Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

जेनजी आन्दोलनपछि कर्मचारीमा छिरेको अवसरवादी चरित्र, नेतृत्वकर्ता नै शङ्काको घेरामा

6K
shares

काठमाडौँ ।जेनजी आन्दोलनका वास्तविक अभियन्ता छायामा पारिँदै गएका छन् भन्ने गुनासो दिनप्रतिदिन बढ्दै गएको छ । आन्दोलनका नाममा केही समूह र व्यक्तिहरूले मात्र लाभ उठाएको भन्दै असन्तोष कर्मचारी वृत्तमा तीव्र रूपमा फैलिएको छ ।

 

हालै सुदन गुरुङले आन्दोलनको नेतृत्व ‘हाई ज्याक’ गरेको आरोप लागेका बेला नेपाल सरकारका शाखा अधिकृत गणेश घिमिरेको नाम पनि चर्चामा आएको छ । छोटो समयमा अकुत सम्पत्ति आर्जन गरेको र विगतमा एमाले निकट कर्मचारी सङ्गठनका विवादित नेताका सहयोगीका रूपमा काम गरेको आरोप घिमिरेमाथि लागेको छ ।

 

लामो समय श्रम मन्त्रालय र खुम्बुपासाङल्यामु गाउँपालिकामा कार्यरत रहँदा उनले विभिन्न अवैध माध्यमबाट आर्जन गरेको भन्ने आरोप छ । तर, पछिल्लो समय उनी प्रधानसेनापति र व्यवसायी दुर्गा प्रसाईँसँग खिचिएको तस्बिरका आधारमा आफूलाई ‘जेनजी पुस्ताको प्रतिनिधि’का रूपमा प्रस्तुत गर्न खोज्दै छन् ।

 

घिमिरेको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग नजिकिँदै गएको भनिए पनि, सरकारका उच्च तहबाट उनलाई विश्वसनीय नेताका रूपमा नहेरिएको स्रोत बताउँछन् ।

 

घिमिरेले हाल ‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान २०८२’ गठन गरी संयोजकका रूपमा गतिविधि सञ्चालन गरिरहेका छन् ।

तर, वास्तविक आन्दोलनका अभियन्ताहरू भने पछाडि पारिएको महसुस गरिरहेका छन् । विगतदेखि स्वतन्त्र आवाज उठाउँदै आएका, पटक–पटक प्रहरी नियन्त्रणमा परी सङ्घर्ष गरेका, दलीय कर्मचारी ट्रेड युनियन खारेज गर्न सडकदेखि अदालतसम्म पुगेका, निजामती ऐन सुधार र चक्रीय सरुवाको माग गर्दै आन्दोलन गरेका कर्मचारीहरू अहिले उपेक्षित भएको अनुभव साझा गर्छन् ।

भदौ २३ र २४ गते भएको आन्दोलनमा धेरै युवाले ज्यान गुमाएका थिए भने खर्बौँको सम्पत्ति क्षति भएको थियो । भ्रष्टाचार विरोधी र सुशासनको पक्षमा उठेको यो जनअभियानले मुलुकमा अन्तरिम सरकारसम्म जन्मायो, तर परिणामले अपेक्षा पूरा गर्न सकेको छैन । ‘न दूध डोका दुहिएर अडिएको छ, न पोखिएको उठाएर खान मिल्ने अवस्था छ,’ भन्ने टिप्पणी कर्मचारी वृत्तमा सुनिन्छ ।

 

स्थायी संयन्त्रका रूपमा रहेको निजामती प्रशासन अझै पुरानै ढाँचामा जकडिएको छ । दल–नजिकका ट्रेड युनियनहरूले प्रणालीलाई कमजोर बनाएका छन्, र त्यहीँ सुधारका नाममा नयाँ अवसरवादी पात्रहरू अघि बढेका छन् ।

परिवर्तनका नेतृत्वकर्ता गणेश घिमिरेका बारेमा कर्मचारी वृत्तमा विभिन्न आरोपहरू चर्चामा छन् ।  उच्च पदस्थहरूसँग बारम्बार भेटघाट, प्रभावशाली व्यवसायीहरूसँग घनिष्ठता, र विदेशीसँग नजिकिने प्रयास गरेको उनलाई आरोप छ । हालै भारतका राजदूत शङ्कर शर्मासँग दसैँको टीका लगाएको तस्बिर सार्वजनिक भएपछि उनी थप विवादमा आएका छन् ।

कर्मचारीहरूका अनुसार, आन्दोलनमा कुनै योगदान नदिएका, तर फोन, सञ्जाल र पहुँचका माध्यमबाट लाभ लिने यस्ता पात्रहरूले निजामती प्रशासनलाई बदनाम बनाइरहेका छन् । ‘जो भ्रष्टाचारबाट लाभ लिँदै आएका थिए, उहीँ आज सुधारका नाममा अगाडि छन्,’ एक कर्मचारीको भनाइ छ ।

 

यस्ता विवादित र अवसरवादी पात्रहरूलाई तत्काल सरुवा गरी स्थानीय तहमा पठाउनुपर्ने माग पनि उठ्न थालेको छ । तर निरीह र स्वार्थी उच्च प्रशासकहरू फेरि पनि त्यही पात्रहरूसँग अवसरका खोजीमा नजिकिँदै गएको आरोप कर्मचारी वृत्तमै सुनिन्छ ।

अनेक बलिदान र आहुति दिएर अघि बढेको जेनजी आन्दोलन आज नेतृत्व कब्जा र व्यक्तिगत स्वार्थका खेलमा फसेको देखिँदा, आन्दोलनको मर्म र विश्वास दुबै कमजोर बन्दै गएको टिप्पणी विश्लेषकहरूले गरेका छन् ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

जेन जीको नाममा कर्मचारी भित्र पनि अवसरवादीको चुरीफुरी 

 

civil hospital
Hams Hospitals