विकास र समृद्धि: दार्शनिक र व्यवहारिक दृष्टिकोण
वि.सं.२०८२ साउन २७ मंगलवार
shares
विकास र समृद्धि कुनै पनि राष्ट्रको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिको आधारशिला हुन्। दार्शनिक दृष्टिले, विकासलाई केवल आर्थिक वृद्धिले मात्र नपुग्ने, मानव जीवनको समग्र उत्थान र मूल्य वृद्धिले समृद्धि ल्याउने कुरा मानिन्छ। विकास भौतिक साधनहरूमा वृद्धिदेखि लिएर मानिसको चेतना, नैतिकता, शिक्षा र आध्यात्मिक उन्नतिको प्रक्रियासमेत हो। समृद्धि भनेको केवल धन-सम्पत्ति होइन, जीवनमा सन्तोष, स्वास्थ्य, न्याय र समानताले भरिएको अवस्था हो।
वास्तविकता भनेको विकास र समृद्धि बीच सन्तुलन स्थापित गर्नु नै चुनौती हो। कतिपय देशहरू आर्थिक दृष्टिले तीव्र विकास गरिरहेका छन् तर सामाजिक असमानता, प्रकृतिको विनाश र नैतिक पतनले समृद्धिको अनुभूति गर्न सकिरहेका छैनन्। यसले देखाउँछ कि केवल आर्थिक वृद्धिले विकासको मापदण्ड पुरा हुँदैन। दार्शनिक रूपमा, विकासको उद्देश्य मानव जीवनलाई पूर्णता तर्फ लैजानु हो, जसमा मनोवैज्ञानिक, सामाजिक र आध्यात्मिक पक्षहरूलाई समेत समेटिनुपर्छ।
व्यवहारिक दृष्टिले, विकास योजनाहरू प्रभावकारी हुन सामाजिक न्याय, पारदर्शिता र समावेशीताको प्रत्याभूति गर्नुपर्छ। नीति निर्माणमा जनताको सहभागिता र सरकारी उत्तरदायित्वले मात्र समृद्धि हासिल गर्न सकिन्छ। साथै, दिगो विकासका लागि पर्यावरण संरक्षण र प्राकृतिक स्रोतहरूको विवेकपूर्ण प्रयोग आवश्यक छ।
विकासको सम्भावनाको दृष्टिकोणले नेपाल जलस्रोत, कृषि ,पर्यटन, जडीबुटी, युवा जनशक्ति र अनुकूल प्राकृतिक वातावरणका सम्भावनाहरु बोकेको देश हो । विश्व मानचित्रमा नेपाल सार्वभौमसत्ता, अखण्डता र स्वाभीमान मुलुकको नाममा दर्ज भएको अवस्था विधमान छ । नेपाल न विगतमा कसैको अधिनस्थ बन्यो न त कसैको औपनिवेशिक गुलाम । यति धेरै स्वाभीमानी मुलुक अहिले किन कसैको परनिर्भरतामा अगाडि बढ्दैछ ? देश किन आत्मनिर्भर बन्न सकेको छैन ? यसको सूक्ष्म अध्ययन हुन सकेन भने देश अझै परनिर्भरतातर्फ अगाडि बढ्ने र देशमा आर्थिक, समाजिक, जातीय, भाषिक, द्वन्द्व जन्मने खतरा प्रवल छ ।
भौगोलिक, सामाजिक, सांस्कृतिक रुपमा विश्वमा सबैभन्दा अब्बल नेपाल अहिले परनिर्भरताको अन्तिम विन्दुमा पुगेको छ । भौगोलिक बनावट होस् कि उत्पादनमा नेपाल अब्बल मुलुक हो । यति धेरै सर्वसम्पन्नता मुलुकमा अहिले दैनिक खाने अन्न केही दिन विदेशबाट आयात नहुने हो भने हाहाकार हुन्छ । व्यवस्था परिवर्तन भयो तर जनताको जीवनस्तर परिवर्तन हुन सकेन । जबसम्म सिंगो देश र जनतालाई उत्पादन र कर्मसँग जोड्न सकिँदैन तबसम्म देश झन झन परनिर्भर हुनेमा कुनै शंका छैन । यसका लागि नेता हैन, जनता नै संवेदनशील हुन जरुरी छ । किनकि प्रयोगमा नै जीवनका सफलता सोच्नेहरु हामीभित्र असंख्य छन् । हाम्रो देश नबन्नुमा भ्रष्टाचार, भाग्यवाद, आफन्तवाद, नैतिकताको क्षयीकरण, परिवर्तन अरूमा खोज्ने प्रवृत्ति, कमजोर अर्थव्यवस्था, उदाहरणीय नेतृत्वको अभाव आदि जिम्मेवार छन्
नेपालको राजनीतिक इतिहास अध्ययन गर्दा पनि थाहा हुन्छ, ६ दशकमा नेपाली राजनीतिमा ठूला–परिवर्तन भएका छन्। तर दुर्भाग्य, ती राजनीतिक परिवर्तन स्थायी हुन सकेनन्। अर्कातिर त्यस्ता परिवर्तनले जनजीवनमा उल्लेख्य परिवर्तन गर्न सकेनन्।सबैखाले परिवर्तनपछि पनि नेपाली जनता नै बारम्बार पराजित हुनुप¥यो। सट्टामा जनता होइन, केही निश्चित समूह र व्यक्तिले जितिरहे। केही व्यक्ति नवधनाढ्य हुनु र केही निश्चित समूह र व्यक्तिको स्वार्थपूर्ति गर्नुबाहेक नेपालमा भएका त्यस्ता परिवर्तनले जनजीवन स्तरमा खासै महत्व स्थापित गर्न सकेनन्। इतिहासमा भएका त्यस्ता परिवर्तनले नेपालको राजनीतिक र सामाजिक जीवनमा जुन संस्कृतिको विकास गर्नुपर्ने हो त्यो हुन सकेन।सत्ता, शक्ति अनि सम्पत्तिमा मात्र राजनीति केन्द्रित हुँदा कस्तो भयाबह स्थिति पैदा हुँदोरहेछ भन्ने कुरा स्रोत साधनले सम्पन्न अफ्रिका र ल्याटिन अमेरिकी जनताका कष्टकर जीवन हेरेर थाहा पाउन सकिन्छ। त्यतिमात्र होइन, भ्रष्टाचार, राजनीतिक अस्थिरता अनि आन्तरिक द्वन्द्वले ग्रसित ती मुलुकमा बाह्य हस्तक्षेपको पनि अकल्पनीय उदाहरण देख्न सकिन्छ।
नेपालमा विकसित पछिल्ला घटनाक्रमका आधारमा कुन निष्कर्षमा पुग्न सकिन्छ भने असंख्य सम्भावना हुँदाहुँदै पनि नेपाल आफ्नै आन्तरिक राजनीतिक कमजोरीका कारण क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा इतिहासकै सबैभन्दा दयनीय अवस्थामा छ। २०७२ असोज ३ गते जारी नेपालको नयाँ संविधानपछि नेपाली राजनीतिमा विकसित घटनाहरूमाथि उल्लिखित नेपाली राजनीतिको एउटा द्योतकमात्र हो। आन्तरिक द्वन्द्व, राजनीतिक अस्थिरता, परिवारवाद र नातावादबाट माथि उठ्न नसक्दा नै यो अवस्था आएको हो। अन्यथा प्राकृतिक स्रोत साधनले सम्पन्न अनि दक्षिण एसियाली भूराजनीतिमा यति गहिरो महत्व हुँदाहँुदै नेपाल यति कमजोर अवस्थामा हुने थिएन।
रोलमोडल राजनीतिक नेतृत्वको अभाव देश बन्न नसक्नुको अर्को कारण हो । राज्यका हरेक नीतिहरू राजनीतिक छत्रछायामा हुर्केका हुन्छन । कुशल र सशक्त नेतृत्वको अभावमा मुलुक बन्दैन । बेलायतको नियन्त्रणबाट मुक्त भएपछि मलेसियासँग मिल्न गएको तर मलेसियाले फालिएको सिंगापुरले ली क्वानलाई नपाएको भए आज सिंगापुर बन्दरगाहमै मात्र सीमित हुने थियो ।विकासको आधुनिक मोडलमा सिंगापुरको विख्यात चर्चा हुँदै छ । सिंगापुर यो अवस्थामा आइपुग्नुमा ली क्वानको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता नै प्रमुख आधार बन्यो । युवा र ऊर्जावान्लाई स्थान दिनुले अर्को महत्वपूर्ण कडीका रूपमा काम गर्यो । त्यस्तै अस्तव्यस्तताको चंगुलमा रुमल्लिएको मलेसियालाई आधुनिक मलेसिया बनाउन महाथिर मोहम्मदले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले आर्थिक उदारीकरणका माध्यमबाट आर्थिक विकास हासिल गरे । उत्पादन, कृषि तथा पूर्वाधारमा जोड दिँदै अपेक्षित आर्थिक वृद्धि हासिल गरे ।
हाम्रा नेतामा यति वर्षभित्र मुलुकलाई यो ठाउँसम्म पु¥याउँछु भन्ने भिजन नभएर पनि समृद्धि नभएको हो । पार्टीका कार्यदिशा, कार्यकर्ता प्रशिक्षित गर्ने योजना, सबै क्षेत्रको समानुपातिक विकासको योजना अघि सार्न नसकेकै कारण देश पछाडि प¥यो । हाम्रो समाजमा गरिखाने विषय कहिल्यै प्राथमिक एजेन्डा बनेन । दलहरू पर्याप्त प्रगतिशील र लोकतान्त्रिक हुन नसक्दा समाज अगतिशील र राज्य विकृत भयो । फलतः सुशासन र स्वशासन भएन । तसर्थ स्वाभिमान र समृद्धि पनि आएन । तसर्थ हाम्रो सोच, राजनीति, प्रशासन र अर्थनीतिमा एक ठूलो फड्को आवश्यक छ । त्यसो गर्न सक्ने वा त्यतातिर जाने तत्परता, इच्छाशक्ति र साहस भएको राजनीतिक शक्तिलाई हामीले विकास गर्न सक्नुपर्दछ । अन्यथा देश बन्ने कुनै सम्भावना देखिँदैन ।
अनुशासन, हार्दिकता ,प्रेम र प्रशंसा सिकाउनुपर्ने विद्यालय र विश्वविद्यालयमा हामीले राजनीतिक दलको उद्देश्य पूरा गर्न विद्यार्थी संगठनको नाममा जिन्दाबाद र मुर्दाबाद सिकायौं। एकले अर्कोलाई गाली, घृणा र अविश्वास गर्न अनि ढुंगा हान्न सिकायौ। पक्षपात गर्न सिकायौं। विद्यार्थीलाई खास विद्यार्थी हुन दिएनौँ। विद्यालय र विश्वविद्यालयमा हामीले भ्रष्टाचार, अविश्वास र घृणा विजारोपण गरेका छौं। अहिलेको यथार्थ यही हो। हामीले कहिल्यै ध्यान दिएनौ।हाम्रो देश नबन्नुमा भ्रष्टाचार, भाग्यवाद, आफन्तवाद, नैतिकताको क्षयीकरण, परिवर्तन अरूमा खोज्ने प्रवृत्ति, कमजोर अर्थव्यवस्था, उदाहरणीय नेतृत्वको अभाव, प्रशासनिक तथा राजनीतिक अस्थिरता, बेरोजागारी, न्यून उत्पादन र उपभोक्तावादी विलासी सोच शैलीलाई जिम्मेवार मान्न सकिन्छ । सार्वजनिक प्रशासनका विज्ञ भ्रष्टाचारलाई अल्पविकसित मुलुकको विकासको शत्रुका रूपमा लिन्छन । खुुद्रदेखि नीतिगत तहसम्मको भ्रष्टाचार व्याप्त रहेको सन्दर्भ अब नयाँ रहेन ।
बालिका बेचबिखन, जबर्जस्ती करणी, सार्वजनिक स्थलमा धुम्रपान, जुवातास, लागुऔषध दुरुपयोग, हिंसा, महिलाविरुद्धको हिंसा, चोरी, डकैती, अपहरण, हत्या, बलात्कार, भ्रष्टाचार, रक्सी सेवन, घरेलु हिंसा यी नेपाली समाजका साझा सामाजिक समस्याका उदाहरण हुन्। सामाजिक दृष्टिले हेर्दा नेपालमा धेरै समस्या रहेका छन्। जातीय विभेद विशेषतः दलित समुदायमाथि भयावह छ भने लैङ्गिक असमानता र भाषिक समानता अझै कायम हुन सकेको छैन। यी समस्याहरूले समाजमा असहजता र अशान्ति बढाउँछन्।
नेपालको कर्मचारी तन्त्र पनि राजनीतिक दलहरूको कारणले प्रभावित भएको छ। कर्मचारीहरू राष्ट्रसेवक होइन, दलको सेवक बन्न पुगेका छन्। यसले प्रशासनिक क्षमतामा कमी आएको छ र शासन सञ्चालन कठिन बनेको छ। राजनीतिकरण र दण्डहीनताका कारण कर्मचारीहरूको विश्वास संकटमा परेको छ। नागरिक समाजका संघसंस्थाहरू पनि प्रभावकारी हुन सकेका छैनन्, प्रायः दलगत राजनीतिमा संलग्न भएर आफ्ना मूल्य र आदर्श गुमाएका छन्।
यस्ता अवस्थाले नेपालमा सामाजिक न्याय, सार्वजनिक प्रशासन र सुशासन कमजोर बनाएका छन्। नैतिकता, इमान्दारिता र मानवीय मूल्यहरूलाई प्रवर्धन गर्न आवश्यक छ। सार्वजनिक क्षेत्रलाई स्वच्छ, पारदर्शी र जवाफदेही बनाउन आध्यात्मिक र पद्धतिगत मूल्यहरूलाई आत्मसात् गरी काममा लाग्नुपर्नेछ।
अहिले देखिएको नैतिकता र पद्दतिको खडेरी एकैपटक भएको पनि होइन । लामो समयसम्म उचित ध्यान नपुग्दा र भएका मौलिक एवं नवीन पद्दतिले पनि दह्रो पाइला नटेकेकाले जताततै निष्ठा र अनुशासन हराएको अवस्था छ । हुन पनि भ्रष्टाचारजन्य घटना घटिरहनु, राजनीति र प्रशासन मात्र नभएर सामाजिक संस्था, वित्तीय संस्था, बजार, व्यक्ति सबैतर्फ विकृति विसंगति नियम मिच्ने, स्वार्थसिद्ध गर्ने तर आ–आफ्नो कर्तव्य, दायित्वप्रति भने उदासीन रहने क्रम बढेर गएको छ, जुन चिन्ताको विषय हो । हामीकहाँ कुनै पनि क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन । यसबाट थाहा हुन्छ कि नैतिकता पातलिएको, सदाचार भत्किएको र अनुशासन हराएको छ । अब एक–एक गरी असल गुणहरुको बिजारोपण गर्ने, भएका निष्ठावान व्यक्तिको पहिचान गरी जिम्मेवारी दिने, उदाहरणीयरूपमा कार्यसम्पादन गर्ने संस्था, संगठन र व्यक्तिबाट अन्यमा सिकाई हस्तान्तरण गर्ने जस्ता काम गर्न जरुरी छ । मूलतः राजनीति र प्रशासन जस्ता जिम्मेवार एवं राज्यसंचालनको अगुवाई लिनुपर्ने क्षेत्रमा देखिने, झांगिने र फैलने विकृतिको जड भनेकै नैतिकताको कमी, पद्धति तथा काम गर्ने कौशल एवं तौरतरिकाको अभाव हो ।
सार्वजनिक प्रशासनमा गरिने कार्य नैतिकताले ओतप्रोत भएको हुनुपर्छ । यस क्षेत्रमा सार्वजनिक कोषको प्रयोग हुने, सार्वजनिक नीतिको दायरामा पर्ने हुँदा संलग्न व्यक्ति पनि नैतिककर्ता हुन् । उनीहरूले गर्ने काम, जीवनशैली, व्यवहार, आचरण पनि अनुकरणीय हुनुपर्छ । हुन पनि सार्वजनिक प्रशासनमा संलग्न पदाधिकारीका काम सबैले नियालिरहेका हुन्छन् । उनीहरूको सफलता भनेको सार्वजनिक प्रशासनका विभिन्न संगठन तथा सरकारको सफलता र नागरिकको सेवा प्राप्तिसँग समेत जोडिएको हुन्छ । यसबाहेक संक्रमण र संकटमा समेत सार्वजनिक प्रशासक धैर्यतापूर्वक आफ्नो कर्मभूमिमा डटिरहन्छन् । प्रशासकको सफलताको कारक एवं कसी दुवै भनेको उनीहरू कति नैतिकवान तथा जवाफदेही छन् र कामअनुसारको कौशल वा कार्यकुशलता छ वा छैन भन्ने नै हो ।
सामाजिक रूपमा हाम्रो समाज विभाजित छ — जातीय, वर्गीय, लैङ्गिक भेदभाव अझै हटेको छैन। बालबालिका, महिलाहरू, साना जातिहरू तथा ग्रामीण क्षेत्रका नागरिकहरू विकासका मूलधारबाट पछि परिरहेका छन्। बालश्रम, बाल विवाह, मानव बेचबिखन जस्ता गम्भीर समस्याहरू अझै कायम छन्।आजको समयमा सबैभन्दा खतरनाक पक्ष भनेको व्यक्तिगत र सामूहिक नैतिकताको पतन हो। शिक्षा, धर्म, राजनीति, न्याय, प्रशासन — सबै क्षेत्रमा नैतिक मूल्यहरू क्षीण हुँदै गएका छन्। आजको युवा पुस्ता अनुकरण भन्दा प्रेरणाको खोजीमा छ तर पाउने नेतृत्व पात्रहरू भ्रष्ट, स्वार्थी र अनैतिक छन्।
नेपालको समृद्धि साकार पार्नका लागि राजनीतिक, सामाजिक र प्रशासनिक क्षेत्रमा अनुशासन, उत्तरदायित्व र नैतिकता अनिवार्य छन्। समस्याहरू जति जटिल भए पनि समाधान अवश्य छ, यदि हामी सही दिशा र दृढ संकल्पका साथ अगाडि बढ्यौं भने। जनताको चेतना र युवाहरूको सक्रिय भूमिका नै परिवर्तनको मूलशक्ति हो। साथै, ईमान्दार र संस्कारित नेतृत्वले मात्र देशलाई समृद्धिको बाटोमा लैजान सक्छ।
राजनीति र कर्मचारी प्रणाली दुवैलाई स्वच्छ र पारदर्शी बनाउन आवश्यक छ, किनभने दुवैको प्रभाव विकास र समृद्धिमा प्रत्यक्ष पर्छ। राजनीति सफा भएपछि मात्र विकासका परियोजनाहरू प्रभावकारी र न्यायपूर्ण रूपमा कार्यान्वयन हुन सक्छन्। त्यसैले राजनीतिक दलका नेताहरूमा उच्च चेतना, संस्कार र जिम्मेवारी भावना हुनैपर्छ।
समग्रमा, विकास र समृद्धि दुवैलाई अलग-अलग नभएर एकअर्काका पूरकका रूपमा हेर्नुपर्छ। दार्शनिक सूझबुझले मार्गदर्शन गरिरहेको छ भने व्यवहारिक रणनीतिले तिनलाई साकार पार्छ। यस्तो समन्वयले मात्र राष्ट्रलाई दीर्घकालीन प्रगति र सामाजिक समृद्धि प्राप्त हुन्छ।
नेपालको समृद्धि साकार पार्नका लागि राजनीतिक, सामाजिक र प्रशासनिक क्षेत्रमा अनुशासन, उत्तरदायित्व र नैतिकता अनिवार्य छ। समस्याहरू जति जटिल भए पनि समाधान अवश्य छ, यदि हामी सही दिशा र दृढ संकल्पका साथ अगाडि बढ्यौं भने। जनताको चेतना र युवाहरूको सक्रिय भूमिका नै परिवर्तनको मूलशक्ति हो। साथै, ईमान्दार र संस्कारित नेतृत्वले मात्र देशलाई समृद्धिको बाटोमा लैजान सक्छ।
राजनीति र कर्मचारी प्रणाली दुवैलाई स्वच्छ र पारदर्शी बनाउन आवश्यक छ, किनभने दुवैको प्रभाव विकास र समृद्धिमा प्रत्यक्ष पर्छ। राजनीति सफा भएपछि मात्र विकासका परियोजनाहरू प्रभावकारी र न्यायपूर्ण रूपमा कार्यान्वयन हुन सक्छन्। त्यसैले राजनीतिक दलका नेताहरूमा उच्च चेतना, संस्कार र जिम्मेवारी भावना हुनैपर्छ।
शैक्षिक क्षेत्रको सुधारले मात्र दीर्घकालीन रूपमा समृद्धि ल्याउन सक्छ। मानवीय मूल्य र आध्यात्मिक चेतनाको विकासले मानव संसाधनलाई बलियो बनाउँछ र सामाजिक सद्भाव कायम गर्छ। जब हामी शिक्षामा यस्तो परिवर्तन ल्याउँछौं, तब मात्रै हामी एक जिम्मेवार, सहिष्णु र प्रगतिशील समाज निर्माण गर्न सक्षम हुनेछौं।
समग्रमा, नेपाललाई समृद्ध राष्ट्र बनाउनका लागि सबै क्षेत्रहरूमा सहकार्य, जागरूकता र सकारात्मक परिवर्तन आवश्यक छ। यस दिशामा निरन्तर प्रयास र समर्पणले मात्र उज्ज्वल भविष्य सुनिश्चित गर्न सक्छ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन् ।)






























