मन्त्रालयमा बिदाइको नाममा तामझाम, प्रशासनिक क्षेत्रमा विकृति र विभेद उजागर

1.2K
shares

 

काठमाडौं । सरकारी निकायभित्र बिदाइ कार्यक्रमकै नाममा हुने खर्च र तामझामले प्रशासनिक प्रणालीभित्रको विकृति फेरि एकपटक सतहमा आएको छ। विशेषगरी भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास जस्ता “ठूला बजेट” भएका मन्त्रालयहरूमा सचिव तथा महानिर्देशकको बिदाइमा लाखौँ रुपैयाँ खर्च हुने गरेको स्रोतको दाबी छ।

स्रोतका अनुसार यस्ता बिदाइ कार्यक्रममा ४० हजार रुपैयाँसम्म पर्ने बुद्ध र गणेशका मूर्ति उपहारस्वरूप प्रदान गरिन्छन्। औपचारिकताभन्दा बढी प्रदर्शनमुखी बन्दै गएका यस्ता कार्यक्रमले सरकारी स्रोतको दुरुपयोग र अनावश्यक खर्चलाई प्रोत्साहन गरेको आरोप छ।

यता, प्रशासनतर्फ भने यस्ता तामझाम सम्भव नहुने बताइन्छ। सीमित स्रोत र कडाइका कारण सामान्य बिदाइमै सीमित रहनुपर्ने अवस्था छ। यसले एउटै सरकारी संरचनाभित्रै असमान अभ्यास र संस्कृतिको गहिरो विभाजन देखाएको छ।

यस्तै, भौतिक र शहरी विकास मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको आरोपसहित एक मन्त्रीले बिदाइका क्रममा भावुक हुँदै सार्वजनिक रूपमा गुनासो पोखेको उदाहरण पनि दिइन्छ। उनले आफू कार्यरत रहँदा देखेका अनियमितता र दबाबका कारण काम गर्न कठिन भएको संकेत गरेका थिए।

अर्कोतर्फ, उच्च पदस्थ कर्मचारीहरूबीच ‘लाभदायी मन्त्रालय’ रोज्ने प्रवृत्ति अझै जीवित रहेको देखिन्छ। स्रोतका अनुसार एक सचिव हाल भौतिक मन्त्रालयमा जान विभिन्न तहमा लबिङमा सक्रिय छन्। यसले नीति, योग्यता र आवश्यकताभन्दा पनि स्वार्थ र पहुँचका आधारमा पदस्थापन हुने अभ्यास अझै कायम रहेको आशंका बलियो बनाएको छ।

प्रशासनविद्हरू भन्छन्— यस्तो प्रवृत्तिले सुशासनको आधार कमजोर बनाउने मात्र होइन, इमानदार कर्मचारीको मनोबलसमेत गिराउने खतरा हुन्छ। बिदाइ जस्तो सामान्य प्रशासनिक प्रक्रियालाई समेत प्रदर्शन र स्वार्थको माध्यम बनाइँदा राज्य प्रणालीप्रति जनविश्वास घट्ने उनीहरूको चेतावनी छ।

सरकारले यस्ता गतिविधिमाथि कडाइ नगर्ने हो भने प्रशासनिक विकृति अझ गहिरिँदै जाने निश्चित देखिन्छ।

civil hospital
Hams Hospitals