इमान, निष्ठा र नेतृत्वको प्रतीक: कार्की सर
वि.सं.२०८२ असोज ३१ शुक्रवार
shares
काठमाडौँ । नेपाल प्रहरी केवल कानुन कार्यान्वयन गर्ने निकाय मात्र होइन । शान्ति, सुरक्षा र जनविश्वासको मेरुदण्ड हो भन्ने मान्यता लिएर हिँडेका प्रहरी अधिकृत हुन्, दानबहादुर कार्की ।
तीन दशकभन्दा बढी समयसम्म इमान, निष्ठा र व्यावसायिकता सँगसँगै बोकेर हिँडेका कार्की हाल अतिरिक्त महानिरीक्षक छन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कमान्डरका रूपमा कार्यरत कार्कीले सङ्गठनमा दक्षता, पारदर्शिता र अनुशासनका नयाँ मापदण्ड स्थापित गरेको विश्लेषण हुने गरेको छ । गुल्मीको मालिका गाउँपालिका–७ मा जन्मिएका कार्कीको बाल्यकाल सादगी, अनुशासन र जिम्मेवारीको पाठशाला थियो । उनी सानैदेखि आत्मनिर्भर र लक्ष्य–केन्द्रित थिए भन्ने कुरा उनको गुरुहरू बताउँछन् ।
गुल्मीको खन्जड विद्यालयमा प्रारम्भिक अध्ययन गर्दै ललितपुरमा होस्टेल जीवन बिताउँदा, उनले आत्मानुशासन र सामाजिक संवेदनाको गहिरो अनुभव प्राप्त गरे । त्यसपछि उनले ल क्याम्पस र आरआर क्याम्पसमा उच्च शिक्षा पूरा गरे । विद्यार्थी जीवनमै उनी वक्तृत्व, खेलकुद र सांस्कृतिक गतिविधिमा अग्रणी थिए । जसले नेतृत्व र आत्मविश्वासको जग बलियो बनाएको उनको सपाठीहरुको बुझाइ छ ।
देश र समाजप्रतिको सेवा–भावले प्रेरित कार्की प्रारम्भमा कूटनीतिक सेवाको तयारीमा थिए । तर, साथीहरूको सुझावमा उनले प्रहरी सेवाका लागि आवेदन दिएका हुन् । २०५४ चैत १८ गते, लोकसेवा आयोगमार्फत प्रहरी निरीक्षकका रूपमा प्रहरी सङ्गठनमा प्रवेश गरे । त्यो समय देश द्वन्द्वको चपेटामा थियो । परिवारबाट सुरक्षा निकायमा पठाउने वातावरण पनि कम थियो । तर, उनलाई देशमा शान्ति सुरक्षा स्थापना गर्नु पर्छ भन्ने हुटहुटी पैदा भइरह्यो । कठिन र जोखिमपूर्ण परिवेशमा पनि उनी अडिग रहे । चार हजार रुपैयाँ तलबबाट सुरु भएको उनको यात्रा, आज देशकै प्रमुख सुरक्षा तन्त्रको शीर्ष नेतृत्वसम्म पुगेको छ । जसले उनको दृढता, आत्मविश्वास र मूल्यप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।
एआईजी कार्कीको करिअर केवल पदोन्नतिको लागि वनेको कथा मात्र होइन यो इमान, निष्ठा र सङ्गठनप्रतिको अटल समर्पणको प्रमाण हो भन्दा हुन्छ । डिएसपी हुँदा बानेश्वर क्षेत्रीय प्रहरी प्रमुखका रूपमा उनले राजधानीको शान्ति–सुरक्षामा उल्लेखनीय सफलता हासिल गरेको उनका ‘सिनियर’हरु बताउँछन् । एसपी भएर कपिलवस्तु र कास्कीमा रहँदा उनले सामुदायिक प्रहरी अवधारणालाई नयाँ दृष्टिकोण दिए । ‘जनता र प्रहरी एउटै टोली हुन्’ भन्ने व्यवहारिक धारणा फैलाए ।
एसएसपी हुँदा काठमाडौँ प्रहरी प्रमुखको रूपमा उनले राजधानीको सुरक्षा सञ्जाललाई प्रविधिमुखी, उत्तरदायी र जनकेन्द्रित बनाए ।
डीआईजी पदमा रहँदा केन्द्रीय प्रवक्ता भएर उनले प्रहरीका विषयहरू पारदर्शी र तथ्यगत रूपमा प्रस्तुत गर्दै संस्थागत विश्वास मजबुत पारे ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुखको रूपमा उनले सङ्गठनलाई अनुशासन, दक्षता र जबाफदेहिताको नयाँ उचाइमा पु¥याए । हाल काठमाडौँ उपत्यकाको कमान्ड सम्हाल्दै, उनले अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र नागरिक–प्रहरी सहकार्यमा ऐतिहासिक सुधार ल्याएका छन् ।
‘जेनजी आन्दोलन’पछि प्रहरी सङ्गठनले आलोचना र मनोबल खस्किने अवस्थाको सामना गर्नुप¥यो ।
त्यही कठिन समयमा एआईजी कार्की अग्रपङ्क्तिमा उभिए । उनले प्रहरी जवान र अधिकृतहरूको मनोबल पुनर्जीवित गर्न प्रशिक्षण, समन्वय र मनोबल अभिवृद्धिका कार्यक्रम सञ्चालन गरे । उनको नेतृत्वमा ‘सेवा भाव र विश्वासमा टेकेको प्रहरी संस्कृति’ पुनः स्थापित भयो । आज सङ्गठनभित्र सकारात्मक ऊर्जा, पारदर्शिता र सहकार्यको वातावरण निर्माण भइरहेको छ । जसले जनता र प्रहरीबिचको दूरी घटाएको छ, र विश्वास मजबुत बनाएको छ ।
कार्की केवल प्रशासनिक नेता मात्र होइनन् । उनी कलाकार, गीतकार र संगीतप्रेमी पनि हुन् । ‘फूलको वासना सरी’, दसैँ–तिहारका लोकगीतहरू, र ‘हरिबहादुरको जुत्ता’ फिल्मका गीतहरू पनि उनका कलमले बनाएका छन् । प्रहरी जीवन, देशभक्ति र मानवीय संवेदनाका स्वर हुन् । उनी भन्छन्,‘प्रहरीको काम केवल कानुन कार्यान्वयन होइन, जनताको भावना बुझ्ने पनि हो ।’उनको कला र शब्दले प्रहरी वर्दीभित्रको मानवताको पक्ष उजागर गर्छ । जसले उनलाई विशिष्ट बनाउँछ ।
नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आइजिपी) चन्द्र कुबेर खापुङ १७ कार्तिकपछि अनिवार्य अवकाशमा जाँदै छन् ।
उनको अवकाश अघिनै नयाँ आइजिपीको नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भइसकेको छ । एआईजी कार्की, वरिष्ठताको हिसाबले सूचीको पहिलो नम्बरमा छन् । उनको बल केवल वरिष्ठता होइन, योग्यता, दृष्टि र इमानदारी हो ।
२८ वर्षको अनुभव, कानुनी समझदार, सङ्गठनप्रतिको समर्पण र जनविश्वासमा आधारित दृष्टिकोणले उनी प्रहरी नेतृत्वका लागि सन्तुलित, सक्षम र योग्य विकल्पका रूपमा स्थापित भएका छन् । नेपाल प्रहरीलाई पेसागत, मानवीय र विश्वासमूलक दिशामा अघि बढाउने नेतृत्वकर्ताको आवश्यकता छ । त्यो सम्भावनाको उज्यालो नाम एआईजी दान बहादुर कार्की हुन सक्छन् ।




























