नेतृत्वको चरित्र र समाजमा भ्रष्टाचारको प्रभाव

19.2K
shares
Nabil bank

 

 

नेतृत्वको चरित्रले समाजमा भ्रष्टाचारको स्तर र स्वरूप निर्धारण गर्ने महत्त्वपूर्ण भूमिका खेल्दछ। जब नेतृत्व इमानदार, निष्ठावान र जनसेवामा समर्पित हुन्छ, तब तल्लो तहका कर्मचारी र समग्र प्रशासनमा भ्रष्टाचार स्वतः कम हुन्छ। यस्तो नेतृत्वले स्पष्ट मापदण्ड स्थापना गरी पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्छ। तर जब नेतृत्व स्वार्थी र शक्तिलोलुप हुन्छ, तब भ्रष्टाचार एक संरचनात्मक समस्या बनेर फैलिन्छ। यस्तो अवस्थामा नीतिगत भ्रष्टाचारले नीति निर्माणदेखि कार्यान्वयनसम्म प्रभाव पार्छ र राष्ट्रिय विकासमा बाधा पुर्‍याउँछ। नेतृत्वको चरित्र कमजोर हुँदा प्रणालीमा कमजोरी आउँछ र नियम–कानुनको प्रभावकारिता घट्छ। यसले नागरिकको विश्वासमा गिरावट ल्याउँछ र सुशासनको सपना अधूरो रहन्छ। त्यसैले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी कदम मात्रै पर्याप्त छैन; नेतृत्वमा नैतिकता र निष्ठा अनिवार्य छ। नेतृत्वको चरित्र सुधार हुँदा मात्र समाजमा पारदर्शिता, उत्तरदायित्व र न्यायपूर्ण प्रशासन स्थापित हुन्छ। यसले दीर्घकालीन विकास र सामाजिक समृद्धिको मार्ग प्रशस्त गर्छ। नेतृत्व र भ्रष्टाचारबीचको यस घनिष्ठ सम्बन्धलाई बुझेर मात्र नेपालले सुशासन र समृद्धितर्फ अघि बढ्न सक्छ।

 

 

नेपाली समाज आज भ्रष्टाचारको गहिरो र जटिल दलदलमा फसेको छ, जहाँ व्यक्तिगत र संस्थागत अनैतिकताले आफ्नो जरा गाडिसकेको छ। इतिहासले देखाएको छ कि हाम्रो राजनीतिक व्यवस्था, जसले जनताको न्यूनतम नैतिक आशा र सबैभन्दा ठूलो जनदायित्व सम्हालेको थियो, आफैं नै अनैतिकताको प्रतीक बन्न पुगेको छ। देशको विकास र समृद्धि तर्फ अगाडि बढ्नु पर्ने समयमै, स्वार्थ र सत्ता संरक्षणको दौडले हाम्रो राष्ट्रिय प्रगतिको मार्ग अवरुद्ध भएको छ। यहाँ विडम्बना यो छ कि राजनीतिक नेतृत्व र शासन प्रणालीका अनुहार परिवर्तन त भएका छन् — नयाँ नाम, नयाँ व्यक्तित्व — तर भ्रष्टाचारको प्रवृत्ति यथावत् छ। नीतिगत भ्रष्टाचारको जाल यस्तो व्यापक र गहिरो छ कि यसले राज्यको नीति निर्माण प्रक्रियालाई नै आफ्नो हितमा मोडिदिएको छ। यस प्रकारको भ्रष्टाचार राजनीतिक निर्णय, नीति, तथा संसाधनको दुरुपयोगमार्फत गरिन्छ र यसले सामान्य जनता मात्र नभई राष्ट्रिय अर्थतन्त्रलाई समेत गम्भीर रूपमा प्रभावित पार्छ। संक्षेपमा भन्नुपर्दा, नेपाली समाजमा भ्रष्टाचार एक प्रचलित प्रवृत्ति जस्तो भइसकेको छ जसले राज्यको मूल संरचनालाई नै कमजोर बनाइरहेको छ।भ्रष्टाचार दुई धारामा प्रवाहित छ— खुद्रा र नीतिगत । खुद्रा भ्रष्टाचार त्यस्तो छ, जसले नागरिकको दैनिक जीवनमा तितो अनुभव दिन्छ— मालपोत, नापी, प्रशासन, अस्पताल, प्रहरीजस्ता सेवा केन्द्रहरूमा पाँच, पचास, सय, हजारमा सिण्डिकेट बनेको छ । यो सतही छ, तर सर्वव्यापी छ । यद्यपि, यस्तो भ्रष्टाचारको मात्रा घटाउन सकिन्छ— प्रभावकारी अनुगमन, डिजिटल सेवा, पारदर्शिता र जनउत्तरदायित्वको माध्यमबाट ।

 

नेपाली समाजमा भ्रष्टाचारको अन्त्य हुन नसक्नु कुनै संयोग होइन, बरु यो एउटा नियत प्रवृत्तिको परिणाम हो जसले समयसँगै आफ्नो रुप–रंग फेरिरहेको छ। यद्यपि हामीले देख्ने गरेका छौँ कि भ्रष्टाचारको मात्रा कम भएको छैन, तर यसको प्रकृति र स्वरूपमा परिवर्तन आएको छ। पहिला जहाँ छोटो रकमका घुसखोरीहरू, अनियमितताका साना–सानो काण्डहरू बढी थिए, अहिले भ्रष्टाचारले संस्थागत र नीतिगत रुप धारण गरिसकेको छ। यस अर्थमा भन्न सकिन्छ— भ्रष्टाचार घटेन, प्रवृत्ति फेरियो।

 

 

यो परिवर्तनको मूलमा छ नेतृत्वको चरित्र। नेतृत्वले मात्र होइन, नेतृत्वको नैतिकता र निष्ठा नै भ्रष्टाचारको प्रवृत्ति निर्धारण गर्छ। जब राजनीतिक नेतृत्व शुद्ध र इमानदार हुन्छ, तब तल्लो तहका कर्मचारीहरु स्वाभाविक रूपमा भ्रष्टाचारबाट टाढा हुन्छन्। तर यदि नेतृत्व नै स्वार्थी, शक्तिलोलुप र सत्ताधीश हुन्छ भने, त्यसको प्रतिबिम्ब तल्लो तहमा देखिन्छ, जसले सम्पूर्ण प्रशासनलाई भ्रष्टाचारको चक्रमा फसाउँछ। नेतृत्वमा निष्ठा नभएर भ्रष्टाचारको प्रवृत्ति झन् सञ्जालयुक्त, प्रणालीगत र सत्तासंगठित बन्दै जान्छ।

 

 

यसको अर्थ हो— भ्रष्टाचार कुनै व्यक्तिगत कमजोरी वा संयोग मात्र होइन; यो नेतृत्वको मूल चरित्रसँग गाँसिएको संरचनात्मक समस्या हो। नेतृत्वले आफ्नो पदलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्‍यो भने, भ्रष्टाचार नै नीति र शासनको आधार बनिदिन्छ। यस्तो अवस्थामा भ्रष्टाचार एक ‘रोग’ होइन, ‘संक्रमण’ बनेर सबै तह–स्तरमा फैलन्छ।

 

 

अतः परिवर्तनको वास्तविक मुटु नेतृत्वको चरित्रमा निहित छ। मात्र व्यवस्थामा सुधार, नियम–कानुन कडा गर्नु वा सजाय बढाउनु पर्याप्त छैन। नेतृत्व नै चरित्रवान, निष्ठावान र जनसेवामा समर्पित हुनु जरुरी छ। जब नेतृत्वको चरित्र स्वच्छ हुन्छ, तब मात्र भ्रष्टाचारको प्रवृत्तिलाई कटौती गर्न सकिन्छ, र समग्र समाजमा पारदर्शिता, जवाफदेहिता र सुशासनको संस्कार विकास हुन्छ।

 

यसैले भनिन्छ— भ्रष्टाचार घटेन, प्रवृत्ति फेरियो, र त्यो परिवर्तन सम्भव छ केवल नेतृत्वको चरित्रले नै निर्धारण गर्न सक्छ। यो सत्य स्वीकारेर मात्रै हामी भ्रष्टाचारमुक्त, समृद्ध र न्यायपूर्ण राष्ट्रको आधार तयार गर्न सक्छौं।

 

ठूलो भ्रष्टाचार केवल एकजनाबाट सम्भव हुँदैन । यो त्रिकोणीय गठबन्धनको परिणाम हो— सत्तामा बसेको राजनीतिक नेतृत्व, व्यावसायिक दलाल वर्ग, र प्रशासकीय कर्मचारी । राजनीतिक नेता अग्रणी भूमिका खेल्छ, बिचौलियाले आर्थिक गणित मिलाउँछ, र कर्मचारी कानुनी जाल बुनिदिन्छ । यही संरचना अनगिन्ती घोटालाको कारक हो ।

 

यदि नेतृत्व शुद्ध हुन्छ भने यो सञ्जाल स्वतः खुम्चिन्छ । किनभने राजनीतिक नेतृत्वलाई अनुशासित पार्न सकिने हो भने त्यसको नकारात्मक प्रभाव तल्लो तहमा स्वतः कम हुन्छ । नेतृत्वको नैतिकता नै भ्रष्टाचार नियन्त्रणको मेरुदण्ड हो । दुर्भाग्यवश, यहाँ मेरुदण्ड टेकेको छैन, टुटेको छ ।

 

भ्रष्टाचार नियन्त्रण गर्न गठित संवैधानिक तथा वैधानिक निकायहरू— अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग— सबै साधनस्रोतयुक्त छन् । तर, तिनको नेतृत्वमा योग्यता होइन, राजनीतिक साइनो र बफादारी हेरेर नियुक्ति हुन्छ । जब नियमनकारी अंगहरू आफैँ दलालका एजेन्ट बन्छन्, तब नियमनको होइन, संरक्षणको माध्यम बन्छन् ।

 

संविधानले सुझाएको उच्चस्तरीय नियुक्ति प्रक्रिया असल हो तर व्यवहारमा ‘सहमति’ होइन, भागबन्डा चल्छ । नियोगहरूमा दलका कार्यकर्ता, नेताको सचिव, व्यापारीका भरौटे राखिएपछि निष्पक्षता, निडरताको स्थान सत्ताको कृपावादले लिन्छ । अनि, प्रमुखहरू तामेलीमा राखेर, फाइल हराएर वा मुद्दा अलपत्र पारेर भ्रष्टाचारको प्रतिरक्षा गर्छन् ।

 

 

नेपालमा भ्रष्टाचार नियन्त्रण असफल हुनुको मूल कारणहरू अनुशासनको अभाव, शिक्षा प्रणालीको कमजोरी, नेतृत्वको नैतिक पतन र नागरिक उत्तरदायित्वको न्यूनता हुन्। जब नेतृत्व स्वयं अनैतिक हुन्छ, तब सुशासनको भाषणहरू केवल खोक्रा प्रचारमा सीमित रहन्छन्। कानुन निर्माण हुने तर कार्यान्वयनको इच्छाशक्ति नहुनु, नियमनकारी निकायहरूमा सत्ताको कृपाबाट पदाधिकारी नियुक्त हुनु, र नागरिक समाज तथा सञ्चारमाध्यमको कमजोर खबरदारीले भ्रष्टाचारलाई संस्थागत बनाएको छ। सत्ताले नीति र निष्ठाको अपहरण गरेर ‘शक्तिको संरक्षण’ मा भ्रष्टाचारलाई लुकाएको छ। यसको समाधान नेतृत्व सुधार, संस्थागत सुदृढीकरण र नागरिक जागरणमा निहित छ। प्रधानमन्त्रीदेखि स्थानीय तहसम्मका नेतृत्वले आफ्नो आचरणमार्फत इमानदारी प्रमाणित गर्नुपर्छ; नियुक्ति प्रक्रियामा योग्यता मात्र होइन, नैतिकता र निडरताको मापन हुनुपर्छ; र नागरिक समाजले अधिकारसँगै कर्तव्यप्रति पनि प्रतिबद्ध भएर निगरानीको भूमिका निर्वाह गर्नुपर्छ। जब जनताले प्रश्न गर्न थाल्छन्, सत्ता उत्तरदायी बन्न बाध्य हुन्छ। शिक्षा, सञ्चार र नीतिगत पारदर्शिता मिलेर जब नागरिक सचेत बन्छन्, तब मात्रै भ्रष्टाचार विरुद्धको लडाइँ सार्थक बन्छ। भाषण र नाराले होइन, निष्ठा र कार्यद्वारा मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ।

 

निष्कर्ष :

नेपालको समस्या संविधान होइन, चरित्र हो । कानुन होइन, प्रवृत्ति हो । परिवर्तन नाराबाट होइन, स्वभावबाट हुन्छ । जब नेतृत्वको बोली, व्यहोरामा मेल हुन्छ ; जब संस्थाहरू डर होइन, कर्तव्यले प्रेरित हुन्छन् ; जब नागरिकले अधिकारसँगै कर्तव्य पनि सम्झन्छन्, तब मात्र भ्रष्टाचारको अन्त्य सम्भव हुन्छ ।

त्यसैले आज हामीले भन्नुपर्छ— ईश्वर होइन, इमानदार नेतृत्व चाहिन्छ । जो इमानसँग सम्झौता नगर्ने होस्, जो मुलुकको नाममा पद ओगट्ने होइन, सेवा गर्ने होस् । जब यस्तो नेतृत्व उदाउँछ, तब नेपालको भाग्य बदलिन्छ । भ्रष्टाचार घट्छ, जनताको विश्वास बढ्छ र राष्ट्र समृद्धिको यात्रामा अग्रसर हुन्छ ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x