कुरियर व्यवसाय बदनाम गर्दै कुरियर सङ्घका अध्यक्ष
वि.सं.२०८२ भदौ ५ बिहीवार
shares
काठमाडौँ । कुरियर व्यवसायमा अवैध कामको सिलसिला निक्कै चलेको छ । नेपालमा कुरियर व्यवसाय गर्नेहरूका कर्तुत एकपछि अर्को बाहिरिन थालेको छ । तीन वटा नाम भएका कुरियर सङ्घका अध्यक्षको काम नै अवैध भएकोमा छानबिन भइरहेको छ ।
दीपेश सुवेदी,उर्फ दुर्गाप्रसाद सुवेदी र आफूलाई डिपी सुवेदी भनेर चिनाउने अध्यक्षलाई पछिल्ला दिनमा गैर कानुनी सामानमा संलग्न भएको आरोप लागेको छ ।
सामाजिक सञ्जालमार्फत विभिन्न कुरियरवालालाई प्रयोग गरी प्रतिबन्धित तथा अवैध वस्तु सङ्कलन गर्ने र ती सामान एपेक्स ग्लोबल लजिस्टिक कम्पनीमार्फत पठाउने गरेको खुलेको छ । टिकटक र फेसबुक जस्ता प्लेटफर्ममार्फत गलत प्रचारबाजी गरेर अवैध सामान पठाउने र समस्या परे भाग्ने प्रवृत्ति पनि बढ्दो छ ।
उनीहरूले सरकारी निकायलाई पनि पहुँचमा पारेर ठुलो मात्रामा राजस्व छली गरिरहेको भन्सार कार्यालयका एक कर्मचारीले बताए । सामानभित्र सुन भेटिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनीहरूलाई अनुसन्धानको घेरामा राखेको छ । अनुसन्धानमा रहेको विषय उनीहरूले नै विज्ञप्ति जारी गरेर स्वीकार गरेका छन् ।
कतिपय कुरियर कम्पनीहरूले बिल नै नकटाई सामान पठाउने गरेका छन् भने कार्गो एण्ड कुरियरले प्यान बिलमा नै १३% भ्याट राखेर बिल काट्ने गरेको उजुरी आएको छ । एक व्यवसायीका अनुसार, ‘प्रतिबन्धित सामान हालेर हामी पठाइदिन्छौँ भन्दै अतिरिक्त भ्याटसहित बिल काट्ने काम भइरहेको छ, जुन पूर्ण गैर कानुनी हो।’
यस विषयमा कुरियर सङ्घका महासचिव राजकुमार सामरीले पनि केही समस्या रहेको स्वीकार गरेका छन् । उनले भने, “कुरियर व्यवसायभित्र विकृति फैलिएको छ । अध्यक्षज्यूकै कम्पनीलाई समेत हामीले जवाफ मागिसकेका छौँ ।” उनका अनुसार, केही राम्रा व्यवसायी भए पनि केही गैर कानुनी क्रियाकलापका कारण सम्पूर्ण व्यवसाय नै बदनाम भइरहेको छ ।
सामरीले संघले यस्ता विकृतिलाई नियन्त्रण गर्न कदम चालेको उल्लेख गर्दै भन्सार प्रशासनकै मिलेमतोमा अवैध सामान पास हुने घटनाले समस्या झन् गम्भीर बनेको बताए ।
कुरियर व्यवसाय नियमनमा कमजोरी, सामाजिक सञ्जालमार्फत अवैध धन्दा र सरकारी निकायको मौनताले गर्दा सम्पूर्ण क्षेत्र विवादमा परेको छ । यसले न त व्यवसाय सुरक्षित देखिएको छ, न त राज्यले उठाउनुपर्ने राजस्व नै सुरक्षित भएको छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:
































