सक्रिय नागरिक सहभागिता र लोकतन्त्रको दिगोपनामा यसको भूमिका
वि.सं.२०८२ साउन २९ बिहीवार
shares
लोकतन्त्रको सबलता र दिगोपनाको मूल आधार नागरिकको सक्रिय सहभागिता हो । लोकतान्त्रिक व्यवस्था निर्वाचनमार्फत नेता चुन्ने प्रक्रियामा मात्र सीमित हुँदैन । यसको जीवन्तता नागरिकको निरन्तर जागरूकता, सहभागिता र सार्वजनिक निर्णय प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नतामा निहित हुन्छ । जब नागरिक केवल मतदान गरेर राजनीतिक गतिविधिबाट टाढा रहन्छन्, लोकतन्त्र सुस्त, कमजोर र प्रभावहीन बन्छ ।
सक्रिय नागरिक सहभागिताले नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्छ । नागरिकले आफ्नो अधिकार र कर्तव्य बुझेर नीति र कानुनको बारेमा प्रश्न गर्ने, सुझाव दिने, र आवश्यक पर्दा विरोध जनाउने संस्कृति विकास गरे लोकतन्त्रमा शक्ति सन्तुलन कायम हुन्छ । यसले सत्तामा बसेकालाई जनताको अपेक्षाअनुसार काम गर्न दबाब दिन्छ, जसले भ्रष्टाचार, पक्षपात र नीति–दुरुपयोगलाई घटाउँछ ।
लोकतन्त्र दिगो बनाउन सहभागिता बहुआयामिक हुनुपर्छ । केवल राजनीतिक दलमा संलग्नता मात्र होइन, समुदायस्तरका अभियान, नागरिक समाजका गतिविधि, सार्वजनिक सुनुवाइ, सामाजिक सञ्जालमा विचार आदान–प्रदान, तथा अनुसन्धान र सचेतना अभियानमा संलग्नता पनि यसमा पर्छन् । यस किसिमको सहभागिताले नीतिगत त्रुटि छिट्टै उजागर गर्ने, सुधारका सुझाव दिने र सार्वजनिक सरोकारका मुद्दामा दबाब सिर्जना गर्ने वातावरण बनाउँछ ।
देशमा संस्थागत र संरचनागत अमूल परिवर्तन भइरहँदा पनि जनताको जीवनस्तरमा परिवर्तन आउन सकेको छैन । राजनीतिक खिचातानीले सरकार अस्थिर र असफल बनिरहेको छ । देशको मूल नीति राजनीति नै गडबड हुँदा आर्थिक, सामाजिक, सांस्कृतिक पक्ष पनि खलबलिन पुगेको अवस्था छ । लोकतन्त्र, गणतन्त्र, संविधान, प्रजातन्त्रजस्ता दिवस र राज्यका गतिबिधिमा जनताले प्रत्यक्ष सहभागिता जनाउन र अपनत्व महसुस गर्न सकिरहेका छैनन् । राजनीतिक दलको दलदलले जनता राज्यका गतिविधिमा उत्साहजनक र सम्मानसहित प्रतिनिधित्व गर्न र सहभागिता जनाउन सकिरहेका छैनन् । जुनसुकै परिवर्तन भए पनि जनताको भावना, सोच र दैनिकीमा परिवर्तन आएको छैन ।आजको लोकतन्त्र जनताका समस्या समाधान गर्ने माध्यम बन्न पाएको या बन्न सकेको छैन या त्यस्तो बन्न दिइएको छैन । यो केवल सत्ता संर्घषको एउटा निरन्तर चल्ने घटनाक्रमको रुपमा पथभ्रष्ट र बिकृत भएको या बिसंगत बनाइएको छ ।लोकतन्त्रमा पनि लोकको भलाई बिल्कुलै हुन छाडेको छ । हाम्रो राष्ट्र, राष्ट्रियता र सार्बभौमिक अखण्डतामाथि पनि अझ ठूलो संकट उत्पन्न भएको अवस्था छ ।
लोकतन्त्र शासन प्रकृयामा जनताकेन्द्रित शासन विधि हो । शासकीय प्रक्रियाका हरेक चरणमा सर्वसाधारणको प्रत्यक्ष संलग्नता र सहभागिता जरुरी छ । लोकतन्त्र जनताको शासन हो। सत्तामा रहनेहरूले ठूलो आवाजलाई मात्र सम्बोधन गर्ने प्रवृत्तिले प्रत्यक्ष लोकतन्त्रको अभ्यासबाट पनि लोकतन्त्रको प्रतिफल जनतालाई राम्ररी वितरण गर्न नसकेको अनुभूति हुन थाल्यो । यसलाई नियन्त्रण गर्दै अघि बढ्दा समस्याको समाधानभन्दा थप विकृति आमन्त्रणको परिस्थिति निर्माण भयो । त्यसैले लामो समयदेखि पछि पारिएका या परेका समूह, क्षेत्र, वर्ग र समुदाय पहिचान गरी उनीहरूको सही तवरले उत्थान गरिँदा मात्र लोकतन्त्र विवादरहित रहने निष्कर्षसाथ समावेशी लोकतन्त्रले २१औँ शताब्दीमा विश्वका लोकतान्त्रिक देशहरूमा मान्यता पाइरहेको छ ।समावेशी लोकतन्त्रको अभ्यासमा पनि समानताको विश्वव्यापी मानवअधिकारको मान्यतामाथि समझदारी हुने भएकाले यसमा पुनः योगदानकर्ता समूह, वर्ग, समुदाय, आदिको समर्थन र सहयोग हुनुपर्छ । लोकतन्त्रको हालको अभ्यासले यसलाई स्वीकार गर्न थालेको अवस्था छ ।
हाम्रो देशमा लोकतान्त्रिक भनिएको परिवर्तन पछि पनि जनताले दैनिक जीवनमा भावनात्मक रुपले राहत महसुश गर्न पाएका छैनन ।परिवर्तनले लोकतान्त्रिक संस्कृति र संस्कारको जुन नयाँ मूल्य मान्यताहरु विकसित र स्थापित गर्दछ र गर्नु पर्दछ भन्ने पुरानो मान्यता हो, त्यो पुरा हुन सकेको छैन ।।आजकल परिवर्तनको आन्दोलन र लोकतन्त्रका बीचमा कुनै सैद्धान्तिक, राजनीतिक, समाजिक र सांस्कृृतिक तालमेल र तादाम्यता देखिदैन । अल्पमतमा रहेकाहरूको सम्मान उनीहरूको आवश्यकतालाईसमेत सम्बोधन गर्दै बहुमतले शासन गर्ने सैद्धान्तिक अवधारणाका आधारमा लोकतन्त्रको अभ्यास गरिँदा बहुमतको ज्यादतीले सीमा नाघ्न थाल्यो ।
एउटा जीवन्त प्रणाली बनेर राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र सांस्कृतिका गतिविधिहरुमा लोकतन्त्रले ल्याउने नयाँ उन्नत संस्कारको विकास र त्यसलाई पोषण तथा मलजल गर्ने सार्थक राष्ट्रिय परिवेश पटक्कै बन्न सकेको छैन ।जसले एउटा राष्ट्रिय भावनाको विकास गरोस् र राष्ट्रियता र राष्ट्रिय सार्वभौमितालाई अझ सुदृढ तुल्याओस् । तर आज यसलाई यो महत्वपूर्ण र आधारभूत दिशाका बिपरीत साच्चै नै ‘लुटतन्त्र’को पर्याय बनाउदै लगिएको छ र बनाउन खोजिएको प्रष्टै देखिन्छ ।त्यसै आधारमा राजनीतिक दलहरु परिवर्तन ल्याउन त सक्छन् तर त्यसलाई ब्यबहारमा अनुबाद गरेर अघि बढाउन या सञ्चालन गर्न सक्तैनन् भन्ने निष्कर्ष आजका विश्लेषकहरुले निकाल्न थालेका छन् ।
तीब्र सत्ता लोलुपता, कुर्सीको मोह, देशको अर्थ–राजनीतिले कतै समर्थन र आधार प्रदान नगर्ने आश्चर्यजनक बिलाशी जीवन शैली, जनतालाई नगन्ने ठालु चिन्तन यी सबै कुराले प्रष्ट संकेत गरेको छ कि हाम्रो राजनीतिक नेतृत्व देश र जनताप्रति समर्पित हुने त्याग, निष्ठा र नैतिकताको आचरणबाट बिल्कुलै बिमुख भएको छ ।यसबाट मुक्त भएर लोकतान्त्रिक मूल्य पद्धति र आचरणका आधारमा चल्ने कुनै चिन्ता र चासो उनीहरुमा पटक्कै देखा परेन र पर्ने सानो लक्षण या संकेत समेत कतै टाढासम्म पनि देखिएको छैन ।निर्वाचनलाई पनि एउटा यान्त्रिक र कर्मकाण्डीय महँगो साधनका रुपमा मात्र प्रयुक्त गरेको घटनाक्रमले प्रष्ट पारेको छ । वस्तुतः यी सबै गतिबिधि र बिकृत संस्कार र संस्कृतिका पछाडि पिछडिएको सामाजिक परिवेशलाई बदल्ने प्रष्ट, गहिरो र गम्भीर दूरदृष्टिकोण नहुनु मूख्य कुरा हो भने त्यसमाथि बाहिरबाट भूमण्डलीकरणका नाममा लादिएको तीब्र उपभोक्तावादी संस्कृति समेतले यो नब सामन्ती संस्कृतिलाई ठूलो बल प्रदान गर्ने काम गरेको छ ।यो लोकतान्त्रिक संस्कृति र संस्कारविरुद्ध छ ।
यस गलत परिपाटीको समन नगरिएसम्म परिवर्तनको प्रवाहले सही बाटो समात्न र अघि बढ्न फेरि पनि सक्तैन । यो पटक पटक अनुभवसिद्ध र बस्तुगत सत्य कुरा हो ।हाम्रो देशको भू–धरातलीय रणनैतिक अबस्थिति, यहाँको जैबिक बिबिधता, जलश्रोत, दुर्लभ जडीबुटी, उर्बर जमिन, रमणीय हिम श्रृंखला र दर्शनीय पर्यटकीय स्थलहरु सबैले जुन बिकासको अत्यत्तै ठूलो सम्भावना प्रष्टसँग दर्शाउदछन् । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कारणले गर्दा लोकतन्त्र र राष्ट्रियता आज सर्बत्र संकटमा छन् र नेपाल लगायत बिश्वका नब लोकतन्त्र स्थापित देशहरु पनि यस्तै प्रकृतिका गम्भीर समस्याका बीचबाट गुज्रिरहेको अवस्था विधमान छ ।
पछिल्ला मध्यपूर्व, एशिया र कतिपय अफ्रिकी देशका राजनीतिक परिवर्तनपछिका अवस्थाले देखाउँछ, विदेशी हस्तक्षेप रोक्न दृढ राजनीतिक इच्छा, संकल्प र साहस आवश्यक छ । नेपालमा जनताले व्यवहारमा लोकतन्त्रको अनुभव पाएका छैनन् । कानुनी शासनको धज्जी उडाइँदै ठूला अपराधी उन्मुक्त छन् । संघीय, गणतन्त्रात्मक र धर्मनिरपेक्ष व्यवस्था भए पनि प्रत्यक्ष लोकतान्त्रिक अभ्यास भएको छैन । संविधानको गलत व्याख्यादेखि संसद् विघटनसम्मका घटनाले लोकतन्त्र व्यक्तिविशेषमा सीमित भएको देखाउँछ ।
आर्थिक रूपमा सबल नभएसम्म जनताले घरघरमा लोकतन्त्रको स्वाद पाउँदैनन् । २०६२–६३ को परिवर्तनले लोकतन्त्र स्थापना त गर्यो तर सोच र व्यवहारमा रूपान्तरण हुन सकेन । संरचनात्मक परिवर्तन जनजीवनमा असर पार्ने गरी कार्यान्वयन नभएकाले नागरिक असन्तुष्ट छन् । नेतृत्व स्वार्थकेन्द्रित हुँदा समयको माग बेवास्ता भएको छ । लोकतन्त्रका मूल्य, कानून र जनप्रतिनिधि भएर पनि जनविश्वास न्यून छ ।
शान्तिप्रेमी नागरिकले संवैधानिक स्थायित्व चाहन्छन् । यही संविधानलाई टेकेर सुधार गर्दै अघि बढ्नु उपयुक्त हुन्छ, मुख्य विषयवस्तु हिजो पनि आवश्यक थियो, आज पनि छ, भोलि पनि रहनेछ । लोकतन्त्रमा नागरिक मालिक र सरकार नोकर हो । तर सत्तामा पुगेपछि नेताहरू मतदातालाई बेवास्ता गर्दै उल्टै उपदेश दिने, संसाधन खर्च गरेर मञ्च खडा गर्ने र दुश्चक्र दोहोर्याउने गरेका छन् । यही प्रवृत्ति बदलिनु लोकतन्त्रको सबलताका लागि अपरिहार्य छ ।
डेढ दशकयता नेपाली समाजले सबैभन्दा बढी प्रयोग भएको राजनीतिक शब्दावली पनि लोकतन्त्र नै हो । तर जनता सधैंभरि लोकतन्त्रको लागि भोको पेट बाँच्न सक्दैनन् । राज्यका निकायबाट पाउनुपर्ने सबै सुविधा जनताले पाउने अवस्था भएमा मात्र लोकतन्त्रमा जनताको जित हुन सक्छ । लोकतन्त्रमा जनताका आशा, भरोसा, इच्छा र रुचिहरूको यथास्थानमा कदर हुने गर्दछ । सरकारको कार्यकुशलताकै अभावले लोकतन्त्र प्राप्तिका लागि तीन पटक सडकमा उत्रेका जनताको समृद्धिको चाहना सपनामै सीमित छ । विकास, सेवा सुविधा र सहुलियतमार्फत आमजनताको जीवनस्तर उकास्ने कुरा सरकार प्रतिवद्ध हुनुपर्दछ ।उत्तरदायी सरकार लोकतन्त्रको पर्याय हो ।सरकारको जनताप्रतिको अनुत्तरदायीपनलाई प्रभावकारी बनाइनु पर्दछ ।
लोकतन्त्रमा जिन्दावाद र मूर्दावाद मात्र भनेर हुन्न । देशको परिस्थिती, जनअपेक्षा र अभिभारा बुझेर सबैले मिलेर काम गर्नुपर्दछ ।लोकतन्त्रको लोकतान्त्रिकरण गर्नु पर्दछ । शासन व्यवस्थाको प्रवलीकरण मार्फत लोकतन्त्रको अनुभुती लोकतान्त्रिक दिलाउनु पर्दछ ।
नेपालजस्तो बहुसांस्कृतिक र बहुभाषिक समाजमा सक्रिय नागरिक सहभागिता अझ महत्वपूर्ण हुन्छ । विविध समुदायका आवाज नीति–निर्माणमा समेटिँदा मात्र लोकतन्त्रले सबैको प्रतिनिधित्व गर्न सक्छ । यसका लागि शिक्षाको पहुँच, सूचना प्रवाहमा समान अवसर, र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता अनिवार्य हुन्छ ।
लोकतन्त्रको दिगोपना सरकारको मात्र दायित्व होइन । जनताले आफूलाई शासनको केन्द्र मान्दै नीति प्रक्रियामा सरिक हुने, प्रश्न गर्ने, र समाधान खोज्ने अभ्यास गर्नु लोकतन्त्रको प्राण हो । सक्रिय सहभागिताविहीन लोकतन्त्र केवल कागजमा सीमित रहन्छ, तर सचेत र क्रियाशील नागरिक सहभागिताले यसलाई स्थायी, प्रभावकारी र न्यायपूर्ण बनाउँछ ।






























