जेन्जी आन्दोलनको आडमा मन्त्रालयका स्टोरमा हिनामिना घरको सामान पनि ‘जलेको’ मुचुल्का
वि.सं.२०८२ असोज ३० बिहीवार
shares
काठमाडौं । जेन्जी आन्दोलनका दिन मन्त्रालय र सरकारी कार्यालयहरूमा भएको आगलागीको आडमा व्यापक अनियमितता भएको खुलेको छ । मन्त्रालयका स्टोरकिपर र कर्मचारीहरूले कार्यालयका सामान घरमै राखेर ती सामानहरू ‘जलेको’ भन्दै मुचुल्का उठाएको पाइएको छ ।
मन्त्रालय, विभाग र विभिन्न कार्यालयका कर्मचारीहरूले आन्दोलनका क्रममा कार्यालयमा भएका ल्यापटप, ट्याब, डायरी, कलम, फोटोकपी मिसिन, कम्प्युटरका सिपियु, हार्ड ड्राइभ, हेल्मेट, सरसफाइका सामग्री, टेबल, कुर्सी, र किचनका सामग्रीसम्म ‘जलेको’ भनेर सूचीमा राखेका छन् ।
स्रोतका अनुसार उच्च तहका सहसचिव र सचिवस्तरका कर्मचारीहरूले समेत आफ्नै घरमा रहेका सामग्रीहरू कार्यालयमै जलेको भन्दै विवरण तयार गराएका छन् ।
स्टोरकिपरहरूले आफन्त, नजिकका साथी र नजिकका कर्मचारीहरूलाई रेकर्डबिनै सरकारी सामग्री वितरण गर्ने र पछि ती सामान आन्दोलनको समयमा ‘जलेको’ भन्दै मुचुल्का उठाउने गरेको प्रमाण फेला परेको छ ।
एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, ‘कतिपय कोठा त बन्द नै थिए, तर ती कोठाबाट पनि सामान जलेको भनेर सूची बनाइएको छ । आन्दोलनभन्दा अघि के के सामान थिए भन्ने हिसाब मिलाएर हेर्ने हो भने धेरै कुरा प्रस्ट हुन्छ ।’
यस्ता अनियमित गतिविधिबाट करोडौं मूल्यका सरकारी सम्पत्तिको हिनामिना भएको आशंका गरिएको छ । मन्त्रालयभित्रै यस्तो मिलेमतोले प्रशासनिक इमानदारीतामा प्रश्न उठाएको छ ।
सिंहदरवारस्रोतका अनुसार, आन्दोलनअघि कार्यालयमा सामग्री र अहिले प्रस्तुत गरिएको ‘जलेको’ सूचीबीच ठूला फरक छन् । यो विषयमा तत्काल छानबिन समिति गठन गर्नुपर्छ ।
यस्तो विषयमा गम्भीर अनुसन्धान नहुँदा आन्दोलनको नाममा सरकारी सम्पत्ति लुट्ने प्रवृत्ति बढ्ने छ ।




























