झन्डै छ हजार कर्मचारीले सिंहदरवारको आगजनी टुलुटुलु हेरे, आगलागी हुँदा नजलेको यो राष्ट्रिय झन्डा
वि.सं.२०८२ भदौ ३० सोमवार
shares
काठमाडौँ ।जेनजि आन्दोलन उत्कर्षमा पुगेको बेला भएको सिंहदरबार आगलागीले मुलुकको प्रशासनिक संरचनालाई गम्भीर सङ्कटमा पारेको छ । आन्दोलन चर्कँदा समेत सिंहदरबारभित्र रहेका करिब ६ हजार कर्मचारीहरूले प्रत्यक्ष रूपमा आगो बलेको हेरे ।
सिंहदरबार मुलुककै प्रशासनिक नाभि हो । त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, अर्थ, कानुन, भौतिक पूर्वाधार, र शिक्षा लगायतका मन्त्रालयहरू छन् । यस्ता संवेदनशील निकायमा कार्यरत कर्मचारीहरूको दायित्व सङ्कटको घडीमा राज्यका साधन स्रोत जोगाउने हो । तर आगलागीमा भौतिक संरचना जलेर ध्वस्त भइरहँदा मात्र टुलुटुलु हेरेर बस्न वाध्य भए । यस विषयमा प्रश्न भने उठेको छ ।
यो अवस्था कर्मचारी वर्गको निष्क्रियता, तालिमको कमी र सङ्कट व्यवस्थापनमा राज्यको लापरबाही भन्न सकिने एक पूर्व सहसचिवले बताए । यदि तत्काल प्रतिक्रिया गर्ने संयन्त्र सक्रिय पारिएको भए, क्षति कम हुन सक्थ्यो भन्नेहरू पनि छन् ।
आगलागीले सिंहदरबारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयसहितका मुख्य संरचनाहरू पूर्ण रूपमा क्षति पु¥याएको छ । कागजात, नीतिगत अभिलेख, कम्प्युटर, डिजिटल डाटाबेसदेखि लिएर ऐतिहासिक महत्त्व बोकेको संरचना खरानीमा परिणत भएको छ । प्रारम्भिक तथ्यांकअनुसार करोडौँ रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ ।
आगलागीबिच पनि एउटा राष्ट्रिय झन्डा भने जोगिन सफल भएको छ । सरकारी सम्पत्ति ध्वस्त भए पनि राष्ट्रिय प्रतीक सुरक्षित रहनु ठुलो सन्देशको रूपमा लिइएको छ । यो प्रतीक जोगिनु मुलुकका नागरिकलाई भावनात्मक रूपमा जोड्ने खम्बा बनेको छ । राज्यको भौतिक संरचना नष्ट भए पनि राष्ट्रिय पहिचान जीवित भएकोरुपमा धेरैले लिएका छन् ।
यस घटनाले केही प्रश्नहरू खडा गरेको छ । देशको प्रशासनिक निकायका भवन सुरक्षा निकायले किन जोगाउन सकेन ? अनि यहाँ रहेका कर्मचारीले किन सामान्य प्रयास पनि गरेनन् ?




























