जेनजी आन्दोलनको धुवाँ मुनि लुकेको सरकारी स्टोरका सम्पत्ति हिनामिना

1.8K
shares
national life insurances
Nabil bank

 

काठमाडौँ । ‘जेनजी आन्दोलन’ को बहानामा मन्त्रालय र अन्य कार्यालयका स्टोरहरूमा व्यापक हिनामिना, उच्च अधिकारीसम्म संलग्न भएको खुलासा भएको छ । जेनजी आन्दोलनका दिन विभिन्न सचिवालय, मन्त्री निवास भैसेपाटी, सिंहदरबार र बालुवाटार क्षेत्रका विभिन्न सरकारी भवनमा भएको आगजनीका बीच मन्त्रालय तथा विभागहरूमा भएका सामग्री हिनामिनाको समाचार आएका छन् ।

 

आन्दोलनको अवसर पारेर मन्त्रालयका स्टोरकिपरदेखि  उच्चतहका कर्मचारीसम्म मिलेमतो गरी कार्यालयका बहुमूल्य सामग्री घरै लगेका घटनाहरू बाहिर आउन थालेका छन् ।

 

 

स्रोतका अनुसार मन्त्रालयका केही कर्मचारीहरूले आगलागीको वहानामा ल्यापटप, कम्प्युटर सिपियु, हार्ड ड्राइभ, ट्याब, फोटोकपी मेसिन, रिम, हेल्मेट, सरसफाइका सामग्री, टेबल, किचेनका सामानसमेत ‘जलेको’ भन्दै मुचुल्का उठाएका छन् । कतिपय अवस्थामा नजलेका कोठाबाट समेत सामग्री गायब भएको  छ ।  सो काम आन्दोलनकै नाममा पन्छ्याउने प्रयास गरिएको छ ।

 

 

यतिमात्र होइन, स्टोरकिपरहरूले आफन्त,  कर्मचारी तथा नेतानजिकका व्यक्तिहरूलाई रेकर्ड नै नराखी विभिन्न सामग्री वितरण गरेको तथा सरुवा हुँदा फिर्ता लिनुपर्ने वस्तुहरू पनि ‘जेनजी आन्दोलनमा जले’ भनेर कागजी प्रक्रिया मिलाइसकेको पाइएको छ । मन्त्रालयका सहसचिव र सचिव स्तरसम्मका केही अधिकारीले समेत घरमै राखिएको कार्यालय सामग्रीलाई जलेको देखाई ‘भरपाई’ लिने गरेको स्रोतले जनाएको छ ।

 

आन्दोलनका दिन मन्त्रालयहरूमा स्टोर किपर र सामग्री बुझाउने–लिने कर्मचारी एकैसाथ मिलेर सामग्री हटाएको र पछि जलेको मुचुल्का उठाएको प्रमाणहरू बाहिर आएका छन् ।
जलेको भन्नुभन्दा अघि ती कोठा र स्टोरमा के–के सामग्री थिए, कति हालतमा थिए, को–को जिम्मेवार थिए भन्ने विषयमा कुनै विश्वसनीय अभिलेख राखिएको छैन । यसले  आन्दोलनपछिको हिनामिना अझै गम्भीर रूपमा विवादको विषय बन्ने देखिएको छ ।

 

 

यस्ता घटनामा छानबिन नगरेसम्म राज्यको ठुलो सम्पत्ति हराउने मात्र होइन, मन्त्रालयहरूमा हिनामिना बढ्ने जोखिम अझै बाँकी रहन्छ । अहिले पनि ती कर्मचारीहरू त्यहीँ छन् ।  यसले अर्को क्षति हुनेमा शङ्का छैन ।

 

यस्तो अवस्थाबाट बच्न तत्काल स्वतन्त्र छानबिन समिति गठन गरी आन्दोलनअघि पछि स्टोरको अवस्था,उपलब्ध वस्तुहरूको सूची,नजलेका कोठाबाट सामग्री हराउने कारण, कर्मचारीको सम्भावित मिलेमतो, गलत मुचुल्का बनाउने प्रक्रिया

 

 

आदि सबै पक्षको सूक्ष्म अध्ययन गर्न आवश्यक रहेको लामो समय स्टोरमा काम गरेका एक सुब्बाले बताए ।
यदि छानबिन ढिलो गरियो भने, आन्दोलनको धुवाँ मुनि लुकेको सरकारी सम्पत्ति हिनामिना ‘गर्भमै’ गुम्सिने खतरा रहेको उनको भनाइ छ ।

 

 

जेन्जी आन्दोलनको आडमा मन्त्रालयका स्टोरमा हिनामिना घरको सामान पनि ‘जलेको’ मुचुल्का

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited