गरिमा विकास बैंकको नयाँ चिनारी’ को आवरणभित्र पुरानै बदमासी ?

गरिमा विकास बैंकमाथि सेवाग्राहीको आक्रोश विस्फोट

2K
shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले “आज प्रतिक्षाको अन्तिम दिन, भोलि नयाँ सुरुवात” भन्दै फेसबुकमा सार्वजनिक गरेको प्रचारात्मक सूचनाले बैंकको ब्रान्डिङभन्दा बढी सेवागत असफलता र लापरबाहीलाई नांगै पारेको छ । पुस मसान्तमा पोस्ट गरिएको उक्त ‘भोलि’ माघ १ गते परे पनि, सेवाग्राहीहरूका लागि भने त्यो नयाँ सुरुवात होइन, वर्षौंदेखिको पीडाको पुनरावृत्ति बनेको छ ।

बैंकको उक्त पोस्टमुनि दर्ज भएका प्रतिक्रिया हेर्दा गरिमा विकास बैंकको डिजिटल बैंकिङ प्रणाली र ग्राहक सेवा प्रणालीगत रूपमा असफल देखिन्छ ।
शुभम् केशरी नामका सेवाग्राहीले एक वर्षअघि नै मोबाइल बैंकिङका लागि फारम बुझाउँदा पनि कुनै प्रतिक्रिया नपाएको सार्वजनिक रूपमा लेखेका छन् ।
उनको गुनासो स्पष्ट छ—
“मोबाइल बैंकिङ न खुल्छ, न रिचार्ज हुन्छ, न फन्ड ट्रान्सफर। एक वर्षभन्दा बढी भयो फारम बुझाएको, आजसम्म नो रिस्पोन्स। वर्स्ट मोबाइल बैंकिङ एभर।”

प्रश्न उठ्छ— एक वर्षसम्म सेवाग्राहीको फारम बेवास्ता गर्नु बैंकको लापरबाही हो कि व्यवस्थापनको असक्षमता ?

रामप्रसाद पोखरेलले गरेको आरोप अझ गम्भीर छ । उनका अनुसार मोबाइल बैंकिङको नाममा तीन वर्षसम्म सेवा नै नलिँदा पनि खाताबाट स्वीकृति बिना शुल्क काटिएको छ ।
यदि यो आरोप सत्य हो भने, यसले बैंकिङ आचारसंहिता, उपभोक्ता अधिकार र नेपाल राष्ट्र बैंकका निर्देशिकामाथि नै प्रश्न उठाउँछ ।

धिराज चापागाईंले बैंकको सेवा सुविधा र गुनासो सुनुवाइलाई “जिरो” भनेका छन् ।
अलिसा नामकी सेवाग्राही भन्छिन्—
“हेल्पलाइनमा कल गर्दा रिस्पोन्स हुँदैन, डकुमेन्ट बुझाउँदा पनि कुनै जवाफ छैन। सधैं ब्रान्च धाउने फुर्सद हुँदैन।”

डिजिटल बैंकिङको दाबी गर्ने संस्थामा हेल्पलाइन नचल्नु, इमेल नजवाफ आउनु कस्तो स्तरको सेवा हो ?

गणेश कार्कीले सेवा सुधारको माग गरेका छन् भने सुरज दाहालले गरिमा विकास बैंकको सेवा साधारण सहकारीसँग तुलना गरेका छन् ।
जीवन पाठक नामका सेवाग्राहीले त बैंकलाई “फटाहा”“चोर बैंक” को संज्ञासमेत दिएका छन्— जुन आक्रोशको स्तर सामान्य असन्तुष्टि भन्दा धेरै माथि पुगेको संकेत हो ।

गरिमा विकास बैंकमाथि यसअघि पनि गम्भीर आरोप लागिसकेका छन् ।
बैंकले ठगी गरेको भन्दै एक सेवाग्राहीले प्रहरी कार्यालय परिसरमै पेट्रोल छरेर आत्मदाहको प्रयास गरेको घटना सार्वजनिक भइसकेको छ ।
प्रश्न उठ्छ— एकपछि अर्को गुनासा हुँदा पनि नियामक निकाय किन मौन ?

सामाजिक सञ्जालमै बैंकभित्रका कर्मचारी असन्तुष्ट रहेको संकेत पनि देखिएको छ । एक कर्मचारीले अस्थायीलाई स्थायी गर्न माग गरेका छन् ।
सेवाग्राही असन्तुष्ट, कर्मचारी असन्तुष्ट— त्यसो भए सन्तुष्ट को छ ?

‘भोलि’ शीर्षकको पोस्टमा धेरैले बैंक लोगो परिवर्तनको नाटक गरिरहेको आरोप लगाएका छन् ।
एक प्रयोगकर्ताले बैंकलाई ‘पनौती बैंक’ भन्दै व्यङ्ग्य गरेका छन् ।
कतिपयले भनेका छन्— “लोगो होइन, व्यवहार बदल।”

गरिमा विकास बैंकले ‘नयाँ चिनारी’ को संकेत गरे पनि यथार्थमा पुरानै गुनासा, पुरानै लापरबाही र पुरानै आक्रोश दोहोरिएको देखिन्छ ।

अब प्रश्न स्पष्ट छ—
गरिमा विकास बैंकको ‘भोलि’ वास्तवमै नयाँ सेवा लिएर आउँछ,
कि केवल नयाँ लोगोभित्र पुरानै बदमासी लुकाइन्छ ?

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:  

 

गरिमा विकास बैंकको कर्जा आतंक : प्रहरी कार्यालयमै आत्मदाहको प्रयास, नियामक निकाय मौन

civil hospital
Hams Hospitals