नेपाल आयल निगमको एक वर्षमा ३६७ अर्बको कारोबार, १३ अर्ब ६७ करोड खुद नाफा
वि.सं.२०८२ पुस २८ सोमवार
shares
काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्षमा ३६७ अर्ब रूपैयाँ बराबरको कारोबार गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार स्वचालित मूल्य प्रणालीको निरन्तर र प्रभावकारी प्रयोगका कारण निगमले उच्च कारोबारसँगै उल्लेखनीय नाफा आर्जन गर्न सफल भएको हो ।
निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३६७ अर्ब रूपैयाँको कारोबारबाट १३ अर्ब ६७ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ । साथै, निगमले पेट्रोलियम पदार्थको आयात, बिक्री र कर संकलनमार्फत सरकारलाई १२४ अर्ब रूपैयाँ बराबरको राजस्व योगदान गरेको छ ।
कार्यकारी निर्देशक भट्टले स्वचालित मूल्य प्रणालीले निगमको वित्तीय अनुशासन मजबुत बनाएको बताउँदै मूल्य समायोजनमा पारदर्शिता आएको उल्लेख गरे । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उतारचढाव भइरहे पनि सो प्रणालीका कारण निगम घाटामा जान नपरेको उनको भनाइ छ ।
निगमका अनुसार गत आर्थिक वर्षमा पेट्रोल ६३ हजार किलो लिटर, डिजेल १ लाख २२ हजार किलो लिटर, मट्टितेल २ हजार किलो लिटर, हवाई इन्धन १८ हजार किलो लिटर तथा एलपी ग्यास ४६ हजार मेट्रिक टन आपूर्ति गरिएको थियो । देशभर इन्धनको आपूर्ति सहज बनाइराख्न निगमले भण्डारण, ढुवानी र वितरण व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताइएको छ ।
निगमले इन्धन आपूर्ति व्यवस्थापन, पूर्वाधार विस्तार र वित्तीय सुधारमा केन्द्रित भएर काम गरिरहेको जनाएको छ । पछिल्लो समय निगमको आर्थिक अवस्था सुदृढ बन्दै गएको र घाटाबाट नाफातर्फ उन्मुख भएको भन्दै व्यवस्थापन पक्षले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएको छ ।
सरकारी राजस्वमा ठूलो योगदान पुर्याउने सार्वजनिक संस्थाका रूपमा नेपाल आयल निगमको भूमिका थप महत्वपूर्ण बन्दै गएको विश्लेषकहरूको भनाइ छ । स्वचालित मूल्य प्रणालीलाई निरन्तरता दिँदै आपूर्ति व्यवस्थापन र पारदर्शिता अझ बलियो बनाउने निगमको लक्ष्य रहेको बताइएको छ ।



























