सिटिजन्स बैंकमा ४ करोड ९१ लाख घोटाला, आफ्नै कर्मचारीको मिलेमतोमा रकम हिनामिना
वि.सं.२०८२ चैत २ सोमवार
shares
विराटनगर । विराटनगरको कञ्चनबारीस्थित सिटिजन्स बैंकको शाखामा झण्डै ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको खुलेपछि बैंकिङ क्षेत्रमै तरंग पैदा भएको छ। बैंककै कर्मचारीको मिलेमतोमा यति ठूलो रकम गायब भएको देखिएपछि बैंक प्रशासनले घटनाबारे प्रहरीमा उजुरी दिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालका अनुसार बैंकबाट रकम हिनामिनाबारे उजुरी प्राप्त भइसकेको छ र त्यसको विस्तृत अनुसन्धान भइरहेको छ।
उनले भने, ‘उजुरी परेको छ। आवश्यक कागजात मागेर अनुसन्धान सुरु गरेका छौँ। छानबिन जारी भएकाले अहिले नै निष्कर्षमा पुग्ने अवस्था छैन।’
प्रहरीले बैंकसँग सम्बन्धित वित्तीय कागजात तथा विवरण माग गरी घटनाको वास्तविकता पत्ता लगाउने काम अघि बढाएको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार घोटालामा संलग्न व्यक्तिहरूको पहिचान खुल्ने चरणमा रहेको छ।
बैंक स्रोतका अनुसार ५ जना कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको आशंका गरिएको छ। ती सबैविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गरिएको बताइएको छ।
स्रोतका अनुसार कञ्चनबारी शाखामा कार्यरत रोजी कँडेलको नेतृत्वमा यो घोटाला भएको आन्तरिक लेखापरीक्षणबाट देखिएको छ। आन्तरिक जाँचका क्रममा ठूलो परिमाणमा रकम हिनामिना भएको तथ्य बाहिर आएपछि बैंक प्रशासनले संलग्न कर्मचारीहरूलाई तत्काल निलम्बन गरेको छ।
प्रारम्भिक अनुसन्धानले देखाएअनुसार फिक्स डिपोजिट (FD) मा राखिएको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल तयार पार्ने र त्यसकै आधारमा रकम निकाल्ने गरिएको थियो। यसरी कागजी प्रक्रिया दुरुपयोग गरेर करोडौँ रुपैयाँ हिनामिना गरिएको आशंका गरिएको छ।
हिनामिना भएको रकम असुलउपर गर्न र दोषीमाथि कानुनी कारबाही गर्न बैंक प्रशासनले जिल्ला प्रहरी कार्यालय मोरङमा औपचारिक जाहेरी दिएको स्रोतले जनाएको छ।
घटनाले बैंकिङ प्रणालीभित्रै आन्तरिक निगरानी र नियन्त्रण प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। प्रहरीले विस्तृत अनुसन्धानपछि संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने जनाएको छ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:




























