गैरहाजिर प्रहरीलाई सात दिनको म्याद, नआए सेवाबाट हटाइने
वि.सं.२०८३ असार १० बुधवार
shares
काठमाडौँ । आफूखुसी गैरहाजिर रहेका १२ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरीले सात दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन कडा निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले बुधबार एक सूचना जारी गर्दै लामो समयदेखि सम्पर्कविहीन रहेका तथा आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको हो ।
प्रहरीले ती कर्मचारीहरूको नाम तथा ठेगानासहित सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र अनिवार्य रूपमा हाजिर हुन निर्देशन दिएको छ । साथै, गैरहाजिर रहनुको स्पष्ट र सन्तोषजनक कारण खुल्ने स्पष्टीकरणसमेत पेस गर्न भनिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार तोकिएको समयभित्र उपस्थित नभएमा उनीहरूलाई सेवाबाट हटाउने तथा प्रचलित कानुनअनुसार विभागीय कारबाही अघि बढाइनेछ ।
अनुशासन र संगठनात्मक मर्यादा कायम राख्न यस्तो कदम चालिएको प्रहरी स्रोतले जनाएको छ । पछिल्ला दिनहरूमा प्रहरी संगठनभित्र अनुशासन उल्लङ्घनका घटनाहरू बढ्दै गएको भन्दै यस्ता कार्यलाई नियन्त्रण गर्न कडा नीति अपनाइएको बताइएको छ ।
प्रहरी प्रशासनले गैरहाजिर हुने प्रवृत्तिलाई गम्भीर अनुशासनहीनता मान्दै यसलाई रोक्न कडा निगरानी र कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ ।




























