प्रहरीभित्र एकता छ, विवाद चर्काउन भूमिका नखेलौं

1.5K
shares

 

देश यतिवेला अराजकता, असहिष्णुता र भ्रमको खतरनाक चरणबाट गुज्रिरहेको छ। अफवाह र प्रचारले तथ्यलाई ओझेल पार्ने वातावरण बनेको छ। यस्ता संवेदनशील अवस्थामा राज्यको सुरक्षातन्त्र विशेषगरी नेपाल प्रहरीको मनोबल उच्च राख्नु राष्ट्रिय दायित्व हो। भ्रष्टाचारमुक्त समाज बनाउने पवित्र अभियानमा अघि बढेका युवा र नागरिकको सुरक्षाका लागि प्रहरी संगठनको एकता, अनुशासन र निष्पक्षता अनिवार्य आवश्यकता हो।

 

तर पछिल्ला दिनमा प्रहरी नेतृत्व छनोटका विषयमा बाहिरबाट विभिन्न टिप्पणी र विवाद सिर्जना गर्न खोजिएको देखिन्छ। यस्ता विवादले संगठनभित्रको मनोबल घटाउने मात्र होइन, समग्र सुरक्षा व्यवस्थामै असर पुर्‍याउँछ। प्रहरी संगठनका अधिकांश अधिकृत र जवानहरू हालको जटिल परिस्थितिमा पनि आँसु पुछ्दै, दायित्व निर्वाह गर्दै, संगठनको गरिमा जोगाइरहेका छन्। यस्तो समयमा उनीहरूको समर्पणप्रति सम्मान र हौसला आवश्यक छ, नकि अनावश्यक विवाद र प्रतिस्पर्धा।

 

नेपाल प्रहरी प्रमुखको छनोट सधैं योग्यता, क्षमता, र वरियताको आधारमा हुने संवैधानिक परिपाटीमा बाँधिएको विषय हो। विगतमा राजनीतिक हस्तक्षेपले यो प्रक्रियामा अन्याय गरेको उदाहरणहरू भए पनि अहिलेको परिस्थिति फरक छ। न्यायका लागि संघर्ष गर्नुभएकी पूर्वमुख्य न्यायाधीश सुशिला कार्की स्वयं सरकार प्रमुख रहेको सन्दर्भमा विधिसम्मत निर्णयमा विश्वास गर्न सकिन्छ। वरियताका आधारमा स्थापित काठमाडौँ महानगरीय प्रहरी प्रमुख दानबहादुर कार्की अहिलेको अवस्थामा सर्वस्वीकार्य विकल्पका रूपमा देखा परेका छन्।

 

यस्तै, संगठनभित्र रहेका अन्य वरिष्ठ अधिकृतहरूले पनि आफ्नो असन्तोषलाई संस्थागत मर्यादाभित्र सीमित राख्दै एकताको उदाहरण देखाएका छन्। उनीहरूको यस्तो धैर्य र अनुशासनप्रति सम्मान जनाउँदै, बाहिरका व्यक्तिहरूले विवादलाई उचाल्ने होइन, प्रहरीको एकतालाई सुदृढ बनाउने भूमिका खेल्नुपर्छ।

 

प्रहरी प्रमुख एक जना हुने हो, तर सफल नेतृत्व भने सामूहिक एकताबाटै सम्भव हुन्छ। अहिलेको अभूतपूर्व एकताको परिवेशमा हामी सबैले यही सन्देश बुझ्नुपर्छ— प्रहरीभित्र एकता छ, त्यसलाई कमजोर पार्ने होइन, सुदृढ बनाउने भूमिका खेलौं।

राधाकृष्ण देउजा

 

इमान, निष्ठा र नेतृत्वको प्रतीक: कार्की सर

civil hospital
Hams Hospitals