धादिङ–१ मा राजनीतिक तरंग, आशिका तामाङको घरदैलोको थकान कि राजनीतिक लापरवाही ?
वि.सं.२०८२ फागुन १४ बिहीवार
shares
काठमाडौँ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङ को चुनावी घरदैलो अभियानका क्रममा अभिव्यक्ति चिप्लिएपछि राजनीतिक वृत्तमा तरंग सिर्जना भएको छ।
घरदैलो कार्यक्रममा मन्तव्य दिने क्रममा “धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार अन्त्य गर्न आएकी हुँ” भन्न खोज्दा ‘अन्त्य’ शब्द स्पष्ट नउच्चारण भई “भ्रष्टाचार गर्छु” भन्ने वाक्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको थियो।
विवाद बढ्दै गएपछि तामाङले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिँदै थकानका कारण शब्द उच्चारणमा त्रुटि भएको स्वीकार गरेकी छन्। उनले एक महिनाभन्दा बढी समयदेखि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म निरन्तर घरदैलोमा सक्रिय रहेको उल्लेख गर्दै उक्त गल्तीप्रति सम्पूर्ण धादिङबासीसँग क्षमा मागेकी छन्।
“एकपटकका लागि गल्ती भयो, अबदेखि बोल्दा धेरै ध्यान दिनेछु र भविष्यमा यस्तो गल्ती नदोहोर्याउने वाचा गर्दछु,” उनले लेखेकी छन्। साथै, आफ्नो अभियान सुशासन र भ्रष्टाचारविरुद्ध नै केन्द्रित रहने दोहोर्याएकी छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार चुनावी माहोलमा सानो शब्दगत त्रुटिले पनि ठूलो विवाद निम्त्याउन सक्छ, विशेषतः सुशासन र भ्रष्टाचारजस्ता संवेदनशील विषयमा।





























