डिजिटल अधिकार र पारदर्शिताको मागमा भएको प्रदर्शनमा दमनप्रति श्रमजीवी–पत्रकार संघको घोर भर्त्सना
वि.सं.२०८२ भदौ २३ सोमवार
shares
काठमाडौं । नयाँ पुस्ता (जेन जेड) को आव्हानमा डिजिटल अधिकार, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र उत्तरदायी शासनको मागसहित राजधानीमा भएको प्रदर्शनमाथि सरकारले गरेको दमनप्रति श्रमजीवी–पत्रकार संघ, नेपालले घोर भर्त्सना गरेको छ ।
संघले विज्ञप्ति जारी गर्दै उक्त घटनालाई आधुनिक लोकतन्त्रको इतिहासमा कालो दिनको रूपमा व्याख्या गरेको छ । दमनका क्रममा मारिएका “वीर सहिद”प्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
त्यसैगरी प्रदर्शनको क्रममा फिल्डमा खटिएका चार जना पत्रकार घाइते भएको घटनाप्रति संघले चिन्ता व्यक्त गरेको छ । घाइतेमध्ये कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना, नेपालप्रेस डटकमका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दंगाल रहेका छन् । ढुंगानाको पाटन अस्पतालमा उपचार भइरहेको बताइएको छ । संघले घाइते पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
संघले क्रूर हिंसाका लागि सरकारलाई पूर्ण रूपमा जिम्मेवार ठहर गर्दै प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई तत्काल राजीनामा दिन माग गरेको छ । साथै, प्रदर्शन दमनमा संलग्न सबैलाई बर्खास्त गरी कानुनी कारबाही गर्नुपर्ने र घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति तत्काल गठन गर्नुपर्ने माग राखिएको छ ।





























