राष्ट्रिय वाणिज्य बैंकको कर्जा दुरुपयोग,सुन र हुन्डीमा लगानी !

6.3K
shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट प्रवाह गरिएका कर्जाको ठूलो हिस्सा अपचलन भएपछि बैंक खराव कर्जाको दलदलमा फँसेको पाइएको छ। कमिसन लिएर पावर तथा पहुँचका भरमा व्यक्ति तथा व्यवसायीहरूसँग साँठगाँठ मिलाएर व्यवसायिक कर्जा लिने र तोकिएको प्रयोजनमा प्रयोग नगरी व्यक्तिगत रुपमा कर्जा रकमको दुरुपयोग गर्दा बैंकका ग्राहकको अर्बौँ निक्षेप जोखिममा परेको छ ।

 

राष्ट्रिय वाणिज्य बैंकका साना, मझौला कर्जा राजनीतिक दवाव तथा ठुला परियोजनाहरुमा कमिसनको मोटो रकम लिएर कर्जा प्रवाह हुँदा पनि बैंकको निक्षेप सहि ठाउँमा लगानी नहुने र भएको लगानीको पनि चरम दुरुपयोग हुँदा बैंकमा निष्क्रिय कर्जाको दलदलमा फँसेको छ। कमिसन लिएर राजनीतिक साँठगाँठ एवम् स्वार्थ अनुरुप बैंकबाट प्रवाह भएका ठूला कर्जा मध्येको एक हो सुन तस्करीका आरोपी दिपक मल्होत्रा। मल्होत्रालाई सामाखुसीमा आपर्टमेन्ट खरिदका लागि भन्दै ३ सय करोड कर्जा दिईएको छ। तर, अर्बौं लगानी भएको उक्त अपार्टमेन्टको नक्सा समेत पास भएको छैन। त्यसमाथी मल्होत्राले कर्जा लिन बैंकमा पेश गरिएको ब्यालेन्ससिट मै कैफियत देखिन्छ।

 

उक्त कर्जामा मल्होत्रासँग ५ प्रतिशत कमिसन लिएर तत्कालीन अध्यक्ष दिलिप ढुङ्गाना, सिईओ देबेन्द्र रमण खनाल र बैंकका कन्सोडियम प्रमुख दामोदर ज्ञवालीले हुँदै नभएको परियोजनामा नक्कली डकुमेन्ट बनाई अर्बौं रुपैयाँ लगानी गरेको देखिन्छ। बैंक स्रोतका अनुसार सिईओ खनालको आडमा ज्ञवालीले ऋणीसँग साँठगाँठ गर्ने र प्रक्रिया नपुगेकै भए पनि कमिसन आएका फाईल अघि बढाउने गरेका छन् । उक्त फाईलमा छेडछाड गर्न ज्ञवाली अफिस समयपछि राती १० बजे सम्म पनि कार्यालयमै रहने गरेको भेटिएको छ। एक ऋणीले ज्ञवालीको भूमिकामाथि संसय व्यक्त गर्दै सम्पर्कमै नआउने गुनासो गरे।  म राष्ट्रिय बाणिज्य बैंकको ऋणी हुँ। नियमित किस्ता बुझाएकै छु। कर्जा थप गर्न पर्यो भन्दा वास्तै गर्दैनन्।

 

कमिसन नदिएकै कारण प्राथमिकतामा परिएन भन्ने लाग्यो। उनले भने उनका अनुसार ज्ञवालीले ग्राहकलाई निकै तल्लो स्तरको व्यवहार गर्ने गरेका छन्। कमिसन तथा पहुँचका चक्करमा ओभर मुल्यांकन गरि जथाभावी बाँडिएका कर्जामध्य अंकित जलानलाई भक्तपुरमा खोलाको जग्गा राखी अत्यन्तै बढी मुल्यांकन देखाइ अर्बौं रुपैयाँ प्रवाह गरिएको छ। त्यसमा पनि कमिसन लिईएको बैंक स्रोत बताउँछ। त्यस्तै सेल्सबेरीमा पनि क्षमताभन्दा बढी रकम प्रवाह भएको देखिन्छ।

 

त्यसैगरी नेपाली कांग्रेसका नेता इज्द्र बानियाँको भूगर्भ सिमेन्टमा प्रवाह भएको १५० करोड, हामा स्टीलको २०० करोड बढी, रुपाकोट रिसोर्टको झन्डै ८० करोड , नेता बिमलेन्द्र निधीको महेन्द्र नारायणनिधी हस्पिटलको १५ करोड, पुष्पकमल दाहाल प्रचण्डका ‘घरबेटी’ शारदा अधिकारीको कर्जा र उनको संलग्नता रहेको भैरहवा स्थित एक पाँच तारे होटलको १५० करोड, ज्योति समुहको एनजीएम कम्पनी लगायतका कम्पनीमा कमिसनकै चक्करमा दिइएको ठूलो कर्जा रकम दुरुपयोग भएको छ। बैंकले कमिसन, राजनीतिक दवाव र नेतृत्वको निजी स्वार्थकै कारण लामो समयदेखि निष्कृय भएका कर्जा लुकाएको देखिन्छ।

 

जसको प्रोभिजनसम्म गरेको छैन। यसबाट बैंकको खराब कर्जा मुल्यांकन कम आएको छ। यथार्थमा बैंकको खराब कर्जा २० प्रतिशतमाथि पुगेको दावी गरिएको छ। राष्ट्र बैंकको नियमित सुपरिवेक्षणले उल्लेखित लगायतका निष्क्रिय कर्जालाई लस क्याटोगोरीमा राखेर सतप्रतिशत प्रोभिजन गर्न निर्देशन दिँदै आएको भए पनि बैंकले राष्ट्र बैंकको उक्त निर्देशनको समे उल्लंघन गर्दै उक्त कर्जामाथि कर्जा थप गरी यसको पुनर्तालिकीकरण गर्न लागेको बैंक स्रोत बताउँछ। बैंकले खराव कर्जा लुकाएर कम प्रोभिजन गरेको र नाफा बढी देखाएको स्रोतको दावी छ।

 

बैंक स्रोत भन्छ,(‘ वास्तवमा बैंकको खराव कर्जा २० प्रतिशतभन्दा माथि छ तर राष्ट्र बैंकलाई समेत झुक्याएर कम देखाएको छ यसले कम प्रोभिजन गरी नाफा प्रभावित गरिएको छ।’ नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सरकारी बैंक भएकै कारण प्रमुख कार्यकारी अघिकृत नियूक्ति नै राजनितिक भागवण्डाअनुसार हुने गर्दछ । जसका कारण जुन दलबाट प्रतिनिधित्व गरी सीइओ नियुक्त भएको हुन्छ सोहि दल र तिनका नेता तथा कार्यकर्ताको स्वार्थमा काम गर्नुपर्ने बैंक व्यवस्थापनको बाध्यता छ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल पनि नेकपा माओवादी निकट छन्। उनलाई अध्यक्ष प्रचण्डकै ठाडो निर्देशनमा बैंकका सीइओ नियूक्त गरिएको थियो। बैंकिङ प्रणालीलाई स्वच्छ र पारदर्शी बनाउने दाबी गरिए पनि राजनीतिक दबाब र प्रभावका कारण कर्जा प्रवाह प्रभावकारी बन्न सकेको छैन। नाम नबताउने शर्तमा बैंककै एक अधिकारी भन्छन्, “कर्जाको रकम उद्योग तथा व्यवसाय प्रवर्द्धनका लागि भनेर प्रवाह गरिन्छ, तर त्यसको ठूलो हिस्सा अन्यत्रै प्रयोग हुने गरेको छ, जसले गर्दा उक्त कर्जा निष्कृय भएका छन्।”यसको ज्वलन्त उदाहरण दिपक मल्होत्रा हुन्।ु उनले भने ।

 

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:  

 

सरकारी बैंकमै अर्बौं घोटाला: मल्होत्राको कर्जा दुरुपयोगमा अध्यक्ष–सीईओको मिलेमतो खुलासा

civil hospital
Hams Hospitals