मालपोत चाबहिलमा काज अराजकता: अवैध लेनदेन सहज बनाउने खेल

1.9K
shares

काठमाडौँ । मालपोत कार्यालय चाबहिलका कार्यालय प्रमुख दीपेन्द्र खत्रीले काज व्यवस्थापनलाई व्यक्तिगत र आर्थिक स्वार्थअनुसार चलाएको आरोप छ । चाबहिलमा घर र झापामा प्रभावशाली सम्बन्ध रहेको बताइने खत्रीले दुई महिना अघि हेटौँडा मालपोत कार्यालयमा कार्यरत मेघराज निरौला कर्मचारी सङ्केत नम्बर १९३२०५० लाई विभागमार्फत चाबहिल काजमा ल्याएको खुलेको छ ।

बिचौलियामार्फत लेनदेन सहज बनाउन निरौलालाई चाबहिल ल्याइएको हो । तर अब निरौलाको काज अवधि सकिएर हेटौँडा फर्किनुपर्ने अवस्थामा, चाबहिलमै कार्यरत अर्का सुब्बा प्रकाश आचार्यलाई हेटौँडा काजमा पठाउन विभागमा सिफारिस गरिएको तथ्य बाहिर आएको छ ।

यस विषयमा विभागमा प्रश्न उठेपछि ‘एउटालाई काजमै चाबहिल राख्ने र अर्कोलाई किन हेटौँडा पठाउने ?’ भन्ने जिज्ञासामा महानिर्देशकले चाबहिल हाकिमले सचिवलाई र आफूलाई समेत भनेपछि निर्णय गरिएको जवाफ दिएका छन् ।

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शिव प्रसाद रेग्मीले पनि अवैध लाभको लोभमा यो काममा सहयोग गरेको खुलेको छ । यसरी एक कर्मचारीलाई आर्थिक लेनदेनका लागि सहज बनाउने र अर्कोलाई पीडित बनाउने कामले मालपोत कार्यालयमा हुने अनियमितताको थप खुलासा भएको छ । अझ विभागदेखि मन्त्रालयसम्मले अनैतिक लाभ लिने रहस्य बाहिर आएको छ ।

यस निर्णय प्रक्रियामा भर्खरै कर्मचारी प्रशासनमा सरुवा भएका उपसचिव कृष्ण भण्डारीको समेत संलग्नता देखिएको छ । विभागीय निर्णय र उपत्यकाका मालपोत कार्यालय प्रमुखहरूको कार्यशैली हेर्दा उपत्यकाका मालपोत कार्यालयहरू घुस र लेनदेनको ‘क्रीडा स्थल’ बन्दै गएको गम्भीर आरोप लागेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक र चाबहिल मालपोतका कार्यालय प्रमुख दीपेन्द्र खत्रीको काज सम्बन्धी निर्णयले प्रशासनिक अराजकता मौलाउँदै गएको देखिन्छ । यसले समग्र मालपोत प्रशासनप्रति जनविश्वास गुम्ने खतरा बढाएको छ ।

civil hospital
Hams Hospitals