Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

१ लाख ७६ हजार दर्शकसहित नाडा अटो सो २०२५ सम्पन्न, महासंघमा रूपान्तरणको घोषणा

1.5K
shares

काठमाडौँ। नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो सो २०२५’ १ लाख ७६ हजारभन्दा बढी दर्शकको उपस्थिति सहित सम्पन्न भएको छ ।६ दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा चलेको प्रदर्शनीले सुस्ताएको अटोमोबाइल बजारमा नयाँ उत्साह थप्दै देशको अर्थतन्त्रलाई नै गति दिने अपेक्षा गरिएको छ ।

सो समापनसँगै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफूलाई ‘महासंघ’ मा रूपान्तरण गर्ने ऐतिहासिक घोषणा समेत गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिएको १७औँ संस्करणको यो अटो सो विगतका वर्षहरूभन्दा प्रविधि, व्यवस्थापन र आकर्षणका हिसाबले निकै बृहत् र भव्य रहेको आयोजकको दाबी छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आइतबार आयोजित समापन समारोहमा नाडा अध्यक्ष करण चौधरीले सो सफल बनाउन सहयोग गर्ने सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् ।उनले यो अटो शोले अटोमोबाइल व्यवसायलाई मात्र नभई देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

 

यस वर्षको शोको मुख्य आकर्षणमा उड्ने सवारीसाधन (फ्लाइङ कार), रोबोटिक म्यान र डग रहेका थिए, जसले अवलोकनकर्ताको ठूलो भिड तानेको थियो ।साथै, विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पछिल्ला मोडेलका सवारीसाधन, विशेष गरी थुप्रै नयाँ विद्युतीय गाडी (ईभी) को उपस्थितिले शोलाई थप आकर्षक बनाएको थियो। अवलोकनकर्ताले अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन र आकर्षक स्टलहरूको प्रशंसा गरेका थिए ।

 

प्रदर्शनीमा नाडाले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा हरेक दिन महत्त्वपूर्ण विषयहरूमा अन्तर्क्रिया आयोजना गरेको थियो । प्रदर्शनी अवधिभरि ‘अन्तर्राष्ट्रिय अटो ट्रेड डायलग’, ‘नेपालमा विद्युतीय सवारीको भविष्य’, ‘कर्जा नीतिमा स्थिरता’, ‘फ्लाइङ कार टेक्नोलोजी’, र ‘सडक सुरक्षा’ जस्ता सान्दर्भिक विषयमा गहन छलफल भएको जनाइएको छ ।

 

यी कार्यक्रममा सरकारी उच्चपदस्थ अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक, उद्योगी–व्यवसायी तथा विषय विज्ञहरूको सहभागिता थियो ।

civil hospital
Hams Hospitals