आत्मचेतनाबाट जन्मिने नैतिक अनुशासन
वि.सं.२०८२ भदौ ५ बिहीवार
shares
मानव जीवनको सार्थकता भौतिक सफलता वा सामाजिक प्रतिष्ठामा सीमित छैन । यसको मर्म आत्मचेतना र आध्यात्मिक मूल्यमा निहित छ। आचरण, जसले व्यक्तिको स्वभाव, निर्णय, व्यवहार र अन्ततः समाजमा उसको प्रभाव निर्धारण गर्छ, त्यो बाह्य अनुशासन वा कानुनी दण्डद्वारा मात्र स्थायी रूपले सुधार गर्न सकिंदैन। आचरणको वास्तविक, दीर्घकालीन रूपान्तरणको मूल श्रोत भनेको आत्मचेतना र अध्यात्म हो—त्यो गहिरो आन्तरिक अनुभूति, जसले जीवनको गहिराइ बुझ्न सिकाउँछ, अरूको पीडा महसुस गर्न सक्ने संवेदना विकसित गर्छ, र प्रत्येक कर्मलाई सत्य, करुणा र विवेकको कसीमा तौल्न प्रेरित गर्छ।
जब मानिस आत्मचेतनाको स्तरमा पुग्दछ, तब उसले बाह्य विश्वसँगको सम्बन्ध मात्र होइन, आफूभित्रको शून्यता, लोभ, अहंकार, र मोहको जरा पनि देख्न थाल्दछ। यही आत्मावलोकनले उसलाई परिवर्तनको दिशामा धकेल्छ। बाहिरी नियमहरूले व्यवहार नियन्त्रण गर्न सक्छन्, तर अध्यात्मले आत्माको उत्प्रेरणा बदल्दछ। जब उत्प्रेरणा नै परिवर्तन हुन्छ, तब कर्म स्वतः नै धर्ममय हुन्छ।
गीता अध्याय ६ मा कृष्णले अर्जुनलाई भन्छन्—”उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्।” अर्थात्, “आफ्नो आत्माबाट आफैलाई उन्नत गर, अधोगति नगर।” यहाँ आत्म उन्नति भन्ने कुरा नै चेतनाको विस्तार हो—जो बाह्य इच्छाहरूबाट नभएर, आन्तरिक विवेकबाट सञ्चालित हुन्छ। यही विवेकमा आधारित चेतनाले नै नैतिक आचरणको मौलिक जग निर्माण गर्छ।
अध्यात्म कुनै एक धर्म विशेषको आडम्बर होइन; यो त जीवनको मूलभूत सत्यसँगको संवाद हो। जब मानिस स्वयम्लाई आत्माको रूपमा बुझ्न थाल्दछ—जसको प्रकृति नै शान्ति, करुणा, दया, क्षमा र संयम हो—तब आचरणको परिवर्तन देखावटी हुँदैन, त्यो जीवन पद्धतिको आधार बन्छ।
मानव जीवनको अस्तित्वलाई सन्तुलित, शान्त र गरिमामय बनाउनका लागि नैतिक अनुशासन अपरिहार्य तत्व हो। नैतिकता बाहिरी नियम वा सामाजिक दण्डको डरबाट मात्र उत्पन्न हुँदैन, यसको वास्तविक स्रोत आन्तरिक आत्मचेतना हो। आत्मचेतना भन्नाले व्यक्ति आफ्नै अस्तित्व, कर्तव्य, कमजोरी र सम्भावनाप्रति सचेत हुने अवस्था बुझिन्छ। जब मानिस आफैँभित्र डुबेर आफ्नो अन्तरात्माको आवाज सुन्छ, त्यतिबेला उसले सही–गलत छुट्याउने, सदाचरणलाई आत्मसात गर्ने र अनुशासनलाई जीवनमा उतार्ने क्षमता प्राप्त गर्छ।
नैतिक अनुशासन आत्मचेतनाबाट जन्मिन्छ भन्ने विचारलाई बुझ्नका लागि हामीले पहिले बाहिरी र आन्तरिक नियन्त्रणबीचको भिन्नता देख्नुपर्छ। बाहिरी नियन्त्रण राज्यका कानून, समाजका परम्परा वा धर्मका नियमद्वारा निर्धारण हुन्छ। तर यी सबै केवल मानिसलाई डर, सम्मान वा प्रतिष्ठाको कारणले सदाचार गर्न प्रेरित गर्छन्। तर, जब मानिस आफ्नो आत्मालाई बुझेको हुन्छ, उसलाई कुनै बाहिरी डर आवश्यक हुँदैन। किनकि उसको अन्तरात्माले नै मार्गदर्शन गर्छ—यो कर्म उचित हो वा अनुचित। यस्तो चेतनाले मानिसलाई स्वतः अनुशासित र नैतिक बनाउँछ।
आत्मचेतना केवल व्यक्तिगत कल्याणका लागि मात्र नभई सामाजिक हितका लागि पनि महत्वपूर्ण छ। आत्मचेतनायुक्त व्यक्ति अरूको अधिकारलाई सम्मान गर्छ, अरूको पीडा बुझ्छ, र समाजमा सहिष्णुता, दया र सहयोगको वातावरण निर्माण गर्छ। आत्मचेतना नभएको व्यक्तिले प्रायः स्वार्थ, लालच र अहंकारमा बाँधिन्छ, जसले गर्दा नैतिक अनुशासन कमजोर हुन्छ। तर आत्मज्ञान प्राप्त व्यक्तिले आफ्ना इच्छालाई नियन्त्रण गर्न, प्रलोभनलाई अस्वीकार गर्न र कर्तव्यलाई प्राथमिकता दिन सक्छ।
नैतिक अनुशासनको अर्को विशेषता दीर्घकालीन स्थायित्व हो। बाहिरी नियम केवल अस्थायी रूपमा मानिसलाई नियन्त्रण गर्न सक्छन्। जब अवसर मिल्छ, मानिस उल्लङ्घन गर्न सक्छ। तर आत्मचेतनाबाट जन्मिएको अनुशासन स्थायी हुन्छ, किनकि यो व्यक्तिको आन्तरिक विश्वास र मूल्यमा आधारित हुन्छ। उदाहरणका लागि, यदि कसैले चोरी नगर्ने कारण केवल कानूनको डर हो भने, प्रहरीको उपस्थिति नभएमा ऊ चोरी गर्न सक्छ। तर आत्मचेतनायुक्त मानिसलाई चोरी गर्ने कुरा नै आत्मविरोधी र गलत लाग्छ, त्यसैले ऊ स्वेच्छाले त्यो कार्य नगर्छ।
नैतिक अनुशासन केवल नियम वा कानूनी संरचनाले टिकाइराख्ने विषय होइन। यो मानव आत्माको गहिराइमा जन्मिने स्वस्फूर्त अनुशासन हो। बाहिरी कानून डर जगाउँछ, तर आत्मचेतना विवेक जगाउँछ। डर क्षणिक हुन्छ। विवेक स्थायी हुन्छ। त्यसैले स्थायी नैतिकता बाहिरी व्यवस्थाबाट होइन, आत्मभित्रको उज्यालोबाट जन्मन्छ।
आजको समाज संकटमा छ। मूल्य खस्किँदै छन्। व्यवहार स्वार्थले सञ्चालित छ। मानिसको सम्बन्ध लालच र अहंकारमा बाँधिएको छ। यस रोगको औषधि न बाहिरी सजाय हो, न सतही शिक्षा। यसको मूल उपचार आत्मचेतनामा आधारित आध्यात्मिक जागरण हो। चेतनाको दीप प्रज्वलित भए मात्र अन्धकार हट्छ। नियमले बाटो देखाउँछ। तर चेतनाले मात्र दिशाको बोध दिन्छ।
आत्मचेतना भनेको आफ्नो अन्तरात्मासँगको संवाद हो। यो आत्म–अवलोकन हो। आफ्नो कमजोरी स्वीकार गर्ने साहस हो। जब व्यक्ति ईर्ष्या, लोभ वा क्रोधलाई आफ्नो भित्री शत्रु ठान्छ र ध्यान, योग वा सत्सङ्गद्वारा त्यसलाई रूपान्तरण गर्छ, तब वास्तविक अनुशासन जन्मिन्छ। यस्तो अनुशासन बाहिर देखाउनको लागि होइन। यो आत्मिक पवित्रताको स्वाभाविक प्रस्फुटन हो।
सत्य, करुणा, क्षमा, सहिष्णुता—यी गुणहरू किताबले थोपर्दैन। यी आत्मिक चेतनाको माटोमा मात्र अंकुरित हुन्छन्। आत्मचेतना बिना मानिस नियमपालन त गर्छ, तर अवसर मिल्दा विचलित हुन्छ। तर चेतना जागेको व्यक्तिले गलत कार्य गर्न सक्दैन। किनकि उसको विवेकले उसलाई भित्रैबाट बाँध्छ। यो नै आत्म–अनुशासन हो।
आध्यात्मिक दृष्टिकोणले जीवन व्यवस्थापन गर्दा, आचरण केवल व्यवहारिक शिष्टाचार रहँदैन। यो तपस्या बन्छ। प्रत्येक श्वास ब्रह्मसँगको संवाद हुन्छ। जीवन सेवा र समर्पणको यात्रा हुन्छ। यस्तो जीवनले केवल व्यक्तिगत मुक्ति दिन्छैन; यसले समाजमा शान्ति, मेलमिलाप र स्थिरता जन्माउँछ।
आज मूल्यहीनताले भरिएको सभ्यता भासिएको जहाजजस्तो छ। यसलाई किनारमा पुर्याउने शक्तिशाली पतवार अध्यात्मिक चेतना हो। बाहिरी ऐश्वर्य चमक मात्र हो। आन्तरिक जागरण स्थायित्व हो। चेतना बिना सभ्यता अस्थिर हुन्छ। चेतना सहित सभ्यता अमर हुन्छ।
उदाहरण स्पष्ट छ। कानूनी डरले मानिसलाई चोरीबाट रोक्न सक्छ। तर प्रहरी नभएको ठाउँमा, स्वार्थले फेरि उचाल्छ। आत्मचेतनाले भने रोक्छ। किनकि चेतनाले उसलाई सम्झाउँछ—चोरी मेरो आत्माको अपमान हो। यस्तो आत्म–अनुभूति कुनै बाहिरी सजायभन्दा शक्तिशाली हुन्छ।
यसैले, शिक्षा होस् वा शासन, समाज होस् वा धर्म—सबैको लक्ष्य आत्मचेतना जागरण हुनुपर्छ। कानूनी संरचना सहायक हो, तर मूल औषधि होइन। चेतनाको क्रान्ति बिना कुनै सुधार दीर्घकालीन हुँदैन।
अन्ततः, आत्मचेतना नै नैतिक अनुशासनको मेरुदण्ड हो। यसले व्यक्ति स्वार्थबाट मुक्त हुन्छ। सेवा र प्रेममा खिचिन्छ। समाजमा सौहार्द र सहअस्तित्व बढ्छ। राष्ट्र स्थायित्व र समृद्धितर्फ उन्मुख हुन्छ। चेतनाले मात्र आचरणलाई शुद्ध गर्छ। शुद्ध आचरणले मात्र जीवनलाई सार्थक बनाउँछ। यही नै मानवीय अस्तित्वको सर्वोच्च सत्य हो।
जीवन कुनै यान्त्रिक प्रणाली होइन; यो चेतनाको तरंगमा बगिरहेको एक अनन्त प्रवाह हो। जब जीवनको मूल आधार भौतिक लोभ, इन्द्रियासक्ति र स्वार्थमा जकडिन्छ, तब व्यवहार विकृत, संस्कार विस्मृत र आचरण प्रदूषित बन्छ। यिनै अन्धकारहरूबाट मुक्तिको मार्ग भनेको अध्यात्म हो—जहाँ बाहिरी संसारको आकर्षणभन्दा आत्मिक मौनको शान्ति गहिरो हुन्छ। अध्यात्म भनेको धर्मको कठोर अनुशासन मात्र होइन, यो त आत्माको स्वरुप पहिचान गर्ने आन्तरिक दृष्टिकोण हो।
अध्यात्मले मनुष्यको व्यवहार एवं आचरणलाई सुधार गर्छ र उसको गलत संस्कारहरूमा परिवर्तन ल्याइ उसलाई असल मानवीयताको बोध गराउँछ । आध्यात्मिकताकै कुरा गर्दा योग र ध्यानको प्रसङ्ग पनि जोडिएर आउने गर्छ । योग र ध्यानले मनुष्यको विचारलाई श्रेष्ठ र व्यवस्थित तुल्याउँछ । साथै यसले हाम्रो मनको एकाग्र शक्ति बढाउँछ । जसले गर्दा ईष्र्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रो मनमा जरा गाड्न पाउँदैन । वास्तवमा मनुष्य जीवनमा आइपर्ने सबै किसिमका व्यावहारिक समस्याहरूको समाधान मानिसको मनोभावनामा आधारभूत परिवर्तनबाट नै हुन सक्तछ र मनोभावनामा आधारभूत परिवर्तन ल्याउनु नै आध्यात्मिक ज्ञानको मुख्य उद्देश्य हो । आध्यात्मिक ज्ञानमा नै मानिसको विचार, भावना अनि मनोकाङ्क्षालाई सही दिशा दिने शक्ति अथवा क्षमता अन्तरनिहीत हुन्छ ।
अशल कर्म र सजायको ब्याख्याले पनि धार्मिक र आध्यात्मिक चिन्तनलाई निर्धारण गर्छ । यस्तो यस्तो कर्म गर्यो भने सजाय मिल्छ भनेर धर्ममा ऊल्लेख गरिएको हुन्छ । आध्यात्मिक चिन्तनमा अशल कर्मप्रति आकर्शणको ब्याख्या गरिएको हुन्छ। सदैव अशल कर्म गर्यो भने नर्कको डर मान्नु नै पर्दैन । धर्म त एऊटा कानुन जस्तो मात्र प्रतित हुन्छ धारण गरिएन भने ठूलो सजाय मिल्छ। आध्यात्म त शालीन र आदर्श जीवनशैलीको महत्वपूर्ण अंग हो ।यो पनि सही कुरा हो कि नैतिकता, पवित्र जीवनमूल्य, नकारात्मक कार्य र विचारबाट बच्नको लागि सामाजिक र राष्ट्रिय जीवनलाई आघात पुर्याउनुलाई पाप सम्झिनु, परोपकार, सत्य, न्याय, कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्य सदैव हाम्रो जीवनले प्रकाशित गर्ने गर्छ । यसमा कहिलै पनि विश्वास कम हुन दिनुहुँदैन । यही सच्चा अध्यात्म हो ।
आध्यात्मिक चिन्तनले संपूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ । आध्यात्मिक बाटोमा कुनै निश्चित नियम कानुनको बन्देज हुंदैन। तपाईंहाम्रो अन्तरआत्माले सत्य मानेको, चिन्तन गरेको सत्य नै आध्यात्मिक सत्य हो। कतिपय धार्मिक स्थानमा अर्को धर्मका अनुयायीहरूलाई प्रवेश दिईंदैन । आध्यात्मिक चिन्तनमा कुनै तगारो, नियम कानुन हुँदैन ।धर्मले सत्य बताउँछ ।
अधिकार र जिम्मेवारीहरू मिलाएर व्यावहारिक जीवनमा निरन्तर सुधार ल्याउन अध्यात्मको मार्गदर्शन महत्त्वपूर्ण भूमिका खेल्दछ । संस्कार, आचरण र व्यवहार सँगसँगै एक स्वस्थ समाजको निर्माणका लागि अध्यात्मले अवश्यक मार्गदर्शन र प्रेरणा प्रदान गर्दछ । संस्कार र व्यवहारलाई सुधार्ने क्रममा अध्यात्मिक अभ्यासहरूले मानिसलाई आफूलाई जान्ने, आत्मिक बल र उच्च नैतिक मूल्यका साथ जीवन यापन गर्न प्रोत्साहित गर्छ। यसले समाजमा व्यक्तिगत र सामूहिक स्थायित्वको संवर्धन गर्न मद्दत गर्दछ ।
अध्यात्ममा आधारित संस्कारहरूले मानिसलाई आफ्नो कर्तव्य र दायित्वहरूको सही मूल्यांकन गर्न मद्दत गर्दछ । अध्यात्मिक शिक्षाले व्यक्तिलाई सत्य, अहिंसा, प्रेम, करुणा, सहनशीलता, आस्था र आत्मसंयमजस्ता उच्च गुणहरूको अभ्यासमा लाग्न प्रेरित गर्दछ। जब एक व्यक्ति यी आदर्शहरू आफ्नो जीवनमा आत्मसात गर्छ, तब उसले समाजमा आचरणका दृष्टिकोणबाट सकारात्मक परिवर्तन ल्याउन सक्छ ।अध्यात्मिक संस्कारहरूले मानिसको अन्तरात्मालाई शुद्ध बनाउँछ। शुद्ध मन र विचारले मात्र व्यक्ति आफ्नो व्यवहार र आचरण सुधार्न सक्दछ। संस्कारका यी मूलतत्त्वहरूले व्यक्ति र समाजबीचको सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुर्याउँछन्, जसका कारण नैतिक समाजको निर्माण सम्भव हुन्छ। अध्यात्मिक अभ्यासहरूले मानिसलाई जीवनका सही उद्देश्यहरूको खोजीमा मद्दत गर्दछ र उनले आफ्ना कार्य र आचरणलाई साँचो मार्गमा स्थापित गर्न सक्छन्।
जीवनको मूल पाटो बाह्य भौतिक ऐश्वर्यमा होइन, आत्मिक शुद्धिमा निहित हुन्छ। आत्मा, परमात्मा, माया, जन्म–मृत्यु र पुनर्जन्मको गूढतम रहस्यहरूलाई बुझ्न सक्ने सर्वोत्कृष्ट साधन अध्यात्म हो—जो विवेक, विचार र अन्तर्बोधद्वारा प्रेरित हुन्छ। यो दर्शन मात्र होइन, हाम्रो सांस्कृतिक आत्माको आवाज हो, उपनिषद्को दिव्य समर्पण र ऋषि–मुनिहरूको जीवन्त शिक्षाको सङ्ग्रह हो।
जब जीवन अध्यात्मिक चेतनाबाट निर्देशित हुन्छ, तब आचरण स्वाभाविक रूपमा निर्मल हुन्छ। व्यक्ति आफ्नो क्रोध, ईष्र्या, द्वेष र वासनात्मक भावनालाई नियन्त्रणमा राख्दै सहिष्णुता, करुणा र प्रेमको माध्यमद्वारा समाजसँग सम्बन्ध विस्तार गर्न थाल्दछ। ध्यान र योग जस्ता अभ्यासहरूले आत्माको गहिराइमा डुबेर अन्तर्मनलाई शुद्ध गर्छन्, जसले व्यवहारमा सन्तुलन र संस्कारमा उच्चता ल्याउँछ।
अध्यात्मिक जीवनशैली भनेको आत्म–साक्षात्कारको यात्रा होइन, यो त जिम्मेवारी, कर्तव्यनिष्ठा र परोपकारको चेतनाले अभिप्रेरित कार्यशील पथ हो। यसले मानिसलाई समाजप्रतिको दायित्व बोध गराउँदै सत्य, न्याय र शान्तिको स्थायित्वमा योगदान पुर्याउँछ। जब व्यक्ति आफ्ना विचार, भावना र कर्मलाई आत्म–अनुशासनद्वारा निर्देशित गर्छ, तब उसको जीवन एक प्रकाशपुञ्ज बन्छ—जसले आफू मात्र होइन, सम्पूर्ण समाजलाई नैतिक पुनर्जागरणतर्फ डो-याउँछ।
अध्यात्मिक चेतना आचरण व्यवस्थापनको मेरुदण्ड हो, जसले व्यवहारमा विवेक, संस्कारमा शालीनता, र जीवनमा लक्ष्यता प्रदान गर्दछ। यही चेतनाले नै जीवनलाई आत्माभिमुख, उदात्त र सार्थक बनाउँछ—जहाँ हर एक श्वासमा ब्रह्मको अनुभूति सम्भव हुन्छ, र जीवन आफैँ एक निर्मल यात्राको प्रतीक बन्छ। तब समाजको सम्पूर्ण आचरण नै सुधारिन्छ र त्यो समाज अझै अधिक समृद्ध र सुखी बन्न सक्छ।
जीवनको मूल यात्रामा जब चेतना विकृत भावनाहरू—जस्तै ईर्ष्या, द्वेष, घृणा र प्रतिशोध—द्वारा संचालित हुन्छ, तब सामाजिक सम्बन्धमा विष घुल्छ, मानवता ओझेल पर्छ र सभ्यताको मूल्य स्खलित हुन्छ। यस्ता अव्यवस्थित मनोवृत्तिहरूको व्यवस्थापन कुनै बाह्य प्रशासनिक संरचनाले होइन, केवल आन्तरिक अध्यात्मिक अनुशासनले गर्न सक्छ। अध्यात्म मार्ग भनेको केवल आस्थाको विषय होइन, यो आत्मसंवादको प्रक्रिया हो, जसले व्यक्ति–व्यक्ति बीचको दूरीलाई प्रेम, क्षमा र सहिष्णुताद्वारा पुलमा रूपान्तरण गर्छ।
जब व्यक्ति अध्यात्मिक चेतनामा उन्नत हुन्छ, उसले आफ्ना कमजोरीहरूलाई आत्मावलोकनद्वारा पहिचान गरेर सुधारको यात्रामा लाग्दछ। यसले उसलाई अरूको दोष देख्ने होइन, आफूभित्रको अज्ञान हटाएर ज्ञानको उज्यालो फैलाउने साधक बनाउँछ। अध्यात्मले आत्मा र परमात्माबीचको सम्बन्ध पुनःस्थापित मात्र गर्दैन, यसले सामाजिक न्याय, करुणा र सहअस्तित्वका मूल्यहरू पनि पुनःस्थापित गर्दछ।
त्यसैले भन्ने गरिन्छ—धार्मिकता बाह्य अनुशासन हो, तर अध्यात्मिकता अन्तर्यात्रा हो। प्रत्येक अध्यात्मिक व्यक्ति धर्मका वास्तविक मर्मसँग अनुरूप हुन्छ, तर प्रत्येक धार्मिक व्यक्ति अध्यात्मिक नहुन सक्छ।
आजको सन्दर्भमा, अध्यात्म मार्गको पुनराविष्कार कुनै वैकल्पिक अभ्यास होइन, यो एक अनिवार्य सामाजिक आवश्यकता हो—नैतिक प्रशासन, आत्मिक शान्ति, र समष्टि चेतनाको निर्माणका लागि। जब प्रत्येक नागरिकले आफ्ना विचार, वाणी र कर्मलाई अध्यात्मिक मूल्यद्वारा निर्देशित गर्न थाल्छ, तब समाजमा शान्ति र समृद्धिको स्वाभाविक वर्षा हुन्छ। यही मार्ग हो—जीवनको परम अर्थ, सत्य र परमात्माको साक्षात्कार गर्ने उज्यालो पथ।






























