विदेशमा भएका नेपालीहरुः आफूखुशी नागरिकता त्याग, सामाजिक सञ्जालमार्फत देखाउँदैछन् झुठ्ठो प्रेमभाव ! 

516
shares

 

नेपालीको महान् चाड दशैं चलिरहेको छ । देशविदेशमा दशैं मनाउने क्रम जारी छ । विभिन्न मुलुकमा भएका नेपालीहरुले दशैंको टीका लगाएर फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । यता, सञ्चारमाध्यमहरुले पनि ‘विदेशमा भएका नेपालीले पनि मनाए दशैं’ भनेर समाचारहरु प्रकाशन गरिरहेको पाइन्छ ।

नेपाली राष्ट्रियता झल्काउने पोशाक लगाएर विदेशमा दशैं मनाएको तस्बिरहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भेटिन्छ । रोचक प्रसंग के भने, देशको नागरिकता त्यागेर विदेशी भइसकेकाहरुले पनि दशैं मनाइरहेका छन् । जसले देशको माया नभएर यहाँको नागरिकता त्यागो र त्यहाँको लियो, उसले पनि दशैं मनाएर देशप्रति देखावटी माया देखाइरहेको छ ।

विदेशी भइसकेका नेपालीहरु दशैं मनाउन नेपाल आएका छन् । भिजिट भिसामा नेपाल आएका उनीहरु नातेदार भेटघाट र घुमघाममा व्यस्त छन् । विदेशी नागरिकता भएकाहरुले नेपालको मठमन्दिर वा ऐतिहासिक सम्पदाहरु घुमघाम गर्दा अन्य विदेशी नागरिकसरह शुल्क बुझाउनुपर्ने हुन्छ ।

तर, उनीहरुले सो शुल्क नतिरेको अवस्था छ । आफूलाई नेपाली भन्दै उनीहरुले राज्यलाई तिर्नुपर्ने कर छलिरहेका छन् । आफ्नो इच्छाले नेपाली नागरिकता त्यागेर विदेशी बन्ने अनि नेपाल आउँदा यहाँको ऐनकानुनको पनि पालना नगर्ने । नागरिकता त्यागिसकेपछि बाबुबाजेको सम्पत्ति बेचेर विदेश लैजान पाइँदैन ।

यद्यपि, नागरिकता त्यागेकाहरुले गैरकानुनी रुपमा सम्पत्ति बेचेर हुण्डीमार्फत रकम विदेश पठाइरहेका छन् । एक जना व्यक्ति अमेरिका–अष्ट्रेलिया जानका लागि २५ देखि ४० लाख रुपैयाँ खर्च हुन्छ । नेपालको त्यत्रो पैसा एकैचोटि बाहिरिन्छ । सँगै जनशक्ति पनि पलायन सदाका लागि पलायन हुन्छन् ।

जसका कारण मुलुकले ठूलो आर्थिक संकट र जनशक्तिको क्षति व्यहोरेको छ । पिआरको लोभमा अमेरिका–अष्ट्रेलियालगायतका विकसित मुलुक पुगेकाहरु स्वदेश फर्किँदैनन् । उतै बस्छन्, उतै कमाउँछन्, उतै रमाउँछन् । राज्यले उनीहरुबाट केही पनि पाउँदैन । बाहिर गएर पढेर फर्किएलान र देशमा केही गर्लान् भनेर विदेश जान स्वीकृति दिइएका जनशक्तिले देशलाई चटक्कै बिर्सिदाँ मुलुकलाई पछाडि पर्दै गएको छ ।

अनि त्यहीँ नागरिकले सामाजिक सञ्जालमार्फत झुठ्ठो प्रेम दर्शाइरहेका छन् । गर्नुपर्ने बेलामा टाफ बस्ने, आफूखुशी त्यहाँको नागरिक बन्ने र देशभाव देखाउने । नेपालीहरु जुनसुकै देशमा पुगेपनि त्यहाँको सर्वोच्च पदमा पुगेको उदाहरणहरु खासै छैनन् । आफू जाने, त्यसपछि आफन्तलाई बोलाउने र फाइफुट्टी लगाउनेमै नेपाली सीमित छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिनाअघि एउटा निर्णय गरेका छन् । त्यो हो,‘अमेरिकी नागरिकता लिनलाई ५० लाख डलर तिर्नुपर्ने ।’ त्यसैगरी, पढ्न गएका नेपालीलाई चार वर्षभन्दा बढी अमेरिका बस्न नदिने निर्णय भएको छ । ५० लाख अमेरिकी डलर तिर्न नसक्ने र चार वर्ष बसिसकेकाहरु नेपाल फर्किनैपर्छ ।

अब भनौं–नेपाली नागरिकता त्यागिसकेका नेपालीहरु स्वदेश फर्किनुपर्यो कि परेन ? अमेरिकामा घर, गाडी जोडेकाहरुको हालत के हुन्छ ? अमेरिकी सरकारले ती सम्पत्ति बेचेर पैसा यहाँ ल्याउन दिँदैन । नेपालीले आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्ने काम गरेका छन् । आफ्नो घरको सम्पत्तिसमेत बेचेर अरुलाई लगाएर बुझाएका छन् ।

अमेरिकाले गरेको निर्णय ढिलोचाँडो अष्ट्रेलियाको सरकारले पनि गर्छ । नेपालीहरु जहाँबाट पनि खाली हात फर्किनेबाहेकको कुनै विकल्प नै रहँदैन । यहाँ भएको घरजग्गा बेचेर उनीहरुले त्यहाँ घरजग्गा किनेका छन् । यहाँ पनि रित्तै, उहाँ पनि रित्तै । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि युएईले भीसा रोकिसकेको छ ।

मलेसियालगायत अन्य मुलुकले पनि रोक्ने तयारी गरिरहेको छ । अमेरिका, अष्ट्रेलियाले पनि त्यसै गर्यो भने ? नेपालीले सोचेका छन् ? अमेरिकाले भीसामा धेरै कडाइ गरिसकेको छ । गैरकानुनी रुपमा अमेरिका बस्ने वा छिरिक्क कानुन तोड्नेलाई कट्टुमै नेपाल फर्काउने क्रम जारी छ ।

ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सयौं नेपाली लज्जित हुँदै त्यसरी स्वदेश फर्किनुपरेको छ । देश जुनसुकै होस्–पहिलो आफ्नो देशलाई प्राथमिकता दिन्छन् । स्वास्थ्य, शिक्षा, रोजगारीलगायत हरेक क्षेत्रमा पहिले त्यहाँका नागरिक अनि अरु । यति सामान्य कुरा पनि नबुझ्नेलाई कसरी शिक्षित र चेतनशील जमात भन्ने ?

अरुको देशमा गएर पनि नेपालीहरु आफ्नो मनमौजी चलाइरहेका छन् । त्यहाँको ऐनकानुनको बेवास्ता गरी आफूखुशी व्यवहार देखाइरहेका छन् । यसले उनीहरुलाई नै समस्यामा पार्ने देखिन्छ । ट्रम्पले लाखौंको संख्यामा कर्मचारीलाई कुनै सुविधा नदिईकन जागिरबाट हटाउने निर्णय गरिसकेका छन् ।

यसले त्यहाँ आर्थिक मन्दी भएको देखाउँछ । जुन कर्मचारीलाई ट्रम्पले निकाल्दै छन्, ती अब बेरोजगार हुन्छन् । उनीहरु बेरोजगार हुनु भनेको अरु देशको नागरिकलाई असर पर्नु हो । अन्य मुलुकमा पनि आर्थिक मन्दी ननिम्तिएला भन्न सकिन्न । किन कि, केही वर्षयता धेरै मुलुकमा आर्थिक मन्दी देखिएको छ ।

अष्ट्रेलियामा पनि आर्थिक मन्दी देखिसकिएको यहाँ भएका अभिभावकहरु बताउँछन् । आर्थिक मन्दीकै कारण नेपालीहरु निकालिए भने नेपाल फर्किनुबाहेकको कुनै विकल्प नै रहँदैन । यहाँ आउने अनि फेरि नागरिकताको लागि सिडियो कार्यालय धाउने । नेपालमा तीन तहको सरकार छ–स्थानीय, प्रदेश र संघीय ।

सबै स्थानीय तहको आ–आफ्नै कानुन छ । प्रदेशले पनि आफ्नै कानुन बनाएको छ । यहाँ त एउटा स्थानीय तह र प्रदेशको कानुन अर्कोमा लागु हुँदैन भने अर्काको देशको के भन्न सकिन्छ ? जुनसुकै देशले जुनसुकै बेला जस्तोसुकै कानुन बनाउन सक्छ । उनीहरुले जस्तो कानुन बनाउँछन्, मान्नैपर्छ ।

विडम्बना, नेपालीहरुले यति सानो कुराको पनि ख्याल गरेको देखिएन । लामो समयदेखि जापानको सत्ता चलाउँदै आएको पार्टी यतिबेला संकटमा छ । सो सरकार हट्नेबित्तिकै त्यहाँ नभएका नेपालीसहित अन्य मुलुकका नागरिकलाई अप्ठेरो पर्ने जानकारहरु बताउँछन् । ट्रम्पले आफ्ना नागरिक बेरोजगार भएपछि नयाँ नयाँ निर्णय गरे ।

नेपालीहरुले सस्तोमा काम गरिदिँदा त्यहाँका धेरै नागरिक सुकुम्बासी बनेका छन् । अन्य देशको पनि सोही हालत छ । आफ्ना नागरिक बचाउनका लागि अन्य देशका नागरिकलाई हटाउनबाहेक उनीहरुसँग अरु कुनै उपाय नै छैन । श्रीलंका र बंगलादेशपछि नेपालमा आन्दोलन भयो ।

तर, श्रीलंका र बंगलादेशमा भन्दा बढी क्षति नेपालमा भयो । खर्बौंको सरकारी र निजी सम्पत्ति ध्वस्त बनाइयो । आफ्नै घरमा आगो लगाउनेले हाम्रो घर छोड्छ भन्ने भाव अन्य मुलुकलाई परेको छ । नेपालीहरुले सिंहदरबार जलाउँदा आफूलाई ठूलो ठानेका छन् । यद्यपि, त्यसले नेपालीलाई नै नोक्सानी पुर्याएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालीको छवि नराम्रो बन्न पुगेको छ । बंगलादेशमा आन्दोलन भएपछि नेपाल सरकारले सीमा क्षेत्र र एअरपोर्टमा कडाइ गर्यो । तर, आफ्नो घरमा आगो लगाउन उनीहरु आउनैपरेन, नेपाली आफैंले काम तमाम गरिदिए । आन्दोलन भयो तर उपलब्धि केही न केही ।

नेपालीले केही नपाएपनि धेरैथोक गुमायो । नेपालीहरुलाई झनै बेरोजगारी बनाउने भयो । वैदेशिक रोजगारीमा गएर परिवार पालिरहेका नेपालीहरुलाई असर गर्ने भो । विदेशीले नेपालीलाई हेर्ने दृष्टिकोण फेरियो । सबै मुलुकले नेपालीलाई कडाइ गरेको छ । यसले नेपालीसँगै नेपालको अर्थतन्त्रलाई क्षति पुर्याउनेछ ।

 

Hams Hospitals