडि बढिरहेको छ। गगनचुम्बी भवन, कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष अनुसन्धान जस्ता उपलब्धिहरूलाई हामी शक्ति र प्रगतिको संकेत मान्छौं। तर यिनै उपलब्धिहरूबीच मानवता भने संकटमा परेको छ। आत्मीयता, करुणा, सद्भाव, सहिष्णुता र नैतिकताको स्थान स्वार्थ, प्रतिस्पर्धा, अहंकार र हिंसाले लिएको छ।अब हामीले बुझ्नुपर्छ—साँचो शक्ति भौतिक सुविधामा होइन, भित्री मूल्य र मानवीय चेतनामा निहित छ। जब मानव हृदयमा करुणा, सहानुभूति र सेवा भावले पुनः स्थान पाउँछस जब शिक्षाले केवल ज्ञान होइन, चरित्र पनि निर्माण गर्छस जब विज्ञान केवल मुनाफा होइन, मानवहितको मार्गमा समर्पित हुन्छ—त्यस दिन संसार शान्तिको मार्गमा अग्रसर हुनेछ।
आजको युग प्रविधिमा अद्भुत प्रगति भएको युग हो—कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष विज्ञान, सञ्चार क्रान्ति जस्ता विकासले संसारलाई बदलिदिएको छ। तर यति ठूलो प्रगतिसँगै मानवता अझै अशान्त, विभाजित र पीडित छ। यसको मुख्य कारण प्रविधिको अभाव होइन, दृष्टिकोणको संकट हो। मानिसको सोच, चिन्तन र उद्देश्य आफन्त, जात, धर्म, राष्ट्र वा व्यक्तिगत लाभमा सीमित भएपछि प्रविधि पनि विनाशको साधन बन्न पुग्छ।
दृष्टिकोण परिवर्तन भनेको आत्मकेन्द्रितताको साटो समष्टिगत चेतनालाई अँगाल्नु हो। जब हाम्रो सोच “म” बाट “हामी” मा परिवर्तन हुन्छ, तब विज्ञान सेवा बन्न पुग्छ, राजनीति उत्तरदायी बन्छ, शिक्षा मानव निर्माणको साधन बन्छ। प्रविधिमा परिवर्तन आउँछ तर सोचमा हुँदैन भने त्यो प्रविधिले समाजलाई टुक्र्याउने काम मात्रै गर्छ। त्यसैले आजको साँचो चुनौती प्रविधिमा भन्दा दृष्टिकोणमा परिवर्तन ल्याउनु हो।
दृष्टिकोण सकारात्मक, सहिष्णु र मूल्यप्रधान भएमा प्रविधिको उपयोग पनि मानव कल्याणका लागि हुनेछ। हामीले आज बुझ्नुपर्ने कुरा यही हो—संसार बदल्न प्रविधि मात्रै होइन, दृष्टिकोणको क्रान्ति आवश्यक छ। जब दृष्टिकोण परिवर्तन हुन्छ, तब मात्र यथार्थ शान्ति र विकास सम्भव हुन्छ। यही परिवर्तन नै आजको युगको सबैभन्दा जरुरी आवश्यकता हो।सत्कर्म, सेवा, प्रेम र समर्पणको भावना विकास भयो भने शान्ति एक सपना मात्रै होइन, हाम्रो यथार्थ बन्न सक्छ। त्यसैले हामी सबैले आ–आफ्नो स्थानबाट मूल्य–आधारित जीवनशैलीको अभ्यास गर्नुपर्ने समय आएको छ। यही बाटो शान्तिको शिखरसम्म पुग्ने सत्य मार्ग हो।
आजको मानव सभ्यता अत्याधुनिक प्रविधि, तीव्र प्रतिस्पर्धा र भौतिक उपलब्धिमा केन्द्रित छ। तर यही सभ्यता आत्मकेन्द्रितता, लोभ, हिंसा र वातावरणीय विनाशले ग्रस्त हुँदै गएको छ। यस्तो अवस्थामा सत्कर्म र मानवीय मूल्यहरूको आवश्यकता कहिल्यैभन्दा बढी महसुस भइरहेको छ। सत्कर्म, अर्थात् परहितका लागि गरिएको शुभकार्य र मानवता, अर्थात् सबैप्रति प्रेम, करुणा, सहिष्णुता र समर्पण—यी मूल्यहरू नै साँचो सभ्यताको जरा हुन्।यी मूल्यहरूको पुनरागमन बिना विश्वमा स्थायित्व र शान्ति सम्भव छैन। जब व्यक्ति, समाज र राष्ट्र स्वार्थभन्दा माथि उठेर सहअस्तित्व र सेवा भावनामा अघि बढ्छन्, तब मात्र यथार्थ रूपले शान्ति र समृद्धि सम्भव हुन्छ। आजको संकट केवल आर्थिक वा राजनीतिक होइन—यो मूल्य संकट हो।
अब हामी सबैले आत्मकेन्द्रितताको सन्दूक खोली विश्वकल्याणको दीप प्रज्वलन गर्नुपर्ने घडी आएको छ। यसको अर्थ हो—हामीले व्यक्तिगत लाभभन्दा माथि उठेर समाज, राष्ट्र र सम्पूर्ण मानवताका लागि सोच्न सुरु गर्नुपर्छ। सत्कर्म र मूल्य–आधारित जीवनशैलीको पुनःस्थापना नै भविष्यको सभ्यता निर्माणको आधार बन्न सक्छ। यिनकै उज्यालोमा मात्र विश्वले स्थायी शान्तिको किरण देख्न सक्नेछ।
उप्रेती केलेनिका मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।
Subscribe
0 Comments
Oldest






























