Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नाइमा मोबिलिटी एक्स्पो उद्घाटनमै आलोचना: प्रचार भव्य, व्यवस्थापन शून्य!

2K
shares

 

काठमाडौं- नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) को विकल्पका रूपमा अगाडि बढ्ने दाबीसहित आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरुवात हुनुअघि नै आलोचनाको घेरामा परेको छ। काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु हुन लागेको यो अटोमोबाइल प्रदर्शनी पहिलो दिनमै व्यवस्थापनको कमजोरी, पूर्वाधारको अभाव र असहज सेवाका कारण आलोचित बनेको छ।

 

 

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) को आयोजनामा साउन २५ गतेसम्म सञ्चालन हुने भनिएको एक्स्पोलाई आयोजकले नेपालकै अहिलेसम्मकै सबैभन्दा ठुलो अटो शोको रूपमा प्रचार गरेका थिए। तर, उद्घाटनकै दिन दर्शक र सहभागीहरूले स्टलहरू अधूरो, संरचना खिया लागेको, टिकट प्रणाली अव्यवस्थित र भौतिक पूर्वाधार अपुरो रहेको गुनासो गरेका छन्।

 

 

डबल प्लाईसहितको अन्तर्राष्ट्रिय स्तरको संरचना निर्माण गरिएको दाबी गरिए पनि उद्घाटनकै दिन स्टलहरू अझै निर्माणाधीन अवस्थामा देखिए। टिकट तिरेर भित्र छिरेका दर्शकहरूले आवश्यक जानकारी नपाएको, भित्र अधिकांश स्टल नखुलेको र कार्यक्रम अव्यवस्थित रहेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्।

 

 

सुरक्षा व्यवस्था पनि कमजोर देखिएको छ। महिला सुरक्षाकर्मीको अभाव, सामान चेक गर्ने प्रविधिको कमी र भिड व्यवस्थापनमा सुरक्षाकर्मीहरू स्वयं अराजक रूपमा प्रस्तुत भएको सहभागीहरूको गुनासो छ। आयोजकले सुरक्षा सम्बन्धी दाबी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नदेखिएको प्रतिक्रिया छ।

 

 

पठाओसँगको सहकार्यमा राइडमा ३० प्रतिशत छुट दिने भनिए पनि त्यो सुविधा प्रयोगकर्ताले प्राप्त गर्न सकेनन्। एपमा कोडले काम नगरेको, राइडरहरूलाई जानकारी नदिइएको र छुटको व्यवस्था मात्र प्रचारका लागि गरिएको भन्ने टिप्पणी सामाजिक सञ्जालमा देखिएको छ।

 

 

एक्स्पोमा १५ वटा दुई पाङ्ग्रे, १५ चार पाङ्ग्रे र ५ व्यावसायिक सवारीसाधन सार्वजनिक गरिने भनिए पनि तीमध्ये अधिकांश मोडेल पहिले नै अनलाइनमार्फत सार्वजनिक भइसकेका थिए। नयाँ प्रविधिको अनुभव लिन आएका दर्शकहरू पुरानै ब्रान्ड र मोडेल देखेर निराश भएका छन्।

 

 

नाडालाई विकल्प दिन नाइमा अगाडि आएको दाबी गरिए पनि पहिलो दिनमै देखिएको तयारीको कमी, अव्यवस्थापन र व्यावसायिक लाभप्रति केन्द्रित दृष्टिकोणका कारण यो एक्स्पो प्रचारमा जति भव्य देखियो, व्यवहारमा त्यति नै निराशाजनक साबित भएको छ। दर्शकहरूको भनाइमा कार्यक्रम उपभोक्तामैत्री भन्दा आयोजकमैत्री देखिएको छ।

civil hospital
Hams Hospitals