नेशनल लाईफ इन्स्योरेन्सको एकदिने अभिकर्ता तालिम सम्पन्न

906
shares

 

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मासिक योजना मन्थन–२०८२’ अन्तर्गत छनोट भएका अभिकर्ताहरूलाई लक्षित गरी एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ।

बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही व्यवसाय गर्ने अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको तालिम धुलिखेलस्थित होटल सारथीमा सम्पन्न भएको हो। कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृती राज कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा छनोट भएका २८० जना अभिकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा चर्चित प्रशिक्षक काजिम राजाले विभिन्न व्यवहारिक उदाहरण प्रस्तुत गर्दै एमडिआरटी (MDRT) लक्ष्य हासिल गर्ने उपाय र व्यवसायिक दक्षता अभिवृद्धिका विषयमा प्रशिक्षण दिएका थिए।

तालिमलाई सम्बोधन गर्दै उप–प्रमुख कार्यकारी अधिकृत कडेलले अभिकर्ता पेशालाई अझ व्यावसायिक, सशक्त र परिणाममुखी बनाउने उद्देश्यले कम्पनीले अभिकर्तामैत्री मासिक तथा वार्षिक योजनाहरू सञ्चालन गर्दै आएको जानकारी दिइन्। ‘प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता’ भन्ने नाराका साथ सुरु गरिएको मासिक योजना मन्थन कार्यक्रमअन्तर्गत देशभरबाट ७०० भन्दा बढी अभिकर्ता छनोट हुनु यस योजनाको सफलताको प्रमाण भएको उनको भनाइ थियो। सो अवसरमा उनले शाखा स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई मायाको चिनोसमेत प्रदान गरिन्।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले यस्ता तालिमहरूले अभिकर्ताहरूलाई प्रतिस्पर्धात्मक बिमा बजारमा आफूलाई अब्बल सावित गर्न सहयोग पुर्‍याउने बताए।

तालिममा सहभागी अभिकर्ताहरूले यस्ता कार्यक्रमबाट आगामी दिनमा बिमा व्यवसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए। सम्मानित अभिकर्ताहरूले आफ्नो मेहनतको कदर भएको भन्दै भविष्यमा अझ बढी मिहिनेतका साथ पेशालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

civil hospital
Hams Hospitals